आफ्नो बच्चा अरुको विद्यालयमा पढाउँदा भोगेको नकारात्मक प्रभावबाट दिक्क भएर आफै विद्यालय खोल्ने सोचले प्रेरित रोशनी श्रीवास्तवले वीरगन्जमा विजी बी किड्स प्रि–प्राइमरी स्कूल संचालन गरेकी छन् । पर्सा जिल्लाको शिक्षा क्षेत्रमा नयाँ आयाम ल्याउने उद्देश्यले अगाडी बढेकी श्रीवास्तव अन्य केही शैक्षिक संस्थामा पनि प्राध्यापन गराइरहेकी छन् । विगत ५ वर्षदेखि विजी बी प्रि प्राइमरी मन्टेश्वरी स्कूल संचालन गर्दै आएकी उनै रोशनी श्रीवास्तवसँग पर्साको समग्र शैक्षिक गतिवधिका बारे गरिएको बिशेष कुराकानी :
१) पर्सा जिल्लामा शिक्षाको अवस्था कस्तो छ ?
पर्सा जिल्लामा अहिले शैक्षिक अवस्था एकदमै न्यून छ । आजभन्दा एक दशक अगाडी शिक्षाको अवस्था निकै राम्रो थियो । अहिले शिक्षाकोस्तर खस्किएको छ । जुन हिसाबले मैले ०७५ सालमा मन्टेश्वरी स्कूलको स्थापना गरें । त्यसपछि कोरोना आयो । कोरोनाले गर्दा सबैभन्दा बढी शिक्षा क्षेत्रमा असर पारेको छ । अभिभावकहरुले नीजि विद्यालय र सरकारी विद्यालयमा तुलना गरिरहेका छन् । जसको कारणले विद्यालय संचालन गर्न धेरै नै अप्ठ्यारो भइरहेको छ । बजारमा पैसा छैन । व्यापार गर्न पैसा छैन, पढाउँदा खेरी आजभन्दा एक दशक अगाडी जस्तो विद्यार्थीको गुणस्तरको बारेमा सोच छैन । अहिलेको समयमा अभिभावकहरुसँग पनि पैसा छैन । मैले पैसा तिरेको छु मेरो बच्चाले राम्रोसंग पढ्नु पर्छ भन्ने अभिभावकहरु सोचमा पनि रुपमान्तरण हुनु पर्छ । उल्टै विद्यालय र शिक्षक माथि नै विरोध गरेर मात्र हुन्न । अभिभावकहरुले शिक्षाकोस्तरलाई मोलमोलाई गर्ने गरेका छन् । तर विद्यालयमा कस्तो पढाइ हुन्छ । बच्चाहरुलाई कस्तो खाना खुवाउनु हुन्छ भन्ने प्रश्न चाही कसैले गर्दैनन् ?
२) आफै विद्यालय खोल्न अभिप्रेरित भएर विद्यालय संचालन गर्नु भएको छ । आफ्नो विद्यालयको आगामी रणनीति चाही के छ ?
मेरो विद्यालयको हरेक विद्यार्थी उमेर अनुसार ज्ञान होस्, गुणस्तरीय विकास होस् । अभिभावकले हामीलाई सहयोग गरुन् । राम्रो कुराभन्दा पनि नराम्रो प्रतिक्रिया नदिउन् । पढाइको लागि बच्चालाई धेरै प्रेशर नदिनु भन्ने प्रतिक्रिया आउँछ । समयमा अभिभावकले बच्चाको फिस बुझाई दिदाँ हामीलाई पनि विद्यालय संचालन गर्न सजिलो हुन्छ । बेला बेलामा फिस नबुझाई दिने र पछि फीः नै नतिरेर बच्चालाई अर्को विद्यालयमा लगेर भर्ना गर्ने गरेका छन् । यो प्रवृतिले गर्दा संचालकहरुलाई विद्यालय संचालन गर्न झनै गाह्रो बनेको छ । यो अवस्था नहोस् भनेर मैले बच्चाको गुणस्तर योजना र स्वास्थ्यको बारेमा दीर्घकालिन योजना साथ काम गरिरहेको छु ।
३) अभिभावकले बच्चाको शुल्क नदिई अन्य विद्यालयमा भर्ना गर्ने प्रवृतिलाई रोक्न नीजि विद्यालयहरुको संगठनहरुले कुनै नीति बनाएको छैन ?
