मोरङमा एसइई दिँदै गरेका १९९ जना नक्कली विद्यार्थीलाई पक्राउ परेका छन्।
बिहीबार सामाजिक शिक्षाको परीक्षा दिने क्रममा मोरङको विभिन्न विद्यालयबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक रञ्जनकुमार दाहालले बताए।
दाहालका अनुसार पछिल्लोपटक केराबारी गाउँपालिका ७ मा नक्कली विद्यार्थीको संख्या बढेको हो।
बिहान ४० जना पक्राउ गरिएको भए पनि केराबारीस्थित सार्वजनिक माविमा नक्कली विद्यार्थी पक्राउ परेका हुन्।
सामाजिक शिक्षाको परीक्षा दिने क्रममा सार्वजनिक माविमा १२७ जना विद्यार्थीलाई पक्राउ गरिएको प्रवक्ता दाहालले बताए।
त्यसैगरी, २९२ जना विद्यार्थीले परीक्षा दिँदै गरेको ग्रामथान गाउँपालिकास्थित सरस्वती माविमा ५२ जना विद्यार्थी नक्कली फेला परेको प्रवक्ता दाहालले जानकारी दिए।
यस्तै, सुन्दरहरैंचा नगरपालिकाको जनता मावि पचामा २० जना नक्कली विद्यार्थी पक्राउ परेका छन्।
हाल पक्राउ परेकाहरूलाई अनुसन्धानमा राखिएको छ।
बुधबार ग्रामथानकै सरस्वती माविमा खुल्लातर्फ विज्ञान विषयको परीक्षाका क्रममा धरानकी एक युवतीलाई नक्कली परीक्षार्थीको रूपमा पक्राउ गरिएको थियो।
प्रवेश परीक्षापत्रमा सक्कली विद्यार्थीको फोटो निकालेर नक्कली विद्यार्थीको फोटो टाँसिएको अवस्थामा फेला परेको थियो। सोही क्रममा प्रहरीले शंका लागेर विद्यार्थीका आमाबुवाको नाम सोध्ने क्रममा जवाफ दिन नसकेको प्रहरीको भनाइ छ।
प्रवक्ता दाहालले नक्कली परीक्षार्थीका लागि गिरोह नै परिचालित हुनसक्ने आशंकासहित प्रहरीले अनुसन्धान गर्दै आएको बताए।
बुधबार र बिहीबार गरी हालसम्म मोरङका विभिन्न परिक्षा केन्द्रबाट २०० जना नक्कली परीक्षार्थी पक्राउ भइसकेका छन्। साभार देश संचार