जि.एच.पि.स्कूलबाट अध्ययनको सुरुवात गरेकी डा. अलिशा दासको जन्म वीरगन्जमा नै भएको हो । गौतम स्कूलबाट अध्ययन सुरु गरेकी उनले कक्षा १२ भने भारतमा गरेकी हुन् । एम.वि.वि.एस धरानबाट गरेकी उनले भारतको डि.वाई.पाटी पुनेबाट स्त्री तथा प्रसुति रोग सम्बन्धी एम.डि.को अध्ययन पूरा गरेको उनले बताइन् । मिनिमल एक्सेस सर्जरीको फेलोसिप डिप्लोमा वल्ड ल्याप्रोस्कोपी हस्पिटल दिल्लीबाट ल्याप्रोसकोपी कोर्ष पनि गरेको उनको भनाइ छ । त्यसमा हिस्ट्रोसकोपी र रोबोट्रीक टेनिङ्ग पनि गरेकी उनी विगत २ महिनादेखि नारायणी हस्पिटल र आफ्नै बुबा डा.अशोक दासले संचालन गरेको आशाराम हस्पिटलमा कार्यरत छन् । उनै डा.अलिशा दाससंग प्रशुति रोग सम्बन्धी बिषयमा केन्द्रित रहेर गरिएको बिशेष कुराकानी :
१) महिलाहरुका लागि गर्भावस्थाका कस्तो अवस्था हो ?
गर्भावस्था कुनै पनि आमाको लागि महत्वपूर्ण समय हो । यो समयमा गर्भवती आमाको शरीरमा धेरै परिवर्तन हुन्छ । गर्भ रहेको पहिलो ३ महिनाको चरणमा बच्चाको शरीरको अंगको निमार्ण हुने गर्दछ । यो समय गर्भवती आमा र बच्चाको लागि संवेदनशिल अवस्था हो । यो समयमा हरेक स्वास्थ्य संस्थाले जाँच गर्न आउने गर्भवती महिलाहरुलाई फलिक एसिड औषधी सेवन गर्न आमालाई दिने गरेका छन् । दोस्रो ३ महिनाको चरणमा पेट भित्रको बच्चाको शरीरका अंगहरुको वृद्धि र विकास हुने गर्दछ । बच्चाको वृद्धि र विकासकालागि चाहिने रगत आमाको शरीरबाट प्राप्त गर्ने भएकोले आमाले खानपिनका साथै रगत बढाउने आइरन, क्याल्सियम औषधी दैनिक सेवन गर्न दिनु पर्छ । यो समयमा बच्चाको शरीरका अंगहरु वृद्धि र विकास हुने हुदाँ आमाको पेट पनि बढेको हुन्छ । बच्चा हलचल पनि गर्न थाल्दछ । यो चरणमा आमाले टिटानसको खोप पनि लगाउनु पर्छ । अन्तिम ३ महिनामा बच्चाको धेरै वृद्धि हुने, आमालाई छिटोछिटो पिसाब आउने, दिसा लाग्ने, पायल्सको समस्या हुने पनि हुन सक्छ । यो समयमा आमाले आफ्नो धेरै ख्याल गर्नु पर्दछ । बच्चाको वृद्धि र विकास कस्तो छ, बच्चाको वरिपरि पानीको मात्रा कति छ ? गर्भावस्थाको पछिल्लो समयमा दुई दुई हप्तामा डाक्टरसंग जाँच गराई स्वास्थ्य अवस्था बारे बढि ख्याल गर्नु पर्छ ।
२) तराईको सन्दर्भमा गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षणको अवस्था कस्तो छ ?
