वीरगंज घर भएका डा. रोहित गुप्ताले एम.बी.बी.एस.(एम.डी.) को अध्ययन वि.पि.के.एच धरानबाट गरेका हुन् । विगत ३ वर्षदेखि नारायणी अस्पतालमा छाला, यौन रोग तथा कुष्ठरोग विशेषज्ञको रुपमा कार्यरत छन् । छालाको चमकताका लागि खानपानसँगै व्यायाममा पनि ध्यान दिनुपर्छ । रोग भन्नाले सजीव प्राणीहरू शरीरमा देखिने असामान्य अवस्थालाई बुझाउँछ । विभिन्न दृश्य तथा अदृश्य किराहरू र किटाणुहरूको आक्रमणबाट सजीव वस्तुहरूलाई असर पुगाउँछ । छाला सम्बन्धीका रोग अथवा छालामा असर पार्ने खालका रोगहरूलाई चर्म रोग भनिन्छ । जस्तैः– कुष्ठ रोग, कोठी, लुतो, खटिरा आदी । छाला मानव शरीरको एक अंग हो। यो अंगले मानव शरीर बाहिरबाट ढाकिएको हुन्छ । त्यसैले यसपटक हामी तपाइलाइ छाला रोग के हो ? छालाको समस्याबाट बच्न डाक्टरको सुझाव यस्तो छ, भन्ने विषयमा शान्ति पोली क्लिनिकमा पनि आबद्ध रहेका छाला तथा यौन रोग विशेषज्ञ डा. रोहित गुप्तासँग सुझाव र महत्वपूर्ण जानकारी लिएर आएका छौँ
१) गर्मी मौसममा छालाको कसरी हेरचाह गर्न सकिन्छ ?
गर्मी सिजनमा छालामा विभिन्न प्रकारका समस्या देखिन्छन्। यसमध्ये फंगल इन्फेक्सन सबैभन्दा बढी समस्या हो । जाडोयाममा भन्दा गर्मीयाममा फंगल इन्फेक्सन बढी हुनेगर्छ।गर्मीयामा पसिना धेरै आउने हुँदा सरसफाइमा ध्यान दिइएन भने फंगल इन्फेक्सन हुने गर्छ । फंगल इन्फेक्सन संक्रमित व्यक्तिको कपडा, जुत्ता अर्को व्यक्तिले प्रयोग गर्यो भने संक्रमण हुने गर्छ । यो सिजनमा पिम्पलको समस्या पनि धेरै देखिन्छ । हाम्रो स्किनमा ग्लान्डले नेचुरल ओइल उत्पादन गरिरहेको हुन्छन्। पसिनासँग हाम्रो छालाबाट निस्किएको ओइल मिसिएर ब्रेक आउट पनि धेरै देखिन्छ। र, घामले गर्दा पोतो र एलर्जी पनि धेरै बढ्ने गर्छ। नर्मल पि.एच. ५ दशमलब ५ भएको साबुनको प्रयोग गर्ने, सेम्पुको प्रयोग हप्तामा २ पटक मात्र गर्ने । कडा साबुनको प्रयोग छालामा नगर्ने । घर बाहिरबाट आएपछि राम्ररी सफा गर्ने । घाममा हिड्दा छाता ओढेर हिड्ने गर्नुपर्छ । सनस्क्रिमको प्रयोग गर्ने, छाला गोरो भएकाले सनस्क्रिमको एपपीएफ बढी भएको प्रयोग गर्ने ।गहु गोरो र अलि कालो रङ्ग भएका व्यतिmहरुले कम एपपीएफ भएको सनस्क्रिमको प्रयोग गर्ने गर्नुपर्छ ।
२) छालालाई नरम बनाउन सनस्क्रिमको प्रयोग कसरी गर्ने ?
