झमक्क साँझ पर्ने बित्तिकै बन्द हुने वीरगञ्ज ३१ बेलवाका बृजकिशोर महतोको पसल अचेल राति १० बजेसम्म पनि खुलै हुन्छ । पसल खुल्ने समय अवधि बढेसँगै उनको व्यापार पनि बढ्दा बृजकिशोर मक्ख छन् । दिनमा मुस्किलले एकदेखि दुई हजार रुपैयाँसम्मको कारोबार हुने उनको पसलमा अचेल २ हजारदेखि ५ हजारसम्मको व्यापार हुन्छ ।
व्यापार बढ्नुको श्रेय उनले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई दिन्छन् । ‘पहिला अँध्यारो हुन्थ्यो, बत्ती थिएन्, साँझ पर्ने बित्तिकै पसल पनि बन्द गर्थेँ । तर अचेल पसलकै अगाडी बत्ती छ । झलमल्ल बत्ती बल्दा राती ९÷१० बजेसम्म पनि पसल खुलै हुन्छ’, बृजकिशोर थप्छन्, ‘दिनभरीको कामले थाकेका ग्राहकहरु राति अबेरसम्म बसेर किनमेल गर्नुका साथै गफ गरेर सुखदुख साटासाट गर्छन् ।
सँधै ८ बजेसम्म सुतीसक्ने बेलवाकै मुनीलाल प्रसाद यादव राती साढे ९ बजेसम्म पनि साथि र आफन्तसँग गफिँदै थिए । नजिकै बलेको बत्तीको प्रकाशले उनीहरुलाई अबेर भएको आभाष भएको थिएन । त्यही ठाउँ उनीहरुको सँधैको जमघट गर्ने थलो बनेको छ ।
बत्तीले विवाह, ब्रतबन्ध लगायतका धार्मिक एवम् सामाजिक कार्यलाई सहज बनाइदिएको मुनीलाल बताउँछन् । उनले भने, ‘पहिलेका हाम्रो गाउँ अन्धकार थियो । अहिले पुरै गाउँ नै झिलीमिली छ ।
रातीको आवतजावत बत्तीले सहज बनाइदिएको बेलवाकै किशोरी साह बताउँछन् । उनी भन्छन्, ‘राति कतै हिँडडुल गर्न परे पनि अप्ठ्यारो हुने गरेको थियो । अहिले एकदम सुविधा छ, जताततै सहजै आवतजावत गर्न सकिन्छ, कतै बत्ति बिग्रियो भने पनि मुखियालाई खबर गर्दा तुरुन्तै बनिहाल्छ ।
‘वडा नम्बर ३१ सबैभन्दा धेरै टोल भएको वडा हो’ वडाअध्यक्ष जितेन्द्र प्रसाद यादवले भने, ‘अब कर्मा टोलामा मात्रै बत्ती लगाउने काम गर्न बाँकी छ । त्यो पनि छिटै हुन्छ ।’ महानगर भएसँगै पछि थपिएको ग्रामिण वडा भए पनि अहिले बत्ती बलेसँगै यहाँका जनताले महानगरवासी जस्तै आभास गरिरहेको वडाअध्यक्ष यादवको दावी छ ।
वीरगञ्ज ३० लालपर्सा निवासी बिन्दालाल साह पनि व्यवसायी हुन् । चोकमा बत्तीको प्रकाश चम्किएसँगै उनको व्यापार पनि चम्किएको छ । वीरगञ्ज महानगरको उज्यालो अभियान कार्यक्रमकै कारण गाउँ नै उज्यालो भएको बिन्दालाल बताउँछन् । उनी भन्छन्, ‘पहिला अँध्यारो हुने बित्तिकै पसल बन्द गर्नुपथ्र्यो, गाउँ पनि शुनशान हुन्थ्यो । तर अचेल राती पनि दिउँसो जस्तै लाग्छ । अबेरसम्म चहलपहल हुन्छ ।
आफ्नो गाउँ झिलीमिली अनि उज्यालो होस् भन्ने सानैदेखिको चाहना वीरगञ्ज ३० का वडाअध्यक्ष मनोज यादवले आफ्नै कार्यकालमा पुरा गरे । मनोज स्मरण गर्छन्, ‘म सानै हुँदा नै गाउँ उज्यालो होस्, जताततै बत्ती बलोस् भन्ने चाहाना थियो । तर मै वडाअध्यक्षमा जितेर मेरै नेतृत्वमा यो काम हुन्छ भन्ने सोचेको थिइन ।’
वडा नम्बर ३० का हरेक गल्लीदेखि कुनाकुनासम्म पनि बत्तीको व्यवस्था भएको वडाअध्यक्ष यादवले दावी गरे । उनले भने, ‘वीरगञ्ज महानगरले सञ्चालन गरिरहेको उज्यालो वीरगञ्ज अभियानले हाम्रो वडा अन्धकारबाट मुक्त भएको छ । एउटा मात्रै घर भए पनि हामी बत्तीको व्यवस्था गरेका छौँ ।
