गाउँ–गाउँमा सिंहदरबार भने झै सिंहदरबारको अधिकार पालिका र वडाका टोलसम्म पुयाउन धेरै नीतिहरु बनाएका छन् । ती नीतिहरुलाई व्यवहारमा उतार्न सकेमात्र बल्ल गाउँ–गाउँमा सिंहदरबार आएको अनुभूति जनताले महसुस गर्न पाउने छन् । जनताको जीवनस्तरमा जबसम्म अभिवृद्धि हुदैन । देश कहिले पनि सम्पन्न र समृद्ध हुन सक्दैन । स्थानीय सरकारको जनतासंग प्रत्यक्ष सम्बन्ध राख्ने र काम गर्ने पहिलो तहको रुपमा वडालाई मानिन्छ । ती वडाका जनप्रतिनिधीहरुले आम वडाका जनताहरुले सुःख–दुःखमा साथ दिएर विकास निर्माणका कामहरु सुचारु गर्नुपर्ने देखिन्छ । मधेश प्रदेशकै एक मात्र महानगरपालिका वीरगंजको वडा नं.– १२ को अवस्था कस्तो छ ? स्थानीय सरकारले वडालाई समृद्ध बनाउन के गरिरहेको छ ? के गर्नुपर्छ भनी स्थानीय संग लिएको प्रतिकृया ः
१.
रामाधार मेहेता (स्थानीय)
वीरगंज वडा नं.–१२,मुर्ली
हाम्रो वडामा अहिलेको वडाध्यक्ष आएपछि कामहरु राम्रो नै भएको छन् । साना साना कामहरु हामीले भन्दा पनि भएका छन् । ठूला–ठूला कामहरु गर्नका लागि जनताहरुको पनि सहयोग चाहिन्छ । तर हाम्रो वडाका मानिसहरु बाटो,नाला बनाउन खोज्दाँ अवरोध गर्ने गर्छन भने विकासका काम कसरी हुन्छ । वडाध्यक्षको काममा जनताले साथ दिए मात्र विकासका काम सफल हुन सक्छ । तर हाम्रोमा ठिक उल्टो भएको छ । बाटो,नाला बनाउन खोज्दाँ अदालतमा मुद्दा पनि चलेको छ । अहिले बाटो,नाला निर्माण काम हुन सकेको छैन । पहिला वडामा काम गर्न जादाँ सरकारी दस्तुर बाहेक अन्य रकम पनि दिनु प¥थ्र्यो ।तर अहिलेको वडाध्यक्ष निर्वाचित भएर आएपछि वडामा हाम्रो काम छिटो र सजिलो सँग हुने गरेको छ । सरकारी दस्तुर बाहेक कुनै रकम तिर्नु परेको छैन ।
२.
सोनीदेवी महतो (स्थानीय)
वीरगंज वडा नं.–१२,मुर्ली
अहिलेको वडाअध्यक्षले पहिलाको वडा अध्यक्ष भन्दा राम्रो नै काम गर्नु भएको छ । वडा कार्यलयमा जाँदा पनि काम छिटो छरितो संग भएको छ । वडाको घरघरमा आएर आँखा जाँच गराउने व्यवस्था गरेको छन् । अहिले महिलाहरुको लागि सीपमूलक तालिम आएको थाहा छैन । विभिन्न सीपमूलक संचालन गरे हामी घरमा बसेका महिला दिदीबहिनीहरु सीप सिकेर आयआर्जन गर्न सकिन्थ्यो । अहिले टोलटोलमा फोहर उठाउन गाडी आएको छ । जताततै सफा छ । सडक बत्ति पनि हरेक गल्लीमा जडान गरिएको छ । एक वर्षका समयमा पनि वडाको विकासको लागि राम्रो काम गर्नु भएको छ । हाम्रो समाजमा अहिले पनि छोरी बुहारीहरुलाई आफू स्वनिर्णय गर्ने अधिकार छैन । कति सन्तान जन्माउने भन्ने कुरा पनि घरपरिवारको इच्छामा भरपर्नु पर्छ । त्यसैले महिलाहरुको सशक्तिकरण र महिला स्वतन्त्रताको लागि पनि वडा कार्यलयले विशेष कार्यक्रम संचालन गरी महिलाहरुको आयआर्जनमा जोड दिनुपर्छ । यस्ता वडाका हरेक पक्षलाई ध्यान दिएर निष्पक्ष रुपमा काम गर्दै गए जनताको मन जित्ने विश्वास पनि गरेको छु ।
३.
