हामीलाई थाहा छ सम्बन्ध विच्छेद आफैमा समधान होइन । न त यो एक समस्या नै हो । तर, यसले समस्या भने अवश्य निम्त्याउँछ । जब पति–पत्नी अलग हुन्छन्, त्यसको असर उनीहरुले मात्र झेल्नुपर्दैन । यसको सबैभन्दा ठूलो असर त छोराछोरीको मनोविज्ञानमाथि पर्छ । सानैमा आमावुवाको सामिप्यता वा अभिभावकत्व गुमाएपछि बच्चाहरु बिचलित हुने संभावना रहन्छ । उनीहरु अस्थिर र भयग्रस्त हुनसक्छन् । उनीहरुमा हिनताबोध पैदा हुनसक्छ । यो हामीले देखे भोगेको कुरा हो ! भने संतान नभएका दाम्पत्यको लागि पनि झन घातक असर पर्छ यो सत्य हो ! किन कि संतान हुँदाको बिच्छेदले कुनै न कुनै दिन संतानको कारण सम्बन्धमा नजिकपन आउने सम्भावना हुन्छ भने संतान नहुँदाको बिच्छेदले त्यो आसा मारिदिएको हुन्छ !
सम्बन्ध विच्छेद हुनु अनौठो भएन । जब पति–पत्नी एकसाथ अगाडि बढ्नै नसक्ने अवस्था आउँछ, उनीहरुले अलग हुने निर्णय गर्छन् । यस्ता निर्णयले उनीहरुको क्षणिक समस्याको गाँठो फुकाइदिन्छ तर एकअर्काको आड भरोसा ,एकअर्काको दुखसुखका साझेदार , एकअर्काका प्रेम र विश्वासका आधारस्तम्भ लगाएत धेरै कुराको कारण मानसिक तनाव बड्दै जान्छ र धेरै जसो डिप्रेसनको शिकार बन्ने गरेका छन् ! जो जीवनभर पीडित बनेका कयौं उदाहरण हाम्रा सामुछन् !
आलोचना सम्बन्धमा चिसोपन आउँछ । कहिले काहिँ दम्पतीबीचको सम्बन्ध त्यति सुमधुर हुँदैन, जति हुनुपथ्र्यो । पति वा पत्नीबीच कतिपय कुरामा तालमेल मिल्दैन । मत मिल्दैन । एकसाथ बस्दा पारिवारिक लय मिल्दैन, आपसमा मनमुटाव हुन्छ, अविश्वास बढ्छ, झैझगडा हुन्छ यसले दाम्पत्य जीवनलाई धराप पारिदिन्छ । किनभने सम्बन्ध विच्छेद गरिसकेपछि पुन जीवनलाई व्यवस्थित गराउन समय लाग्छ । समाजमा स्थापित हुन गाह्रो हुन्छ । प्रायजसो मानवीय प्रबृत्तिमा अरुको आलोचना गर्ने प्रवृत्ति हुन्छ । हामी संसारको सबैभन्दा सुन्दर चिजमा पनि खोट देखाउन सक्छौं । यदि हामीलाई मन परेन भने, प्रकृतिको एक उत्कृष्ट रचना फूल हो भन्दाभन्दै पनि हामी त्यो फूलमा समेत दोष देखाउन पछि हट्दैनौ ! हाम्रो प्रवृत्ति यस किसिमको छ । यसरी खोट देखाउने, कमजोरी औंल्याउने, दोष लगाउने प्रवृत्तिलाई जब हामी दाम्पत्य सम्बन्धमा ल्याउँछौं, त्यसले निकै ठूलो अप्रिय घटना निम्त्याउँछ । जो एकअर्कासँग दोषारोपण गर्दै बस्छन् । उनीहरु आपसी समझदारीमा भन्दा पनि एक अर्काको दोष पहिल्याउन मै तल्लिन हुन्छन् । श्रीमान् वा श्रीमतीको आलोचना गर्ने यस प्रवृत्तिले तपाईंहरुको सम्बन्धमा नकारात्मकतालाई ठाउँ दिन्छ । यसले दाम्पत्य सम्बन्ध सधैं खल्लो बनाइराख्छ भन्ने सत्यलाई उतिबेला देख्न नसक्नुको परिणाम केवल पछुतो मान्नु शिवाय केही हुन्न !
