कसैले चासो नदिएको समयमा अहिले तत्कालीन ‘नेपाल गभर्मेन्ट रेल्वे’ को १ हजार ७ सय ४९ बिघा जग्गा अतिक्रणको बिषयमा बल्ल अख्तियार दूरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । रक्सौल–अमलेखगन्ज रेल मार्गमा पर्ने सो जग्गा व्यक्ति र उद्योग प्रतिष्ठान तथा विभिन्न संघ संस्थाको अतिक्रमणमा परेको दशकौं भइसकेको छ । तथापि कसैले यसको बिषयमा चासो दिएका थिएनन् । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने बल्ल चासो देखाउन थालेको छ । यसले पनि यत्तिकै आफै भने चासो देखाएको होइन । केही समय अगाडी मध्य नेपाल सन्देश पत्रिका लगायतका केही मिडियामा नेपाल रेल्वेको जग्गामा सुकुम्बासीदेखि हुकुमबासी सम्मको रजाईं भनी समाचार आएपछि अख्तियारले भने चासो देखाएको हो ।
सन् १९२७ अर्थात विक्रम संवत् १९८४ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा ‘नेपाल गभर्मेन्ट रेल्वे’ को स्थापना भएको थियो । २०२२ सालतिर उक्त रेल सेवा बन्द भएपछि त्यसयत त्यसका संरचना र जग्गा बेवारिसे बन्दै गएका छन् । वेवारिसे भएको मौका छोपी वीरगंजको पावरहाउस चोकदेखि पथलैयासम्म २२ किलोमिटर खण्डको ६६ फिट चौडा जग्गा विभिन्न व्यक्ति र उद्योगहरूको कब्जाको शिकार भएको छ । २०२२ सालसम्म भारतको रक्सौलदेखि अम्लेखगंजसम्म चलिरहेकै नेपालको पहिलो रेलको अस्तित्व मेटाई सो समयको लिग समेत अहिले नामेट गरिएको छ ।
रक्सौलस्थित रेल्वे स्टेशन ( नेपालतर्फ ) देखि अमलेखगंजसम्मको ३८ किलोमिटर रेल्वेको ट्रयाक अहिले सुकुम्बासीभन्दा बढी हुकुमबासीको कब्जामा छ । रक्सौलको नेपाली रेल्वे लिंक हुदैँ डंकन, छपकैया भएरँ वीरगंज र वीरगंजदेखि परवानीपुर, छातापिपरा, जितपुर, सिमरा, पथलैयाँ हुदैँ अमलेखगंजसम्म नेपाली रेल्वे पुग्दाँ सयौँ निजी कलकरखाना, तथा उद्योगहरुले जग्गा हडपेका छन् ।
त्रिभुवन राजपथसँगै जोडिएको लगभग ४ लाख ४२ हजार ५ सय ६९ वर्गमिटर अर्थात एक हजार ७ सय ४९ विग्हा राजमार्ग छेउको बहुमूल्य जग्गा कतिपयले स्थानीय सरकारको मिलोमतोमा निजी व्यक्तिको नाममा नामसारी समेत गरेको स्थानीय जानकारहरुको भनाइ छ । जग्गा अतिक्रमणकारीहरुले नयाँ नापीबाट प्रमाणित गराएर रेल्वेको जग्गा व्यक्तिगत बनाइसकेको उनीहरुको तर्क छ । ठूला–साना घर, पेट्रोल पम्प, वजन गर्ने काँटा (बृज), कलकारखाना, गोदामजस्ता संरचना यो जग्गामा प्रशस्त बनेका छन् । परवानीपुर, जितपुर र सिमरामा त रेल्वेको ट्रयाक मै बस्ती बसिसकेको जो कोहीले खुल्ला आँखाले नै देख्न पाउँछ ।
समाचार आइसकेपछि भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेर पर्सा, बारा जिल्ला प्रशासन र जितपुरसिमरा उपमहानगरपालिकासँग बुझ्ने प्रयास गरेको छ । नेपाल गभर्मेन्ट रेल्वेको १७ सय विगाहा अतिक्रमित भन्ने शिर्षकमा रक्सौल–अमलेखगञ्ज रेलमार्गमा पर्ने तत्कालिन नेपाल गभर्मेन्ट रेल्वेको १ हजार ७ सय ४९ विघाह जग्गा अतिक्रमण बारे पत्रमा चासो व्यक्त गरेको छ । उक्त जग्गा मध्ये वीरगंजको पावरहाउस चोकदेखि पथलैयासम्म २२ किलोमिटर खण्डको ६६ फिट चौडा जग्गा विभिन्न व्यक्ति र उच्चओहदाका व्यक्तिको कब्जामा छ । अतिक्रमणकारी कतिपयले नयाँ नापीबाट प्रमाणित गराएर रेल्वेको जग्गा व्यक्तिगत बनाइसकेको पनि भेटिएको छ ।
तत्कालिन नेपाल सरकारले भारतको रक्सौलमा समेत तत्कालिन बेलायती सरकारसँग सन् १९२७ जुन १९ मा खरिद गरेको १६ बिगाहा १ कट्ठा ४ धुर जग्गा समेत अतिक्रमणमा परेको छ । “तत्कालिन नेपाल गभरमेन्ट रेल्वे लगायत सरकारी जग्गाहरु संरक्षण गरी अतिकमण हुन नदिन त्यहाँ मन्त्रालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ को उपदफा (१) बमोजिम सुझाव लेखी पठाउने’ भन्ने पनि पत्रमा उल्लेख गरिएको छ ।
