आकाशको छानो बनाई कसैले पनि सडक पेटीमा बस्न नपरोस् । खाना, नाना र छानाको अभावमा कोही पनि सडकमा भोक भोकै बस्न नपरोस् भनी वीरगंज स्थित मानव सेवा अश्रममा होमिएका देवेश मानव वीरगंजबासीका लागि परिचित नाम भएको छ । २०५१ साल साउन १९ गते नारायणघाटमा माता नन्दा देवी र पिता दुर्गेश प्रसाद गुप्ताको कान्छो सन्तानका रुपमा जन्मिएका देवेश मानव हाल मानव सेवा आश्रम वीरगंज शाखामा निस्वार्थ रुपमा लागि परेका छन् । २०६७ सालमा सेन्टजेभियस स्कुल वीरगंजबाट एस एल सी उतीर्ण गरेका देवेश हाल वीरगंज पब्लिक कलेजमा स्नातक तहको अध्ययनलाई निरन्तरता दिइरहेका छन् । उनै देवेशसँग सामाजिक कार्यका बारेमा गरिएको बिशेष कुराकानी:
१) मानव सेवा आश्रममा कसरी आवद्ध हुनु भयो ?
२०७२ मा मधेश आन्दोलन चलिरहेका बेला घरमा बसेर रेडियो सुन्ने बाहेक अरु काम थिएन । सेडियो सुन्ने क्रममा रेडियो कान्तिपुरमा मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीको अन्तर्वार्ता सुने । त्यो सु्न्दा यस्तो संस्था पनि हुन्छ र ? भन्ने लाग्यो आन्दोलन सकिए पछि हामी वीरगंजबाट म रिसव अग्रवाल, निकेश श्रेष्ठ, दिपेन्द्र यादव हेटौडा मानव सेवा आश्रम घुम्न गयौं । म पहिला पनि थुप्रै संघ संस्थाहरुमा आबद्ध थिए । तर त्यस्तो संस्था कतै देखिन । त्यो घुमेपछि त्यहाँबाट निस्कने बेलामा .मानवसेवा आश्रमको भवन वीरगंजमा पनि खोल्ने छौं भनेर संकल्प लिएर निस्कियौं । यसरी मानव सेवा आश्रममा आवद्ध हुन पुगियो ।
२) तपाई र तपाईको परिवार यो कार्यबाट सन्तुष्ट हुनुहुन्छ ?
धेरै पैसा कमाउनु पर्छ डाक्टर इन्जिनियर बन्नुपर्छ जागिर खानुपर्छ भन्ने हरेक बाबु आमा र समाजको सोच हुन्छ । तर म जबदेखि मानव सेवा आश्रममा आबद्ध भए सुरुवाती दिनहरुमा एकदमै गाह्रो भयो । आमा बाबालाई बुझाउन सम्झाउन पनि कठिन भयो । अरूको मलमुत्र सोह्रर्ने त्यसरी पनि जीवन चल्छ र ? बरु जागिर गर आफ्नो बिजनेस सम्हाल भन्नु हुन्थ्यो । तर विस्तारै विस्तारै आमा बाबुलाई सम्झाए । आफ्ना लागि सबैले गर्छन् । तर अरूका लागि कमैले सोचिदिदैनन् भन्ने सोचको प्रायासले आज आमाबाबा ९५ प्रतिशत खुशी हुनुहुन्छ । ५ प्रतिशत बाँकी छ त्यो पनि छिटै सन्तुष्ट गराउने प्रयासमा छु ।
३) अहिले मानव सेवा आश्रम वीरगन्जमा कति जनाको परिवार छ ? मूल जिम्मेवारी कस्ले सम्हालि रहनु भएको छ ?
मानवसेवा आश्रममा अहिले ४० जनाको परिवार छ । ३७ जना सडकबाट ल्याएका आमाबुबा दिदीहरु हुनुहुन्छ । १ जना खाना बनाउने दिदी, एक जना भर्खरै जन्मिएका बाबु र उसलाई रेखदेख गर्न राखिएको दिदी हुनुहुन्छ । सबैको संयुक्त प्रयासले मानव सेवा आश्रम सञ्चालन भइरहेको छ ।
४) मानवसेवा आश्रमको संचालन कसरी भइरहेको छ ?
