राष्ट्रपति विद्यादेवी भण्डारीले छोरीका लागि गरिने लगानीलाई अनावश्यक आर्थिक भारका रुपमा लिने सोच गलत रहेको बताउनु भएको छ ।
‘बेटी पढाउँ, बेटी बचाउँ’ अभियान अन्तर्गत छोरी शिक्षा वीमा, मुद्दती बचत खाता समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बेटी नपढाई बाल विवाह गराउनाले महिलालाई मात्र नभई सिंगो परिवार र समाजलाई नकारात्मक असर पारिरहेको बताएकी हुन् ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय प्रदेश नं. २ ले वीरगंजमा आयोजना गरेको मुख्यमन्त्री ‘बेटी पढाउँ, बेटी बचाउँ’ अभियानमा बोल्दै राष्ट्रपति भण्डारीले महिलालाई शिक्षा, स्वास्थ्य र रोजगारीलाई सामान अवसर दिनुपर्नेमा जोड दिईन् । दाइजोप्रथा जस्ता कुरितिको नाममा महिला प्रताडित हुनु आजको आधुनिक युगमा सुहाउँदो काम नहुने भन्दै उच्च प्रतिष्ठा र समाजको मानमर्दनलाई आत्मसाथ गर्दै अभियान पूर्ण सफलताका साथ समपन्न गर्नुपर्ने कामना गरिन् ।
सामाजिक व्यवहारमा रिथि तिथिको परम्पराको नाममा छोरी, बुहारी र महिलाप्रति हुने भेदभावले हाम्रो ममता र मानवीय सम्वेदनालाई समेत कठोर बनाउने गरेको छ । महिलाप्रति हुने हिसां असहनीय पीडाको विषय बनि रहेको भन्दै महिला सुरक्षा सुदृढ तुल्याउँदै हरेक व्यक्तिले प्रतिष्ठित जीवन विताउनुपर्ने सुरक्षित समाज निर्माणतर्फ अग्रसर हुनुपर्ने बताएकी थिईन् ।
प्राकृत्तिक श्रोतको दिगो उपयोग र सम्पदाको सदुपयोग गर्न सबै नेपाली प्रतिबद्ध हुनुपर्ने भन्दै बाढी, डुबान, नदी कटान लगायत अन्य प्राकृत्तिक प्रकोपबाट जनधनको क्षति हुन नदिन समयमा सम्बन्धित पक्षले सचेत हुनुपर्ने बताइन् । वातावरणीय सन्तुलन कायम राख्न चुरे संरक्षण कार्यक्रमलाई पनि सुदृढ पार्न वहाँले आह्वान समेत गरेकी थिइन् ।
यसैगरी प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले छोराछोरीलाई सामान व्यवहार गर्ने मुलुक प्रगतिको पथमा रहेको उदाहारण प्रस्तुत गर्दै प्रदेश २ मा खास गरेर छोराछोरीप्रति भेदभाव गर्ने परम्परालाई जडादेखी उखेल्ने बताएका थिए । विभेदलाई अन्त्य गर्दै सम्पूर्ण छोरी जन्मेपछि प्रदेश सरकारले गर्ने गरेको १ लाखको शिक्षा वीमा कार्यक्रमबाट छोरीले शिक्षा हासिल गर्न सक्ने र २० वर्षपछि प्रदेश सरकारको तर्फबाट पाएको १ लाख र बैंकबाट आउने थप २५ हजारले छोरीलाई थप अध्ययन र जिवन यापन गर्न सहज हुने मुख्यमन्त्रि राउतले विश्वास व्यक्त गरेका थिए । छोरीलाई शिक्षित बनाउने प्रदेश सरकारले वीमा कार्यक्रम मात्रै संचालन नगरि सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्ने, सामुदायिक विद्यालयमा शौचालय निर्माण गर्ने लगायतका योजनाहरु ल्याएको छ, जसबाट छोरीको शैक्षिक स्तर बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।
यसैगरि प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सामाजिक कुरीतिहरुलाई उन्मुलुन गर्ने काम प्रदेश सरकारको मुख्य योजना रहेको बताए । उनले सम्पूर्ण छोरीहरुलाई विद्यालय पु¥याउन तथा उच्च शिक्षा हासिल गर्न यस अभियानले मद्दत पु¥याउने विश्वस व्यक्त गरेका थिए ।
कार्यक्रमका बीच यही माघ १ गतेदेखि हालसम्म जन्मेका ८ वटै जिल्लाको ८ वटा पालिकाका १४ जना छोरीलाई वीमा स्वरुप चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा आइसा खातुन, फतमा खातुन, सेजल महतो, आयुसी गुप्ता, आकृत्ति कुमारी तत्वा, आरिसा प्रवीण, सकिना खातुन, शुभलक्ष्मी कुमारी, अञ्जु कमारी, पल्लवी कुमारी चौरसिया, सानिया खातुन, अग्रता कुमारी साह, सोनाक्षी मेहता र हर्षिका ठाकुरका अभिभावकलाई चेक हस्तान्तरण गरिएको थियो ।
प्रदेश सरकारले प्रदेशकै सम्पूर्ण जिल्लाबाट एस.ई.ई. परीक्षामा जिल्ला प्रथम, दोश्रो र तेश्रो हुने २५ जना छात्राहरुलाई कदर पत्र सहित सम्मान गरेको थियो ।
प्रदेशको ८ वटै जिल्लाको ८ वटा स्थानीय निकायबाट शुरुवात गरिएको यो वीमा कार्यक्रम माघको मसान्तपछि सम्पूर्ण निकायमा लागु हुने प्रदेश सरकारको योजना छ ।
मुख्यमन्त्री लालबाबु राउत गद्दीको सभापतित्वमा समपन्न कार्यक्रममा साँसद प्रदीप यादव, प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवल किशोर साह, वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी लगायतले शुभकामना दिएका थिए ।