तराईको सबैभन्दा ठूलो समस्या भनेको बालबिवाहको कारण भएको छ । चाँडो बिवाह गर्दा महिलाको गर्भावस्था र गर्भावस्थामा आउने समस्याको बारेमा ज्ञान नहुदाँ गर्भवती महिलामा धेरै समस्याहरु आउने गरको भेटिन्छ । एउटा महिला गर्भवती हुदाँ ३० प्रतिशत रगत बच्चामा संचार भएको हुन्छ । महिलाहरुमा गर्भावस्था र प्रसुतिको बारेमा ज्ञान नभएर छिटोछिटो गर्भधारण गर्ने हुदाँ आमाको शरीरमा पूर्ण रुपमा रगतको परिपूर्ति हुन सक्दैन । जसको कारण गर्भवती आमाको ज्यान जोखिममा पर्ने समेत गरेको छ भने बच्चाको स्वास्थ्यमा पनि पूर्ण विकास हुन सकेको पाइदैन । एउटा बच्चा जन्माएपछि केही वर्षको अन्तरालमा गर्भधारण गर्दा महिलाको शरीरमा आवश्यक रगतको मात्रा पूर्ति हुन पाउँछ । महिलाको स्वास्थ्य अवस्थामा पनि सुदृढ हुन्छ ।
३) महिलाहरुमा आङ खस्ने समस्या चाही कसरी हुन्छ ?
मेडिकल अवस्था पनि पहिलेको तुलनामा अहिले धेर्र विकास भैरहेको छ । आङ खस्ने समस्या पहिलेको तुलनामा अहिले कम छ । पहिला नर्मल सुत्केरी गराउदाँ घरमा नै बसेर गराउने चलन थियो । लगातार बच्चा जन्माउने, सुत्केरी भएको केही दिनमा नै भारी उठाउने, आफ्नो ठूलो बच्चाहरुलाई बोक्ने काम आमाहरुले गर्ने गरेका थिए । कतिपय महिलाको पेटमा नै सालनाल रहेको हुन्छ । घरमा बच्चा जन्माउँदा पेटमा नै छुटेको सालनालले भित्र इन्फेक्सन भैरहेको हुन्छ । सुत्केरी अवस्थामा महिलाले आफ्नो शरीरको हेरचाह नगर्ने हुदाँ आङ खस्ने समस्या बढ्न सक्छ । कम उमेरमा बच्चा जन्माउँदा त्यस्ता महिलाहरुको आङ खस्ने समस्या बढी हुन सक्छ ।
४) गर्भावस्थामा महिलाहरुले कस्तो खाना खानुपर्छ ?
पहिला गर्भवती महिलाहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुपर्छ । गर्भावस्थामा मेवा खानु हुदैन । मेवामा प्यापेन तत्व पाइन्छ , यसले गर्भलाई खेर जानमा सहयोग गर्छ । यस अवस्थामा आमा र बच्चा दुबैलाई स्वस्थ्य राख्न बढी मात्रामा पोषिलो खानेकुरा खानु पर्ने हुन्छ । प्रशस्त भिटामिन, प्रोटिन पाइने खानेकुराहरु खानको लागि विशेष ध्यान दिनुपर्छ । फलफुल, दुध, अण्डा, माछा मासु खानु पर्छ । माछा, मासुलाई धेरै तेलमा पकाएर नखाने, मेवा बाहेक सबै फलफूल खान सकिन्छ । बच्चालाई चाहिने रगत आमाबाट प्राप्त गर्ने भएकोले दैनिक भिटामिन युक्त खाना गर्भवती आमाले खानुपर्छ ।
५) गर्भावस्थाका महिलामा परिवारको कस्तो सहयोग चाहिन्छ ?
गर्भावस्थामा पहिलो सहयोग श्रीमान्, आमा र दिदीबहिनीहरुको चाहिन्छ । गर्भावस्था सुरु भएको पहिलो ३ महिनाको अवस्था अति नै संवेदनशील अवस्था हो । यो अवस्थामा काम कम गर्ने, भारी नउठाउने गर्नु पर्छ । जसको उपचारबाट बच्चा बसेको छ भने पहिलो ३ महिनाको समयमा बेड रेस्ट गर्नु पर्छ । प्रोजेस्टोरोन औषधी खानुपर्छ । पहिलो ३ महिनामा कतिपयलाई बान्ता हुने हुदाँ सुख्खा ब्रेड खानुपर्छ । गर्भावस्थाको पहिलो चरणमा श्रीमान् तथा परिवारका सदस्यहरुले उत्प्रेरणा दिने, बच्चाहरुको भिडियो देखाउने, गर्भवती महिलाहरुसंग बसेर कुराकानी गर्ने वातावरण बनाउने गर्नु उपयुक्त हुन्छ । गर्भावस्थामा महिलाको शरीर भित्र अर्को मानवको विकास भैरहेको हुदाँ धेरै महिलालाई ढाड दुख्ने, पिसाब छिटो छिटो लाग्ने, पसिना बढी आउने, सुगर बढ्ने, टाउको दुख्ने समस्याहरु पनि हुन्छ । यो अवस्थामा परिवारका सबैले ख्याल गर्नुपर्छ । प्रशस्त मात्रामा पोषिलो खाना खान दिने, घरमा झै झगडा गर्नु हुन्न । यसले आमाको स्वास्थ्यका अतिरिक्त बच्चाको सकारात्मक विकासमा हानी पुग्छ ।
६) गर्भावस्थामा महिलाले जाँच किन गराउनु पर्छ ?
