खाद्यान्नको सुरुवात माटोबाट हुन्छ । अनि हाम्रो खानामा हुने पोषणको गुणस्तर सिधै माटोको गुणस्तर र स्वास्थ्यसँग जोडिएको हुन्छ । कुनै पनि बिरुवाको वृद्धि र विकासको लागि, रासायनिक तत्वहरु आवश्यक पर्छ । जसमध्ये १८ तत्वहरु अति आवश्यक तत्व हुन् । यी नभइ नहुने तत्वहरुलाई बिरुवाहरूले दुई फरक वातावरण, जस्तै माटो र हावाबाट प्राप्त गर्छ । जसमध्ये १५ वटा तत्व माटोले उपलब्ध गराउँछ । अन्य तीनवटा (कार्बन, हाइड्रोजन र अक्सिजन) बोटबिरुवाहरुले प्रकाश संश्लेषणको प्रकृयाबाट हावा र वायुमण्डलबाट लिने गर्छ । पशुमा आधारित खानाबाट पाइने पौष्टिक तत्वहरूको मुख्य श्रोत बोटबिरुवा हो । बोटबिरुवाको आधारित खाना मुख्य माटो नै हो । हामीले खाने प्रायः सबै खानाको स्वस्थता र पौष्टिकता माटोसँग जोडिएको हुन्छ ।
माटोलाई कसरी बुझ्ने ?
माटो के हो त ? माटो भनेको पानी, हावा, खनिज र प्राङ्गारिक पदार्थको संयोजन हो । सामान्यतया माटोमा ४५ प्रतिशत खनिज, २० देखि ३० प्रतिशत पानी, २० देखि ३० प्रतिशत हावा र ५ प्रतिशत प्राङ्गारिक पदार्थ हुन्छ । हावा र पानी माटोमा रहेको छिद्र (प्वाल) मा मिलेर बसेका हुन्छन् । हामीलाई सुन्दा अचम्म लाग्न सक्छ तर माटोका छिद्रहरुमा पानी र हावाको अनुपात कति छ भन्ने कुराले माटोको स्वस्थता निर्धारण गरेको हुन्छ । माटोमा हावा र पानीको मात्रा लगभग बराबर भएको उचित मानिन्छ । माटोमा पाइने खनिज तत्व चट्टान टुक्रिएर बनेको हुन्छ र खनिजहरूको प्रकार चट्टानको मूल सामग्रीको प्रकार र प्रकृतीले निर्धारण गरेको हुन्छ । माटोमा सबैभन्दा कम मात्रा प्राङ्गारिक पदार्थको भएता पनि यसले माटोको स्वस्थता, पौष्टिकता र उत्पादकत्वलाई निकै प्रभाव पारेको हुन्छ ।
माटोको प्राङ्गारिक पदार्थ मुख्यतयाः कार्बन (५८प्रतिशत) बाट बनेको हुन्छ .भने बाँकी पानी र अन्य खनिज तथा पोषक तत्वहरू नाइट्रोजन, फस्फोरस र पोटासियम आदिले बनेको हुन्छ । यी पदार्थ क्षय भएका (कुहिएका) र आंशिक रूपमा क्षय भएका कणहरूले भरिपूर्ण हुन्छन् । जसलाई सूक्ष्मजीवहरूले बोट र जनावरको अवशेषहरूको विघटन (कुहिने प्रक्रिया) मार्फत् निरन्तर बनाइराखेका हुन्छन् । यसका साथै यी सूक्ष्मजीवहरूले माटोमा उपलब्ध खनिजलाई बोटबिरुवाका लागि उपलब्ध हुने पोषक तत्वमा रुपान्तरण गरेका हुन्छन्, जसले बाली उत्पादनको आधार प्रदान गर्छ । यी पोषक तत्वहरु विना बाली उत्पादन हुन असम्भव जस्तै छ ।
माटोबाट स्वस्थ खाना उत्पादन गर्न सकिन्छ ?
