स्थानीय अगुवा, पालिका र प्रशासनले हरेक पटक गरेको प्रयासपछि पनि वीरगंज पथलैया औद्योगिक करिडोर क्षेत्र भएर बग्ने नदी प्रदुषण रहित बन्न सकेका छैनन् । नदी छेउका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर पदार्थ, पानी र केमिकल प्रसोधन नगरी सीधै नदिमा मिसाइदिंदा यहाँका नदीहरु प्रदुषण रहित हुन नसकेका हुन् । त्यसैले यहाँका नदीहरुमा स्वच्छ पानी बग्न नसकी सरोकारवालाको पटक–पटकको प्रयास विफल भएको हो ।
कोरिडोर क्षेत्रका उद्योगहरुबाट निस्कने केमिकलयुक्त पानी केही उद्योग संचालक तथा उद्योगहरुले आफ्नै नालामा खसाए जस्तो गरेर नदीतर्फ पठाएको पनि भेटिएको छ । प्रत्यक्षर अप्रत्यक्ष गरी उद्योगले नदीहरु प्रदुषण गरेपछि स्थानीय निकायले उद्योगीहरुलाई कार्वाही गर्ने निर्णय गरेको छ । यो निर्णयले भने उद्योग संचालकहरु चिढिएका छन् । पटक पटक यस क्षेत्रमा रहेको नदी, नाला लगायतका सार्वजनिक सम्पती केहि उद्योगीहरुले निजी सम्पति बनाएको विषय पनि सार्वजनिक भएपछि उद्योग संचालक अझ चिढिएका छन् ।
बारा, पर्सामा फैलिएको औद्योगिक कोरिडोर क्षेत्रका केही उद्योगहरुको कारण सार्वजनिक सम्पति, नदी नालाको अस्तित्व समेत गुम्दै गएको कुरामा स्थानीय चिन्तित छन् । बारा, पर्साको ४ दर्जनबढी उद्योग कलकारखानाहरुले गर्दा यहाँको सिर्सिया सहित ७ वटा ठूला खोलाहरुको अस्तित्व खतरामा परेको स्थानीयको भनाइ छ ।
स्थानीय ओरिया, मकहरिया, गंगोल, नौरंगी, तिलावे र सोत खोला यहाँका केही उद्योगहरुको प्रदुषणले प्रदुषित छन् । प्रदुषण कम गराउन पटक विभिन्न समितिहरु बनेपनि हालसम्म ठोस पहल कदमी भने हुन नसकेको वीरगन्ज महागरपालिकाले जनाएको छ । तर अहिले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सिर्सिया नदी सफाईका लागी समिति नै बनाएर काम अगाडी बढाएपछि केही गति बढ्ने संकेत मिलेको छ ।
उपमेयर इम्तियाज आलमको संयोजकत्वमा सिर्सिया नदी प्रदुषण नियन्त्रण समिति बनाइएको उनको भनाइ छ । यो समितिले सीधै नदीमा फोहोर फाल्ने र बढी प्रदुशन गर्ने उद्योग लगायतका निकायलाई कार्वाही गर्ने गरी प्रकृया अगाडी बढाएको छ । एकसाता अगाडी वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको समितिको बैठकले पानी प्रशोधन नगरी सोझै नदीमा फाल्दै आएका उद्योगलाई कारबाही गर्ने निर्णय गरेको छ ।
समितिले यसअघि पटक पटक अनुगमन गरेको र अनुगमनका क्रममा एक÷दुई बाहेक अधिकांश उद्योगले अटेरी गर्दै नदीमा नै उद्योगबाट निस्केको फोहोर तथा फोहोर पानी फाल्दै आएको भटिएको थियो । उद्योेगहरुको छाता संघठन वीरगंज उद्योग वाणिज्य संघ, जितपुर उद्योग वाणिज्य संघ, बारा उद्योग वाणिज्य संघ आफै सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिको सदस्य छन् । संघका केही पदाधिकारीहरुले सहयोग नगरेकाले कठिनाई भइरहेको मेयर राजेशमान सिंहले बताए ।