सनस्क्रिमको प्रयोग गर्दा क्रिम सम्बन्धी विशेषज्ञलाई जाँच गराएर मात्र छालामा उपयुक्त हुने सनस्क्रिमको प्रयोग गर्नुपर्छ । आफ्नो छाला अनुसारको एस.पि.एच. भएको सनस्क्रिमको प्रयोग गर्ने । हरेक दुई घण्टामा सनक्रिमको प्रयोग गर्नुपर्छ । घरबाट बाहिर निस्कनुभन्दा आधा घण्टा अगाडी नै कम्तीमा २ एम.एल सनस्क्रिम लगाउनु पर्छ । सनस्क्रिमले केही हदसम्म मात्र बचाउँ छ । सनस्क्रिम लगाएको छ भन्दैमा घाममा हिड्न मिल्दैन । यदी घाममा हिड्नु पर्नेछ भने छाताको प्रयोग गर्नुपर्छ ।
३) अहिले युवायुवतीहरुको छालाको चायाँ पोतो आउनुको कारण के हो ?
पहिलाका आमाहरुले परिवार नियोजनका कुनै पनि साधनको प्रयोग गर्दैनथे ।अहिलेका महिलाहरुले परिवार नियोजनका औषधीहरुको प्रयोग गरेका हुन्छन् । यसको कारणले चायाँपोतो आउने गर्छ । खानपान पनि चाँयापोतो आउने अर्को कारण हो । डेरीबाट उत्पादित खाद्य पदार्थहरुमा विभिन्न केमिकलहरुको मिसावट भएको कारण पनि छालामा समस्या आउँछ । १०÷११ वर्षदेखि २५ वर्षसम्मलाई हर्मोनको कारण पनि चायाँ पोतो आउने गर्छ । चायाँ पोतो आउने अनेक कारण भए पनि छालालाई घामबाट बचाउनु पर्छ ।
४) कालोपोतो आएपछि कहिले जादैन भन्न धारणा छ तपाई के भन्नुहुन्छ ?
उपचार गर्न आउने बिरामीलाई हामी केही वर्ष धैर्य गर्नुस् । कालोपोतो एक दुई वर्षमा जान पनि सक्छ । पछिसम्म नजान पनि सक्छ भन्ने गरेका छौं । यसले कुनै किसिमको खराब गर्दैन । यो बाहिर हेर्दा नराम्रो देखिएको मात्र हो । धेरै बिरामीहरु सम्बन्धित चिकित्सककोमा नगएर औषधि पसलमा गएर क्रिम किनेर लगाउँदा समस्या बढी मात्रमा हुने गरेको पाइएको छ । औषधी पसलवालालाई विज्ञताको पूर्ण जानकारी हुन्न । ती क्रिमहरुले सुरुको २ हप्तामा केही राम्रो गर्छ । त्यसको कारण उनीहरुले नियमित रुपमा प्रयोग गर्न थालेपछि असर सुरु गर्छ । औषधी पसलबाट किनेर लगाएका क्रिमहरुले झनै अनुहार बिगारेर डाक्टरकोमा आएका घटना धेरै छन् । कालो पोतोको उपचार त हुन्छ नहुने होइन ।
५) छालाको जाँच कुन माध्यमबाट गरिन्छ र कसरी गराउनु उचित हुन्छ ?
हामीले छालाको जाँच मेसिनबाट गर्ने गरेका छौ ।म वीरगंजमा काम गर्न आउँदा छालाको वायप्सी सर्भिस थिएन । कुनै पनि केसमा वायप्सीबाट हुदैन भने प्याथोलोजिष्टलाई बोलाएर स्लाइड बनाएर पनि आफूले हेरेर ठिक पनि गरेको छु । आँखाले हेर्न नसकिने छालाको फरक फरक तहलाई डमोस्कोपीको मद्दतले हेरेर सजिलै उपचार गर्न सकिन्छ । (ट्राइकोस्कोपी) ले कपाललाई २४ घण्टा जुम गरेर हेर्नेको लागि प्रयोग गरिन्छ । अहिले सेतो दागको सर्जरी गर्न पनि हामी लागिरहेका छौं । कपाल प्रत्यारोपण गर्न तालिम लिएको छु ।अस्पतालमा सुविधा थप गर्न मात्र बाँकी छ । कपाल झरेकोलाई पि.आर.पि द्धारा उपचार गर्न सकिन्छ ।
६) तीन वर्षदेखि छालाका बिरामीहरु हेर्दा बिरामीको चेतनास्तर चाही कस्तो पाउनु भएको छ ?
