बुवा मदन किशोर प्रसाद तथा आमा कलावती देवी को कोखबाट जन्मिएका नितेन्द्र प्रसाद साहको जन्म वि.सं. ०३६ साल भदौ १ गते नगरदाहा वडा नं. ३ मा भएको हो । प्रविणता तह सम्म अध्ययन पुरा गरेका साह विगत लामो समय देखि नेपाली कंग्रेसको तर्फ बाट राजनीति गर्दै आएका हुन । गएको स्थानीय निकायको चुनावमा नेपाली कंगेसकै तर्फ बाट बहुदरमाई नगरपालिकाका निवार्चित मेयर हुन साह । यिनै मेयर साहसंग बहुदरमाई नगरपालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रही मध्य नेपालको लागि गरिएको कुराकानी :-
१) आर्थिक वर्ष २०७४/०७५ मा मुख्य गरी के के काम गर्नु भयो ?
शिक्षा र स्वास्थमा केही व्यवस्थापन गरी सडक र नाला बनाउने काम गरेका छौ ।
२) निर्वाचनको बेला जनतासंग गरेका प्रतिवद्धता के के पुरा गर्नु भयो ?
हाम्रो गाउँपालिकामा धेरै गाउँ भएकाले अपेक्षित विकासको अवधारणा लिएर आवश्यकता अनुसारको विकास निर्माणको कार्य गरिरहेका छौ । मानिसको व्यक्तिगत जिवनस्तर उकास्ने समाजिक क्रियाकलाप पनि गरिरहेका छौ ।
३) मेयर/उपमेयर आफ्नै सेवासुविधामा लिप्त हुनुहुन्छ, जनताको विकास कहिले हुने ?
नगरपालिकाको लागी गाडी नभई नहुने कुरा हो । विकासको सबै काम, गाउँ ठाउँको समस्याहरुको बुझेर समाधान गर्नका निम्ती समयमा पुग्नको लागी सवारी साधन नभएकोले बोर्डले निर्णय गरे अनुसार हामी आफ्नो सवारी साधन उपभोग गरिरहेका छौ । अनावश्यक किसिमको सेवा सुविधा भने हामी नगरपालिकाबाट लिएका छैनौ ।
४) जनताको सेवाको लागी एउटा एम्बुलेन्स पनि नगरपालिकाले राखेको छैन, मेयर/उपमेयरको लागी दुईवटा गाडी हुनुलाई कसरी जनतामुखी प्रतिनिधि भएको आभाष गर्ने ?
म आफ्नो गाडी किन्नुभन्दा पहिला एम्बुलेन्सको टेन्डर निकालेको अहिले पनि प्रमाण छ । भन्सार छुटको लागी मन्त्रालयबाट स्विकृत गराएर ल्याउने व्यवस्था भएकोले एम्बुलेन्स ल्याउन ढिलाई भएको छ । एम्बुलेन्स पनि ल्याउने प्रकृयामा छौ, तुरुन्तै आउँछ ।
५) यहाँ कार्यालयमा अनुपस्थित नै रहनु हुन्छ भन्ने गुनासो छ ?, जनताको काम गर्न कसरी भ्याउनु भएको छ ?
सधै कार्यालयमा उपस्थित हुन सम्भव छैन । किन भने हरेक वार्डमा आईपर्ने समस्याको समाधान गर्न नगर प्रमुखको जरुरी हुन्छ । वीरगंज लगायत प्रदेश र केन्द्रको कार्यक्रममा समेत सहभागी हुनुको साथै नगरपालिकाको सम्पूर्ण काममा मेयरकै भूमिका अपरिहार्य भएकोले कार्यालयमा अनुपस्थित भएको हुँ । यदी नगरपालिकाको कामले बाहिर भएको छु भने नगरपालिकाकै काम भयो नि । यसलाई कहाँ अनुपस्थित भन्न मिल्छ र ।
६) यहाँ जनप्रतिनिधी भएर आईसकेपछि नगरपालिकाको लागी ठोस काम के के गर्नु भयो ?