मानव सेवा आश्रमले कुनै पनि दात्तृसंस्था बिदेशी संस्थाहरूको सर्त मानी सहयोग स्वीकार गर्दैनन् । यसरी नै अहिले नेपालमा १२ वटा मानव सेवा आश्रम संचालनमा छ । कुन संस्था डोनर हो ? कताबाट डोनेसन आउँछ ? भन्ने प्रश्नहरू धेरैले गर्नुहुन्छ । त्यतिबेला एकदमै गर्वका साथ भन्छौं । अहिले मानव सेवा आश्रम विरगन्ज शाखा भनेको बीरगंजबासीको पसिनाले चलिरहेको छ । कसैको जन्मदिन, कसैले बिवाह बर्षगाठ मनाउनु हुन्छ । कसैले महिनाको १ हजार कसैले ५००, कसैले आलु दिएर नै संचालन भइरहेको छ । गाह्रो त भइरहेकै छ । ४५ हजार मासिक घरभाडा छ । २० देखि २५ हजार प्रत्येक महिना औषधिमा लाग्छ । १० देखि १५ हजार मासिक पानी र विद्युतको खर्च छ । १० हजार खर्च । यसरी महिनामा ९० देखी १ लाख मासिक खर्च छ । कहिलेकाही अपुग हुन्छ । नपुगको खण्डमा अहिले सम्म हाम्रो अभिभावक परिवारले सहयोग गरिदिनु हुन्छ । वी.म.न. पा. लाई धेरै पटक अनुरोध गरिसक्यौ । तर आजसम्म पनि त्यो कुरा नबुझेको जस्तो अनुभव हुन्छ । कहिले काही नै बुझाउन नसकेको जस्तो आभाष हुन्छ । आशा गरौं छिटै केही हुन्छ भनेर विश्वास छ ।
५) महानगरपालिकाबाट कुनै सहयोग नपाएको गुनासो गर्नु भयो ? तर घरको वहाल त महानगरपालिकाले नै तिर्ने कुरो छ नि ?
यो भन्दा पहिला जुन महिनाको बजेट निकासा भएको थियो । त्यो बेला ३ लाख रुपैया वी.म.न.पा. बाट प्राप्त भएको हो । यो जुन श्रावन देखि न बजेट निकासा भयो । त्यस समयदेखि आजसम्म कुनै रकम प्राप्त भएको छैन । अहिले पनि बैंक खातामा ४० देखि ४५ हजार भन्दा बढी रकम नहोला । अबको १ महिनाको खर्चमा त्यो पनि सकिन्छ । मेयर र प्रशासकीय अधिकृत सरहलाई बारम्बार सहयोग होस् भनेका छौं । घर भाडा मात्रै भए पनि सहयोग होस् भनेका छौं । माघ २१ गते बजेट भाषण हुँदैछ । त्यसपछि यो एजेन्डालाई पनि समावेश गरिने र रकम भुक्तानी हुने भनिएको छ । त्यसै विश्वासमा अघि बढिरहेका छौं ।
६) आश्रमलाई अघि बढाउन भावी योजना के बनाउनु भएको छ ?
मेरो एउटै योजना छ । हामी जति युवाहरुले आफ्नो जीवन नै मानव सेवा आश्रममा समर्पण गरेका छौं । मानव सेवा आश्रमको मिसन (२०८२ साल) अर्थात अबको ८ वर्ष भित्र सडकमा अलपत्र मानिस नभएको देश भनी चिनाउने लक्ष्य छ । सबै विदेशीहरूले गौतम बुद्धको देश, पशुपतिनाथ र मुक्तिनाथ र सगरमाथाको देशका उपमाले चिन्छन् । मानवसेवा आश्रमले यो देशको यस्तो सुनौलो नामलाई सडकमा हेर्दा नाक खुम्च्याउनु पर्ने अवस्था नहोस् भनेर प्रयास गरेको हो । हाम्रो कर्मले पनि हाम्रो देश परिचित हुनुपर्छ भन्ने उद्देश्यले २०८२ साल भित्र नेपाल देशलाई मानवताको देश भनेर चिनाउने जमर्को गरेका हौं । यहाँको भ्रमण गरिसकेपछि कसैले नभनुन् नेपाल एउटा यस्तो देश हो जहाँ एक छाक खाना, घरको छाना, नपाएर कति मानिस सडकमा नै रहेछन् भनी । कोहि पनि सडकमा अलपत्र देख्न नपरोस् भन्ने हो । अबको आठ वर्ष परिस्थिति, समय र अवस्थाले साथ दिएसम्म मानव सेवा आश्रम संगै जोडी राख्ने छु ।
७) समयसंगै हरेक चिज परिवर्तन हुन्छ । वैवाहिक जीवन बारे केही सोच्नु भएको छैन ?
