सामाजिक संजालमा आउने सूचनाले पत्रकारले पस्किने समाचार पुर्ताल गर्छ भन्नु युक्तिसंगत होइन । लेखेर बाँच्ने पत्रकार यसलाई खासै ठूलो कुरा मान्दैनन् । सामाजिक संजालले पस्किने सूचनाले पत्रकारीतालाई पेशा केही धुमिल गरेकै हो । तर पूर्ण प्रभाव भने पार्न सक्दैन । पत्रकारीताको जग भनेको खोज पत्रकारीता हो । वर्तमानमा पत्रकारहरुले यता तर्फ केन्द्रित हुनुपर्छ । यसमा दिग्भ्रमित हुने छुट पत्रकारलाई छैन ।
संजालबाट प्राप्त सूचनाले मिडियाको खालीठाउँ पुर्ताल गर्नेका लागि यो ठूलो कुरा हुन सक्ला । तर वास्तविक पत्रकारका लागि खोज पत्रकारीता मात्र असली पत्रकारीता ठहर्छ । स्वरोजगार पत्रकारीताको नाममा छोरा, छोरी, भाइ, भतिजा, भतिजी, श्रीमती र साला, साली तथा आफन्तलाई आधिकारिक पत्रकार बनाउँदै प्रेस काउन्सिल र सूचना विभागको रेकर्डमा दर्ज हुने मिडियाले मात्र त ‘पत्रकारीता समाजको ऐना’ भन्ने भावनालाई समेट्दैन । अनलाईन समाचारले आफ्नो समाचारको गर्जो टार्न बाध्य साना मिडियाहरु आफै न्यूज उत्पादन गर्ने र गराउने अवस्थामा कमै छन् । ठूला मिडिया हाउसहरु पनि आर्थिक मन्दीको चपेटामा परी समाचार उत्पादन गर्ने पत्रकारहरुलाई पारिश्रमिक दिन असमर्थ हुँदै धिमेगतिमा छन् ।
फलतः खोजमुलक पत्रकारीताको कुरा अब लुप्त हुने संघारमा पुगेको जस्तो छ । मुलुकको यत्रो नयाँ संरचना र तिनीहरुले गरेका असंख्य कामको समिक्षात्मक तथ्य बाहिर आउन नसक्नु असान्दर्भिक छ । आधुनिकताले समाजलाई कता लाँदैछ ? यसको सामाजिक प्रभाव के पर्दैछ ? जस्ता तमाम खोज पत्रकारीताका बिषय खोतल्ने काम पत्रकारले गर्न सकेको छैन । वर्तमान र भविष्यलाई प्रत्यक्ष असर गरेका र गर्न सक्ने बिषयहरु समाजले थाहा पाउनु पर्ने हुन्छ । तर समाचार खोज्ने संचारकर्मी बढाउन नेपाली मिडिया गृहहरुले सक्ने अवस्था छैन । न त ७ सय ६१ सरकारहरु नै आफूले गरेका सबै काम जनमानसका अगाडी आओस् भन्ने ठाउँमा छन् ? कसैले खोतल्छ कि भनी उनीहरु आफै सतर्क देखिन्छन् । जसले गर्दा नेपाली पत्रकारीतामा खोज पत्रकारीताको प्रभाव ओझेलमा परेको छ ।
समाज, व्यवस्था र मुलुकको समृद्धिको मूल ढोका उघार्न बाटो देखाउने समाजको ऐना ‘खोज पत्रकारीता’बाट मात्र सम्भव हुन्छ । खोज पत्रकारीतालाई अलग राखेर गरिने चाप्लुसी पत्रकारीताले समाजलाई सहि गतिको सूचक प्रदान गर्न सक्दैन । राज्य संचालकले गरेका तमाम कामको वास्तविक चित्र बाहिर नआएसम्म मुलुकको हित या अहित वास्तविक चित्र थाहा हुन्न । झन प्रविधिले मूलधारको पत्रकारीतालाई थिचिरहेको वर्तमानमा मिडियाको वास्तविक चित्र देखिन छोडेको छ । केवल औपचारिक कार्यक्रमका सकारात्मक सूचनाहरु मात्र त जनप्रतिनिधिका आसेपासे पत्रकारले संजाल मिडिया मार्फत सार्वजनिक गर्छन् नै ।
पहिले संजालमा आएपछि केही मिडियामा समाचार बन्ने समाचारले पनि समाजको समाचारको भोक मेट्दैन । समाचारका नाममा सूचना मात्र दिने कार्यले समाजको ऐनाका रुपमा परिभाषित पत्रकारीताको ओज उचालिदैन । मुलुक र समाजका लागि आउने ठोस समाचार पहिले औपचारिक मिडियाबाट सार्वजनिक हुनु पर्छ । अनि त्यो समाचार संजालमा जाँदा बल्ल सहि हुन्छ । तर समाज रुपान्तरणका लागि गति बढाउने र मार्ग प्रशस्त गर्ने समाचारको चुरो वर्तमानमा लर्बराएको छ । मिडियाको वास्तविक चरित्रलाई ठिङ्ग उभ्याउन खोजी पत्रकारीताको आवश्यकता चौतर्फी महसुस पनि हुन थालेको छ । खोज पत्रकारीता दुब्लाउनुको प्रमुख कारण खोजी पत्रकारीता गर्नेलाई दिने पारिश्रमिक शुन्य प्रायः हुनु हो ।
यो कदमलाई अगाडी बढाउन अभाव खेपिरहेको आर्थिक पक्षलाई सरकारी तह, गैर सरकारी तह वा कुनै व्यक्ति, संस्था र राज्यको तर्फबाट थोरै अग्रसरता खड्किएको छ । यो कुरालाई समयमा नै ध्यान पु¥याइएन भने कलममा दम भएका संचारकर्मी पनि समाजले देख्न नपाउने र समाजको गति र मतिमा समेत प्रश्नै मात्र खडा हुने कालो बादल मडारिरहेको प्रष्ट छ ।