शिक्षा मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण चेतनाको आधार हो । पछिल्लो समयमा त शिक्षा गाँस, बास र कपासको समेत आधार जस्तो बनिसकेको छ । प्रविधि र शिक्षाको उच्च उर्वर समयमा स्तरीय शिक्षा अझ अपरिहार्य भइसकेको छ । यो पक्ष वीरगंजवासीलाई पनि आवश्यकता नपर्ने भन्ने हुँदैन । यस्तो महत्वपूर्ण शिक्षा दिने शैक्षिक संस्थाहरुको महत्व पनि कम छैन । त्यसैमध्ये वीरगन्जमा संचालित ओम नेशनल कलेजका संचालक लालबाबु यादवसँग शिक्षाको वर्तमान अवस्था र सुधारका पक्षहरुबारे गरिएको बिशेष कुराकानी :
१) वर्तमान समयमा वीरगंजको शिक्षाको स्तर कस्तो छ ?
वीरगंजको शिक्षाको विषयमा कुरा गर्नु पर्दा त्रिजुद्ध मा.वि.नेपालको सबैभन्दा जेठो विद्यालय हो । ठाकुरराम बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयभन्दा पनि पहिलो क्याम्पस हो । नेपालको पहिलो विद्यालय र क्याम्पस भएर पनि विभिन्न आन्दोलन लगायतका विभिन्न गतिविधिहरु,भएका कारण अहिले वीरगंजको शिक्षा पछि परेको छ । हिजोको दिनमा जे भए पनि भविष्यमा वीरगंजको शिक्षाले फट्को मार्ने छ । अनि वीरगंज पनि शिक्षाको केन्द्रका रुपमा चरितार्थ हुन सक्छ ।
२)े तराईको प्रमाणपत्रलाई रोजगारका लागि अन्यत्र जादाँ अलि उपेक्षा गरेको सुनिन्छ नि ?
मध्य तराईको प्रमाणपत्र अपहेलना गर्ने कमजोर मानसिक भएकाहरुले मात्र हो । अन्तराष्ट्रिय जगतमा रंगभेद र शिक्षाका कुराहरुमा केही तलमाथि भएको देखिन्छ । मधेशको शिक्षामाथि र मधेशको शिक्षाको गुणस्तरमा कसैले बोल्न सक्ने स्थिति छैन । म विश्वासको साथ भन्छु, वीरगंजको जस्तो राम्रो शिक्षा देशका अन्य कुना काप्चामा खासै छैन ।
३) स्नाहतकको अध्ययनको लागि वीरगन्जका विद्यार्थीहरु पलायन हुने कारण के देख्नुहुन्छ ?
यो आधुनिक युग हो । वीरगंजमा पढाई नराम्रो भएर अन्यत्र गएको होइन । विभिन्न नयाँ नयाँ युनिभर्सिटीहरु खुलेको छन् । उनीहरुले विभिन्न छात्रवृतिका सुविधाहरु दिएका छन् । बढीभन्दा बढी सुविधा प्राप्त गर्नकालागि विद्यार्थीहरु पढ्न बाहिर गएका हुन सक्छन् । कोही अभिभावक आफ्नो रवाफ देखाउन छोराछोरीहरुलाई बाहिर पढ्न पठाउने पनि गर्छन् । यसलाई प्रत्यक्ष शिक्षासंग जोडेर मधेशको शिक्षा कमजोर छ भनेर भन्नु राम्रो होइन । म वीरगंजको शिक्षा कमजोर भएर पढ्नको लागि अन्यत्र गएको पटक्कै भन्न सक्दिन ।
४) यत्रो शैक्षिक संस्थाहरु रहेको वीरगन्जमा ओम नेशनल एकाडेमी आफै संचालन गर्नुको उद्देश्य के हो ?
यो युग भनेको विज्ञान तथा प्रविधिको युग हो । ओम नेशनल एकाडेमी खोल्नुको एउटै उद्देश्य समुदायमा र राष्ट्रको लागि विज्ञान तथा प्रविधिमा आवश्यक जनशक्ति तयार गर्नको लागि हो । विगत १३ वर्षदेखि हामीले विज्ञानका क्षेत्रमा राम्रा विद्यार्थीहरु उत्पादन गरिरहेका छौं । हाम्रो विद्यालयबाट उत्पादित विज्ञानका विद्यार्थीहरु संसारकै विभिन्न उत्कृष्ट विश्व विद्यालयहरुमा नाम निकालेर पढ्न पनि सफल भएका छन् । कतिपयले विश्व विद्यालय टप पनि गरेका छन् । यही वर्ष हाम्रो विद्यालयबाट उतिर्ण भएकी छात्राले काठमाण्डौको मेडिकल कलेज टिचिङ्ग हस्पिटल महाराजगंजमा फूल छात्रावृतिमा पढिरहेकी छन् । हाम्रो विद्यालयबाट निस्किएका विद्यार्थीहरु देशका अन्य ठाउँमा गएर उत्कृष्ट नतिजा ल्याएको सुन्दा हामी समेत गर्वान्वित भएका छौं । हो यस्तो विद्यार्थी उत्पादन गर्नका लागि हामी आफैले पनि शैक्षिक संस्था खोलिएको हो ।
५) शैक्षिक संस्था संचालन गरिरहँदा वर्तमान समयमा शिक्षाको महत्व के देख्नु हुन्छ ?
