केही दिन यता भारतमा एचथ्री एनटु फ्लु व्यापक रुपमा फैलिँदै गएको र केही व्यक्तिको मृत्यु समेत भएको भनेर विभिन्न भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । नेपालमा पनि सन् २०२३ को सुरुवातदेखि नै एचथ्री एन टु फ्लु भाइरस ह्वात्तै सक्रिय भएको देखिन्छ । भारत र नेपालमा फ्लु अहिले सक्रिय हुनु स्वाभाविक नै मान्न सकिन्छ । पछिल्लो समय पंक्तिकारले समुदायमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने, टाउको दुख्ने जस्ता समस्या भएर बसेका र त्यसमध्ये कतिपयमा फ्लु ‘ए‘ र ‘बी‘ दुवै पुष्टि भएको देखेको छ । तर एचथ्री एनटु नयाँ भाइरस भने होइन ।
फ्लु ए, बी, सी र डी गरी चार प्रकारमा हुन्छन् । तर मानिसमा स्वास्थ्य समस्या भने ए र बी ले बढी दिने गरेको पाइन्छ । यसमा पनि फ्लु एले विगतमा पेनडेमिकको रुप समेत लिने गरेको पाइन्छ । कोभिड–१९ भन्दा अगाडि ‘एचवानएनवान पीडीएम ०९’ पेनडेमिकको रुपमा घोषणा भएको थियो, जुन सन् २००९ मा विश्वव्यापी भएको थियो । यो भाइरस फ्लु ए अन्तर्गतको भाइरसमा पर्छ भने यसलाई सर्वसाधारणले स्वाइन फ्लुको नामले पनि चिन्ने गर्छन् । फ्लु ए अन्तर्गत एचथ्री एनटु भाइरस पनि पर्दछ । यसलाई हङकङ फ्लुको नामले पनि चिन्ने गरिन्छ । विगतमा एचवानएनवान पीडिएम ०९ सँगै यो भाइरस पनि देखिँदै आइरहेको छ ।
सन् २०२३ को सुरुवातसँगै भने एचथ्री एनटु भाइरसले नेपालमा व्यापक प्रभाव पारेको देखिन्छ । यही भाइरसको कारणले भारतमा केही बिरामीको मृत्यु समेत भएको समाचार आएको देखिन्छ । तर नेपालमा भने यो भाइरसको कारणले मानवीय क्षति भए÷नभएको पुष्टि भएको देखिँदैन । तर लेखकको अनुभवमा भने यो भाइरसले धेरै मानिसमा लक्षणहरु कडा देखाएको छ । फ्लु भाइरस मार्च महिनामा उत्कर्षको बिन्दुमा पुग्ने विगतको तथ्यांकले देखाउने गरेकोले यसको प्रभाव अरु केही हप्ता समुदायमा व्यापक रहन सक्ने अनुमान गर्न सकिन्छ ।
फ्लु भाइरसको प्रकार विभिन्न भए पनि सुरक्षाका उपायहरु भने एकै हुन्छन् । कोभिड–१९ मा अपनाउन भनिएका जनस्वास्थ्यका मापदण्डका अधिकांश उपायहरु नै फ्लुबाट बच्ने उपायमा प्रयोग हुन्छन् । जस्तैः हात साबुन–पानीले राम्ररी धुने (वा सानिटाइजरको प्रयोग गर्ने), मास्क लगाउने, हात, नाक, मुख, आँखामा घरी–घरी नछुने, खोक्दा, हाच्छिउँ गर्दा पाखुराको बहुलाले छोप्ने, रुघा, खोकी, ज्वरो आएको व्यक्तिबाट टाढा रहने र सबैभन्दा राम्रो उपाय भनेको बिरामी स्वयं आफ्नो कार्यालय, विद्यालय, कलेज वा सार्वजनिक स्थलमा नगई घरमा चिकित्सकको परामर्श लिई स्वास्थ्य लाभ गर्नुलाई मान्न सकिन्छ । किनभने, संक्रमित व्यक्ति नै सार्वजनिक स्थलमा नगए धेरै मानिसहरु संक्रमित हुनबाट बच्न सक्छन् ।
निम्न लक्षण देखिए फ्लु संक्रमण हुन सक्छ ।
१) अचानक ज्वरो आउनु÷जाडो हुनु ।
२) खोकी लाग्नु ।
३) घाँटी दुख्नु ।
४) शरीर दुख्नु ।
५) टाउको दुख्नु ।
६) बालबालिकामा बान्ता तथा पखाला लाग्न पनि सक्छ ।
तर, यसको निश्चित निदान भने प्रयोगशाला परीक्षणपछि मात्र गर्न सकिनेछ । फ्लु संक्रमणको पूर्ण सुधार हुन दुई हप्तासम्मको समय पनि लाग्न सक्छ । कतिपयमा भने निमोनियाको जटिलता देखिन पनि सक्छ । जेष्ठ नागरिक, दीर्घरोगी, बालबालिका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, गर्भवती महिला फ्लु भाइरसको जोखिममा पर्ने समूहहरु हुन् । यी जोखिम समूहमा पर्नेहरुले फ्लु विरुद्धको खोप लगाउन सक्नेछन् ।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)