वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाले डीजे र अश्लील गीत बजााउन रोक लगाउने तयारी गरेको छ । डिजेले फैलाउने ध्वनी प्रदुषण र अश्लील गीतले समाजमा पार्ने प्रभावलाई ध्यानाकर्षण गर्दै डीजे र अश्लील गीत रोक लगाउने तयारी गरेको हो ।
बहुदरमाई नगर कार्यपालिकाको कार्यालयमा समुदायिक–प्रहरी साझेदाारी कार्यक्रम अन्तर्गत आज आयोजित ‘‘सुरक्षा निकाय र स्थानीय निकाय बीचको अन्तरक्रिया कार्यक्रम’’मा उठेको सर्वपक्षीय मागलाई मध्य नजर गर्दै चर्काे आवाजमा बजाईने डीजे र अश्लील गीतलाई रोक लगाईने सहमती भएको छ ।
चर्काे स्वरमा अनावश्यक रुपमा बजाईने डीजे र अश्लील गीतले समाजमा फैलिरहेको बिकृत बारे वडाध्यक्षहरुले गुनासो गरेपछि त्यस्तो भएको बारे स्थानीयले वा वडाध्यक्षहरुले जानकारी दिए प्रहरीले तत्कालै कारबाही गर्ने नेपाल प्रहरी पर्साका एसपी कोमल शाहले बताए ।
भ्याट जस्ता लागु औषधमा फस्दै केटाहरु
अन्तरक्रिया कार्यक्रममा बहुदरमाई नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र गुप्ताले १२ देखी २० वर्षसम्मका भ्याट जस्ता लागु औषध सेवनमा फसेर उनीहरुको भविष्य अन्धकार भईरहेको चिन्ता व्यक्त गरे । भारतको रक्सौल लगायतको ठाउँबाट भ्याट ल्याएर बिश्रामपुरका केटाहरु लागु औषध सेवनमा फस्दै गएकोले त्यसलाई न्युनिकरण गर्नेतर्फ प्रहरीको निगरानी हुनु पर्ने आग्रह गरे ।
अध्यक्ष गुप्ताले उठाएको प्रश्नमा प्रहरीले लागु औषध न्युुनिकरणको लागि स्वीप अप्रेशन गरिरहेको दाबी गरे । कही कुनै ठाउँबाट लागु औषध ओसार पोसार वा कसैले सेवन गरिरहेको छ भन्ने बारे जनप्रतिनीधिले जानकारी गराई सहयोग प्रहरीको आग्रह थियो । लागु औषधको कुलतमा फस्नबाट युवाा जमातलाई बचाउन स्थानीय तह र प्रहरी लगायतको समन्वयमा लागु औषध सम्बन्धी कार्यक्रम संचालन गरि सचेतना फैलाईने नगर प्रमुख सिंघासन साहले बताए ।
स्थानीय सरकार र प्रहरी एकअर्काको परिपूरक भएर काम गर्नपर्छ
बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाले बाटो मिचेर घर बनाएकाहरु बाटो तोड्न नमानेर लठ्ठी लिएर झग्डा गर्न आउने गरेकोले त्यस्तो बेला प्रहरीले सहयोग गर्नु पर्ने धारणा राखेका थिए । केही शिक्षहरु सरुवा भएर जाँदा पनि स्थानीय भएको कारण धाकधम्की देखाएर विवाद गर्ने गरेकोले स्थानीय तहमा कामकारबाहीमा प्रहरीको सहयोग अति नै आवश्यक स्थानीय सरकार र प्रहरी एकअर्काको परिपूरक भएर काम गर्नुपर्ने अधिकृत मुस्तुफाले जोड दिए । उनले प्रहरीलाई आवश्यक स्रोत साधनको उपलब्धतामा आफूहरु सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
विकासमा प्रतिस्पर्धा हुनु पर्छ
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रत्येक वडामा पार्टीगत प्रतिस्पर्धा नभई विकासमा प्रतिस्पर्धा हुनु पर्ने बताए । बाल विवाहमुक्त वडा, शिक्षा, स्वास्थ्य, कृषि लगायत क्षेत्रको विकासमा वडा वडाबिच प्रतिस्पर्धा हुनु जोड दिए । स्थानीय तहको समन्वयमा शान्ति सुरक्षा कायम गरी विकास निर्माणलाई अगाडी बढाउनु सबैको साझा उदेश्य र दायित्व भएकोले प्रत्येक निकायले जनतालाई सहज र शुल्भ सेवा दिन आग्रह गरे । नागरिकको लागि सिफारिस गर्ने काममा पनि पार्टीगत टिकाटिप्पणी हुने गरेको उठेको प्रश्नमा प्र.जि.अ. रेग्मीले प्रकृया नमिलेर सिफारिस गर्न नसकिने लेख्नु पर्छ, हैन भने पार्टीगत हिसाबले नियमसंग हुने सिफारिस नगरेको गुनासो आएको खण्डमा त्यस्ता प्रतिनिधीलाई सिधै थुनिने चेतावनी दिए ।