वीरगन्ज महानगरपालिकाले शहरबाट संकलित कवाडीसहितको फोहोर नेपाल टेलिकम परिसरभित्र लगेर फालेको छ। वीरगन्जका विभिन्न स्थानमा सेवा विस्तारका क्रममा टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको छ।
सोही आक्रोशमा मंगलबार बिहान महानगरपालिकाले शहरबाट संकलित फोहोर श्रीपुर स्थित टेलिकमको प्रादेशिक निर्देशनालय कार्यालय परिसरमै लगेर फालिदिएको हो।
महानगरपालिकाले वीरगन्जमा सञ्चालन गरिरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगरप्रहरी सहितको टोलीले ७ ट्याक्टर कचरासहितको फोहोर टेलिकमको परिसरभित्र कार्यालयको मुख्य प्रवेशद्वारमै लगेर फालिदिएको छ।
महानगरका मेयर राजेशमान सिंहका अनुसार टेलिकमले अप्टिकल फाइबर ओछ्याउने क्रममा बाइपास सडकखण्डको कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको छ। खनिएका सडक र फुटपाथ मर्मतका लागि पटक(पटक आग्रह गर्दा पनि अटेरी गरेपछि बाध्य भएर टेलिकम परिसरमा कचरा सहितको फोहोर फाल्नु परेको मेयर सिंहले बताए।
कार्यालयमै फोहोर फालेपछि खनेर अलपत्र छाडिएका सडक र फुटपाथ मर्मतका लागि अब टेलिकमलाई दबाब पर्ने मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले बताए। उनका अनुसार यसअघि फागुन ३ गते प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा बसेको सरोकारवाला निकायहरुको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्तभित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको थियो। उक्त सहमति कार्यान्वयनका लागि महानगरपालिकाले टेलिकमलाई पटक पटक आग्रह गर्दै आएको थियो।
फोहोरसहितको टयाक्टर लिएर टेलिकम परिसरमा आफैं पुगेका घिमिरेले भने, ‘वीरगन्ज शहरलाई सफा र सुन्दर बनाउन महानगरले अभियान नै चलाइरहेको छ , यो अवस्थामा टेलिकमले सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र पर्दा बाइपास सडक कुरुप भएको छ ,त्यसलाई पहिलेकै अवस्थामा पुग्ने गरी मर्मत गरिदेउ भनेर पटक पटक आग्रह गर्दा कुनै टेरपुच्छर नलगाएपछि हामी यो अप्रिय कदम चाल्न बाध्य भएका हौं।ु
उक्त सहमति पालना गराउनका लागि महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय पर्सालाई पत्र लेखेर आग्रह गर्दा पनि टेलिकमले नटरेको घिमिरेको भनाइ छ।
यसबारे जिल्लाका सुरक्षा निकायका प्रमुखदेखि टेलिकमको केन्द्रीय कार्यालयसम्म आफूले जानकारी गराइसकेको मल्लिकले बताए ।
उनले भने, ‘फोहोर ल्याएर यहाँ फाल्नु समस्याको समाधान होइन। केही गल्ती त्रुटी छ भने हामीसँग महानगरले समन्वय गर्नुपर्थ्यो।ु
खनिएका सडक र फुटपाथ मर्मतको काममा केही ढिलासुस्ति भएको स्वीकार्दै उनले भने, ‘हामीले प्रयास गरिरहेकै छौं। दुई किलोमिटरमध्ये डेढ किलोमिटरको काम सम्पन्न भइसकेको छ। अब पाँचसय मिटरको मात्रै बाँकी छ। त्यहाँ पनि काम भइ नै रहेको छ। हामीले काम चटक्कै छाडेका पनि छैनौं।ु
महानगरले कार्यालय परिसरमै फोहोर ल्याएर थुपारे पनि कार्यालयको सेवा भने सुचारु नै रहने र कर्मचारीबाट कुनै अवरोध नहुने पनि उनले बताए। साभार अन्नपुर्ण पोष्ट