कुनै राष्ट्रको, कुनै समाजको मेरुदण्डको रुपमा शिक्षालाई लिने गरिएको हुन्छ । यदि कुनै राष्ट्रलाई बिगार्नु छ भने त्यो देशको शिक्षामाथि आक्रमण गरे पुग्छ । यस कारण कुनै राष्ट्रको शिक्षा राम्रो भएन त्यो राष्ट्रमा कुनै पनि हालतमा कुनै पनि विकास हुन सक्दैन । यसकारण शिक्षा मेरुदण्डको रुपमा नै रहेको छ । हाम्रो समाजमा पनि शिक्षाको गुणस्तर कमजोर भयो । गुणस्तरीय शिक्षा भएन भने राष्ट्रको उन्नति, प्रगतिको विकास तर्फ नभई विनास तिर जानेछांै । शिक्षा भनेको धेरै ठूलो शक्ति छ । शिक्षाले नै समाजमा धेरै ठूलो परिवर्तन भएको छ । हाम्रो समाजमा जागिर खानको लागि मात्र पढेको भन्ने धारणा छ । तर समाजको त्यो सोधाई राम्रो संकेत होइन ।
६) शिक्षाको पहिलाको र अहिलेको नीतिमा के भिन्नता पाउनुभएको छ ?
हाम्रो सरकारको नीति अनुसारमा त्यहि पाठ्यक्रम र परिधिभित्र बसेर कक्षा संचालन गर्नुपर्छ । हामीले नेपाल सरकारको नीति भित्र रहेर कक्षा संचालन गरिनै रहेका छौ । नेपाल सरकारले पाठ्यक्रममा परिमार्जित गरेर प्रतिशतको माध्याममा मूल्याङ्कन गरिन्थ्यो ।अहिले ग्रेडिङ्गको तरिकाबाट मूल्याङ्कन गरिन्छ । ११कक्षाको परीक्षा परीक्षा बोर्डले परीक्षा लिन छोडेको छ । शिक्षाको नीतिको कारण पहिलाको विद्यार्थीको पढाइको गुणस्तर भन्दा अहिले विद्यार्थीको पढाईको गुणस्तरमा केही न केही खस्केको छ । हामीले विज्ञानका विद्यार्थीहरुलाई पढाउदाँ शिक्षक, अभिभावकबाट छोराछोरी माथि कुनै पनि विभेद गरेको पाइएको छैन । छात्र र छात्राको संख्या बराबरी भएपनि मूल्याङ्कन गर्नुपर्दा छात्राहरु बढी जिम्मेवार देखिएको छन् । उत्कृष्ट नतिजा ल्याउन पनि सफल भएका छन् ।
७) तपाईको कलेजले अध्ययन गर्ने आउने विद्यार्थीहरु कस्तो सुविधा उपलब्ध छ ?
नेपाल सरकारको मापदण्डमा रहेर काम गरेका छौं । एउटा कक्षामा ४५ जना विद्यार्थीहरु राखिन्छ । प्रत्येक कक्षामा डिजिटल बोर्ड,प्रोजेक्टर,मार्कर बोर्ड, ल्याब र खेलमैदानको राम्रो व्यवस्था गर्नुको साथै अन्य सुविधा पनि छ । नगरपालिकाले नै छात्रवृतिको लागि दलित, महिला, शहिद परिवार,जनजाती विभिन्न प्रक्रिया तोकेर परीक्षा लिई छनौट गर्ने गरेको छ । हामीले पनि विद्यार्थीहरुलाई सक्दो सुविधा दिएर गुणस्तर शिक्षा दिएका छौ ।
८) मधेश प्रदेशमा कस्तो शिक्षा नीति ल्याउदाँ शिक्षा क्षेत्र समृद्ध हुन्छ ?
मधेशको शिक्षालाई सुधार गर्न यहाँका अगुवा वर्ग, शिक्षाप्रेमी, राजनीतिक वर्ग बसेर जब सम्म गहन छलफल गरि निचोड निकालिदैन । भने कहिले पनि शिक्षामा चाडै सुधार हुन सक्दैन । समाजका अगुवाहरुले चिन्तन मनन गरेर प्रभावकारी शिक्षा बनाउन जोड दिनुपर्ने देखिन्छ ।
९) शिक्षा व्यापारीकरण भएको जन गुनासोलाई के भन्नुहुन्छ ?
शिक्षामा व्यापारीकरण भएको भन्नु उचित होइन । शिक्षामा नीजि विद्यालयहरुले दिने गरेको शुल्क कुनै उद्धेश्यको लागि हो । हाम्रो व्यपार सेवामूलक व्यपार हो । सरकारी विद्यालय नीजि विद्यालयमा तुलना गर्ने हो भने हामीले गुणस्तर शिक्षा दिइरहेका छौ । यदी नीजि विद्यालयहरुले गुणस्तरीय शिक्षा दिएन भने कुनै पनि अभिभावकले विद्यार्थीको फिस दिदैन । नेपाल सरकारबाट हामी नीजि विद्यालयहरुलाई कुनै किसिमको सेवा र सहयोग दिएको छैन । हामी आफैमा गर्न गछौं । फिस लिएर पनि नीजि क्षेत्रबाट समुदायलाई विश्वको स्तरको शिक्षा दिन सफल भएको छौ ।
१०) नेपालमा प्राविधिक युक्त पढाइकोलागि कस्तो पद्धति ल्याउनुपर्छ ?
नेपाल सरकारको आखाँ विज्ञान र प्राविधिकको क्षेत्रमा पुग्न सकेको छैन । अहिले टेकिनकल शिक्षाको समय आइसकेको छ । आज सिटि भिटि बाट नीजि विद्यालयहरुले अनुमति प्राप्त गर्न नसकेको अवस्था छ । समय सापेक्ष पाठ्यक्रमलाई परिमार्जित गर्दै समय सापेक्ष जनशक्ति उत्पादन गर्ने पाठ्यक्रम बनाउनु पर्ने हुन्छ । यसैको परिणम हो मधेशको विद्यार्थीहरु विदेश पलायन पनि हुनु परेको छ ।