मैले जितेपछि शुरुमा शिक्षामा डेढ करोड रुपैया बिनियोजित गरेको थिए । नगरपालिकाभित्र हुने सडकको सम्पूर्ण काम गिटिबालुवा र ग्रेबलको नभई सबै सडक पक्की र ढलान गर्ने गरी काम भईरहेको छ ।
नगरपालिका भित्र अलपत्र परेका मठमन्दिरको संरक्षणको काम गर्दै नगरपालिका भित्रका दलित समुदायको स्तर उन्नितको लागी बाख्रा वितरण देखि सिलाई कटाई सम्बन्धी विभिन्न सिपमुलक कार्यक्रम पनि गरेका छौ । नगरपालिकाको रामनगरी टोलका एउटा दलित बच्चाले एमबीबीएसमा आफ्नो नाम निकाल्न सफल भएकोले उसको सम्पूर्ण खर्च समेत नगरपालिकाबाटै व्यहोर्ने निर्णय गरेका छौ ।
दलित समुदायका परिवारले शौचालय सहितको पक्की घर बनाउनेलाई ५० हजारदेखि १ लाखसम्म अनुदान स्वरुप वर्षेनी १ करोडको कार्यक्रम पनि चलाईरहेका छौ । सबै दलित समुदायको व्यवस्थित पक्की घर होस भने उदेश्यले उनीहरुको उत्थानमा लागेको छु ।
७) किसानलाई दिईने कृषिसम्बन्धी सेवासुविधामा समेत पार्टीगत टिकाटिप्पणी गरी वितरण गरिएको छ भने कृषकको आरोप छ, यो आरोपलाई यहाँले कुन रुपमा नियाल्नु भएको छ ?
यो सबै गलत आरोप हुन् । प्रत्येक वडाबाट नाम छनोट गराई वडाअध्यक्षको सिफारिसमा नै मल, खाद्य, विउविजन लगायतका सामग्री वितरण गरेका छौ । सबैको समन्वयमा नै छलफल गरी काम गर्ने गरिन्छ । मैले एक्लै निर्णय गरेर काम गर्ने परिपार्टी छैन ।
८) बहुदरमाई नजगरपालिकाको सडकको अवस्था अझै पनि दयनिय नै छ । कति वर्षभित्र सुधार्ने लक्ष्य यहाँले राख्नु भएको छ ?
बिश्रामपुरदेखि बहुअरी र विन्दवासिनी देखी डोकैलाचौक सम्मको दुई वटा मुल सडक नगरपालिकामा रहेको छ । विन्दवासिनीदेखि पर्सागढीको सडकको विकासको लागी ४ करोड रकम राखेका छौ जुन डोकैला चौकसम्म यो वर्ष नै तयार हुन्छ । त्यस्तै बिश्रामपुरको सडकमा पनि ४ करोड रकम रहेकोले यथासिघ्र नै काम सुरु हुन्छ र मेरो कार्यकालमा यो दुई वटा सडक लगायतको अरु साँघुरो सडक पनि पक्की हुनेछ भन्नेमा म विश्वास दिलाउन चाहन्छु ।
९) यहाँ जनप्रतिनिधी भएर आईसकेपछि शिक्षा र स्वास्थमा के कस्तो सुधार आएको छ ?
नगरपालिकामा शिक्षाको स्तर बढाउनको लागी शिक्षकहरुसंग छलफल गरी विद्यालयहरुमा आवश्यक पर्ने सम्पूर्ण स्रोत साधन उपलब्ध गराउनुको साथै थप स्रोत साधन जुटाउन तयार रहेको सल्लाह पनि दिएको छु । विद्यालयको सरसफाई र बच्चाको नियमित उपस्थित गराई लोप हुन लागेको प्रार्थना गराउने कुराको शुरुवात भएको छ । प्रत्येक विद्यालयको चर्पी सफा तथा सेनेट्री प्याड, हात धुने व्यवस्थादेखि बच्चाहरुको शिक्षा र स्वास्थ स्तर उन्नतीको लागी सबै कुराको व्यवस्था गरेका छौ ।
१०) अरु स्थानीय तहमा कम्पयुटर शिक्षा र अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भईसकेको छ । यहाँको नगरपालिकाको अवस्था कस्तो छ ?
