जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले वीरगञ्जस्थित नारायणी अस्पतालमा जनशक्ति थप गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले सो अस्पतालका लागि आवश्यक उपकरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने,’म सभामुख महोदयमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु नारायणी अस्पतालमा दरबन्दीको व्यवस्था होस् । उपकरणको व्यवस्था होस् ।’
सो अस्पतालमा विरामीको चाप बढेकाले चिकित्सकसहितको थप जनशक्तिको पनि सरकारले तत्काल व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘नारायणी अस्पताल वीरगञ्जमा विरामीहरुको संख्या बढी छ । बारा, पर्सा, रौतहट, सर्लाही र भारतका समेत नागरिकहरु सेवा लिन नारायणी अस्पताल आउँछन । तर, जनशक्ति त्यहाँ अत्यन्तै कम छ । समग्रमा कुरा गर्ने हो भने त्यहाँ १५० जना चिकित्सकहरुसहितको जनशक्ति छ त्यहाँ। तर, राज्यको त्यहाँ ध्यान पुगेको छैन ।’
उनले नारायणी रंगशालाको जिर्णोदारको लागि बजेटको तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । ‘नारायणी अस्पताल अहिले जीर्ण भईसकेको छ । त्यहाँको स्थानीयको श्रमदानको बनेको सो अस्पताल हो । त्यसमा नेपाल सरकारको लगानी छैन।’ उनले भने ।
सांसद यादवले मधेश प्रदेशको नमूना रंगशालाको रुपमा रहेको सो रंगशाला खेल खेल्न नमिल्ने अवस्थामा पुग्दा पनि सरकारले ध्यान नदिएको गुनासो समेत गरे ।