हामीले खाद्यान्न उत्पादन गर्ने जमिनको माटो स्वस्थ छ त ? एसियाली विकास बैंकद्वारा गरिएको नेपाल कृषि क्षेत्र रणनीति अध्ययन अनुसार सन् १९६६ मा नेपालमा अन्नबाली विशेष गरी धानको उत्पादन दक्षिण एसियामा सबैभन्दा बढी थियो र सन् १९८० सम्ममा यो सबैभन्दा न्यूनमा झरेको थियो ।
विगतमा धान निर्यात गर्ने हामी आज धान चामलसहित खाद्यान्न आयात गर्ने प्रमुख देश बनेका छौं । यसरी हाम्रो अन्नबाली उत्पादनमा ह्रास आउनुको मुख्य कारण माटो हो ।
माटोमा प्राङ्गारिक पदार्थको मात्रा कमी हुनु र माटोको उत्पादकत्व शक्ति घट्दै जानु । धेरै अध्ययनहरूले पनि नेपालको माटोमा कम प्राङ्गारिक पदार्थको मात्रा, सीमित पहुँच र मलको अभाव र बदलिँदो मौसमका कारणले कृषि उत्पादनमा कमी आएको निष्कर्ष निकालेका छन् । उत्पादनशील माटोमा ३ देखि ५ प्रतिशत प्राङ्गारिक पदार्थ हुन्छ । तथ्याङ्क अनुसार नेपालमा खेतीयोग्य जमिनमा माटोको प्राङ्गारिक पदार्थको मात्रा लगभग १ प्रतिशतको हाराहारीमा घटेको छ । त्यसो भए हामीले खाद्यान्न उत्पादन गर्ने जमिनको माटो स्वस्थ छ त ?
यो अझै पनि अध्ययनकै विषय छ ।
सर्वप्रथम माटोमा प्राङ्गारिक पदार्थ निर्माण गर्न सकिन्छ र त्यसका लागि एक व्यावहारिक विकल्प हो माटोमा राम्रो गुणस्तरको प्राङ्गारिक पदार्थ थप्नु । यसले जीवित जीवाणुहरूलाई घरभित्रै (माटो भित्रै) राख्छ र सामुदायिक गतिविधि सुरुवात गराउँछ । यसो भन्दै गर्दा कसैले यो पनि सोच्न सक्छ कि थपिएको प्राङ्गारिक पदार्थले माटोमा अवस्थित छिद्रहरू भर्छ र यसलाई अझ बलियो या ठोस बनाउँछ । तर प्राङ्गारिक पदार्थयुक्त माटो ठोस पदार्थ होइन कि स्पन्ज (घिरौलाको जाली) जस्तै हुन्छ । माटोको आयतनमा विस्तार हुने हुँदा यस्तो माटो अधिक छिद्रपूर्ण हुन्छ र अधिक पानी सञ्चित गर्नसक्ने हुन्छ । करिब १ प्रतिशत जैविक पदार्थको वृद्धिले प्रति हेक्टर माटोमा २ लाख ३४ हजार लिटर पानी उपलब्ध गराउँछ ।
तपाईंले ‘अवतार २– पाण्डोरा न्यूरल नेटवर्क हेर्नुभयो भने देख्नुहुन्छ की पाण्डोराका सबै वनस्पति र जीवजन्तुहरू कसरी एकअर्कासँग सञ्चार गर्छन् । माटोको एक ग्राममा अरबौँ सूक्ष्मजीवहरू भेट्टाउन सकिन्छ, जसमा अति सुक्ष्म रेखा जस्तै–माइकोराइजल फंगी भनिने जीवहरू समावेश हुन्छन् । यो पन्डोरा न्यूरल नेटवर्क जस्तै हो जसले माटोको विश्वव्यापी सञ्जाल बनाउँछ । साथ साथै स्वस्थ माटो बनाइ, स्वस्थ र पौष्टिक खाना उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्छ । माटोमा पाइने जीवन्त प्राणी जस्तै ब्याक्टेरिया, प्रोटोजोआ, नेमाटोड र ढुसी, बिरुवाको जराबाट पाइने पोषक तत्वहरू,जीवबाट हुने उत्सर्जन, जरा प्रणालीले दिगो र स्वस्थ उत्पादन प्रदान गर्छ ।
हाम्रा खेती विधि र अभ्यासहरूले माटो प्रणालीमा हुने बिरुवाको पोषक तत्व प्रवाह र सन्तुलनलाई विभिन्न स्रोतहरूबाट मद्दत गरेको छ । त्यसमध्ये एक वन हो, जसलाई हाम्रो बाली प्रणालीको अभिन्न अङ्ग मानिन्छ ।
