निकै नै जटिल मानिएको मुटु उपचारको एन्जियो प्लाष्टि सेवा प्रदेश नम्बर २ मै पहिलो पटक वीरगंज हेल्थ केयर हस्पिटलले शुरु गरेको छ ।
बहुअरीस्थित अस्पतालको सभाकक्षमा शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै हस्पिटलले गंगालाल हृदय केन्द्र बासवारीका दक्ष चिकित्सकहरुको सहकार्यमा यो सेवा शुरु गरिएको अस्पताललका प्रबन्ध निर्देशक अबुुलहैस अन्सारीले जानकारी गराएका छन् ।
यस अघि तीनमहिनादेखि एन्जियोग्राफी सेवा शुरु गरेको अस्पतालले प्रदेशको आठवटै जिल्लाका मुटु रोगीका लागी निकै नै जटिल उपचार मानिएको एन्जियो प्लाष्टि सेवा स्वास्थ्य मन्त्रालयको समन्वयमा गंगालाल हृदय केन्द्र बासवारी जतिकै खर्चमा वीरगंजमा समेत उपचार गर्नेगरी व्यवस्था भईरहेको प्रबन्ध निर्देशक अन्सारीले जानकारी गराए ।
२०६७ साल देखि ल्याप्रोस्कोपि सि आर्म मेशीन र भेन्टिलेटर सहितको अत्याधुनिक अपरेशन थिएटर, भेन्टिलेटर सहितको आइसीयु र एनआईसियु, किड्नी डाइलासीस मल्टीस्लाईस सिटी स्क्यान, ६०० एमएको अत्याधुनिक डिजीटल एक्सरे, टिएमटी स्पाइरोमेट्री, इको लगायतको २४ औँ घण्टा सेवा दिदै आएको यस अस्पतालले मुटु रोगीको लागि एन्जियो प्लाष्टि सेवा शुरु गरेकोमा प्रदेश २ कै मुटुरोगीको लागि फलदायी हुने गंगालाल हृदयकेन्द्र बाँसबारीको वरीष्ठ मुटुरोग विशेषज्ञ डा.रबि मल्लले विश्वास व्यक्त गरेका थिए । समयमा अस्पताल नपुग्दै कतिपय मुटुरोगीको ज्यान जाने भएकोले वीरगंजमा यो सेवा विस्तारसंगै विरामीको खर्च बचत हुनुको साथै राजधानी ओहोरदोहोर गर्नुपर्ने समस्या पनि टर्ने उनको भनाई थियो ।
मुटु रोगीको उपचारको लागि सरकारले विपन्न वर्गलाई अधिकतममा १ लाख सम्म सहयोगको व्यवस्था गरेपनि प्रदेश नं २ का अस्पतालहरुले यो सेवा सञ्चालनमा नल्याएका कारण राजधानीमा मात्र मुटुरोगीले उपचार गराउन जानु पर्ने बाध्यता रहेको थियो । अस्पतालले मुटुको नशा ब्लक भएको वा नभएको हेर्ने विधि एन्जियोग्राफीको नतिजा अनुसार २९ जनामा नशा ब्लक भएको फेला परेको थियो । जसका लागी समयमै काठमाडौँ पठाएर उपचार सम्भव भएको अस्पतालका प्रबन्ध निर्देश अबुलहैस अन्सारीले जानकारी गराए । काठमाडौंमा उपचार गराउन जाने विरामी मध्ये प्रदेश २ कै ८० प्रतिशत बढी हुने गरेकाले यो सेवाको यहाँ आवश्यकता रहेको महसुस गर्दै यहाँ एन्जियो प्लाष्टि सेवा ल्याएको उनले जानकारी गराए । मुलुककै २१ प्रतिशत जनसख्या रहेको यस प्रदेशमा यो सुविधा थप भएसंगै मुटुरोगीको उपचारमा सहजता थपिने प्रबन्ध निर्देशक अन्सारीको विश्वास छ ।
पत्रकार सम्मेनलमा गंगालाल ह्रृदय केन्द्रका वरिष्ठ मुटुारोग विशेषज्ञ डा विनय रौनियार, हेल्थकेयरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. एम ईजहार, डां अच्युतानन्दलाल कर्ण, हेल्थ केयरका न्यूरो सर्जन डा.फिरोज अफजल, डा.दिपक कुशवाहा लगायतको सहभागिता थियो । अस्पतालकी नर्सिग ईन्चार्ज भूमिका अधिकारीले स्वागत गरेको कार्यक्रमको सहजिकरण राधेश्याम पटेलले गरेका थिए ।