गर्भावस्थामा महिलाले बच्चाको स्वास्थ्य स्थिति पत्ता लगाउन र गर्भावस्थामा महिलामा हुने जोखिमबाट बच्न जाँच गराउनु पर्छ । गर्भवती महिलाले न्यूनतम पनि ४ पटक गर्भको जाँच गराउनु पर्छ । गर्भ रहेको थाहा पाएपछि १२ हप्ता अघि एक पटक जाँच गर्नुपर्छ । पहिलो ३ महिनामा जाँच गरी पोलीएसिड औषधी प्रयोग गर्नुपर्छ । जुन औषधीको सेवनले बच्चाको दिमाग सन्तुलन गराउन मद्दत गर्दछ । १२ हप्तामा बच्चाहरुमा कुनै समस्या छ वा छैन हेर्नको लागि जाँच गराउँनु पर्छ । २० हप्ता गर्भवती आमालाई जुकाको औषधी खुवाउन, टिटानसको खोप लगाउन, बच्चाको हलचल थाहा पाउन, बच्चाको वृद्धि र विकासमा कुनै समस्या छ कि भनेर चेकजाँच गर्नु पर्छ । बच्चामा समस्या भएमा तत्काल गर्भपतन गराउन सकिन्छ । नियमको आधारमा गर्भावस्थाको जाँच ८ पटक गराउनु पर्छ । गर्भरहेको थाहा पाएपछि १२ हप्ता अगाडी, १२ हप्तामा, १६ हप्तामा, २० हप्तामा, २४ हप्तापछि दुई दुई हप्ताको फरकमा ४० हप्तासम्म जाँच गराउनु पर्छ ।
७) गर्भवती महिलाले सामान्य तरिकाबाट बच्चा जन्माउन के गर्नुपर्छ ?
गर्भवती महिलाले गर्भावस्थाको तेस्रो चरणमा सक्दो प्रयास गर्नुपर्छ । युटुबमा उपलब्ध भएको भिडियोहरु हेर्ने, खाना खाएर हिड्डुल गर्ने, पाठेघरको तल्लो भाग (मुख) खोल्न सहज हुने व्यायम गर्नु पर्छ । स्क्वटिङ्ग व्यायम, किगल व्यायम, पेलबिक फ्लोड व्यायम गर्नुपर्छ । कुनै पनि आमाको शारीरिक अवस्था स्वस्थ्य छ भने नर्मल बच्चा जन्माउन सक्छन् । यदि बच्चा बस्ने प्लेबिस सानो छ बच्चा ठूलो छ भने अप्रेशन नै गर्नु पर्ने हुन्छ । आमा स्वस्थ्य छ भने जुनसुकै उमेरमा पनि नर्मल बच्च जन्माउन सक्छन् । महिलाहरुले सामान्यतया ४० वर्ष भित्र नै बच्चा जन्माउनु पर्छ । ४० वर्षपछि महिलामा इस्ट्रोजन, प्रोजेस्टोन हर्मोन कम हुने, वि.पि. सुगरको समस्या हुने हुदाँ गर्भधारण गर्न उपयुक्त हुदैन ।
८) बच्चालाई स्तनपान नगराउने प्रचलनलाई ठिक हो ?
