बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२४ हरपुरमा प्रसूती सेवा केन्द्रको शिलान्यास गर्न खोज्दा झड्प भएको छ । झड्पको क्रममा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।
सार्वजनिक जग्गामा प्रसूती सेवा केन्द्र निर्माण गर्न खोज्दा वडाका केही व्यक्ति अवरोध सिर्जना गरेर ढुङ्गा प्रहारपछि झड्प भएको वडा अध्यक्ष सुल्तान अंसारीले जानकारी दिए । बुधबार नाप नक्सा गरेर प्रसूती सेवा केन्द्रको शिलान्यास गर्न खोज्दा केही स्थानीयले अवरोध सिर्जना गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।
प्रहरीको लाठी चार्जबाट केही स्थानीय घाईते भएका छन् । लाठी चार्जबाट खुट्टामा चोट लागि स्थानीय ५५ बर्षीय गोकुल यादव अस्पताल नै भर्ना भएका छन् । त्यस्तै स्थानीयको ढुङ्गा प्रहारबाट प्रहरी निरीक्षक राजकिशोर साहसहित केही प्रहरीलाई शरीरको विभिन्न भागमा चोट लागेको छ । ईलाका प्रहरी कार्यालय सिमराले विकास यादव, भास्कर यादव, लक्षमण यादव, दुर्गा यादव, हेमन्त यादव, ईन्द्रजीत यादव ,लक्ष्मण यादव, मुक्ति यादव ,विकेश यादव ,रामचन्द्र यादव ,मैनुदिन देवान र संदीप यादवलाई पक्राउ गरेको प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए ।
प्रसूती सेवा केन्द्र बन्न लागेको सो आँठ कठ्ठा जग्गा स्थानीय रामचन्द्र यादवले करिब २० बर्ष देखि उपभोग गर्दै आएका थिए । वडा कार्यालयले सो जग्गा आफनो अधिनमा ल्याएर प्रसूती सेवा केन्द्र निर्माण गर्न खोज्दा रामचन्द्र यादव लगायत केही स्थानीयले त्यस ठाउँमा मन्दिर बनाउन वडा अध्यक्षले रोकेको भन्दै हल्ला चलाएर धार्मिक साहिष्णुतालाई खलल पु¥याउने काम गरेको बताए ।
करिब डेढ बर्ष अगाडि देखि नै त्यस ठाउँमा प्रसूती सेवा केन्द्र निर्माण गर्ने कुरा थियो त्यसको लागि उपमहानगरपािलकाले बजेट पनि छुट्याएको थियो । रामचन्द्र यादव पक्षले विभिन्न मुदामामला गरी अवरोध सिर्जना गर्दा प्रसूती सेवा केन्द्र निर्माण हुन नसकेको वडा अध्यक्ष अंसारीले आरोप लगाए । जिल्ला अदालत र उच्च अदालतमा मुद्दा दायर गर्दा पनि आफनो हार भएपछि हिन्दुमुस्लिमको विवादको हल्ला फिँजाएर रामचन्द्र यादव पक्षधरले जग्गा हड्पने नियत बनाएको स्थानीय सुरेन्द्र यादवले आरोप लगाए ।
मन्दिरको नाममा रहेको जग्गामा मन्दिर बनाउँदा वा स्वास्थ्य चौकीको कम्पाउण्ड भित्रै मन्दिर बनाउँदा आफूहरुको कुनै आपत्ती नरहेको वडा अध्यक्ष सुल्तान अंसारीले जानकारी दिए । प्रहरीको सुरक्षा घेराभित्र शिलान्यास भइ प्रसूती सेवा केन्द्र निर्माण कार्य सुरु भएको छ । यता विपक्षी स्थानीयले चैत १६ गते बिहीबार राधाकृष्ण मन्दिरको शिलान्यास कार्यक्रम तय गरिएको र सो कार्यक्रमको निमन्त्रणा समेत बाँडिसकिएको अवस्थामा त्यसको एक दिन अगाडि प्रसूती सेवा केन्द्र निर्माणको शिलान्यास गराएका वडा अध्यक्षको नियतमा खोँट रहेको बताए ।
उनीहरुले अरु ठाउँमा सार्वजनिक जग्गा हुँदाहुँदै त्यही ठाउँमा प्रसूती सेवा केन्द्र बनाउनु ठिक नभएको तर्क गरे ।
उपमहानगरपालिकाले नगर स्तरीय बजेट करिब १ करोड ५० लाखको लागतमा ५ कठ्ठा ११ धुर ९ कनवा जग्गामा प्रसूती सेवा केन्द्र बनाउन गइरहेको छ । गत बर्ष पनि स्वास्थ्य कार्यालयको भवन निर्माणको बजेट छुट्याइएको थियो तर गत बर्ष बजेट पनि स्थानीयहरुको अवरोधका कारण निर्माण हुन सकेको थिएन् । यो बर्ष पनि निर्माण गर्न खोज्दा अवरोध गरेपछि विवाद भइ झड्प भएको छ । साभार जनकपुर टुडे