झगडामा सम्मान भाव हराउनु ः
श्रीमान–श्रीमतीबीच भनाभन हुनु स्वभाविक हो ! तर यस्तो अवस्थामा आफ्नो मर्यादाको ख्याल आवाश्यक छ ! बोल्दा निस्किने शब्द बुझ्नुपर्छ कि दम्पतीको आपसी सम्बन्धमा सम्मानको भावना पटक्कै छैन । आपसी सम्मान नै त्यो चिज हो जसले सम्बन्धलाई बलियो बनाउँछ । पार्टनरको कुरालाई हल्ला रुपमा लिने, सुन्नै नचाहने जस्ता लक्षणहरु हुने गर्छ । यस्तो अवस्थामा पार्टनरले गरेको कामप्रति निन्दा, गुनासो साथै उपेक्षा गर्छन् । एकअर्काबीच सम्मानजनक व्यवहार हुँदैन । यो निकै खतरनाक हो । यदि तपाईंहरु पनि एकअर्कालाई तिरस्कार गर्नु हुन्छ भने यसबाट हुने संभावित क्षतिबारे विचार गर्नुहोस् । भोलिका दिनमा तपाईंहरुको दाम्पत्य जीवन कसरी अगाडि बढ्न सक्छ ? तपाईंहरुबाट छोराछोरीले कस्तो अभिभावकत्व पाउँछ ? आफन्त एवं इष्टमित्रका सामुन्ने तपाईंहरु कति निरिह हुनु पर्छ ? ख्याल गर्नुहोस् । त्यसैले एकअर्कालाई उपेक्षा गर्ने, तिरस्कार गर्ने होइन सम्मान गर्ने बानीको विकास गर्नुहोस् । अर्काको भावनालाई आदर गर्नुहोस् ।
आपसी संवादको कमी
कतिपय स साना कुरामा पनि पति पत्नीको बिच बोलचाल नै बन्द गर्छन् । बोलचाल सँगै आफुले निभाउनु पर्ने कर्तव्य भुल्छन ! एक अर्कालाई गरिने केयर बन्द हुन्छ ! एकले अर्काेतिर फर्केरसम्म नहेर्ने, बेवास्ता गर्ने क्रम बड्दो हुन्छ ! उनीहरुको बोलचाल त्यसबेलासम्म बन्द हुन्छ, जब बोल्नै पर्ने अवस्था आइलाग्दैन , अथवा यो भनौ बाध्यता सृजना आइलाग्दैन संवादका लागि दुबैजना अग्रसर हुँदैनन् । आफू बोल्न अग्रसर हुँदा आफ्नो हार हुने सम्झन्छन् ।अथवा आफू सानो हुने यही दम्भले दाम्पत्य जीवनको सुख लुट्ने गर्छ । जस्को कारण दम्पतीबीच झगडा हुनु स्वाभाविक हो । यसरी झगडा भएपछि केही क्षण बोलचाल नहुनु सामान्य हो तर, लामो समय बोल्दै नबोल्नु उचित होइन् । यसले गर्दा लामो समयसम्म दम्पतीहरु तनावग्रस्त हुन्छन् । मनमा अनेक कुरा खेल्न थाल्छ र सम्बन्धमा फाटो आउँछ ।
घमण्ड ः
मानवीय स्वभाव जहिले पनि जहाँ पनि र जस्तोसुकै परिस्थितिमा पनि हरेक कुरामा आफू माथि हुन खोज्ने , सधैं आफ्नो जित्न हुनेपर्ने र सामुन्नेवालासँग कुनैपनी परिस्थितिमा झुक्नै नहुने घमण्डको कारण सम्बन्ध राम्रो हुदैन । यति मात्रै होइन परिस्थितिलाई आफ्नो मात्रै नजरले तौलने, जे हेर्न खोज्छ आँखाले त्यो मात्रै देख्ने एकतर्फी बुझाइले केवल आफ्नो वचाउ मात्र गरिरहेको हुन्छ भने, सामुन्नेवाला अर्थात जीवन साथीको दृष्टिकोणलाई नजर अन्दाज गरि जबरजस्ती आफूलाई सही बनाउने प्रयासको कारण पनि यस्तो समस्या आइरहेको हुन्छ !। गलत कुरा वा आफ्नो कमी कमजोरी स्वीकार गर्न सक्नुपर्छ । आफ्नो गल्ती सच्याएर अगाडि बढ्दा सम्बन्ध थप परिपक्क हुँदै जान्छ । जबकी आफ्नो गल्ती स्वीकार गर्दै नगर्ने वा आफ्नो वचाव मात्र गरिरहने प्रवृत्तिले दाम्पत्य जीवनमा फाटो ल्याउँछ । जो बनी बनेको सम्बन्ध बिगार्ने कारक घमण्ड बनेको हुम्छ !