विवाह जो संग भए पनि गर्ने हो नगर्ने भन्ने छैन । तर विवाहको लागि केटी कस्तो खोज्ने ? कसरी खोज्ने ? भन्ने महत्वपुर्ण कुरा हो । मेरो भावना बुझ्ने म जुन बाटोमा हिडेको छु त्यही बाटोमा मेरो पाईलामा साथ दिने, मेरो हासोमा हासो मिसाउने, मेरो आशुमा संगै रुने त्यस्तो केटी पाए भने मात्रै म वैवाहिक जीवन बाँसधन सक्छु । योजना नै त अहिले केही पनि छैन ।
८) सबै कुरा त्यागेर मानव सेवामा लागि पर्दा आफ्ना आवश्यक्ता कसरी पूरा गर्दै हुनुहुन्छ ?
हामी कुनै तलवमा बसेका कर्मचारी होइनौं । नेपाल अधिराज्यभरीका १२ वटै मानव सेवा आश्रममा जति पनि युवाहरु खटिएका छौ । सबै भोलिन्टियर मै हौ । मानव सेवा आश्रमबाट लिने भनेको फोन खर्च यातायात खर्च हो । अब कुरा भावी जीवन कसरी चलाउने भन्ने कुरा हो । वास्तवमा मानवलाई जति भए पनि कहिल्यै पुर्ण भएको छैन र हुदैन पनि । मानव सेवा आश्रममा लाग्नुभन्दा पहिलाको चाहानामा निकै फरक छ । पहिला खाने, घुम्ने, ऐस गर्ने घरबाट पनि मनग्य पैसा दिनुहुन्थ्यो । अहिले पनि मेरो सबै खर्च बाबा आमाले नै दिनु हुन्छ । आमा बुबाको सेवा गर्ने एउटै चाहना छ । उहाँहरुकै सेवामा जीवन बिताउन पाउँ र आफ्ना बाबा आमाको नाम संसारभरी चिनाउन सकुँ भन्ने चाहन्छु ।
९) परिवार र आश्रमलाई दिने समय कसरी मिलाउनु भएको छ ?
वास्तवमा भन्नु पर्दा आमाबुबाको महत्व पहिला मैले पनि बुझेको थिएन । छरछिमेकमा देवेश आश्रममा गएपछि आफ्ना आमाबाबालाई पनि हेर्दैनन् भन्ने हल्ला चलाइएछ । त्यसो लाग्नु स्वभाविक नै होला । तर त्यो होइन । मेरो घर नजिकै छ । आमाबाबासंग टेलिफोनमा सम्पर्क भइरहन्छ । हप्तामा २÷३ दिन म घर गएकै हुन्छु । उहाँहरु बिरामी परेका बेलामा समय दिएकै हुन्छु । पहिला आमाबुबाले पनि बुझ्नु भएको थिएन । छोरा कत्ता लाग्यो भन्ने जस्तो हुन्थ्यो । अहिलेको समयमा अरबपतिका छोराछोरीहरु जाडरक्सीको कुलतमा फसेर सुधार गृहमा बसेका छन् । तर तपाईको छोरा एउटा राम्रो काममा लागेका छ । साथ त दिनुस् भनेर कन्भेन्स गर्दै जादा आमा बुवाले बुझ्नु भएको छ । कुनै समयमा बावाले कल गर्दा उठेन भने उहाँले बुझ्नु हुन्छ पक्कै ब्यस्त छ । आश्रममा केही घटेको भए भन है भनेर आमा बाबा आपैmले सोध्नु हुन्छ । एकदमै राम्रो साथ छ । देवेश जस्तै बन्नु पर्छ त म भन्दिन । तर सबै सचेत भए देशको अस्तित्व जोगिन्छ । जो जुन सेक्टरमा छ उसले त्यसैमा सतप्रतिशत सकारात्मक काम गरे देश समृद्ध बन्छ । अहिले कस्तो छ ? भन्दा मान्छे सफल भए तर असल भइदिएनन् । सबैलाई एउटै कुरा भन्न चाहन्छु सफल सँगसँगै असल बन्नु पर्छ ।
१०) क-कस्को साथ सहयोग भए आश्रमलाई संचालन गर्न सहज हुन्छ ?
सुरुवाती दिनमा वीरगंजवासीकोे सहयोग छ । केही दिन त स्थानीयले हेर्ने हो । तर आश्रमको निरन्तरताको लागि प्रदेश सरकार, वीरगंज महानगरपालिकाले जब सम्म मेरो कर्तव्य हो भन्ने ठान्दैनन् । तब समम आश्रम चल्न सहज छैन । संविधानको धारामा प्रष्ट सँग लेखिएको थियो प्रत्येक नागरिकले सम्मान पूर्वक बाच्न पाउनु पर्छ भनेर । तर देशका कति सडकहरुमा कति मानिस शरिरमा किरा परेर बसेको अवथा छ । यस्तो हुँदा पनि केन्द्र, प्रदेश र स्थानीय सरकारले ध्यान दिएको छैन । यसमा सबै सरकारको साथ आवश्यक छ ।