नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहको भनाइलाई दलहरुले कामले खण्डन गर्नुपर्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरुसँग सहकार्यको जरुरी भइसकेको बताएका थिए ।
सिन्धुलीमाडीमा मंगलबार प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले लोकतन्त्रमा आफ्नो धारणा राख्न पाइने र काम गरेर देखाएपछि त्यस्ता बोली स्वत हराउँदै जाने कोइरालाको भनाइ थियो ।
जनतामा वितृष्णा पैदा नहुने गरी लोकतन्त्रलाई उन्नत बनाएर काम गर्न सके झिनामसिना कुरा आफैं सेलाएर जान्छन्, उनले भने, ‘बेरोजगारीलाई रोजगारी, उद्यमशील, समृद्ध बनाउन छाडेर खाली कुर्सीको पछि दगुरेपछि विभिन्न किसिमका आवाज त आउने नै भयो । नागरिकलाई खुसी कसरी बनाउने त्यता लाग्नुपर्यो । अनि फुर्सद नभएपछि त्यता कोही लाग्दै लाग्दैन ।’
यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको एक दिनअघि फागुन ६ गते प्रजातन्त्र जोखिममा परेको भन्दै राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव गरेका थिए । त्यस लगत्तै शाहको भनाइप्रति नेताहरूले टिप्पणी गरेका थिए । नेता कोइरालाले पनि उनको भनाइलाई लक्षित गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
मंगलबार भने नेता कोइरालाले राष्ट्रपति निर्वाचनको प्रसंगमा नेपाली कांग्रेसले उम्मेदवारी दिने र त्यो उम्मेदवारले जित्ने दाबी गरेका थिए । ुसबैभन्दा ठूलो पार्टी भएकाले राष्ट्रपति कांग्रेसले लिनुपर्छ हैन, जित्नुपर्छ भन्ने हाम्रो मान्यता हो,ु उनले भने, ‘अब माधव नेपालजी या अरु जीहरुको कुरा, ओलीजीले भेट्नु भयो भन्दैमा कांग्रेसले उम्मेदवार नदिने भन्ने सोच राखेको पनि छैन । राख्दा पनि राख्दैन ।’
यस्तै राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति नहुने भन्दै नेता कोइरालाले राजनीतिक दल बाहिरको सर्वस्वीकार्य मानिस चाहिने बताए । तर राजनीतिक दल बाहिर त्यस्तो व्यक्ति नदेखिएको भन्दै उनले राष्ट्रिय सहमति सम्भव नभएको बताए ।
साथै कांग्रेसबाट रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतको नाम राष्ट्रपति उम्मेदवारका लागि आएको तर आफ्नो कुनै चर्चा नभएकाले त्यसतर्फ नसोचेको उनले बताए । सम्भार कान्तिपुर