वर्तमान युग सूचना र संचारको युग हो । संचार क्रान्तिले गर्दा विश्व नै एउटा संचार ग्राम बनिसकेको छ । मिडिया विना वर्तमान विश्वको कल्पना समेत गर्न सकिदैन । वर्तमान समयमा संचार जडित हतियारको आविश्कार भइसकेको छ । हरेक वस्तु, हरेक क्षेत्र संचारसँग जोडिएको छ । संचार दर्पण हो । आम संचाारका माध्यमहरु, पत्रकारिता राष्ट्रिय उत्तरदायित्व र सामाजिक बोध गर्ने साधन हो ।
लोकतन्त्र विना प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता सम्भव छैन । तानाशाही, अभिनायकवादी, भ्रष्ट, नालायक, राष्ट्रघाती, जनघाती प्रवृत्ति वोकेका व्यक्ति, प्रशासकहरु प्रेस स्वतन्त्रताको हरबखत विरोधी हुन्छन् । ठूला ठूला अपराध, भ्रष्टाचार अनैतिक कार्यको भण्डाफोर गर्न र कुशासनका विरुद्ध असल प्रेस जगत, मध्ये मिशन बोकेको संचारकर्मी कति पनि विचलित नभई सदैव जुटिरहेको हुन्छ । पत्रकारिता केवल जिविकोपार्जन गर्ने पेशा मात्र होइन । राष्ट्रिय उत्तरदायित्व र सामाजिक जिम्मेवारी वोकेको सशक्त साधन हो । संचारकर्मीले राष्ट्रवादी र इमानदार भएर जनपक्षीय पत्रकारिता गरे भने परिर्वतनको परिमाण सकरात्मक र सार्थक हुन्छ । पत्रकार, संचारकर्मी ब्लाकमेल र पीत पत्रकारिता, राष्ट्रियघाती, अवसरवादी र सत्ताको दलाल भयो भने त्यहाँ पत्रकारिताको संस्थागत विकास हुन सक्दैन । मिशन पत्रकारिता, जनपक्षीय पत्रकारिता र व्यवसायिक पत्रकारिता मुख्य अहिलेको पत्रकारिताका आवरण हुन् ।
व्यवसायिक पत्रकाकारिताका नाममा यतिवेला थुप्रै विकृति र विसंगति भइरहेको छ । व्यावसायिक पत्रकारिताबाट पत्रकारिता धर्ममा कुठाराघात हुनपुगेको छ । व्यावसायिक पत्रकारिता दलाल पूंजीपतिहरुको रक्षा कवच हतियार वन्न पुगेको छ । पत्रकारिताको मूल उद्देश्य भनेको शासक, प्रशासकलाई अनुशासित तुल्याई विधिको शासनका लागि वाध्य बनाउने, राष्ट्रिय स्वार्थको जगेना गर्ने र सवैखाले अन्याय अत्याचार ज्यादति र भ्रष्टाचारको विरोध गरी आर्थिक समृद्धिको वातावरण निर्माण गर्नु प्रमुख कुरा हो । पत्रकारका हरेक कर्महरु प्रेस स्वतन्त्रताको जगमा उभिएर मात्र सम्भव छ । पे्रस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन । प्रेस जगतले प्रेस आाचार संहिताको अनिर्वाय रुपमा पूर्ण पालना गर्नु पर्दछ । नेपाल पत्रकार महासंघ अहिले नेपाली पत्रकारहरुको संगठन त वन्न पुगेको छ । तर नेपाली श्रमजिवी पत्रकारहरुको हकहित संरक्षण गर्ने साझा छाता संगठन बन्न सकेको छैन ।
नेपाल पत्रकार महासंंघ स्वतन्त्र र स्वायत्त हुन सकेको छैन । विगतमा झै नेपाल पत्रकार महासंंघका पदाधिकारीहरु सत्ता लोलुपता, व्यक्तिगत स्वार्थ र अवरवादी भन्दा माथि उठ्न सकेका जस्तो देखिन छोड्यो । जस्ले गर्दा मिशन पत्रकारितामा सक्रिय, पुराना इमान्दार देशभक्त पत्रकारहरु ओझेलमा पर्दै गइरहेका छन् । पत्रकारिता पेशा देश र जनताको बन्न सक्नुपर्छ । केही पेशामा लागेका व्यक्तिको कारण सिंगो पेशा नै धुमिल पार्ने काम गरिनु हुँदैन । पत्रकारिताको नाममा नाजायज फाइदा उठाउँनु् अपराध हो । नागरिक अधिकार र आर्थिक समृद्धिको पक्षमा अनवरत संघर्षशील बन्नु पर्ने प्रेस जगतले प्रेस स्वतन्त्रताको आधारमा निर्भिकता पूर्वक निष्पक्ष ढंगले भ्रष्ट शासक, प्रशासकको आलोचना गर्न र हस्तक्षेप गर्न सक्नु पर्दछ ।
