‘ईबुुल्डिङ परमिट सिस्टम’ सफ्टवेयर जडान र परीक्षणको काम सिध्याएको वीरगंज महानगरपालिकाले केही दिनमै सेवा सुरु गर्ने गरी तयारी थालेको छ । महानगरपालिकामा दर्ता भएका इन्जिनियरलाई तालिम दिएपछि अनलाइनबाटै घरको नक्सा पास सुरु हुनेछ । ५ लाख रुपैयाँ खर्च गरेर वीरगञ्जमा प्राणाली जडानका भएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार भुसालले ‘म्यानुअल प्राणालीमा लम्बेतान पक्रिया छ, फाइल अलमल्याउने, टेबुल टेबुलमा कर्मचारीले ढिलासुस्ती गरिदिँदा नगरबासी जरिवानामा परिरहेको अवस्था पनि छ’ उनले भने । यो प्रणालीमा योग्यता पुगेका इन्जिनियरले मात्रै नक्सा बनाउँछन, डिजाइन विग्रेका कारणले दुःख पाउने अवस्थाको अन्त्य हुने र वीरगञ्ज अब स्मार्ट सेवा प्रदान गर्ने स्मार्ट शहर बन्नेतर्फ उन्मुख भएको उनले बताए ।
शुरुमा सेवाग्राहीसँग हार्डकपी लिएर राखे पनि पछि नराखिने महानगरपालिकाका इन्जिनियर सुनील कर्णले बताए । ‘जसको नक्सा हो, उसलाई ४ पटक सूचना दिनुपर्ने हुन्छ, त्यसका लागि एसएमएस सिस्टम छ’ उनले भने ‘डाटा इन्ट्री गर्दा घरधनीको नम्बर राखिएको हुन्छ, त्यसमै एसएमएस पनि जान्छ ।’
घरनक्सा पास शाखाका प्राविधिकहरुका अनुसार प्राणाली नयाँ भए पनि यसमा लाग्ने दस्तुर लगायतका अन्य व्यवस्थामा कुनै परिवर्तन गरिएको छैन । १० रुपैयाँ प्रति वर्ग्फिटका हिसाबले शुल्क लाग्छ । अनलाइन दर्ताका लागि जग्गाको लालपूर्जा, कर तिरेको रसिद, नागरिकता, डिजाइनरले बनाएको घरको नक्सा लगायतका कागजपत्र आवश्यक पर्छ । इन्जिनियरकै अफिस वा अन्य जुनसुकै स्थानबाट अनलाइन दर्ता गर्न सकिन्छ ।