आईतवार देखि बुधवारसम्म वीरगंजमा हुन लागेको अश्वमेध गायत्री महायज्ञको पुर्वसन्ध्यामा सबै तयारी पुरा भई सकेको मुल समारोह समितिले जनाएको छ ।
महायज्ञका लागी वीरगंज शहरसंगै महायज्ञ स्थल आदर्शनगर खेलमैदान दुलहीझै सिगारिएको महायज्ञ आयोजन मुल समारोह समितिका संयोजक एवं वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले बताए ।
आइतबार जल यात्रासंगै शुरु हुने महायज्ञमा उदघाटनका लागी राष्ट्रिपति विद्या देवी भण्डारी आउने कार्यक्रम रहेको छ । त्यसका लागी मेलामा गर्नुपर्ने पुजा व्यवस्थापनका साथै सुरक्षा व्यवस्था समेत चुस्त दुरुस्त बनाइएको मेयर सरावगीले बताए । कार्यक्रममा हाल नेपाल – भारतको करिब १० हजार सहभागीहरु वीरगंज आइसेका छन् । शुक्रवारदेखि नै आगन्तुक पाहुनाहरुलाई स्वागत तथा सत्कारको लागि पनि टोली परिचान भइसेकेको उनले बताए ।
अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा.प्रणव पाण्ड्या तथा सोही परिवारकी प्रमुख शैलबाबा पाण्डया तथा पुजारीहरुको वीरगंजमा विशेष स्वागत गरी आईतवारको जल यात्राको तयारीमा आयोजक समिति जुटेको महायज्ञ मुल समारोह समितिले जनाएको छ ।
चार दिनमा करिब लाखौ सहभागी आउने अपेक्षा गरिएकोमा आगन्तुक पाहुनाहरुलाई निशुल्क भोजन, अवास तथा औषधी उपचारको व्यवस्था मिलाइएको छ । ठाकुरराम क्याम्पस अन्तर्गतको छात्रवासमा प्रदर्शनी स्थल सुत्नलाई छात्रावास मैदानमा टेन्ट धर्मशाला तथा ३ हजार वीरगंजवासीले होमस्टेको पनि सुविधा दिएका छन् ।
विश्रामस्थल बाहेक रहेका पाहुनालाई वीरगंजका बासिन्दाले आफनो घरमा शरण दिइ भोजन तथा अवास निशुल्क रुपमा उपलब्ध गराउने छन् । २५१ हवनकुण्ड बनाइएको पण्डालको मञ्च दक्षिण मोहडा तिर राखिएको छ । एक पटकमा प्रति हवनकुण्डमा ६ जनाको दरले करिब १५ सय जनाले हवन गर्नेछन् ।
देशभरको विभिन्न जिल्लासंगै विहार, यूपी, उत्तराखण्ड, झारखण्ड, दिल्ली, हिरयाणा, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, गुजरात लगायत ४० मुलुकका श्रद्धालुहरु आउने समितिको विश्वास छ ।