सम्बन्धलाई जोड्ने कसरी त ?
दम्पतीबीचको झगडामा एकअर्कालाई विभिन्न शब्दहरुको मात्रै प्रयोग गरिदैन , निभाउनु पर्ने कर्तब्य, बोक्नु पर्ने दायित्व, एकाअर्कालाई गर्नुपर्ने मानसम्मान सहितको केयरमा पनि राह्स आउने व्यावहार गरिएको हुन्छ । तसर्थ रिसमा बोलिएको शब्दहरुले आफ्नो पार्टनर निराश भएको कुरामा माफ माग्ने अथवा माफ गरिदिने बानी गर्नुपर्छ । आफ्नो पार्टनरको कुन चै व्यवहार मन पर्दैन त्यो कुरा रिस सान्त भएपछी सम्झाउने प्रयास गर्नुपर्छ ! आफ्नो उदासीनताको कारण पत्ता लगाउन सकियो भने, अथवा उदासीनताको कारण सम्झाउन सकियो भने बल्ल आपसी समझदारी बन्न सक्छ ! एक अर्कासँग खुलारूपले कुरा गर्ने माहौल सृजना गर्ने कार्यमा उत्तिकै नम्रता आवाश्यक छ ! भने पटक पटक एउटै बिषय अर्थात जुन बिषयले झगडाको अवस्था सृजना भयो त्यो बिषय उठान हुनु हुँदैन ! तर झगडामा उठेको बिषय भने सुल्झाउने प्रयास गरे मात्रै अगाडि बड्न सहज हुनेछ !
गल्ती स्वीकार गर्ने बानी !
हामीलाई थाहा छ सम्बन्धमा चिसोपन यतिकै हुँदैन ! कतै न कतैबाट कुनै त्रुटि वा भ्रमको कारण सम्बन्धमा चिसोपना आउँछ !
यदि तपाईंलाई लाग्छ कि गल्ती तपाईंको तर्फबाट गरिएको छ भने ढिलाइ नगरी यसलाई स्वीकार्नुहोस् । यति विश्वास गर्नुहोस्, तपाईंको पार्टनरले तपाईंको व्यवहारको निमित्त माफी दिन कुनै ढिलाइ वा कन्जुस्याइँ गर्दैन । किन भने यो सम्बन्ध नै यस्तो हो कि चाहे श्रीमान् होस् या श्रीमती माफी दिन कसैले पनि हिच्किचाउने गर्दैनन् । अझ भनौ माफी माग्दा वा दिदाँ सम्बन्ध मजबुत गराउन पनि यसले मद्दत गर्छ । तपाईंको व्यवहारले तपाईंहरू दुवैको सम्बन्ध बचाउन पुलको रूपमा काम गर्छ । सानो प्रयासले ठूलो युद्ध जित्न सकिन्छ ।
मौनताको असर ः
हामीले सुनेका छौ मौनता एक हतियार हो ! र कतिपय मुस्किल लडाइँ मौन बसेर पनि जितेका कयौं उदाहरण छन् ! तर हामीले ध्यान पुर्याउने कुरा के हो भने मौनता कहाँ कुन समय र कतिसमयसम्मको लागि त्यो निर्धारण अवस्था हेरेर मात्रै गर्न सकिन्छ ! जस्तो आपसी साझेदारहरू बीच मौन लडाइँले झगडा, मारपिट गरेको भन्दा बढी नोक्सान गर्छ । यो मौन लडाइँले चट्टानको रूपमा कार्य गर्छ । जुन तोड्न धेरै गाह्रो छ । तर दाम्पत्य जीवनको हकमा क्षणिक मौनताले औसधिको काम गर्नसक्छ भने लामो समयको मौनताले जहरको काम गर्छ ! अक्सर गरेर दाम्पत्य जीवनमा लामो मौनताले पाट्नरको मनोबल खस्कदै जान्छ ! आशाहरु निराशमा परिणत हुँदै जान्छ ! भरोसा टुट्न सक्छ! मानवीय जीवन बाच्ने प्रमुख कारण मध्येको एउटा महत्त्वपूर्ण कारण हो विश्वास जो कमजोर बन्छ र माथी भने जस्तै माफी माग्ने, माफी दिने, भ्रम तोड्ने वा भावना बुझ्ने सबै बाटो बिस्तारै बन्द हुँदै जान्छ र अन्त्यमा इगो बनेर घोचिरहन्छ ! तसर्थ लामो समयको मौनता घातक हुनसक्छ ! विवाह तथा प्रेमको मामिलामा प्रायः मानिसहरु रिस तथा इगोमा परेर कतिपय अप्रिय निर्णयहरु गर्दछन् जसले आपसी सम्बन्धलाई बिगार्दछ । त्यसैले सदैव आफ्नो गल्तीलाई स्विकार्ने बानी बसाल्नुपर्छ । झगडा बढ्दा आफु शान्त हुने उपाय अपनाउनुपर्छ । माफ गर्नुस् तथा धन्यवाद भन्ने जस्तो शव्दहरु झगडा हुँदा प्रयोग गर्न सबैलाई गाह्रो हुन्छ । तर आफुले गल्ती गरेको बेला माफी माग्न नहिच्किचाउनुहोस् ।
विश्वास अनि समयको मापन ः
कुनैपनि नाता सम्बन्धलाई जिवनभर सम्हाल्नका लागि उपयुक्त समय दिन र लिन आवश्यक हुन्छ ! अक्सर हिजोआज सम्बन्ध बिच्छेदको कारण बिवाहा पश्चात् परदेश जानुपर्ने बाध्यताको कारण सम्बन्ध टुटेका छन् ! उमेर समुह सँगै यौनसम्बन्धको अभावको कारणले निम्त्याएको समस्याको चपेटामा परेका थुप्रै घटना छन् !
