वि. सं.२००३ साल भाद्र ३० गते अर्धाखाँचीमा जन्मिनुभएका वरिष्ठ गजलकार बूँद राना नेपाली भाषा तथा साहित्यको क्षेत्रमा प्रसिद्ध नाम हो । उहाँले साहित्यको क्षेत्रमा पाँच दशकभन्दा बढी समय व्यतित गरिसक्नु भएको छ । सादा जीवन उच्च विचारका धनी रानाको विगत हेर्दा उहाँ साहित्यकार तथा श्रमजीवी राजनीतिकर्मी हुनुहुन्छ । उहाँ शिक्षण पेसामा पनि संलग्न हुनुहुन्थ्यो । समाजमा भएका विकृतिका विरुद्ध तथा देशप्रतिको चिन्तनमा अलि बढी कलम चलाउने रानाले आफ्नो लेखाइ २०२२ सालदेखि सुरु गर्नु भएको बताउनु हुन्छ । उहाँका प्रकाशित कृतिहरू चक्रवात, एकाकार, छिनोफानो, पुष्टकारी, खै गुजी ? पैलो भयो प्यादा, चनाचटपटे, बाल कविता संग्रह, गीती नाटक लगाएत थुप्र कृति प्रकाशित छन् । प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्यसमेत रहनु भएका रानाले थुप्रै पुरस्कारसमेत प्राप्त गरिसक्नु भएको छ ।
साहित्य सन्ध्या पुरस्कार २०५१, व्यथित काव्य पुरस्कार २०५२, केवलपुरे किसान पुरस्कार २०५४, नुरगंगा प्रतिभा पुरस्कार २०६२, पारिजात स्मृति पुरस्कार २०६४ लगायत विभिन्न पुरस्कारबाट उहाँ सम्मानित हुनुभएको छ । साहित्यको क्षेत्रमा करिब पाँच दशकभन्दा बढि समयदेखि साधनारत विशिष्ट योगदान गर्न सफल व्यात्तित्व प्रगतिवादी सृजनचिन्तनका अग्रज स्रष्टा उनै बूँद रानासँग मध्य नेपाल संन्देशका लागि गीता भण्डारीले साहित्यिक क्षेत्रका सन्दर्भमा गरेको बिशेष कुराकानी ः
१) सामान्य अर्थमा गजल के हो ?
शीतका थोपाथोपामा रम्ने घाम हो गजल,
सुन्यो कि मन चञ्चल हुने नाम हो गजल ।
ङ्गत त्यसै गरेका होइनन् गालिव मोतीले,
नपिउँदै मात लगाइदिने साम हो गजल ।
उठेका जति पाइला त्यतै लम्केका देखिन्छन्,
त्यो देख्दा लाग्छ सबैको साझा घाम हो गजल
२) अझ गहिराईमा के हो साहित्य ?
जहाँसम्म साहित्यको कुरा छ, मलाई यस्तो लाग्छ
(क) साहित्य मानव सभ्यताद्वारा अर्जित बहुमूल्य कमाइ हो ।
(ख) साहित्य मानव कल्याणकारी अक्षुण संसाधन हो ।
(ग) साहित्य सृष्टिको महानतम उपलब्धि हो ।
३) लामो समयदेखि साहित्यको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । साहित्य लेखनमा पहिले र अहिलेमा के भिन्नता छ ?
साहित्य पहिले सिर्जना, जन्म पुनर्जन्म, स्वर्ग–नर्क, पाप–धर्मको चौघेराभित्र हुने गथ्र्याे, अहिले त्यो घेराबाट मुक्त छ । स्वतन्त्रताको प्रयोग गर्ने नाउँमा स्वच्छन्दताको वृत्ति विकारबाट आक्रान्त हुन थाले जस्तो छ । सारांशमा युगचेतसँगै आजका सर्जकमा गहन जिम्मेवारी बढ्न गएको छ । देश र जनताप्रतिको आसा भरोसा र तिक्ततालाई शब्दको प्रहारले छुन पर्ने जस्तो गरी नछोएको अवस्था छ ।
४) यहाँको विचारमा सिर्जना कस्तो हुनुपर्छ ?
अहिलेका युवाहरूले कस्तो सिर्जना गरिदिए हुन्थ्यो जस्तो लाग्छ यहाँलाई ?
नामै त सिर्जना, सिर्जना स्वयंमा निर्माण हो । केही बोल्नु, केही गर्नु र केही भोग्नुले सिर्जनाले निर्माण गर्छ । ध्वंश गर्दैन ।
अतः मलाई लाग्छ सिर्जना यस्तो होस्, जसले सिर्जनाको अविरल लहर ल्याओस् । सिर्जनाले समाजमा भएका कुरालाई औँल्याओस्, खबरदारी गरोस् ! देश बुझ्ने, समाज बुझ्ने र समाजलाई बुझाउन सक्ने हुनुपर्छ ! अर्को कुरा सिर्जना के हो ? युवाहरूमा युगबोध हुनु अनिवार्य छ । जसमा युग हुँदैन ती युवा उमेरले मात्र युवा हुन्छन्, अरू कामका हुँदैनन् । म युवाहरू (यु’ अर्थात् युग ’वा’ अर्थात् वाहक’) युगवाहक बनून्, यो अपेक्षा गर्छु । बदलिँदो समयको घेराभन्दा माथि उठेर दूरदर्शिता देख्ने र बोल्ने प्रयास साहित्यमा हुनुपर्छ ।
५) यहाँ वरिष्ठ गजलकार मात्रै नभएर श्रमजीवी लेखकका रूपमा परिचित हुनु हुन्छ । नयाँ लेखकले गजलका बारेमा जान्नै पर्ने कुरा के छन् ?