यस क्षेत्रको नदी सफाइका लागी मेयर सिंहले मात्रै भर्खरै प्रयास गरेका भने हैनन् । यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले २०६७ मंसिर २२ गते सिर्सिया नदी अनुगमन समिति बनाएको थियो । समितिले त्यति बेला ४६ उद्योगले प्रदूषण गरेको प्रमाण संकलन गरेको थियो । हाल वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा सिर्सिया नदी प्रदुषण नियन्त्रण समिति फेरि बनेको हो । यो समितिले पनि विभिन्न कारखाना पुगेर झण्डै ४ महिना लगाएर तयार पारेको रिपोर्ट अनुसार यस क्षेत्रका दर्जनौँ उद्योग दोषी रहेको भेटिएको छ ।
ती उद्योगहरु मध्ये जितपुरसिमरा उप–महानगरपालिका वडा नं. २३ स्थित नेपालकै ठूलो नारायणी छाला उद्योग पनि एक हो । नेपालको प्रतिष्ठित भनिएका औद्योगिक समूह ‘चाचान ग्रुप’ ले चलाएको उद्योगले पनि सिर्सिया नदीमा प्रदुशन गर्ने गर्ने प्रमुख उद्योग मध्येको अर्को हो । संयुक्त राष्ट्रसंघको औद्योगिक विकास संगठन (युनिडो) को सहयोगमा २०५४ साल मै पानी प्रशोधन गर्ने ‘ट्रिटमेन्ट प्लान्ट’ राखिए पनि चाचान समूहले यसलाई प्रयोग नगराई सिधै सिर्सिया नदीमा विशर्जन गराउने गरेको खुलेको छ ।
यस्तै वीरगंज महानगरपालिकाको वडा नं. २२ लिपनी बिर्तामा रहेको ग्लोबल लेदर टेनिङ इन्डस्ट्रिजले पनि कारखानाबाट निस्किने फोहोर नदीमै फाल्ने गरेको छ । उद्योगका संस्थापक संजय पटवारीको निधनपछि अहिले भाइ उत्तम पटवारीले स्वामित्व लिएका छन् । उनले पनि उद्योगको फोहोर नदीमा मिसाउन अढाई फिट चौडा र ३ फिट गहिरो पक्की नाला नै बनाएको छ । यसैगरी वडा नं. २२ लिपनिविर्ता मै रहेको मोरियम छाला उद्योगले त्यहाँबाट निस्किने तरल पदार्थलाई थिग्य्राउनका लागि हउज (पोखरी) बनाएको छ ।
तर प्रयोगमा ल्याएका छैनन् । उद्योगका संचालक फारुख लारीले पोखरी पछाडीपट्टी रहेको सार्वजनिक सम्पती समेत हडपेर पशुको शरीरको बोसो, रौँ र लेदो सिधै नदीमा पठाउने गरेको अनुगमनमा सहभागीहरुले जनाए । यसैगरी लिपनिविर्ता मै नेपाल लेदर इन्ड्रस्ट्रिजले पनि फोहोर नदीमै मिसाउँने गरेका छन् । उद्योगका संचालक महमद जुनैद इफ्तेखारले उद्योगकै पछाडीबाट बग्ने सिर्सियामा लेदो मिसाउने गरेका छन् ।
यसैगरी वीरगंज महानगरपालिका वडा नं. १४, बहुअरी गण्डक चोक नजिक जोलहवा टोलमा रहेको नेशनल लेदर इन्डस्ट्रिजले सिर्सियामा मिसिने ठूलो नालामा फोहोर हाल्ने गरेको छ । उद्योगका संचालक रहेको राम विनेश यादवले उद्योगबाट उत्सर्जित तरल थिग्य्राउन हउज समेत नबनाई पशुको शरीरको बोसो, रौँ, छालाका टुक्रा लगायत अवशेष सहितको ठोस फोहोर बोरामा हालेर नदी किनारमा मिल्काउन लगाउने लगाउने गरेका छन् ।
