वीरगंज महानगरपालिकामा गएको एक बर्षदेखि मुख्य सरसफाई अभियान संचालन भइरहेको छ । शहरी क्षेत्रमा वीरगन्ज महानगरले सरसफाईलाई मुख्य अभियानको रुपमा सञ्चालन गरेपछि अहिले महानगरको सरसफाई र सौन्दर्यीकरण बढ्न थालेको हो ।
शहर क्षेत्र भित्रका सडक पेटी र चोक चौराहामा हुने फोहोरको कारण बाहिरबाट काम विशेषले तथा यहाँ घुम्न आउने मानिसहरु पनि पहिले वीरगंज भन्ने वित्तिकै दुर्गन्धित शहरका रुपमा नाक खुम्च्याउँथे । अहिले भने महानगरको एकबर्षे गतिले यहाँको परिचय फेरिएको छ । वीरगंज महानगरपालिकामा नयाँ नेतृत्व आएपछि सडक पेटी, चोक चौराहा र ढलमा फोहोर फ्याँक्ने व्यक्ति र संस्थाहरुलाई दण्डित गर्न थालेको छ । सरसफाइको जिम्मा लिएको नीजि कम्पनी पृथ्वीतारा प्रा.लि. र महानगरबाट खटिने सफाइकर्मीको कडाईका साथ यो अभियान संचालन भएपछि वीरगंज सफा र सुन्दर शहरको रुपमा देखिन थालेको स्थानीयको भनाइ छ ।
प्याव्सन पर्साका कोषाध्यक्ष मार्टिन मोक्तान पनि नयाँ जनप्रतिनिधि आएपछि अहिले भने केही राम्रो अनुभूति भइरहेको बताउँछन् । ७–८ वर्ष अगाडी नगवा इटियाहीमा सुरू गरिएको फोहोर व्यवस्थापनको रिसाइकल प्लान्ट अति नै जीर्ण छ । करोडौं रुपैयाँ खर्च गरी जनताको आँखामा धूलो छर्ने कामभन्दा देखिने काम गर्नु जनप्रतिनिधिको कर्तव्य पनि हो । यो पटक केही प्रभावकारी काम भएको छ उनले भने ।
वीरगन्ज बजारको जस्तो सरसफाई अभियान ३२ वटै वडामा पु¥याउनु पर्ने स्थानीय किशोर साहले बताए । महानगरको अभियानमा अटेर गर्ने र जताततै फोहोर गर्नेलाई दण्डित गर्नु ठिकै भए पनि दण्ड जरिवानाको रकम चाही अलि बढि नै भएको वीरगन्जको मुर्लिचोकका आयुष गुप्ताले तर्क गरे । वीरगन्जको मुख्य सडक र मुख्य बजारमा सरसफाईको अवस्था सुधार भए पनि महानगरका भित्री सडकखण्ड र ग्रामिण वटामा पनि यो अभियान पु¥याउनु पर्ने स्थानीय वीरगन्ज बुटिक संचालक मिनु भण्डारीको पनि सुझाव छ ।
हाल वीरगंज महानगरपालिकाले ३२ वटै वडामा ३ सय ८ जना सरसफाई कर्मचारी परिचालन गरेको छ । फोहोर व्यवस्थापन गर्ने टयाक्टर ३० वटा रहेका छन् । जस मध्ये महानगरको १० र पृथ्वीतारा प्रा.लिको २० वटा रहेको वीरगन्ज महानगरपालिकाले जनाइएको छ । वीरगंजको सडक, पेटीको सरसफाइ विहान ५ बजेदेखि राती १ बजेसम्म तीन सिफ्टमा हुने गरेको वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए । मेनरोड र त्यस आसपासमा जोडिएका भित्री सडकमा समेत महानगरपालिकाले फोहोर उठाउने गाडी र ठेला नियमित रुपमा पठाउने गरेको उनको भनाइ छ । साइरन बजाउदै निस्कने ट्याक्टरमा नगरवासीले फोहोर राख्न थालेपछि वीरगंज सफा र सुन्दर देखिन थालेको उनको भनाइ छ । फोहोर व्यवस्थापन गर्न महानगरले मात्र गरेर सम्भव नहुने र यसमा पुरै वीरगंजवासीको पनि साथ चाहिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले तर्क गरे ।
वीरगंज महानगरपालिकाले गएको हप्तासम्म सडक पेटीमा फोहोर फ्याक्ने ३ सय ६२ जना व्यक्तिलाई कार्वाही गरेको छ । सडकमा फोहोर राख्ने वित्तिकै छड्के अनुगमनमा खटिएका नगर प्रहरी र सरसफाइ शाखाका कर्मचारीले सम्वन्धित व्यक्तिलाई फोहोर उठाउन लगाउने र उसले गरेको गल्ती अनुसारको दण्ड जरीवाना समेत गर्न थालेको महानगरको सरसफाई महाशाखाका कर्मचारीले बताए । वीरगंज महानगरपालिकाले यो हप्तासम्म सडक पेटीमा फोहोर फ्याक्ने मानिसलाई दण्ड जरीवाना गरे वापत ८ लाख ७३ हजार रुपियाँ राजश्व संकलन पनि गरेको महानगरले जनाएको छ । सडकमा फोहोर फाल्नेलाई उसको कसूर हेरेर दण्ड जरीवाना गर्ने गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ ।
