राष्ट्रिय अविस्कार केन्द्रले सरकारले नै बन्द गरिदिएको मुलुकको एक मात्र कृषि औजार कारखानालाई पनि सञ्चालन गरिदिएको छ । दुई दशक अगाडी शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा सरकारले नै बन्द गरिदिएको कारखाना राष्ट्रिय आविस्कार केन्द्रले सञ्चालन गरिदिएको हो ।
संचालनको परिक्षणमा नै यहाँ नेपाली खुकुरी, सोवेल, बेल्चा, कुटो, कोदालो र बन्चरो निर्माण भएको छ । विक्रम सम्बत २०२४ फागुन २८ गते राजा महेन्द्रको पहलमा तत्कालीन सोभियत संघ सरकारले निर्माण गरेर सञ्चालनमा आएको कृषि औजार कारखाना २०४६ सालको राजनीति परिर्वतनपछि ओरालो गतिमा संचालन गरिदै थियो । विक्रम सम्बत २०५९ सालमा तत्कालिन देउवा नेतृत्वको सरकारले नीजि क्षेत्रलाई बलियो बनाउने भन्दै वीरगन्जको चीनि कारखाना, कृषि औजार कारखाना लगायत दर्जन बढि सरकारी उद्योग बन्द गरिदिएको थियो । विभिन्न राजनीति व्यवस्था परिवर्तनसंगै उद्योगको फाइदामा राजनीतिक व्यक्तिहरुले अवैध आर्थिक लाभको चक्करमा दोहन बढेपछि २० वर्षदेखि बन्द यस्ता उद्योग सदाका लागि बन्द भएका थिए ।
कृषि औजार कारखानाबाट उत्पादित सामानले देश विदेशमा सकारात्मक चर्चा भइरहेका समयमा यस्ता कारखाना बन्दले सरकारप्रति जनताको आक्रोस पोखियो । अन्ततः लाचार भएर नेपाल सरकारले राष्ट्रिय आविस्कार केन्द्रलाई यो कारखाना चाही चलाएर हेर्न जिम्मेवारी दिएझैं ग¥यो । अन्ततः केन्द्रले चलाएरै देखाइ दिएको छ । १२ वटा प्रधानमन्त्री फेरिए पनि सञ्चालन हुन नसकेको उद्योगले झण्डै २० वर्षपछि पुनः संचालन भई काँचुली भने फेरेको स्थानीयको तर्क छ ।
९ बिघा ११ कट्ठा क्षेत्रफलमा फैलिएको यो कारखाना सञ्चालन हुने कुराले यस भेगका जनतामा खुशी छाएको छ । उत्तिबेला यो कारखानामा बनेको कृषि औजारहरु यहाँको माटो र आवश्यक्ता अनुसार वातावरण सुहाउदो भएकाले यहाँको उत्पादनलाई नेपाली जनताले मात्रै नभई भारतीय र बङगलादेशी जनताले समेत खुबै मन पराएका थिए । कारखानाले उतिबेला धान झार्ने थ्रेसर बनाएर भारत सरकारलाई विक्रि गरेको थियो । सबैभन्दा पहिला नेपाल सरकारले थ्रेसर बनाएर भारत सरकारलाई विक्रि गरेपछि त्यसैको मोडिफाई गरेर नयाँ डिजाईनमा भारत सरकारले धान झार्ने थ्रेसर बनाएको इतिहास त्यो समयका कृषि औजारका कर्मचारीहरुले विगत सम्झिए । कारखाना सञ्चालनका बेला पम्पसेट, बयलगाडा लगायतको सुविधा किसानलाई उपलब्ध गराएको थियो ।
