रंगहरू र उत्साह–उमङको चाड होलीको हामी सबै पूरा वर्ष पर्खाइमा हुन्छौं । पूरानो मनमुटाव भुलेर एकअर्कालाई अंकमाल गरी विभिन्न परिकार खाने, नाच्ने, गाउने, परिवार, साथीभाइ जम्मा भएर रङ लगाउनेजस्ता क्रियाकालाप गरी होली मनाइन्छ । होलीको रमाइलो दोब्बर हुन्छ, जब तपाई स्वास्थ्यलाई पनि ध्यान दिनुहुन्छ । होली पर्वसँग सम्बन्धित केही स्वास्थ्य सम्बन्धी जोखिमहरू हुन सक्छन् । तर, सावधानी यो चाड मनैदेखि रमाइलोसँग मनाउन सकिन्छ ।
यो खुसीको अवसरमा होली मनाउने क्रममा हामीले विशेषत ः
खानपिनमा ध्यान दिनुपर्ने हुन्छ । किनभने होली रङ, रमाइलो परिवेशसँगै खानपिनको पर्व पनि हो । रङ्ग खेल्नेदेखि विभिन्न किसिमका परिकार बनाएर खानेजस्ता कुराले खुसीयाली वातावरण बनाउँछ । यसका लागि हामीले आफ्नो खानपिनमा ध्यान दिनु अति आवश्यक छ । होलीमा कस्तो खानपिन गर्ने ? हामीले के खानेभन्दा पनि कति खाने भन्ने कुरामा धयान दिनु जरुरी छ । यो पर्वमा माछामासुका विभिन्न परिकार, मद्यपान, मिठाइहरू, भाङहरु खाने गरिन्छ । जसले हाम्रो पाचनतन्त्रलाई निकै असर गर्छ । धेरै यस्ता खानेकुराले ग्याष्ट्रिक हुने, अपच हुने, वोमिट हुनेजस्ता समस्या देखा पर्छन् ।
यस्तो बेला सामान्य मानिसभन्दा पनि दीर्घकालीन रोग भएका व्यक्तिले विशेष ध्यान दिनुपर्ने हुन्छ । चाडपर्वमा एकदिन त हो भनेर मात्राभन्दा बढी धेरै क्यालरी हुने खानेकुरा, रक्सी, चिल्लोचाप्लो र मिठाइहरुले खाँदा स्वास्थ्यमा धेरै हानी पुग्ने हुनसक्छ । चाड पर्वमा अल्पकालीनदेखि दीर्घकालीन समस्या देखिन्छ ।
खानपिनबाट हुने अल्पकालीन समस्या
फुड पोइजनिंग हुने, ग्याष्ट्रिक हुने, डिहाइड्रेशन हुने, शरीरमा थकान बढी हुने, डाइरिया हुने, बान्ता हुने आदि ।
दीर्घकालीन समस्याः शरीरमा बोसो बढी जम्मा हुने, मधुमेह भएका बिरामीको मधुमेहको लेभल बढ्ने, कोलेस्ट्रोल लेभल बढाउने, अन्य साइड–इफेक्टहरु देखा पर्छ ।
कस्ता कुराहरु खाने ?
माछा, मासु चिल्लो नबनाएर ठिक्क मात्रामा खाने, फाइबरयुक्त खानेकुराहरु खाने, डिहाइड्रेशन हुने हुँदा टाइम–टाइममा पानी खाने, ताजा फलफुलको जुस खाने, मद्यपान सकेसम्म नगर्ने, मिठाइहरु कम मात्रामा खाने, डाइटमा ड्राई फ्रुट समावेस गर्ने, खानेकुरा खाइसकेपछि दहि खाने ।
होलीको पर्व र अन्य चाडपर्वमा के—के खानेभन्दा पनि कति खाने भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । विशेष दिन क्यालरी हामीलाई बढी मात्रामा चाहिने हुँदा भारी खाना खानुको सट्टा हाइड्रेटेड हुने खालका खानेकुराहरु, तरकारीको सुप, दाल, फलफुल र झोलिलो कुरा बढी मात्र खानु पर्दछ ।
चाडपर्वको समयमा हाइड्रेटेड रहनुहोस् । होलीमा धेरै समय बाहिर घुम्न जाने, गीतहरु बजाएर डान्स गर्ने चलन भएको हुँदा त्यसैले नरिवल पानी पिउने, ताजा जुस अरु दिनभन्दा बढी पिउनु आवश्यक छ । अन्त्यमा, चाडपर्वमा धेरै परिकार लामो समयका लागि बनाइन्छ । बासी खानेकुरा राम्ररी रेफ्रिजिरेट गरेर राख्नुपर्दछ । यदि वासी खानालाई व्यवस्थित गरी राख्न जानिएन भने स्वास्थ्यलाई नराम्रो असर गर्छ । किनभने २÷ ३ दिनदेखि बनाएर राखेको खानेकुरामा टक्सिन उत्पादन हुने हुँदा स्वास्थ्यमा समस्या निम्तिन सक्छ ।
बाहिरबाट मिठाइ र खाजा किन्नुको सट्टा, यसलाई घरमा बनाउने प्रयास गर्नुहोस् । तिनीहरूलाई स्वस्थ बनाउन जैतुनको तेल, अर्गानिक घिउ, शखरजस्ता कुराहरु प्रयोग गर्नुहोस् । डाइटमा ड्राई फ्रुट र नट्ससँगै जुसहरु बढी खाने गर्नुपर्छ । यिनीहरु स्वादिलो हुनुका साथै स्वस्थ्य र चाडपर्वका लागि पनि उपयुक्त हुन्छन् । त्यस्तै, खानासँगै प्रोबायोटिकयुक्त सलादहरु अरु बेलाको भन्दा बढी मात्रामा खानु उपयुक्त हुन्छ । बढी मसालेदार, चिल्लो, पिरो र गुलियो भएको र पोलेको खानेकुरा सकेसम्म नखाँदा नै वेश हुन्छ । सकेसम्म हामीले स्वस्थ्य रहन सन्तुलित भोजनलाई नै प्राथमिकता दिनु उपयुक्त हुन्छ । – हेल्थअवाजबाट साभार गरिएको