मधेश प्रदेशको शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश कुमार यादवले १६ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् ।
शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यको अवस्था सुधार्न मन्त्री यादवले आज पत्रकार सम्मेलन गरी १६ बुँदै कार्ययोजना सार्वजनिक गरेका हुन् । पदभार ग्रहण गरेकै दिन प्रदेशलाई साक्षर बनाउने निर्णय गरेकाले शिक्षा क्षेत्रलाई कार्ययोजनामा प्राथमिकतामा राखेका छन् ।
प्रदेशको शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य आपूर्ति सम्बन्धी विभिन्न अनुगमन र विज्ञहरुसँग छलफल पश्चात कार्ययोजना बनाएको मन्त्री यादवले बताए । उनले मधेश प्रदेशको शिक्षा अवस्था एकदमै खस्केको र दिन प्रतिदिन खस्कदै गएकमोमा चिन्ता व्यक्त गरे ।
उनले भने, ‘प्रदेश सरकारको स्वामित्वमा विज्ञान र प्रविधिसँग सम्बन्धित कुनै कामै भएको छैन । वाणिज्य आपूर्ति सम्बन्धी कामको अवस्था पनि त्यस्तै छ । शिक्षा सम्बन्धी सरकारको लगानी अर्बौंमा देखियो तर आउटपुट शून्य नै देखिएको छ ।’
विद्यालय अनुगमनका क्रममा प्रधानाध्यापकहरु पूर्णकालीन राजनीतिमा लागेको, पठन पाठन नहुने गरेको, अभिभावकमा चेतना अभाव र विगतका सरकारहरु अव्यवस्थित तथा अवैज्ञानकि ढंगले भौतिक संरचना निर्माणमा मात्रै ध्यान दिएको पाइएको मन्त्री यादवले सुनाए । प्रदेशको शिक्षा अवस्था कमजोर हुनुको मुख्य कारण जिम्मेवार सबै पक्ष आफ्नो दायित्वबाट पछि हट्नु नै भएको उनले तर्क गरे ।
कुनै समुदाय वा समाजलाई विगार्नु छ भने त्यहाँको शिक्षालाई बिगारे सबैथोक आफै विग्रिन्छ भन्दै उनले प्रश्न गरे, ‘कहिकतै यही सिद्धान्त मधेश प्रदेशमा त लागु भएको त छैन
उनले १६ बुँदै कार्ययोजनामा लचकदार व्यवहार अवलम्वन, नतिजामुखी नीति निर्माणमा जोड, त्रिपक्षीय समन्व्य, साक्षर मधेश प्रदेश घोषणा, सिमान्तकृत समुदायको लागि विशेष नीति, क्वीईएमएस नीति ल्याउने, प्रदेशिक शिक्षा ऐन, दण्ड र पुरस्कारको नीति, शिक्षा विज्ञहरुसँग त्रैमासिक स्कुलिङ्ग, टेक्नोलोजी फर गार्जियन, कृषि विश्वविद्यालयमा नयाँ वर्षदेखि पठनपाठन, व्यवहारिक, संस्कारी र मातृभाषा शिक्षामा जोड, प्रदेश स्तरीय द्यष्न एबिलत जडानमा जोड, व्यापार तथा वाणिज्य सम्बन्धि विशेष नीति, हानिकारक पदार्थको नियमन र व्यवस्थापन र आर्थिक मितव्ययता रहेको छ ।
मधेशको व्यापार अवस्था दयनिय बन्न गइरहेकामा पनि उनले चिन्ता व्यक्त गरेका छन् । ‘बजारको असमान व्यापार व्यवहार र अति आवश्यक वस्तुको अभावका कारण व्यापार र उपभोक्तबीचको सम्बन्ध चिसिदै गएको छ’, उनले भनेका छन्, ‘जसका कारण प्रदेशको आर्थिक अवस्था समेत कमजोर बनिरहेको छ । त्यसैले व्यापार तथा वाणिज्य सम्बन्धी प्रादेशिक नीति नियमन गर्न सुरु गरिसकेको छु ।’
मन्त्री यादवले प्रदेशमा हानिकारक पदार्थको नियमन र व्यवस्थापन गर्न पनि ठोस कदम चालिसकेको बताए । उनले हानिकारक पदार्थको खरिद विक्री र सेवनका कारण जनधनको क्षति हुनुका साथै समाजमा अनेकौं विकृति विसंगति बढेको उनको भनाई छ ।