ब्रिजी साह कानु (स्थानीय)
वीरगंज वडा नं.–१२,मुर्ली
हाम्रो वडामा वडाध्यक्षले राम्रो नै काम गर्नु भएको छ । हाम्रो वडाको हरेक गल्ली गल्लीमा सरसफाई भएको छ । वडा कार्यलयमा कुनै काम लिएर जाँदा जनताको काम छिटो छरितो सँग भैरहेको छ । वडा कार्यलयमा काम लिएर जाँदा कुनै सास्ती भोग्नु परेको छैन । वडाअध्यक्ष सधै नै समयमा नै कार्यलयमा उपस्थित भएका हुन्छन् । पहिला वडा कार्यलयमा कुनै कागजपत्र बनाउन जादाँ सरकारी दस्तुर बाहेक अन्य शुल्क पनि लिने गरेको थियो । तर अहिले सरकारी दस्तुर बाहेक अन्य कुनै शुल्क दिनु परेको छैन । हाम्रो वडामा स्वास्थ्य चौकी छैन । सामान्य जाँच गर्न श्रीपुर स्वास्थ्य चौकी जानुपर्छ । वडामा स्वास्थ्य चौकी भै दिए राम्रो हुने थियो । वडा कार्यालय माथिल्लो तलामा छ । हामी वृद्धवृद्धाहरु वडा कार्यलयमा काम लिएर जादाँ तला माथि चढ्न गाह्रो हुन्छ । वृद्धहरुको लागि पनि सहज हुने ठाउँमा वडा कार्यालय सारे राम्रो हुने थियो ।
४.
लालमती देवी (स्थानीय)
वीरगंज वडा नं.–१२,मुर्ली
हाम्रो वडामा पहिलाको भन्दा अहिले सरसफाई धेरै नै राम्रो भएको छ । वडामा काम गर्न जादाँ छिटो हुने गरेको छ । काम गराउनमा कुनै झन्झट छैन । वडाको टोल टोलमा सडक बत्ति लगाएका छन् । बाटो नाला पनि पहिलाको हो । बिस्तारै बजेट आएपछि बनाउनु हुन्छ होला । अहिलेको वडाअध्यक्षले जे जति काम गर्नु भएको छ राम्रो नै छ । अझै ४ वर्ष बाँकी नै छ । राम्रो नै काम गर्छन भन्ने आशा राखेका छौ ।
५.
लालचन महतो (स्थानीय)
वीरगंज वडा नं.–१२,मुर्ली
पहिलाको तुलनामा विकासका काम केही भएको छ । पहिलाको भन्दा अहिले वडामा सरसफाई धेरै नै राम्रो छ । अहिले पोल पोलमा बत्ति लगाएको छ । हामी वृद्धहरुलाई पनि बेलुका हिड्डुल गर्न सजिलो भएको छ । पहिलाको भन्दा वडा कार्यलयमा कामहरु सजिलो र छिटो भएको छ । वडा कार्यलय पहिला भूँई तलामा थियो । हामी वृद्धहरुलाई पनि वडा कार्यलयमा जान सजिलो थियो । अहिले वडा कार्यलय माथिल्लो तलामा राखेको छ । हामी वृद्धवृद्धाहरुलाई माथिल्लो तलामा चढन् गाह्रो छ । भूँई तलामा वडा कार्यलय राखे वृद्धवृद्धाहरुलाई वडा कार्यलय जान सजिलो हुन्छ । विकासको कुरा गर्ने हो भने वडाअध्यक्षले निर्वाचनको समयमा हनुमान मन्दिरको निर्माणका लागि ३५ लाख दिन्छु भनेका थिए तर त्यो मन्दिरका लागि बजेट पाउन सकेको छैनौं । हाम्रो टोलमा एउटा बाटो बनाउँदा बनाउँदै विवाद परेर काम रोकिएको छ । त्यो बाटोको लागि अदालतमा मुद्दा परेको छ । हामी वडाका सबै निर्माण समिति माफत काम सुरु गरेका थियो । समितिलाई नै जग्गावालाले मुद्दा हालेको छ । हामीले चन्दा उठाएर मुद्दा लडेका छौ । अदालतको फैसला आउन बाँकी छ । यस्ता विषयहरुमा वडाले महानगरले पनि खासै चासो दिएर काम गर्न पहल नगरेको जस्तो लाग्छ ।
६.