शताब्दीयौं देखि नै, माटोको उर्बरता पुनःपूर्तिका लागि हाम्रो परम्परागत खेतीले प्राङ्गारिक मल जस्तै कम्पोस्ट प्रयोगलाई मान्यता दिँदै आइरहेको छ । कम्पोस्ट पशुपालन र जनावरको मल स्रोतलाई कुहाएर बनाएको एक प्राङ्गारिक मल हो . जुन मुख्यतया धेरै संख्यामा पशुपालन गोठ रहेको क्षेत्रमा प्रयोग गरिन्छ । जब जङ्गल र खेतमा जनावरहरु चर्छन् र मलमुत्र बिसर्जन गर्छन् । बिरुवाको जिवाभार (बायोमास) प्राङ्गारिक पदार्थहरूमा रूपान्तरण भई माटोमा मिसिन्छ । यसरी माटोमा बन्ने प्राङ्गारिक पदार्थमा नयाँ बिरुवाहरूको पोषक तत्वहरु हुन्छ ।
अझ जङ्गलको स्याउला (भुइँमा पाइने पात पतिङ्गर) लाई जनावरको मलमूत्रमा मिसाएर कम्पोष्ट बनाउने प्रचलन छ । जसकारण हाम्रो विद्यमान बाली प्रणालीमा पोषक तत्व प्रवाहको चक्र र सन्तुलन कायम भइरहेको छ । माटोको प्राङ्गारिक पदार्थमा भएको परिवर्तनहरूको निगरानी गर्न आवश्यक छ जसका लागि केही वर्षदेखि दशकसम्म समय लाग्न सक्छ ।
किसानको ज्ञान
पातपतिङ्गर र गोठेमलमा भएको पौष्टिक तत्वको गुणस्तरका आधारमा जमिन र गुणस्तरिय कम्पोष्ट मलको छनोट गर्नसक्ने किसानहरूको परम्परागत ज्ञान उत्कृष्ट छ । किसानहरु स्वस्थ बेर्ना उत्पादनका लागि उत्कृष्ट र बढी मल भएको कम्पोस्ट प्रयोग गर्न नै सजग देखिन्छन् । पाखोबारी तथा खोँच खेतमा गरिने फरक फरक गुणस्तरयुक्त कम्पोस्ट मलको प्रयोगले किसानहरूको पोषक तत्व सन्तुलनप्रतिको चेतना झल्काउँछ । पाखो बारीमा हुने मध्यम गुणस्तर कम्पोस्टको प्रयोग जसका दुई मुख्य कारण छन् ।
सर्वप्रथम बारीमा लगाइने बाली जस्तै, मकै बालीहरूले उच्च स्तरको पोषक तत्वहरूको माग गर्छ । त्यसैगरी बारीको माटोमा पोषक तत्वहरू वार्षिक रूपमा लीच (निक्षालन) भइरहेका हुन्छन् जस्लाई प्रतिस्थापन गर्न आवश्यक छ । यसबाहेक, काठमाण्डौ उपत्यकाका क्षेत्र जस्तै भक्तपुर,कालीमाटी, बल्खुलगायत नेपालको केही अन्य भू–भागमा प्राकृतिक रूपमा उर्बर माटो पाइन्छ, जसलाई कालो माटो पनि भनिन्छ । कालो माटो उच्च गुणस्तरको प्राङ्गारिक पदार्थ भएका नदीहरू र खोलाहरूबाट तालमा जम्मा भएर बनेको हुन्छ ।
प्राङ्गारिक पदार्थको उच्च मात्रा भएको माटोमा उच्च कार्यक्षमता हुन्छ । जसले बालीको जरा विस्तार गर्न र पोषक तत्वहरू लिन मद्दत गर्छ । त्यसकारण यस्ता क्षेत्रमा किसानहरुले तरकारी खेतीलाई बढी प्राथमिकता दिएको पनि देखिन्छ । तर पनि,विभिन्न कारणले परम्परागत खेती र प्राङ्गारिक मलको प्रयोग तथा विस्तारमा समस्या ल्याइरहेको छ ।
रासायनिक मलको विकल्प प्राङ्गारिक मल