त्यहि सुविधा भोग गरेका यहाँका किसान दाजुभाईहरु बन्द भएको बर्षौं वितिसक्दा पनी दुर दराज पहाडबाट यहाँ हसिया, फारी, खुर्पा, कोदालो, हलो, थ्रेसर, पम्पसेट लगायतको कृषि औजार किन्न कारखानामा समेत अझै झुकिएर आउने गरेको पाइएको छ । त्यो आत्म विश्वासलाई कायम गर्न अहिले राष्ट्रिय आविष्कार केन्द्र लागि परेको थियो । त्यसको केही महिनामा नै राष्ट्रिय अविष्कार केन्द्रले नेपाली खुकुरी, सोवेल, कुटो, कोदालो र बन्चरोको नमूना उत्पादन गरेर देखाइसकेको छ ।
गत २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद बैठकले कारखानाको सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको थियो । आविस्कार केन्द्रले पहिलो चरणमा सरसफाइ तथा लागत संकलनको काम गरेको थियो भने दोस्रो फेजमा ६ इन्जिनियर, ६ ओभरसियर र २ जना मेकानिकल टेक्निसियन सहितको सहकार्यमा कारखानामा मौजुद ५४ वटा मेशिनहरु मध्ये ४३ वटा मर्मत गरेर विभिन्न समाग्रीहरुको नमूना उत्पादन गरिसकेको छ । अर्थ मन्त्रालयको प्रतिनिधि सहित आविष्कार केन्द्रका प्रतिनिधि, कृषि मन्त्रालयका प्राविधिकहरुको टोलीले कारखानामा रहेका उपकरण तथा मेसिनहरुको अवस्थाका बारेमा अध्ययन गर्दा सरकारले तत्काल २१ करोड रुपैयाँ दिए सञ्चालन गर्न सकिने सुरुमा आँकलन गरिउको थियो । तर कारखानाले के के बनाउन सक्छ ? त्यसको नमूना ल्याए मात्रै बजेट निकासा हुने भनेपछि अविस्कार केन्द्रले आफ्नै पैसाबाट सेम्पलिङ्गको काम गरिसकेको छ ।
राष्ट्रिय आविस्कार केन्द्रका मेकानिकल ईन्जिनियर प्रज्जवल पोजुका अनुसार कृषि औजार कारखानामा रहेको लगभग ७० देखि ८० प्रतिशत मेशिनहरु चलाउन सकिन्छ । हामीले डाई प्रेस सबै बनाइसकेका छौँ । यसमा कतिपय पुराना जमानाका मेशिन भएकाले बनाएर पनि सम्भव नहुने भएकाले त्यसलाई यथावत राखेका छौं । हालका लागी अर्थ मन्त्रालयले बजेट निकासा गर्न सक्ने आधारहरु माग गरेकाले हामीले पाएको मध्ये नेपाली खुकुरी, सोवेल, कुटो, कोदालो र बन्चरो लगायतको समाग्रिहरु बनाएका हौं उनले भने ।
कारखानाले चालु अवस्थामा कुटो, कोदालो, हलो, टेलर, थ्रेसर, पम्पसेट, फोहोर फाल्ने कन्टेनर, विद्युत पोल, झुलुङ्गे पुल, ढल व्यवस्थापनको औजार, हँसिया, खुर्पी मात्र नभई तत्कालीन यातायात संस्थानका लागि ट्यांकर, तत्कालीन शाही नेपाल वायु सेवा निगमका लागि जहाज चढ्ने सिँढी, यात्रुको सामान ओसार्ने ट्रली लगायत उत्पादन गर्दै आएको थियो । स्थापनासंगै नाफामा रहेको कारखानाले उतिबेला बार्षिक ११ करोडसम्मको कारोबार गर्दथ्यो । नाफामा रहेका कारण तिन सय कर्मचारीलाई बोनस खुवाउथ्यो, भने कृषकले सस्तो, सहज र सुलभ रुपमा समाग्री खरिद गर्न पाएका थिए ।
ईच्छाशत्ति भए बन्द रहेको कारखाना समेत सञ्चालन गर्न सकिने स्थानीयहरु बताउँछन् । लामो समय बन्द रहेकाले खियाँ लागेर सञ्चालन गर्न केही गाह्रो हुने भए पनि असम्भव भने नहुने स्थानीय अवध किशोर सिंहको तर्क छ ।