यसैगरी बाराको छातापिपरास्थित त्रिवेणी टेक्सटाइल इन्डष्ट्रिज सिर्सियामा धेरै मात्रामा फोहोर फाल्ने उद्योग मध्येमा पर्दछ । त्रिवेणी समूहका वीरेन्द्र संघई सञ्चालक रहेको यस समूहले सञ्चालन गरेको त्रिवेणी सोल्भेन्ट उद्योग प्रमुख प्रदूषण गर्ने उद्योग हो । यो उद्योगले प्रतिदिन नदी, सडक छेऊछाउमा २२ टनसम्म छायी नदीमा फाल्ने गरेको खुलेको छ । यस्तो छायी सिधै नदीमा जाँदा पानीलाई कालो बनाउने र बहावलाई प्रभावित बनाउने गरेको छ । यो उद्योगबाट निस्कने रसायन र रङयुक्त पानी पनि प्रशोधन नगरी सिधै नदीमा हाल्ने गरेकाले नदीमा फोहोर समेत बढाएको पाइएको छ ।
यसैगरी बाराको जितपुरमा ४४ वर्षअगाडि स्थापना भएको शिवशक्ति घ्यू उद्योग र सोप इन्डिस्ट्रिजले पनि प्रदूषण गरेको वीरगन्ज महानगरपालिकाले जनाएको । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फ दोस्रो संविधानसभा सदस्य रहेका शिवशक्ति समूहका प्रमुख राजकुमार अग्रवाल गाडिया सञ्चालक रहेको शिवशक्ति उद्योग परिसरभित्र वनस्पति घ्यू बनाउने, खानेतेल प्रशोधन तथा उत्पादन गर्ने, साबुन बनाउने र साबुनमा प्रयोग गरिने रसायन सोडियम सिलिकेट उत्पादन गर्ने कारखाना रहेका छन् । वनस्पति घ्यू र साबुन उद्योगबाट दुर्गन्धयुक्त पानी उत्सर्जन हुन्छ ।
उक्त पानी समेत नदीमा मिसाउने गरिएको भेटिएको अनुगमन टोलीमा सहभागीहरुको भनाइ छ । उता सुशील वनस्पति र सुशील सोप एन्ड केमिकल इन्डष्ट्रिज, अमृत घ्यू उद्योग, नारायणी रिफाइनरी उद्योग, श्रीकृष्ण आयल रिफाइनरी एन्ड भेजिटेबल घ्यू, आरती भेजिटेबल प्रोडक्ट्स, महालक्ष्मी सोलभेन्ट उद्योगहरूले पनि नदी प्रदूषित गर्ने गरेका छन् ।
लिपनीबिर्तास्थित पशुपन्छी दाना उत्पादन गर्ने प्रो–बायोटेक इन्डिष्ट्रिजले पनि प्रदूषण गरेको वीरगन्ज महनगरपालिकाको अनुगमन टोलीले खुलासा गरेको छ । निम्बस ग्रुपका प्रमुख आनन्द बगाडियाले उद्योगबाट प्रदुषित फोहोर सिर्सियामा बिसर्जन गर्ने गरेको पनि टोलीमा सहभागीले तर्क गरे ।
बाराको चैनपुरस्थित नारायणी मोडर्न दाल मिल, दुगड ग्रुपको राइस एन्ड दाल मिल, ओम फ्लावर मैदा मिल, सौरभ फुड प्रोडक्टस् जस्ता उद्योगले पनि प्रदूषण गरेका छन् । यी उद्योगले फोहोर पानी र छायी सिधै नदीमा मिसाउँने गरेका छन् । यस्तै जितपुर सिमरा उपमहानगरपालिकाको बजनीमा रहको पूजा सोप एन्ड केमिकल उद्योगले फिँज र रसायनयुक्त दुर्गन्धित पानी औद्योगिक क्षेत्र भएर बगेको नालामा मिसाउँछ ।
