रविभुषण श्रीवास्ताव वीरगंजवासीमा खासै नौलो नाम भने होइन । विगत १४ वर्ष देखि गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धक भएर सक्रिय रुपमा काम गरी आफ्नो उच्च छवि राख्न सफल भएका छन् । उनले वीरगंज महानगरपालिका वडा नं–१० अशोक वाटीकामा रहको सहकारीको विश्वासनियतालाई आम जनताको सामु उच्च स्थानमा पुयाउन पनि सफल भएका छन् । सहकारी नीति, नियम र विधिलाई अबलम्बन गर्दै आर्थिक मन्दिको अवस्थामा पनि सहकारीलाई सुदृढ गर्न सफल भएका हुन् । उनै गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक रविभुषण श्रीवास्तावसंग मध्य नेपाल सन्देशले गरेको बिशेष कुराकानीः
१) वर्तमान समयमा सहकारीको अवस्थाको बारेमा बताईदिनुसन् ?
अहिले वास्तवमा हेर्ने हो भने सहकारी संस्था मात्र नभई वित्तिय क्षेत्रमा पनि आर्थिक मन्दिको अवस्था छ । हरेक क्षेत्रमा आर्थिक मन्दिको असर परेको छ । तर सहकारी संस्थामा बढी नै आर्थिक मन्दि देखापरेको छ । सहकारी संस्था नीति, विधि र प्रविधिबाट चलाउनु पर्छ । जुन संस्था नीति, विधि र प्रविधिमा चलेका छैनन् । त्यस्ता संस्थाहरुलाई आर्थिक मन्दिले धेरै नै मार पारेको छ । नियममा बसेको सहकारी संस्थाहरु राम्रो नै चलिरहेको छ । सरकारको नियम अनुसार हामीलाई पनि १५देखी २० प्रतिशतसम्म लिकुडिटी राख्ने नियम छ । त्यो भन्दा बढी राख्न मिल्दैन् । त्यो भन्दा बढी राख्यो भने अपिस चलाउने कसरी, डिमिडेट बाड्ने कसरी,बचतमा व्याज कहाँबाट दिने जस्ता समस्या आउँछन् । नीति, नियममा नचलेका सहकारी संस्थाहरुका व्यवहारले गर्दा समाजमा धेरै नै हल्ला फैलिएको हो । उनिहरुको कारण गर्दा मानिसहरुमा सहकारी प्रति विश्वासको कमि भएको छ ।
२) पर्सा जिल्लामा कति वटा सहकारी संस्थाहरु दर्ता छन् ?
संघमा आबद्ध भएका सहकारीहरु पहिलाको तथ्याङ्क अनुसार ५ सय २८ वटा दर्ता भएका थिए । सरकारको पनि निति, नियम छ । पहिला डिभिजन सहकारी कार्यलयले सहकारीहरुको निगरानी गर्ने,अनुगमन निरीक्षण गर्ने निकाय थियो । अहिले सम्बन्धित वडा, गाउँपालिका, नगरपालिका, महानगरपालिकालाई जिम्मा दिएको थियो । कुनै तहबाट पनि अनुगमन भईरहे छैन ।
३) समाजमा सहकारी प्रति अविश्वास उत्पन्न हुनुको कारण के हो ?
समाजमा सहकारी प्रति बजारमा जुन हल्ला छ । त्यो किसिमले सबै सहकारीहरुमा असर परेको छैन । कुनै सहकारी संस्थाले गल्ती गरेमा सबै संस्था गलत हुदैन्न । सबै सहकारीहरुलाई एउटै दर्जामा राखेर तुलना गर्न पनि मिल्दैन । जुन सहकारी संस्था नीति नियममा बसेर काम गरेको छन् समस्या परेको छैन् । तिनीहरुलाई मात्र समस्या परेको हो । सहकारीको नीति नियममा बसेर काम नगर्ने सहकारी संस्थाहरुलाई मात्र समस्या परेको छ । देशका विभिन्न ठाउँमा सहकारी संस्थाहरु बचतकर्ताहरुको पैसा फिर्ता नगरी भागेका पनि छन् । वीरगंजमा पनि केही सहकारी संस्थाले नियम विपरित काम गरेको छन् । तर त्यसको प्रभाव सबैमा परेको छैन ।
४) तपाईको सहकारीको पहिलाको र अहिलेको अवस्थामा के फरक छ ?