जनसंख्या वृद्धिसँगै जमिनमा बढेको चर्को दबाबका कारण परम्परागत पशुपालन प्रणाली र वन स्रोतको पहुँच भत्किएको छ । कम्पोस्टको तयारी र व्यवस्थापनमा बढी समय खपत र बढी श्रम लाग्ने काम हो । जहाँ पर्याप्त संख्यामा पशुपालन गर्न, नियमित रूपमा वनबाट घाँस र वनस्पति सङ्कलन गर्न जरुरी छ । रासायनिक मल, विषादी र यान्त्रिकीकारणको प्रचलनसँगै हामी व्यावसायिक र प्रतिस्पर्धात्मक खेतीमा प्रवेश गरेका छौं । कम आयतन प्रकृति, सहज ढुहानी, प्रयोगमा सहजता र सबैभन्दा महत्त्वपूर्ण कुरा, उपजमा तीव्र वृद्धिका कारण बिरुवामा बाह्य पोषक तत्व, विशेष गरी रासायनिक मलले लोकप्रियता हासिल गरेको छ ।
तसर्थ, परम्परागत रूपमा प्रयोग हुने प्राङ्गारिक मलमा कम ध्यान गएको छ र खेती प्रणालीमा सन्तुलित पौष्टिक चक्रलाई असर गरेको छ । जब कम प्राङ्गारिक पदार्थको कारण माटोमा पोषक तत्वहरुको कमी हुन्छ रासायनिक मलको बढ्दो प्रयोगले यसलाई पुनस्र्थापित गर्न सकिँदैन । माटोमा छरिने रासायनिक मलबाट सजिलै उपलब्ध हुने पोषक तत्वहरू छिट्टै माटोमा चुहिएर जान्छ । विगत केही दशकदेखि प्रमुख खाद्यान्न बालीहरूको उत्पादकत्व स्थिर वा घट्नुको मुख्य कारणहरूमध्ये यो पनि एउटा हो । यस समस्यालाई हटाउन सरकारले सन् २०३५ सम्म माटोको प्राङ्गारिक पदार्थलाई अहिलेको स्तरबाट ४ प्रतिशतसम्म वृद्धि गर्ने लक्ष्य राखेको छ ।
हामीले हाम्रा गतिविधिहरू सम्झने हो भने, हामी माटोमा प्राङ्गारिक पदार्थको महत्त्वलाई नजिकबाट हेर्न असफल भएका छौ . हामी किसानहरूलाई प्राङ्गारिक स्रोतको महत्वबारे सिकाउन, अनुदान कार्यक्रममा प्राङ्गारिक मललाई रासायनिक मलसँग एकीकृत गर्न असफल भएका छौ । हामी प्राङ्गारिक बालीको अवशेष र मलले कृषि उत्पादनमा दिने महत्वलाई विचार गर्न र प्राथमिकता दिनबाट चुक्यौँ ।
उत्पादनको जीवन चक्रलाई पूर्णता दिन उपउत्पादनहरू र फोहरहरू जहाँ औद्योगिक, जैविक, घरेलु फोहर, ढलको फोहरहरुलाई जैविक मलको स्रोतको रूपमा प्रयोग गर्न प्राथमिकता दिन्छ । सन् २०११ मा सञ्चालित आरम्भिक परियोजनाले काठमाण्डौका स्थानीय बजारबाट सङ्कलन गरिएको १ सय ४० टन ताजा प्राङ्गारिक फोहर प्रयोग गरी १५ टन उच्च गुणस्तरको कम्पोष्ट मल उत्पादन गर्न सकेको थियो । जसलाई प्राङ्गारिक मल उत्पादनको वैकल्पिक स्रोतका रूपमा लिन सकिन्छ ।
यद्यपि माटोमा प्रयोग गर्नु अघि यसरी बनेका प्राङ्गारिक मलको पोषण स्थिति र मानव तथा खाद्य शृङ्खलालाई हानि गर्न सक्ने प्रदुषकहरूको उपस्थितिको मूल्याङ्कन भने गर्नुपर्छ । सारमा, संक्षिप्तमा, स्वस्थ एवम् उत्पादनशील माटो,तथा सूक्ष्म जिवाणुको बासस्थानका लागि माटोमा प्राङ्गारिक पदार्थको आवश्यकता पर्दछ । हामीले हाम्रो सोचाइ र काम गर्ने तरिकालाई परिवर्तन गर्न आवश्यक छ । प्राङ्गारिक पदार्थलाई ध्यानमा राख्दै माटो व्यवस्थापन गर्ने हो भने लामो समयसम्म पनि त्यस्तो माटो खेती प्रणालीको लागि बलियो, स्वस्थ र अनुकूलन हुने गर्छ । प्राङ्गारिक पदार्थलाई उच्च प्राथमिकता दिनुपर्छ । किनभने प्राङ्गारिक पदार्थ साँच्चै नै महत्वपूर्ण छ ।
अंग्रेजी भाषामा प्रकाशित सामग्रीको सम्पादित नेपाली अनुवाद हो ।)