मानव विकाशको क्रम पूर्व आगोको उत्पति भने भइसकेको थियो । ऐतिहासिक कालमा जबसम्म कुनै पनि धातुको अविष्कार भइसकेको थिएन । तब आगोको चाही आविस्कार भएको मानिन्छ । त्यति बेलामा नै आदिम मानवको जीवन उपयोगी खाना पकाउने भांड़ाको आवश्यकता आइपरेको महसुस भयो । खानालाई आगोमा सोझै पोलेर खाने बानी आदि मानवलाई लागि सकेको भए पनि खानाको वास्तविक स्वाद भने थाहा थिएन । खानालाइ आगोमा पोल्दा खाना(मुख्य रूपले सिकारमा मारिएका जनावरहरुको मासु तथा अन्य शाकआदि) प्रायः शुष्क, डढेको र धूवां–धूलो धूसरित खाना प्रायः स्वादिलो हुदैन्थ्यो ।
सु–स्वादु खाना पकाउनकोलागि आदि मानव कुनै अर्को प्रविधि प्रयोग गर्ने ध्यानमा लागेको थियो । ढुंगालाई कोपेर त्यस चट्टानमा खाड्ल बनाई त्यसमा खाना पाक्नकोलागि राख्ने प्रयत्न पनि आदि मानवले न गरेको होइन । तर त्यसमा आगोको लप्कोको रांको जति तीब्र पारे पनि त्यस तापले खाना पकाउने कुनै सहयोग गरेन किनकि ढुंगा आगोको कुचालक हो । जति आगो बाले पनि ढुंगामा तापको संवहन हुन सक्दैन र आगोको तापले तताउने ढुंगाको सतहीय भागभन्दा ढुंगाको अन्य भागतिर संवहन न हुनुको कारणले खानासम्म ताप पुग्न सक्दैन । विचरा आदिममानवहरुलाई काचो खाना सह्य भएन !
त्यसैले आदिम मानवहरुको मस्तिष्क खानालाइ सुस्वादु र सुपाच्य बनाउने तर्फ अहोरात्र लेध्रिन थाल्यो । खानालाइ न पोलेर कुनै ‘कोनिकल’ भाड़ामा पकाउने तरखरमा लागे । स्मरण रहोस, ढुंगा तापको प्रतिरोधक थियो । तर यता उति हिड़दा भने खुट्टामा लागेको हिले माटो भने घामको तापले सुकेर एउटा आकार लिइ खुट््टाबाट झर्दथ्यो । हो ! यहीबाट माटोको भांड़ो बनाउने प्रविधि बारे आदि मानवलाई ज्ञान भयो । अझ विकाश त के पनि भयो भने (आगोको अविष्कार त पहिले नै भइसकेको थियो ) खुट्टामा लागेर झरेको त्यो आकृति विहिन माटो कुनै कारणले बलेको आगोमा परेर पक्की भएर निस्केको थियो । माटोको भांड़ो बनाउने चलन यसै बेलादेखि चलेको हो कि जस्तो लाग्दछ ।
खानालाई सुस्वादु बनाउनकोलागि आवश्यक भांड़ो अचेलका धातु निर्मित भांड़ाको आकार लिन थाल्यो । झोलिलो खाना पकाउनकोलागि गहिरो गर्भ भएको आकारको कल्पना गरियो तथा सुक्खा खाना पकाउनको निम्ति सपाट आकारको कल्पना गरियो । कालान्तरमा त्यहि आकारका भांड़ाहरुको निर्माण तथा प्रयोग हुन थाल्यो । यो पंक्तिकारले आप्mनो वाल्यकालमा माटोको हांड़ीमा पकाएको दाल–भात खाएको कुरा झल्झली सम्झन्छ । अचेलको धातुको भांड़ामा पकाइने दाल–भातभन्दा माटोको भांड़ामा पकाइएका खाद्य अत्यन्त स्वादिष्ट हुने गर्थे ।
पानी पिउनकोलागि पनि माटोको भांड़ो नै प्रयोग हुन्थ्यो । यो गिलासको आकारको हुन्थ्यो जसलाइ भोजपुरी भाषामा ‘रमगिलास’ भन्दथे । वस्तुतः भोज–भतेरमा पनि रमगिलासको व्यापक प्रयोग हुन्थ्यो । अचेलको प्लास्टिक निर्मित ‘यूज एण्ड थ्रो’ गिलासहरु झैं रमगिलासलाई पनि प्रयोगपछि फालि दिने गरिन्छ । माटो प्राकृतिक वस्तु भएको कारणले पर्यावरणमैत्री हुन्छ ।
माटोको भांड़ा खाना पकाउनकोलागि मात्र न भई नून, मसला, दही, दूध र घ्यू भण्डारकोलागि पनि प्रयोग हुन्थ्यो । धातुका भांड़ाहरु माटोको भांड़ाहरुलाई विस्थापित गरिदिएको भए पनि हालका दिनहरुमा पनि केही विशेष खाद्य सामग्री पकाउनकोलागि माटोको भांड़ा नै प्रयोग हुन्छ । जस्तो कि भोजपुरी संस्कृतिमा पकाइने ‘दूधपूवा’, ‘चोथरूवा पूवा’ अचेल पनि प्रत्येक घरमा माटो कै कराहीमा पकाइन्छ किनकि दूधपूवा अथवा चोथरूवा पूवा धातुको कराहीमा पकाउन नै सकिदैन । पूजा–आजामा स्थापना गरिने ‘कलश’, ढकना, चौमुख, कटिया तथा तिहारमा बालिने माटोको ‘दियरी’ पनि माटोले नै बनेको हुन्छ । सानी केटीहरुले खेल्ने जातो, चकवा–चकइ, तथा चुङ्गला आदिको मूर्ती पनि माटो कै बनेको हुन्छ ।
अचेलका दिनहरुमा माटोको भांड़ोलाइ ताम्बा, पित्तल, कस्कूट, अल्युमिनियम तथा स्टीलका भांड़ाहरुले विस्थापित गर्दै आएको भए पनि माटोको भांड़ो अझै पनि चलन चल्तिमा नै छ । जल, पावक, गगन, समीरा...! माटो प्रकृतिको जननी हो, यसको आदर, स्नेह र माया मानिसकोलागि अपरिहार्य छ ।