आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका बीरगन्जका दुई खेलाडीलाई बीरगन्ज महानगरपालिकाले स्वागत गर्दै सम्मानित गरेको छ ।
विश्वकपमा क्वालिफायर भएपछि पहिलो पटक गृहनगर बीरगन्जमा आइतबार आइ पुगेका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय आरिफ शेख ‘ब्याट्सम्यान’ र आसिफ शेख ‘ब्याट्स म्यान तथा विकेट किपर’ लाई बीरगन्ज महानगरले भव्य स्वागत गर्दै सम्मानित पनि गरेको हो ।
आइतबार बीरगन्ज महानगरपालिकाकै परिसरमा मेयर राजेशमान सिंहले सहोदर दाजुभाइ समेत रहेका शेखद्वयलाई दोशल्ला ओढाएर स्वागत र सम्मान गरेका हुन् । मेयर सिंहले शेखद्वयका बुबा शेख सलाम र स्थानीय प्रशिक्षक जाहुर अन्सारीलाई पनि दोशल्ला ओढाएर सम्मानित गरे । त्यसक्रममा मेयर सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पुरयाउन विशेष भूमीका निर्वाह गरेका दुवै खेलाडीलाई बीरगन्ज महानगरले यहि चैत १७ गते बीरगन्जमा भव्य समारोह गरेर नागरिक अभिनन्दन पनि गर्ने घोषणा गरे ।
उक्त समारोहमै यसअघि बीरगन्ज महानगरले घोषणा गरेअनुसार दुवै खेलाडीलाई एक एक थान यमहा एफ जेड एफ आइ मोटरसाइकल पनि प्रदान गर्ने पनि उनले बताए । मेयर सिंहले उक्त नागरिक अभिनन्दन समारोहमा सहभागी भइ बीरगन्जका यी दुइ खेलाडीको हौसला बढाइदिन वीरगन्जवासीसंग आह्वान पनि गरे ।
आइतबारको सम्मान कार्यक्रममा मेयर सिंहले बीरगन्ज दुवै खेलाडीले नेपालको नाम अझ उचाईमा पुरयाएर बीरगन्ज महानगरको नाम पनि उँचो बनाएको बताए । उनले बीरगन्जका यी दुइ खेलाडी राष्ट्रकै गहना बनेका छन् , यिनीहरुको हौसला बढाउन बीरगन्ज महानगरले कुनै कसर बाँकी राख्दैन ।
महानगरले सम्मान गरेपछि खेलाडीद्वय आसिफ र आरिफले महानगरको यो सम्मानले आफुहरुलाई अझ हौंसला थपिदिएको प्रतिक्रिया दिए । आसिफले भने ,‘ गहृनगरमै यति भव्य सम्मान पाउदा खुशीले मन गदगद् भएको छ , आउने दिनमा देशको नाम रोशन गर्न अझ हौंसला थपिदिएको छ ।