मानिस जो पढेको छ त्यसलाई सम्झाउन, बुझाउन सजिलो हुन्छ । नचाहिने कुराहरुको प्रयोग गर्दैनन् । जुन ठाउँ बिरामीहरु नपढेको छ ।नचाहिने कुराहरुको प्रयोग गरेर आएका हुन्छन् । त्यस्तो खालका बिरामीहरु यहाँ बढी छन् । काठमाण्डौंको बिरामीहरु कस्मेटिक उपचारको लागि आउने गर्छन् । वीरगंजका अस्पताल आउने बिरामीहरु रोग लिएर उपचारका लागि आउने गर्छन् ।
७) तपाईले उपचार गरेको बिरामी पुनः चेकको लागि कत्तिको आउने गरेका छन् ?
मसँग उपचार गरेका बिरामीहरु नियमित रुपमा दोस्रो, तेस्रो पटक पनि जाँच गराउन आइरहेका छन् । वीरगंजबाट मात्र नभई हेटौडा, दिल्ली, पटनाबाट पनि उपचारको लागि यहाँ बिरामीहरु आउने गरेका छन् ।
८) छालाको लागि खानासँगको आपसी सम्बन्ध चाही कस्तो छ ?
हामी सबैलाई साधारण खाना खान अनुरोध गर्दछौं । पानी दैनिक रुपमा ३ देखि ४ लिटर खानुपर्छ । छालाको सुख्खापन पानी खाएर मात्र हुदैन । यसको लागि मोस्चराइजर क्रिमको दैनिक प्रयोग गर्नुपर्छ । कुनै पनि कस्मेटिक समान सबैलाई उस्तै हुन्छ भन्न सकिन्न । एक जनालाई उपयुक्त भएको क्रिम, लिपिस्टिक अर्कोलाई एलर्जी हुन पनि सक्छ ।
९) छालाको समस्याबाट बच्ने उपायहरु के छन् ?
घरमा ठूलो परिवार छ भने एक अर्काको कपडाको प्रयोग नगर्ने, किनभने कुनै एक सदस्यलाई छाला सम्बन्धी समस्या छ भने एउटै टाबेल, कपडाको प्रयोग गर्दा सर्ने सम्भावना बढी हुन्छ । जहिले पनि सफा कपडा मात्र लगाउने गर्नुपर्छ । काम गर्दा पसिना आएपछि सफा कपडाले पसिना पुछ्ने गर्नुपर्छ । दैनिक नुहाउने गर्नुपर्छ । दाद भए पनि साबुन, पानीले नुहाउने र भुवादार टाबेलले शरीरमा पानी नरहने गरी पुछ्ने गर्नुपर्छ । सनसाइन सेम्पुको प्रयोग गर्ने, सनस्क्रिमको प्रयोग गर्ने, छाता वा टोपीको प्रयोग गर्नुपर्छ । सामान्य पि.एच भएको फेसवासले मात्र दिनमा २ पटक मात्र मुख धुने गर्नुपर्छ ।
१०) अन्त्यमा छाला रोगको बारेमा के भन्न चाहनुहुन्छ ?
छाला रोग कुनै ठूलो समस्या होइन । पहिलाभन्दा अहिले छाला रोगको उपचार गर्ने विधिहरु धेरै छन् । काठमाण्डौंमा हुने सबै छालाको उपचारहरु अब वीरगंजमा नै गर्न सकिन्छ । हामीसँग सबै विधिबाट उपचार गर्न उपलब्ध छ । यदी कसैमा छालामा समस्या देखापरे छाला रोग विशेषज्ञकोमा जाँच गर्न जानुपर्छ । जथाभावी औषधिको प्रयोग नगर्नु नै छालालाई बचाउने प्रमुख कुरा हो ।