यो नाला सिमरा हुँदै ललका पुल नजिक सिर्सियामा मिसिन्छ । त्यस्तै, छातापिपरामा रहको आरती सोप केमिकल इन्डष्ट्रिज र अन्नपूर्ण भेजिटेबल सोप उद्योग पनि प्रदूषणकर्ता हुन् । रामपुर टोकनीस्थित बहुराष्ट्रिय कम्पनी डाबर नेपालले प्रदूषण मात्र नगरेर नदी क्षेत्रसमेत अतिक्रमण गरेको छ । डाबर नेपालले कियासुत नदीलाई आफ्नो हाताभित्र पारेर प्रांगण विस्तार गरेको छ । कियासुतमा औद्योगिक फोहोर पनि फाल्ने गरेको छ ।
पर्सा–बारा औद्योगिक क्षेत्रमा रहेका अरनिको प्रोसेसिङ इन्डष्ट्रिज, सिद्धि टेक्सटाइल, डायमन्ड टेक्सटाइल, नेपाल टेक्सटाइल, न्यु अनिल टेक्सटाइल, इष्टर्न टेक्सटाइल पनि सिर्सियाका प्रदूषणकर्ता हुन् । यी उद्योगहरूमा ‘डाइङ प्रोसेसिङ प्लान्ट’ अर्थात् कपडामा रङ भर्ने काम गर्छ भने यी उद्योगले रङ, रसायन र गन्धयूक्त पानी नदीमा मिसाउँने गरेको छ ।
यसैगरी ज्योति औद्योगिक समूहको हिमाल आइरन उद्योगले फाल्ने कालो पानीले कियासुत खोला नै कालो भएको छ । भने हुलास समूहको सिमरास्थित हुलास स्टिल र जगदम्बा स्टिलले ललका पुलबाट सिर्सियामा मिसिने ठूलो नालामा नै तेजाबयुक्त पानी बगाउने गरेका छन् । जगदम्बा स्टिललाई शंकर ग्रुपले संचालन गरेको छ । यसको प्रमुख शंकर अग्रवाल गोल्यान हुन् । उनले समेत नदीलाई आफ्नो पेवा नै बनाएका छन् ।
यस्तै आदर्शनगरको जय विश्वकर्मा इन्डस्ट्रिज र छातापिपरामा रहेको भगवती स्टिल प्रालिले बगाएको तेजाबयुक्त पानी कियासुत नदीमा मिसिन्छ । छातापिपराकै हनुमान मेटल उद्योगले फलाम चिस्याउन प्रयोग गरिएको पानी मात्र नभई उद्योग हाता तथा आवासका शौचालयको फोहोर पनि नालामार्फत कियासुतमा फाल्ने गरेको छ ।
यस्तै महानगरले औल्याएको बजरंग इलेक्ट्रीक एण्ड फेबरिगेशन, वडा नं. ३२ स्थित भास्कर फर्मास्वटीकल्स, मासुरी पल्प एण्ड पेपर प्रा.लि, दुर्गा पल्प एण्ड पेपर प्रालि, अन्नपुर्ण स्टिल्स र फर्चुन स्टील इम्पेक्स र वडा नं. २४ स्थित जगदम्बा एस.एस. पाईपले त फोहर पानी प्रसोधन प्लान्ट नै नलगाई सोझै सिर्सिया नदीमा प्रदुर्शन फैलाइरहेका छन् । वीरगंज महानगरपालिका वडा नं. २४ स्थित अम्बे सिमेन्ट लगायतले फोहर पानी प्रसोधन प्लान्ट लगाएपनी कन्डीसनमा रहेका छैनन् । जसले गर्दा नदी प्रदुर्शनबाट मुक्त हुन सकेको छैन् ।
यस्तै एडिविको प्रोजेक्टले अर्बो लगानी गरेर बनाएको अण्डरग्राउण्ड नालाको ढल सिर्सियामा गएर खसाएको छ । वीरगंजका घर घरबाट निस्किने फोहोर पानी एक दर्जन नालामार्फत् नदीमा मिसाइएको छ । यस्तै वीरगंज महानगरसंग जितपुर सिमरा उपमहानगरपालिकाले पनि सिर्सिया नदी प्रदूषणमा मुख्य भूमिका खेलेको उधोगी व्यवसायीहरुको आरोप रहेको छ । यससंगै मेयर नजिकका उधोगी व्यवसायीको कारखानाले गरेको प्रदुर्शन नदेख्ने र नजिक नरहेकालाई मात्रै पत्र काट्ने दबाब दिने समेत आरोप उधोग प्रदुर्शनकर्ताहरुको रहेको छ । यता वीरगंज उधोग वाणिज्य संघले भने स्थानीय सरकार नै पहिला जिम्मेवार हुनुपर्ने तर्क गर्दै आएको छ ।