भने अर्को तर्फ विभिन्न कारण एकसाथ बस्न नसक्ने अवस्थाका दाम्पतीहरुलाई आफ्नो पाटनरको अभावमा अनेकौं परिस्थितिको सामना गर्नुपर्ने हुन्छ ! जीवनमा भोगिएको दुख होस् या त सुखको अनुभव सेयरिङ गर्न बाट बन्चित हुँदा भावनात्मक मर्म कठोर बन्दै जान्छ ! दुरी हुँदाको समयमा सम्बन्धमा अविश्वास बड्दै जाने हुन्छ !
अर्को कुरा जो जीवन साथीको बिचमा दरार पैदा गर्ने भनेको एक अर्का प्रतिको अविश्वासकै कारण हो ! जो हरेक पाइलै पिच्छे शंकास्पद दृस्ठिकोणले हेर्नू ! जथाभावी बोल्नु, जे मनलाग्छ त्यो बोल्ने जस्ता हरेक समय आफ्नो पार्टनरमा शंका गर्नु ठीक हुँदैन, ! न त पार्टनरमा अन्धविश्वास गर्नु नै ठीक हो । एक अर्काको कुरा बुझ्ने बानी बसाल्नेः कुराकानीको क्रममा वादविवाद हुनु हरेक दम्पत्तिमा सामान्य कुरा हो । कतिपय अवस्थामा विचारमा टकराव पनि आउन सक्दछ, जसले सम्बन्धलाई नै टुटाइदिन सक्छ । त्यसैले विचार तथा अडानमा लचिलो बन्ने र एक अर्काको कुरा तथा भावनालाई बुझ्ने कोसिस गर्नुपर्छ ।
सर्वाधिक सम्बन्ध विच्छेदका मुद्दाको अवस्था ः
प्रत्येक वर्ष अदालतमा दर्ता हुने सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा सम्बन्ध विच्छेदका मुद्दा २७ हजार ४२५ वटा दर्ता भएको थियो । तीमध्ये १७ जहार ५६७ मुद्दा फर्छ्र्यौट भएको सर्वोच्च अदालतको तथ्यांक छ । २०७६÷०७७ मा सम्बन्ध विच्छेदका मुद्दा २४ हजार ७५० वटा अदालतमा परेको तथ्यांक छ । सबैभन्दा बढी काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने गरेको छ । गत वर्षमात्र काठमाडौंमा सम्बन्ध विच्छेदका मुद्दा ३ हजार ८७७ वटा दर्ता भएको थियो
त्यसभन्दा अघिल्ला दुई वर्षमा काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा ४ हजार ५७१ वटा दर्ता भएको थियो । आर्थिक वर्षमा प्रहरीमा दर्ता भएका ८०९ वटा मुद्दा बहुविवाहसँग सम्बन्धित छन् । आर्थिक वर्ष २०७६÷०७७ मा ७३४ र आर्थिक वर्ष २०७७÷०७८ मा ८५२ वटा मुद्दा बहुविवाहसम्बन्धी थिए । यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा वैवाहिक बलात्कारका मुद्दा देशभरका जिल्ला अदालतमा २२ वटा दर्ता भएका थियो । गत वर्षको तथ्यांक भने आइसकेको छैन । आर्थिक वर्ष २०७६÷०७७ मा उक्त संख्या १४ रहेको थियो ।