मुलुकको प्रमुख भन्सार नाका वीरगन्जमा आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलगेपछि यहि जामभएर बसेका छन् । वीरगन्ज भन्सार अन्तर्गतको संयुक्त भन्सार जाँच चौकी आइसिपीमा यतिवेला एक हजारभन्दा बढि सवारी साधनले यार्ड भरिएको छ । आर्थिक मन्दीसँगै आयातकर्ताले समयमा नै नयाँ सवारी साधन भन्सारबाट नछुटाउँदा भंसार यार्डमा सवारी थुप्रिएका हुन् ।
बैंकहरुले विलासिताको वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेको आयातकर्ताको गुनासो छ । फलतः भन्सारमा सवारी साधन जाँचपास गराउन कारोवारी नआएको वीरगन्ज भन्सारका कर्मचारीले खुलासा गरे । आयातकर्ताले मगाएका सवारी साधन उनीहरुको सोरुममा हुनुपर्नेमा भन्सार यार्डमा नै थन्किदा राजश्व संकलनमा समेत कमी आएको वीरगन्ज भन्सारका प्रमुख डिल्लीराम पन्थीले बताए । भारत तथा तेस्रो मुलुकबाट आयात भएका ठूला साना गरी एक हजार ९ सय ९ वटा सवारी साधन भन्सार यार्डमा रहेको वीरगन्ज भन्सारले जनाएको छ । नयाँ जीपकार मात्र ६ सय २९, ट्रकका चेचिस ८ सय ४४, बस ३४ वटा, नयाँ चेचिस ३ सय ६ वटा, ट्याक्टर १० वटा गरी कुल १ हजार ९ सय नौ वटा रहेको वीरगन्ज भन्सारका सूचना अधिकारीले बताए ।
मुलुकको अर्थतन्त्रमा देखिएको आर्थिक तरलता नै भन्सारमा नयाँ सवारी थुप्रिने प्रमुख कारण रहेको व्यवसायीहरुको तर्क छ । वीरगन्ज उद्योग बाणिज्य संघले पनि आयातकर्ताले आयात गरेका सवारी समयमा नै छुटाउन नसक्नुमा आयातकर्ता दोषी नभएको दावी गरेको छ । यता वीरगन्ज भन्सार कार्यालयले भने आयातकर्तालाई सवारी चाँडो लगिदिन आग्रह गर्दा पनि खासै सुनुवाई नभएको आर्थिक समस्या नै उनीहरुले देखाउने गरेको दावी गरेको छ ।
भन्सार राजश्वको मुख्य हिस्सा ओगट्ने सवारीको समयमा नै जाँचपास नहुँदा चालु आर्थिक बर्षको नौ महिना सकिदा वीरगन्ज भन्सार कार्यालयले राजश्व लक्ष्यको जम्मा ५९ दशमलव २ प्रतिशत मात्र संकलन गरेको पनि जनाएको छ । यो भन्सार कार्यालयलाई राजश्व विभागले चालु आर्थिक बर्षको चैत सम्मका लागि कुल २ खर्ब ४ अर्ब ९१ करोडको लक्ष्य दिएको थियो । जसमा १ खर्ब २२ अर्ब ५७ करोड मात्र राजश्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकार रामचन्द्र ढकालले बताए ।
नेपाल सरकारले मदिरा, गाडी, मोबाइल जस्ता विलासिताका बस्तु आयात रोक्का फूक्का गरे पनि राजश्व संकलनमा खासै प्रगति हुन नसक्दा लक्ष्यमा अपेक्षा गरेको प्रगति हुन नसकेको उनको तर्क छ ।