नदी प्रदुशन भएपनि खासमा नदिबाट गरिने सिचाई, मानवीय दाहसंस्कारमा समेत मलामीहरु खोलामा ननुहाई घरमै गएर नुहाउनुपर्ने बाध्यता रहेको छ । पछिल्लो आठ÷दश वर्ष यता प्रदुषण झन बढेको स्थानीय मोहन सिंहको भनाइ छ । प्रदुषण कम गर्न तर्फ उद्योगहरु अग्रसर नभएको उनिहरुको आरोप रहदै आएको छ ।
प्रदुषणले कारखाना वरपर रहेका बस्तीमा मुटुको चाल परिवर्तन, झाडापखाला, आखाँ दुख्ने जस्तो समस्याका रोगीहरु समेत देखिने गरेको चिकित्सकहरुको पनि भनाई छ । यस क्षेत्रको औद्योगिक क्षेत्रमा सिमेन्ट, छाला, प्लास्टिक, केमिकल, साबुन, बनस्पति, रसायन, औषधी जस्ता उद्योगहरुले उत्सर्जन गरेका प्रदुषणको कारण यहाँका नदीहरु क्रमश प्रदुषण हुँदै गएको स्थानीयहरुको बुझाई छ ।
नेपाल सरकारको वातावरण संशोधन ऐन २०५३ ले वातावरणलाई प्रतिकुल हुने गरी कुनै पनि उद्योग धन्दाले फोहर मैला निस्काश्न गर्न नपाउने व्यवस्था गरेको छ । ऐनले त्यस्ता उद्योगलाई ५० हजारदेखि एक लाखसम्मको जरिवाना र वैकल्पिक उपाय नअपनाएसम्म उद्योग बन्द गर्न पर्नेसम्मको प्रावधान छ तर विग्तमा लागु भएको अवस्था नरहेको स्थानीय असमन राउत बताउछन ।
मुलुकी अपराध संहिता ऐनको दफा १११ को उपदफा २ (ख) मा खोलानाला वा सार्वजनिक ठाउँको पानी दुषित पार्ने वा पार्न लगाउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँ वा दुवै सजायको व्यवस्था गरेको छ । पिउने पानीको हकमा यो प्रावधान ३ वर्ष कैद र ३० हजार रुपैयाँ राखिएको छ । विगतमा विभिन्न अध्ययनले वीरगंज महानगर र उद्योगहरुले स्थानीय श्रीसिया नदिलाई दुषित गरेको निष्कर्ष निकालेको थियो । तर कमाई खाने मात्रै भाडो बनाएकाले प्रकृया अगाडी नै नबढी विचमै तुहिने गरेको स्थानीय चन्द्रिका पटेल बताउँछन् ।
बाराको रामवनमा मुहान रहेको श्रीसिया नदीको पानीको रङ कोरिडोर हुँदै वीरगंज क्षेत्रसम्म आइपुग्दा पानीका रुपमा नभई प्रदूषित केमिकल युक्त तरलपदार्थ जस्तो मात्र देखिन्छ । यस नदी सहित यस भेगका सार्वजनिक सम्पती संरक्षण गर्ने महानगरले ठोस पहल गर्नु पर्ने उद्योगीहरुको पनि तर्क छ । अटेर गर्नेलाई कार्वाहीको दायरामा ल्याउनु र साना तथा मझौला उद्योगका लागी संघ, स्थानीय र उद्योगीहरुको लगानीमा ठुलो पानी प्रशोधन प्लान्ट बनाउनु पर्ने उद्योग वाणिज्य मधेश प्रदेशका पूर्व अध्यक्ष गणेश लाठको भनाइ छ ।