गतवर्षदेखि नै कम्पयुटर शिक्षा र अंग्रजी माध्यमबाट पठनपाठन हुने शुरु भएको छ । लामो समयको अन्तराल पछि स्थानीय सरकार बनेकोले विस्तारै यसको स्तर उन्नती गर्नको लागी नगर शिक्षा समितिको गठन पनि गरेका छौ । क्रमिक रुपमा आवश्यकताको चिज पुरा गरी शैक्षिक स्तर उकास्ने काम गरिरहेका छौ । लामो समयदेखि सुधार हुन नसकेको कुरा क्रमस सुधार गर्दै अगाडी बढ्ने सोच छ ।
११) बहुदरमाई नगरपालिकामा भएको स्थानीय स्रोत साधनलाई पहिचान गरी परिचालन गर्दा के कस्तो आय आर्जन गर्ने सम्भावना देख्नु भएको छ ?
नगरभित्र रहेका पोखरीहरुलाई टेन्डर गराएर ठेक्कापटा दिने काम गरेका छौ । अरु पनि धेरै सार्वजानीक खेतियोग्य जग्गाले पनि आय आर्जन भईरहेको छ । त्यस्तै बालुुवा बंजर रहेका जग्गा अथवा खेती योग्य नभएको सार्वजनिक जग्गालाई पनि पहिचान गरेर पोखरी खोनी नगरपालिकाको आय आर्जन बढाउने कार्यमा लागेका छौ ।
१२) यहाँको नगरपालिकामा भएको बेरोजगार युवा तथा महिलाको रोजगारीको लागी तपाई के गर्दै हुनुहुन्छ ?
अहिले वडा नम्बर ३ टोल नगरदाहामा महिलाहरुको उत्थानको लागी सिलाई कटाई सम्बन्धी सिपमूलक तालिम चलिरहेको छ । विगतको दिनमा दलित महिलाको लागी बाख्रापालन गरेर आय आर्जन गर्ने कार्यक्रम चलाएका थियौ । पुरुषको लागी मोटर व्यान्डिङ्गदेखि इलेक्ट्रिक सम्बन्धी तालिम चलाउने प्रयासमा हामी छौ भने महिलाको लागी व्युटिसियनको तालिम दिने समेत योजना बनाएर अगाडी बढिरहेका छौ ।
१३) बहुदरमाई नगरपालिका यहाँको जन्मेको, हुर्केको र सबैले चिनेको ठाउँ हो । सरकारको योजना बाहेक जनतामा यहाँको व्यक्तिगत लगानी के छ ?
आफ्नो कामलाई विराम गरेर जनताको सेवा गर्नको लागी राजनीतिमा आएको हुँ । आफ्नो व्यपार व्यवसायलाई नै ठप्प पारी जनताको विकास गर्ने उदेश्यले नै जनताको प्रतिनिधी भई जनताको विकास कार्यमा लागेको छु । मैले निश्पक्ष रुपमा गाउँको विकासको लागी हरेक कामलाई टेन्डर गराएर राजनीतिक हस्तक्षेप बिना जनताको विकासको लागी मापदण्ड बनाई टेन्डरमा समेत प्रतिस्पर्धा गराउने गरेकोले गत वर्ष नगरपालिकालाई ४ करोडको फाईदा पनि भएको थियो । जुन रकमबाट नगरपालिकाकै काम भईरहेको छ । व्यक्तिगत तर्फबाट कसैलाई ५/१० हजार सहयोग वा चन्दा दिएको होला । अरु भने कुनै सहयोग गरेको छैन ।
१४) राजनीतिक रुपमा पार्टीका कार्यकर्तालाई कतिको सहयोग गर्नु भएको छ ?
निर्वाचित भईसकेपछि म कुनै पार्टीको मान्छे हुन सक्दिन । काम, कर्तव्यको हिसाबले सबैको काम गर्नु मेरो कर्तव्य हो । पार्टीगत हिसाबले गरेको भए अरु ठाउँ जस्तै कोटेशन लिएर म पनि गर्थे तर मैले निश्पक्ष रुपले सबैको उत्थान हुने गरी सरकारको मापदण्ड अनुसार पार्टीगत वा व्यक्तिगत उत्थानको लागी नभई समाजिक उत्थानको लागी कार्य गरिरहेको छु ।
१५) आगामी कार्ययोजना के के छ ?
शिक्षा, स्वास्थ, सडक र समाजिक स्तर उन्नती गरी गरिब, दलितका बालबालिकालाई विद्यालय भर्ना गराई सबै समुदायको आर्थिक स्तर उकास्ने कार्यमा लागेका छौ ।