पर्सा जिल्लाको एउटा उद्योगमा छापामारी गरिएको छ । मंगलबार दिउँसो वीरगंज महानगरपालिका–१३ तेजारथ टोलस्थित श्रवण कुमार रुङ्गटाको घरमा संचालित उद्योगमा छापामारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय, र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयुक्त टोलीले छापामारी गरेको छ । टोलीले सो उद्योगमा खाद्य वस्तुहरु पुनः प्याकिंग र म्याद मिलाएर लेबल टाँस्ने कामहरु भइरहेको सूचनाको आधारमा छापामारी गरेको जनाएको छ । वीरगंज महानगरपालिका–२ ठेगाना उल्लेख गरी ड्राइफुड र मसला पदार्थ प्याकिङ्ग गर्न घरेलु तथा साना उद्योग कार्यालयबाट लिएको अनुमति प्रमाणपत्रको आधारमा म्याद सकिएको खाद्यान्न सामग्री रि–प्याकिङ्ग गर्ने काम भइरहेको प्रहरीले सूचना पाएकोको आधारमा छापामारी गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरिले बताए ।
गोदाममा म्याद गुज्रेको सामानहरुको साथै नयाँ मितिको लेबल टाँसी विक्री वितरण गर्ने गरेकोसमेत पाइएको बुझिएको छ । छापामारीको क्रममा विभिन्न कम्पनीको म्याद गुज्रिएको खाद्य सामग्री बरामद गरेको जिप्रका पर्साले जनाएको छ । उद्योगमा छापा मारेर खानतलाशी गर्दा म्याद गुज्रिएका ड्राइफुड्सहरु मिति थपेर रिलेबलीङ र रिप्याकिङ गरी बजारमा आपूर्ति गर्दै आएको भेटिएकोले उद्योग र गोदाममा सिल गरिएको गिरिले बताए । प्रहरीले ती दुबै उद्योगमा काम गर्ने तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
उद्योगमा काम गरिरहेका वीरगन्ज–१३ का मनिष चौधरी , वीरगञ्ज–७ का आयुष अग्रवाल र वीरगञ्ज–१४ का हरिनारायण प्रसाद कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उद्योगका सञ्चालकहरु फरार भएको र उनीहरुको खोजी भइरहेको नायब प्रहरी उपरीक्षक गिरिले बताए । बरामद सामानहरुको विवरण संकलन गरी उद्योग र गोदामभित्रै राखेर सिल गरिएको भन्दै उनले उद्योग सन्चालकहरु विरुद्ध मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा १०७ र १०८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको गिरिले जानकारी दिए ।
फुडको नेपाल क्रोप प्रा।लि। एवं स्नेक एण्ड प्याक इन्डष्ट्रिजको गोदामबाट प्रहरीले २७ हजार किलो भन्दा बढी म्याद सकिएको खाद्यान्न सामग्री फेला पारेको छ। । ती दुबै फर्मको गोदाम किचेनमा प्रयोग गरिने सम्पूर्ण मसला, सस, मह, चकलेट, सेम्पु, सेवई, स्नेक, बिस्कुट, जिरा, गरम मसाला, विभिन्न मिठाई फ्लेबरका पाउडर लगायतका खाद्यान्न सामग्रीहरु बरामद भएको छ ।
छापामारीको क्रममा उपभोक्ताले प्रयोग गर्ने किचेनका सम्पूर्ण सामानहरु एवं बच्चाहरुले खाने विभिन्न ब्राण्डका चकलेट म्याद सकिएर पुनः रि–प्याकिङ्ग गर्ने गरिएको अवस्थामा प्रहरीले बरामद गरेको छ ।