हाम्रो सहकारी पहिलाकोभन्दा अहिले एकदमै राम्रो छ । कोरोना कहर सुरुवात हुनुभन्दा अगाडी कूल रकम १६ करोड थियो । कोरोना कहरपछि आज देशमा मन्दीको अवस्था सृजना भएको समयमा पनि हाम्रो सहकारी राम्रो नै चलिरहेको छ । अहिले १६ करोडबाट वद्धि भएर ३५ करोडको पुगेको छ । बचतकर्ता सदस्यहरुले हामीमाथि विश्वास गर्नु भएको छ । उहाँहरुको विश्वासमा कहीले पनि विश्वास घात गर्ने छैनौ । कहिले पनि बचतकर्ताहरुलाई गुनासो गर्ने मौका दिने छैनौ ।
५) तपाईको संस्थामा आबद्ध सदस्यहरु कति जना छन् ?
हाम्रो २ वटा सेवा केन्द्र र एउटा हेड अपिस मिलाएर तिन वटा ब्रान्च छ । हाम्रो सहकारीमा संस्थामा ४ हजार सदस्यहरु छन् ।हाम्रो सहकारीको ब्रान्च छिपहरमाई गाउँपालिका भिस्वामा, वीरगंज बसपार्कमा र हेड अफिस अशोक वाटिका–१० वीरगंजमा छ । सबै ब्रान्चबाट बचतकर्ताहरुले नियमित बचत पनि गर्नु भएको छ । ऋण पनि लिनु नै भइरहेको छ । हाम्रो सहकारीमा कुनै समस्या आएको छैन ।
६) आर्थिक मन्दी भैरहेको अवस्थामा पनि सहकारी चल्नुको कारण के हो ?
हामी माथि बचतकर्ता सदस्यले विश्वास गर्नुको धेरै माध्यमहरु छन् । हाम्रो सहकारी संस्था धेरै पुरानो हो । पर्सा जिल्लाको पहिलो संस्था हो । हाम्रो संस्थामा ए.टि.म, मोबाइल बैङ्किग,क्यूआर कोड सेवा, सबै डिजिटल प्रविधि सेवा सुविधाहरु उपलब्ध छ । हामीले बचतकर्ताहरुमा विश्वासको वातावरण सृजना गरेका छौ । कमर्शल बैकहरुले दिने सुविधाहरु हामीले दिइरहेका छौ । हामीले सहकारीको नीति, विधी र प्रविधि भित्र बसेर काम गरेका छौ । नियममा बसेर नै सहकारी संस्थालाई चलाई रहेका छौ । हामीले धेरै लिकुडिटी राखेर काम गरेका छौ । नेफस्कोनले गुणस्तर कायम गर्ने संस्थाहरुलाई गुणस्तर पहिचान गर्न सटिफिकेशन दिने नीति ल्याएको छ । त्यसमा पनि हामी आबद्ध छौ ।
७) सहकारीहरुको सुदृढिकरणकालागि सरकारले के गर्नुपर्छ ?
सहकारी ऐनको स्थापना २०७४ सालमा भयो । तर अहिले पनि हाम्रो प्रदेशले सहकारी नियमावली ल्याउन सकेका छैन । सहकारी ऐन ल्याउन सकेका छैन । अबत महानगरपालीका, प्रदेश, गाउँपालिका, सबैको आफ्नो आफ्नो सहकारी ऐन हुन्छ । अहिले सम्म पनि प्रदेशको ऐन आएको छैन । पहिला संस्था सुरुमा दर्ता गर्दा ५वटा वडा हुन्थ्यो । अहिले त्यो वडाहरु कहाँ कहाँ गइसकियो । कुनै गाउँपालिकामा, नगरपालिकामा, कुनै वडामा पुगिसकेका छन् । अनुगमन गर्ने निकाय छैन् । त्यसको अनुगमन कसले गर्छ । पहिला जस्तो डिभिजन सहकारी कार्यालय भयो भने राम्रो हुन्छ । अहिले सहकारी हेर्ने जिम्मा नगरपालिकाको भएपनि सहकारीको विषयमा ज्ञान नभएको व्यक्तिलाई जिम्मेवारी दिएको छ । सहकारीको विषयमा जनकार व्यक्तिलाई नै जिम्मेवार दिनुपर्दछ । जसले सहकारीलाई नै देखोस क्षेत्र क्षेत्रमा गएर अनुगमा गर्न सकोस् । अनि मात्र समस्या समाधान हुन्छ ।
८) सहकारीबाट पीडित बचत कर्ताहरुले कहाँ गुनासो गर्ने त ?
सहकारीबाट पीडित बचतकर्ताहरुको बचत फिर्ता नगरेको खण्डमा माहानगर भित्र छ भने महानगरपालिकाले हेर्छ । गाउँपालिकामा छ भने गाउँपालिकाले हेर्छ । त्यो अनुसार संघिय संरचना बनाएको छ । जुन गाउँपालिका र नगरपालिका दुबै क्षेत्र अन्तर्गत छन भने प्रदेशले हेर्छ । पीडित बचतकर्ताहरुले सम्बन्धित स्थानिय निकायमा जानु पर्छ ।