वीरगञ्ज महानगरले सञ्चालन गरेको ‘उज्यालो वीरगञ्ज’ अभियानको सह्राना गर्दै उनले विभिन्न उद्योग एवम् कम्पनीहरुमा काम गरेर रातविरात ओहोरदोहोर गर्नेलाई बत्तीले सहज बनाइदिएको बताए । अँध्यारोमा राति हिँड्न डराउनेहरु अचेत उज्यालोमा निसंकोच हिँडडुल गरिरहेको यादवको भनाई छ । उनका अनुसार अहिले गाउँमा चोरी डकैतीका घटना पनि कम भएका छन् । हरेक ठाउँमा बत्ती भएपछि चोरी नहुने उनको विश्वास छ ।
वीरगञ्ज महानगरपालिकाले ‘उज्यालो वीरगञ्ज’ बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका पोल–पोलमा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेको छ । ‘केही महिना अघिसम्म साँझ पर्नासाथ सडक अँध्यारो हुने र हिँडडुल गर्नै नसक्ने स्थिति थियो’, वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ मिनाबजारका विजय साहले भने, ‘तर अहिले रातिको समय जतिबेला पनि नगर क्षेत्रका सडक उज्यालो हुन्छ, जसले गर्दा हामी सुरक्षित महसुस गरिरहेका छौँ ।
महानगरपालिकाले पोल–पोलमा जडान गरेको बत्तीले बस्ती नै उज्यालो बनाएको साहको भनाइ छ ।
विगतका वर्षहरूमा साँझ र रातिको समयमा सडक अँध्यारो हुँदा चोरी, लुटपाटजस्ता आपराधिक घटना हुने गरेको वीरगञ्जको अशोकबाटीका निवासी शशिकान्त सर्राफ बताउँछन् । ‘अहिले नगर क्षेत्रमा त्यस्ता आपराधिक घटना पनि भएको सुनिएको छैन, पक्कै पनि यो उज्यालो वीरगञ्ज अभियानकै प्रभावकारिता स्वरुप हो’, सर्राफले भने ।
गएको आर्थिक वर्ष २०७८÷०७९ देखि ‘उज्यालो वीरगञ्ज’ अभियान अन्तर्गत सडक तथा गल्लीका पोल–पोलमा बत्ती जडानलाई तीव्रता दिएको वीरगञ्ज महानगरपालिका विद्युत् शाखाका इञ्जिनियर राजीव कुमार उपाध्यायले बताए । उपाध्यायका अनुसार महानगरका ३२ वटै वडाका सडक र गल्लीमा १३ हजार तीन सय २२ स्ट्रिटलाइट जडान गरिसकेको र बाँकीमा जडान कार्य भइरहेको छ ।
स्ट्रिटलाइटसँगै महानगरका मुख्य सडक तथा गल्लीमा सोलार बत्ती पनि जडान गरिएको छ । विभिन्न निकाय तथा सङ्घसंस्थाको सहयोगमा महानगर क्षेत्रभित्र करिब सात सय सोलार बत्ती जडान गरिएको महानगर विद्युत् शाखाका अर्का इञ्जिनियर अवधेशकुमार यादवले जानकारी दिए ।
अँध्यारोबाट मुक्त बनाएर राति पनि वीरगञ्ज महानगरलाई भिलिमिली बनाउने महानगरप्रमुख राजेशमान सिंहको योजना छ । दिउँसो जस्तै निर्धक्कसँग मानिसहरु आवतजावत र किनमेल गर्न सकुन भन्ने सपनालाई सार्थकता दिन महानगरले बिहीबारबाट रात्रि बजार लगाइरहेको छ । ‘वीरगञ्जलाई देशकै प्रमुख आर्थिक राजधानी भन्ने गरिन्छ, व्यापारिक हब पनि भनिन्छ,’ उनले भने, ‘तर नौ नबज्दै व्यापार व्यवसाय बन्द हुन्छन् । अब हामीले रात्रि बजारको अवधारणा ल्याएका छौँ
रात्रि बजारले दिउँसो व्यस्त हुनेहरुलाई रातमा किनमेल र घुमघाम गर्न सहज हुनुका साथै कोभिड १९ ले थला परेको व्यापार व्यवसाय सुदृढ हुँदै जाने उनको विश्वास छ । उज्यालो भएपछि अरु कुरा स्वतः हुँदै जाने सिंहले बताए ।