बच्चालाई स्तनपान नगराउनु राम्रो होइन । गर्भावस्थामा आमाको हर्मोनबाट दुध बनेको हुन्छ । आमा र बच्चाको बीच स्नेह बढाउने काम स्तनपानले गर्दछ । स्तनपान गराउँदा आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो हुन्छ । बच्चालाई स्तनपान नगराउँदा स्तनमा नै दुध जम्ने हुदाँ आमालाई क्यान्सर हुने समस्या पनि हुन सक्छ । आमाको दुधमा पानी, भिटामिन, प्रोटिन, कार्बोहाइट्रेड, फ्याट सबै पदार्थहरु पाइन्छ । बच्चाको शारीरिक विकास, हर्मोन विकास, न्यूरो विकास साथसाथै सम्पूर्ण विकासको लागि स्तनपान गराउनु अति नै आवश्यक छ । बच्चा जन्मेदेखि ६ महिनासम्म कम्तिमा पानी पनि नखुवाइकन २÷२ घण्टाको फरकमा राति सुतेको समयमा पनि बच्चालाई उठाएर स्तनपान गराउनु पर्छ ।
९) गर्भवती भएको कति समयसम्म सुत्केरीको हेरचाह गर्नु पर्छ ?
आमा गर्भवती भएपछि कम्तिमा ६ हप्तादेखि १२ हप्तासम्मलाई सुत्केरी नै मानिन्छ । बच्चालाई दुध खुवाउन पर्ने हुदाँ आमालाई पोसिलो खाना बढी खुवाउने, पानी बढीभन्दा बढी खुवाउने, सधै तेल, मसला कम भएको खाना खुवाउनु पर्छ । नर्मल सुत्केरीमा तलको एरियाबाट बच्चा निस्केको, पानी, दिशापिसाब र रगत धेरै निस्केको हुनाले इन्फेक्सन हुने डर हुन्छ । तलबाट पुरै सफाई राख्ने, टाँका लगाएको छ भने त्यसको हेरचाह गर्ने । भारीहरु उठाउन नदिने, बच्चा उठाउन पनि भारी गाह्रो भएको छ भने बोकेर नहिड्ने । बसेको ठाउँमा मात्र बच्चा लिनुपर्छ । बच्चा जन्मने समयमा हाइपोटेन्सन र सुगर भएको बिरामीलाई पनि यो समयमा ख्याल गर्नुपर्छ । सुत्केरीको अवस्था पनि १२ हप्तासम्म पनि हुन सक्छ । यो समयमा घर परिवारले गर्भवती महिलाको विशेष ख्याल गर्नुपर्छ ।
१०) गर्भवती अवस्थाका महिलाको लागि थप के सुझाव दिनु हुन्छ ?
जब घरमा आफ्नो श्रीमती गर्भवती छन् भने नलजाई नजिकको हस्पिटलमा गएर जाँच गराउने गर्नु पर्छ । तपाइको पैसा खर्च गराउने सोचेर होइन भनेको । श्रीमतीले गर्भमा बच्चालाई ९ महिनासम्म पाल्नु पर्ने भएकोले उसको अवस्था कस्तो छ भनी जान्नु पर्ने हुन्छ । गर्भवती महिलालाई मात्र नभएर परिवारमा समेत खुशी मिलोस् भन्ने भावना सबैमा हुनु पर्छ । हामीले सल्लाह सुझाव दिने, औषधी दिने हाम्रो काम हो । आमा र बच्चालाई सधैं राम्रो होस्, रगतको कमी नहोस् भन्ने हो । आमा र बच्चाको ज्यान बचोस् । अहिले देश तथा विदेशमा सर्वाइकल भन्ने ठूलो क्यान्सर धेरै फैलिएको छ । ३० वर्ष माथिका विवाहित महिलाहरुलाई टाक्सवेयर भन्ने जाँच गर्नुपर्छ । यो जाँच गर्न २ हजारदेखि २ हजार ५ सयसम्म लाग्छ । यो जाँच ३ देखि ५ वर्षमा गर्नु पर्छ । यदि तपाईको बच्चादानीमा केही इन्फेक्सन छ भने बच्चादानी निकालेर महिलाहरुको ज्यान बचाउन सकिन्छ ।