वीरगंज महानगरपालिकाको वीरगंजको रेल्वे रोड भनेर चिनिने रेल्वे रोड भएर सुरु भएको अतिक्रमण दर्जनौँ व्यक्तिको घर टहरा पर्खाल रेल्वेको लिंक हुदैँ वीरगंजको घण्टाघरस्थित स्टेशनमा आईपुग्दासम्म दर्जनौँ व्यक्तिले आफ्नो निजी बनाएका छन् । यस्तै वीरगंज घण्टाघरको नेपाल रेल्वेको जग्गा हुदैँ परवानीपुरसम्म पुग्दा त्यस्तै कतिपय सरकारी निकायको पर्खाल, मुल गेट, त्यसैगरी डोम बस्ती रेल्वेको जग्गामै बसेको छ भने परवानीपुरको पुलबाट अझै माथि बड्दै जादाँ मल्टी नेशनल कम्पनी डाबर नेपालको गेट द्वार र स्टोर गर्ने घरको पर्खाल समेत रेल्वेको जग्गा मिचेर बनाएको छ ।
यसैगरी नेपाल रेल्वेको ट्रयाकसंगै नारायणी रोलिङ मिल्स, नेशनल फर्मास्विटिकलस, गोदावरी आयल्स, नारायणी इन्साफट, राहुल आयल लगायतको पर्खाल र कतिपय फैट्रीको घर समेत गरि रेल्वेको जग्गामा परेपनी यसको खोजविन गर्ने निकाय हालसम्म कोहि देखिएको छैन् । जसले गर्दा नेपाल रेल्वेको जग्गामा बसेर हुकुम चलाईरहेको देखिन्छ ।
जितपुरदेखि उत्तर सिमरातिर बढ्दै जादाँ लालकापुलदेखि सिमरासम्म रेल्वेको जग्गामै कतिपय व्यक्तिले आफ्नो घर बनाएका छन् भने नयाँ बस्ती बसाएकाहरु रेल्वेको जग्गामै आफ्नो गेट, पर्खाल र रेल्वे जग्गाको बिचमै घर समेत बनाएको पाइएको छ । सिमराबाट अलि अगाडी बड्दै जादाँ हुलास स्टिलको पछाडी पट्टि रेल्वेको जग्गा रहेको अस्तीत्व समेत मेटाएर पर्खालले बाउण्ड्रिवाल लगाएका छन् भने, त्यससंगै रहेको कतिपय नयाँ कलकारखानाहरुले त रेल्वेको ट्रयाक पुरेर त्यसमाथि नै नयाँ संरचना बनाइसकेका छन् ।
सिमराबाट पथलैयाँ पुग्दा रेल्वेको ट्रयाकको नामनिसान केही छैन । पथलैयाँबाट अमलेखगंजको बाटोसंगसंगै पश्चिम तर्फको रोडसंग अमलेखगंजस्थित नेपाल आयल निगमको डिपोसम्म आईपुग्दा आयल निगम डिपोको पर्खालबाट जग्गा मास्ने काम सुरु भएसंगै पहिला सुकुम्बासी बस्ने अमलेखगंज रेल्वे डिपोमा रहेको ५० औँ विगाहा जग्गा अहिले हुदाँ खादाँ हुकुमबासीहरुको रजगज भएको प्रत्यक्षदर्शीले बताए । जितपुर सिमरा उपमहानगरपालिकाका जनप्रतिनिधि लगायतको मिलोमतोमा समेत रेल्वेको ईन्धन गोदाम, लगायतको संरचना भत्काएर उपभोग गरिरहेको उनीहरुको भनाइ छ ।
अमलेखगंज रेल्वे डिपो रहेकाले यहाँ देशभरका लागी रेलबाट आउने समानहरु गोदाम गोदाममा राखिन्थ्यो । रेल्वेका हाकिम, कर्मचारी बस्ने एकदर्जन क्वाटरहरु अवस्थित रहेका थिए । जसको अहिले कुनै पहिचान पनि छैन । दर्जन बढी क्वाटर मध्ये एक गोदाममा भने नेकपा एमालेका पुर्व सांसद सिता गुरुङले भत्काएर दुईतल्ले घरै बनाएको उतिबेला अमलेखगंजका सचिव समेत रहेका विजय कान्त झाले बताए । नेपाल रेल्वेको जग्गा वा नेपाल सरकारको भन्ने विवाद समेत अमलेखगंजको जग्गामा रहेको कतिपयको भनाई रहेको छ । रेल्वेको गोदाममा अहिले अमलेश्वर उपभोता समितिले सटर बनाएको छ भने, अर्को श्री नव श्रृजना बचत तथा ऋण सहकारी संस्थाले समेत कार्यालय खोलेर बसेको देखिन्छ ।
यो देखेर सर्वसाधारणले समेत आफ्नो पहुँच रेल्वेको जग्गा तर्फ सोझ्याएको पाइन्छ । नेपालसंगै रेल्वे कम्पनीका नाममा रहेको रक्सौलको रेल्वे स्टेसनसँगै टाँसिएको अर्बौ मूल्यको जग्गा पनि भारतीयहरुको अतिक्रमणमा परेको छ । त्यहाँ बस्ती नै बसाइएको छ । रक्सौलका स्थानीयले जग्गा अतिक्रमण गरेकाले पहिला नेपाली उद्योगीहरुले क्लिंकर, आयोडिन लगायतको बस्तु मगाएर भण्डारण गर्ने ठाउँ अहिले संरक्षणको पर्खाइमा रहेको छ ।