वीरगञ्जमा रात्री सांस्कृतिक तथा खाना मेला हुने भएको छ । वीरगञ्ज कलेजले दसौँ स्थापना दिवसको अवसरमा वीरगञ्ज महानगरपालिकाको सहयोगमा यही फागुन १२ र १३ गते रात्री सांस्कृतिक तथा खाना मेलाको आयोजना गर्न लागेको हो ।
आगामी शुक्रवार र शनिवार बेलुका ३ बजेदेखि राति १० बजेसम्म घण्टाघर नजिकैको बी पी उद्यान फुटपाथमा रात्री सांस्कृतिक तथा खाना मेला हुने वीरगञ्ज कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरीले जानकारी दिए ।
डा. चौधरीका अनुसार विद्यार्थीहरुमा सिक्दै कमाउँदैको अवधारणा विकास गर्न, वीरगञ्ज महानगरपालिकाको रात्री बजारको अवधारणालाई साकार पार्न एवम् बारा पर्साको लोक संस्कृति तथा परम्परागत खानाको प्रबद्र्धन गर्ने अभिप्रायले मेलाको आयोजना गरिएको हो । नेपाल सरकारले अघि सारेको स्टार्टअपको अवधारणालाई पनि मेलाले सघाउ पुग्ने डा। चौधरीको विश्वास छ ।
मुख्य प्रायोजक वीरगञ्ज महानगरपालिकासँगै कलेजको अतिरिक्त क्रियाकलाप कोष एवम् प्रायोजक तथा सहप्रायोजकहरुबाट प्राप्त भएको आर्थिक सहयोगबाट मेला सम्पन्न हुने कलेजका प्रधानाध्यापक बिनोद गुप्ताले जानकारी दिए । प्रधानाध्यापक गुप्ताका अनुसार मेलामा कम्तीमा २५ वटा स्टल राखिनेछ । जसको जिम्मेवारी कलेजकै विद्यार्थीहरुको समूहलाई प्रदान गरिनेछ ।
खानाका परिकारसँगै भोजपुरी गायक सुनिल पण्डित, कलेजकै विद्यार्थी तथा पूर्व विद्यार्थीहरु, आर्जु देवकोटा, राजन गिरी, रेबिका महर्जन, चन्दन प्रजापति लगायतका कलाकारहरुको प्रस्तुती पनि हेर्न पाइने कलेजले बिहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । मेलामा निःशुल्क रुपमा प्रवेश गर्न पाइने पनि कलेजले जनाएको छ ।