सिकारूलाई एकैपटक धेरै कुरा सिकाउन थाल्यो भने अलमल हुन्छ, त्यसैले मात्र तीनवटा वाक्य भन्छु । यति तीन कुरालाई मनन् गरे मात्रै पनि धेरै कुरा सिक्ने बाटो पहिल्याउन सकिन्छ ।
(१) लगनशील हुनू,
(२) होहल्लाको पछि नलाग्नू,
(३) निरन्तर अभ्यास गर्नू ।
६) साहित्यमा परिमाणात्मक मात्रै नभएर गुणात्मक विकासका लागि एक लेखकले कुनकुन कुरामा ध्यान दिनु पर्छ ?
गुणात्मकताका लागि अनिवार्य सर्त हो विषयवस्तुको गहिरोपन । समुद्रको गहिराइमा पुग्न या भनूँ पिँधसम्म पुग्न कुशल...हुन सक्नुपर्छ, त्यो भएमा मात्र रत्न हात लाग्छ । अन्यथा छिटो पानीमा हातखुट्टा फाल्नुको कुनै अर्थ हुन्न । त्यहाँ त लेउ पाइने हो । थाकिन्छ र मात्र समयको बर्बादी हुन्छ । जीवनको भोगाइ र देशको दुखाइलाई सिर्जनाका माध्यमले धार लगाउन कत्तिको सकिएको छ भन्नेबारे ध्यान पु¥याउनुपर्दछ ।
७) साहित्यले जीवन लेखाइ र भोगाइबीचको सम्बन्धमा के प्रभाव पार्छ ?
प्रभावहीन साहित्यलाई साहित्य भन्नै मिल्दैन ।
८) पाठकवर्गले अध्याधिक मन पराएको नाम हो बूँद राना । लामो समयको साहित्यिक यात्रा पार गरिसकेको अनुभवले साहित्यका बारेमा बोल्दा के बोल्नु हुन्छ ?
जेजति बोल्नु पर्ने हो माथि नै बोलिसकेँ जस्तो लाग्छ । देश र जनताका आवश्यकता र अभावमा समाजले चिन्तन गर्ने शब्दको छनौट गर्नुस् ! ता कि श्रोताले पढ्दा आफ्नै भोगाइ, देशले हेर्दा सामाजिक भोगाइ र तपाईं लेख्नेको कलम र कागज अनुभव पोख्ने मात्रै होइन विकृतिलाई देख्ने हुनुपर्छ भन्ने लाग्छ । अनुभवको बारेमा त बोलेर लेखेर कहाँ साध्य होला । साहित्यको बारेमा माथि नै बोलिसकेँ जस्तो लाग्छ ।
९) साहित्यमा सबैभन्दा कठिन कार्य के हो जस्तो लाग्छ ? किन ?
साहित्य सबैभन्दा कठिन काम भनेको पाठक कमाउनु हो । जसका पाठक छैनन् त्यसलाई कसरी साहित्य भन्ने ?
१०) साहित्यमा भाषाको कस्तो प्रभाव छ । नेपाल बाहिर सिर्जना गरिने साहित्यले नेपाली मूलधारको साहित्य सिर्जनामा कस्तो प्रभाव पारेको छ ?
भाषाको क्षेत्र व्यापक हुन्छ । भाषालाई भौगोलिक सीमाभित्र सीमित गर्न सकिन्न । त्यसैले भाषा यताको उता, उताको यता गमनागमन भएको छ । यो क्रियालाई अस्वाभाविक भन्न मिल्दैन ।
११) अन्त्यमा मैले सोध्न छुटाएको र यहाँले पाठक माझ बोल्नै पर्ने महत्त्वपूर्ण कुरा केही छ ?
म तपाईँको पत्रिका मार्फत् सम्पूर्ण पाठक वर्गमा विनम्र अनुरोध गर्छु । खास गरेर लेखन कार्यमा कलम चलाईरहनु भएको तपाईलाई निरन्तर लेखनुस्, लेख्नको लागि पढ्ने बानी बसाल्नुस्, जबसम्म तपाई पुस्तक पढ्नुहुन्न तबसम्म शब्द खेलाउन सक्नु हुन्न ।
निराशा न कुन्ठा, न ता त्रासमा छु
म नेपाल फेरिन्छ, यो आशमा छु ।
जय साहित्य, जय सिर्जना ।।