लक्ष्मण कुवँर
वीरगंज वडा नं.–१२,मुर्ली
अहिलेको वडाअध्यक्ष निर्वाचित भएर आएपछि वडाका कामहरु राम्रो नै भएको देखिएको छ । वडाका हरेक गल्लीहरुमा सरसफाई राम्रो संग भएका छ । वडाका कामहरु छिटो नै हुने गरेको देखेको छु । अहिले वडा कार्यलयमा मेरो खासै काम नपरे पनि अरु स्थानीयवासीहरुले वडा कार्यलयले दिने सेवामा पहिलाको भन्दा धेरै नै राम्रो भएको बताएका छन् । पहिला वर्षातको समयमा पानी जमेर डुबान हुने गरेको थियो । अब आउने वर्षातमा पानी जम्ने समस्याबाट पनि मुक्त हुन्छ भन्ने विश्वास राखेको छु । वडाअध्यक्ष पनि वडा कार्यलयमा समयमा नै आउने र जनताहरुलाई परेको समस्याको समाधान खोजी हल गर्ने गरेको बताएका छन् । सडकमा र हरेक वडाको गल्लीहरुमा बत्ति जडान गरेको छ । राती कामबाट घर फर्कदा पनि बाटोमा कुनै घटना हुने शंका अब कम भएको छ । अझ वडाको हरेक चौकमा सिसि क्यामेरा जडान गरे झनै राम्रो हुने थियो । अपराधिक क्रियाकलापबाट पनि मुक्त वडा हुने थियो । अब आउने दिनमा पनि वडा अध्यक्षले वडाको तत्काल आउने समस्याहरु, विकास निर्माणका कामहरु र वडालाई कसरी समृद्ध बनाउने भन्ने विषयमा ध्यान दिनुपर्छ ।
७.
मनोज कुमार साह (स्थानीय)
वीरगंज वडा नं.–१२,मुर्ली
मेरो पुरानो घर बारा जिल्ला हो । अहिले हामी बसेको सुरजी देवी स्कूलको उत्तर पट्टिको नयाँ बस्ती हो । यहाँ प्राय गरेर सबै बाहिरबाट आएर बसेका छन् । जुन ठाँउमा बसोबास गरिन्छ । त्यहाँको सुविधा लिनु जनताको अधिकार हो । तर हामी यहाँको भोटर नभए पनि वीरगंज महानगरपालिकाको वडामा कर तिरेको छौ । हरेक चाडपर्वमा मन्दिरमा चन्दा पनि दिएको छौ । तर हाम्रो टोलमा भने वडाको तर्फबाट कुनै काम भएको छैन । हाम्रो टोलमा बाटो र नाला बनाउन पहल गर्नु पर्छ भनेर कुरा राख्दा तिमीहरुको टोलमा भोटर नै छैनन् । कसरी काम गर्छन । भनेर भन्ने गरेको छन् । हाम्रो वडामा न त वडाले न त अन्यले नै काम गर्छ । हामीलाई कसैबाट पनि सुविधा पाएको छैन ।
८.
राजेश्वर प्रसाद साह कानु (स्थानीय)
वीरगंज वडा नं.–१२,मुर्ली
हाम्रो वडामा लालचन महतोको घरदेखि लिएर नन्दु साहको घर सम्म धेरै नराम्रो बाटो थियो । विद्यासदन स्कूल पनि त्यही थियो । विद्यालयमा पढ्न आउने विद्यार्थीहरु लडेर कतिले हात खुट्टा भाँचेको पनि छन् । त्यो रोडलाई बनाउन गाउँका बुद्धिजिवी,भद्रभलामी सबै मिलेर निवेदन लेखर नगरपालिकामा मेयरकोमा गएका थियौ । नगरपालिकाको आपतकालीन बजेटबाट निर्माण गर्न लगाएका हुन् । घरहरुको भ¥याङ्ग बाटोमा लगाएको, बाटोमा टप निकालेको सबै तोडेर बनाउदै गएका थियौ । त्यो बाटोको चौमुखा बाटो भएको ठाँउमा साँवा घुर जग्गा सरकारी छ । त्यो ठाउँलाई झा जीले भोग चलन गर्न खोजेका छन् । तर हामी समाजले त्यो जग्गालाई बाटोमा राखेर छेउबाट नै नाला बनाउन खोज्दाँ हामी समाज माथि नै मुद्दा गरेको छ । चौबाटो भएको गाडीहरु घुमाउनको लागि पनि बाटोको अति नै जरुरत छ । उसको घर अगाडीको बाटो त उसैले नै भोग चलन गर्ने हो नी हामी त त्यहाँ भोग चलन गर्न जादैनौ । अदालत बाट सही न्याय पाउने छौ भन्ने आशामा छौं ।