नेपाल प्रेसजगत यो दायित्व पुरा गर्न सवल र सफल हुने बाटोमा अग्रसर हुन सकेको छैन । नेपालमा पत्रकारिताको इतिहास लामो भए पनि जनपक्षीय पत्रकारिताको लागि उपयुक्त वातावरण निर्माण हुन सकेको छैन । पेशागत सुरक्षा र पत्रकार व्यक्तिगत रुपमा सुरक्षित छैनन् । राजनीति व्यवस्था परिर्वतन हुन्छ । तर पत्रकारले निर्वाहा गर्नु पर्ने मुख्य जिम्मेवारी कहिले परिर्वतन हुन सक्दैन । व्यवसायिक पत्रकारिताको नाममा दलाल पूंजिपति र भ्रष्ट शासक, प्रशासकको एजेण्ट वन्न मै सिमित पत्रकारिता भयो भने पत्रकारिता पेशा चाकरी चुक्ली चाप्लुसीमा नीहित हुन पुग्छ । मुलुकका सूचना वेचेर विदेशी स्वार्थको रक्षा गरेर, समाचार लुकाएर सूचना समाचारसंग संझौता गरी नाजायज सम्पति आर्जन गर्ने खाइजीविका चलाउने पेशा बन्नु हुँदैन । चिन्ता यहि छ । पत्रकारिता जीवन पद्धति नै हुनुपर्दछ ।
संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संसदीय व्यवस्थापका हिमायतिहरुको अभिव्यक्ति, स्वतन्त्रता, प्रेस स्वतन्त्रता उपरको अनुदार व्यवहार पत्रकारहरुमाथिको प्रहारले राजनीतिक संकीर्ण मानसिकता उजागर भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको नाममा देशभर जननिर्वाचित तीनै तहका जनप्रतिनीधिहरुले सक्दो रुपमा लुटतन्त्र मच्चाइरहेका छन् । उनीहरु आलोचित निन्दनीय र वहिष्कृत हुदै जाने बाटोमा छन् । सच्चा संचारकर्मी र संचार माध्यम भ्रष्टाचार, ढिलासुस्ती, गरिबी, महंगी, अराजकता र खराब प्रवृत्तिका विरुद्धमा उत्रिएकै छन् । जनपक्षीय मिशन पत्रकारितामा लाग्नेहरु संख्या निकै थोरै छ । संख्यामा पत्रकार जमात ठूलो भए पनि गुणस्तरीयताको हिसावले निकै कम छ । नेपालमा राजनीतिक व्यवस्था परिपक्व र संस्थागत छैन । व्यवस्था परिर्वतनका लागि चौतर्फी रुपमा जनता उठेका छन् । यथास्थितिका विरुद्धमा परिर्वतन गर्न जन क्रान्ति जारी छ । जनताहरु राष्ट्रवादी क्रान्ति र परिर्वतनको पक्षमा छन् । दुई तिहाइ वहुमतको वामपंथी सरकारले नेपाल र नेपालीको स्वार्थ रक्षामा प्रश्न चिन्ह खडा हुने ठाउँ बनाउँदै गएको छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको पार्टी र सरकार कम्युनिष्ट चरित्र व्यवहार नैतिकता र क्रान्तिकारिताको वदनाम गर्ने हुन् कि भन्ने बाटोमा लहसिएका छन् । यसो भइरहे वर्तमान शासन व्यवस्थाको अन्त्य वाञ्छनीय हुन्छ । व्यवस्थाले राष्ट्रिय स्वाधिनता, स्वाभिमाान, राष्ट्रिय सर्वोपरिता , सर्वोच्चता जनजीविकाको ग्यारेण्टी गर्न सकेको छैन । देशमा राजनीतिक र संवैधानिक संकट देखापरेको छ । विद्यमान सवैखाले द्धन्द्ध , असमानता, विभेद, विदेशी दलाली अन्त्य गर्न जनताहरु वीचको एकताको राष्ट्रिय जनक्रान्ति अनिर्वाय छ भन्ने आवाज उठिरहेको छ । स्वतन्त्र क्रान्तिकारी श्रमजिवी पत्रकारहरुको एकताले मात्र राष्ट्रिय जनक्रान्तिलाई सफल र सवल वनाउन सक्दछ । नेपालमा क्रान्ति संभव छ भन्ने विभिन्न कालखण्डले देखाइ सकेको छ । तर प्राप्त उपलब्धीको रक्षा गर्न राष्ट्रिय, अन्तराष्ट्रिय परिस्थितिका कारण निकै कठिन देखिन्छ ।
संसारमा स्वतन्त्र र तथ्य पत्रकारिताको जग बलियो बन्न देशभक्त, जनपक्षीय पत्रकारहरुबाट सम्भव हुन्छ । देश र जनताको सर्वोपरी र सर्वोत्तम हित गर्ने राजनीति व्यवस्थाको पक्षमा र जनविरोधीको विपक्षमा पत्रकारिता अडिग भएर उभिनु सक्नु पर्दछ । पार्टी पत्रकारिता पर्चा कारिता मात्र हो । पार्टी र व्यवस्थालाई देश र जनताको सर्वाङ्गिण विकासमा लाग्न वाध्य गराउने हस्तक्षेपकारी पत्रकारिता नभए नेपाल नै नरहने सम्भावना बढेर जान्छ ।