वीरगंज महानगरपालिकाले सडक पेटीमा फोहोर गर्नेलाई न्यूनतम ५ सयदेखि अधिकतम ५० हजारसम्म जरीवाना गरेको छ । वीरगंजको मुख्य सडकमा ट्याक्टरबाट माटो खसाल्दै फोहोर गरेकोभन्दै वीरगंज महानगरपालिका वडा नंं ४ मा रहेको सीता अस्पताललाई ५० हजार जरिवाना गरेको पाइएको छ । अहिले चारै तिर निगरानी बढाइएको र फोहोर सडकमा फ्याँक्ने मानिसका वारेमा जनताले समेत सूचना दिने गरेको नगर प्रहरी इन्चार्ज हरि भूषालले बताए । वीरगन्जवासीसँग सडक पेटीमा फोहोर गरे वापत दण्ड जरीवाना गरेर राजश्व उठाउने नियत महानगरपालिकाको होइन । तर स्थानीय सरकारको नीतिलाई अटेर गर्नेलाई कडाई गर्न परेको महानगरपालिकाको दावी छ । पटक–पटकभन्दा र सूचना गर्दा समेत अटेर गरेर सडकमा फोहोर गर्ने उपर बाध्य भएर कार्वाही गर्नु परेको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको पनि दावी छ ।
सुरुको समयमा सामान्य जरिवाना लिएर सचेत गराइएको भए पनि पछिल्लो समयमा समेत अटेर गरी सडक पेटी र नालामा फोहोर ल्याएर राख्ने उपर कडा कार्वाही गर्ने नीति अख्तियार गरिएको नगरप्रमुख राजेशमान सिंहले बताए । वीरगन्जको सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम गरिएको छ, नगरप्रमुख सिंहले भने । “सफा, सुन्दर र हराभरा शहर बनाउने महानगरको अभियानमा नगरवासीको साथ सहयोग र समर्थन खोजेका छौं’ उनले पुन थपे । सिंहले वीरगंजको सौन्दर्यकरणमा यहाँका हरेक नागरिकको साथ, सहयोग र शुभेच्छा रहेको पाएको छु । मैले वीरगंजको विकास र परिवर्तनको लागि गरेको काममा यहाँका जनताको साथ पाएको छुँ । सायद त्यही भएर होला आज वीरगंजको चर्चा विस्तारै बढ्न थालेको छ उनले तर्क गरे ।
वीरगंज महानगरपालिकाले गण्डकदेखि शकराचार्य गेटसम्मको सौन्दर्यकरणका लागि विशेष अभियान सञ्चालन गरेको छ । सहिद तेजबहादुर अमात्यको शालिक, घण्टाघर र शंकराचार्य गेटको सौन्दर्यकरणको काम भइराखेको छ । तीनै ठाउँमा रंङ्गरोगनको काम अन्तिम चरणमा पुगेको महानगरपालिकाको सरसफाई महाशाखाले जनाएको छ । वीरगंजको सरसफाईलाई पहिलो प्राथमिकतामा राख्दै वीरगंजको माईस्थानमा रहेको गहवामाई मन्दिर परिसरको सौन्दर्यकरण, पिपरामठको पशुपतिनाथ मन्दिरको सौन्दर्यकरण र घण्टाघरदेखि बसपार्क जाने सडकको डिभाइडरमा रंङ्गरोगन गर्ने काम पुरा भएको महानगरले जनाएको छ ।
वीरगंजको घण्टाघरदेखि पावरहाउस चोकसम्ममा रहेको सडकको बीच भागको डिभाइडरमा रंङ्गरोगन गर्ने र बोट विरुवा रोप्ने तथा भएका बोटहरुको संरक्षण गर्दै शहरलाई हरियाली बनाउने अभियानमा महानगर लागेको मेयर राजेशमान सिंहले बताए । अहिले बाहिरबाट आउने पर्यटकलाई समेत वीरगंज घुम्न र बस्ने लायकको शहर बनाउन सफल भएको मेयर सिंहको दावी छ । वीरगंजले पछिल्लो पटक पाएको सफलतामा यहाँका नगरवासीको समेत साथ र सहभागीता रहेकोले यो काम सम्भावना भएको हो, मेयर सिंहले भने । नेतृत्वमा दृढ ईच्छाशक्ति भएमा असम्भव केही हुदैन भन्ने यो कार्यले पनि केही झल्किएको वीरगन्जवासीको ठहर छ ।