हाम्रो विद्यालय प्याप्सनमा आबद्ध छ । कतिपय विद्यालयहरुले पिजि र नर्सरीको विद्यार्थी भर्ना गर्न सर्टिफिकेट नभए पनि गर्ने गरेका छन् । म प्याप्सनमा भएकोले मैले जानकारी गराउँदा मलाई सहयोग गरेका छन् । तर यहाँ नन् प्याप्सनमा पनि धेरै विद्यालयहरु आबद्ध छन् । कतिपय विद्यालयहरु कुनै पनि समूहमा आबद्ध भएका छैनन् । तर पनि कुनै पनि विद्यालयहरुले विद्यार्थी भर्ना गर्न खोज्दा कुन विद्यालयबाट पढेर आएको भनेर सोधेर भर्ना नगर्ने भएकोले विद्यालयमा सबैभन्दा बढी समस्या आउने गरेको छ । सानो विद्यालयमा बच्चा पढाउँदा शुल्क नतिर्ने र ठूलो विद्यालयमा पढाउँदा आन्दोलन गर्ने प्रवृति धेरै नै नराम्रो छ । यस किसिमको वातावरणको अन्त्य हुनुपर्छ ।
४) सुरुबाट नै विद्यालयको गुणस्तरको बारेमा बताउनु भयो । तपाई विद्यालयको शिक्षाको गुणस्तर चाही कस्तो छ ?
हाम्रो विद्यालयमा डे केयर, डे होस्टल पनि छ । जति पनि कामदार महिलाहरु छन् । सबैले बच्चाहरुलाई डे केयरमा भर्ना गरेर काममा गएका हुन्छन् । अरु डे केयरमा भर्ना गर्दा बच्चाहरुलाई खुवाउने, खेलाउने, सुताउने मात्र गरेको हुन्छ । हाम्रो विद्यालयमा खुवाउने, खेलाउने, सुताउने साथै शिक्षा पनि दिने गरिएको छ । १८ महिनादेखि भर्ना गर्ने गरेको छौं । उनीहरुलाई मौखिक रुपमा पढ्न मात्र सिकाइन्छ । कक्षा अनुसार पढाउँदै जाने गरेका छौं । २ बजेपछि बच्चालाई आराम पनि गराउने गरेका छौं । डे केयरमा ९ बजेदेखि स्कूल पनि संचालन गरेको छु । ८ बजे बिहानदेखि लिएर ७ बजे बेलुकासम्मको डे केयर पनि छ । कामकाजी अभिभावकहरुले मेरो विद्यालयमा निश्चित भएर बच्चा भर्ना गराउँदा केही समस्या आउन सक्दैन ।
५) विद्यालय संचालनको सुरुको र ५ वर्षपछिको अवस्थामा के भिन्नता पाउनुभएको छ ?
मैले पहिला विद्यालय खोल्दा २ जना विद्यार्थीबाट संचालन गरेको हो । मेरो बच्चा ८ महिनाको मात्र थियो । मेरो घरमा बच्चा हेर्ने मानिस कोही पनि थिएन । एक दुई वटा डे केयरमा राखेको थिए । मेरो बच्चालाई रगतमा खराबी देखियो । मेरो दिमागमा एउटा विचार आयो । कि बच्चाको कारणले मैले पढ्न पाइन, काम गर्न पाइन । म जस्तो काम गर्ने आमाहरुको लागि डे केयर खोलेर सबैभन्दा राम्रो सेवा दिने सोच बनाए । अनि विद्यालय खोलें । कोरोनाको समयमा आफैले सम्पूर्ण विद्यालय र बच्चाको हेरचाह गर्ने । विगत २ वर्षदेखि ६० भन्दाबढि विद्यार्थीहरु छन् । अहिले १२ जना महिला कर्मचारीलाई जागिर समेत दिएको छु ।
६) तपाईले अभिभावकलाई के भन्न चाहनुहुन्छ ?
जसको बच्चा सानो छ ,एकल परिवारमा बस्नु भएको छ । काम गर्न चाहने आमाहरुले बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म भने तपाई ढुक्क भएर बिजी वी प्रि–प्राइमरी स्कूलमा भर्ना गर्न सक्नुहुन्छ । यहाँ घर जस्तै वातावरण छ । कुनै चिन्ता लिनु पदैन । स्कूल शुल्कको लागि चिन्ता लिनु पर्दैन । अन्य विद्यालयको जस्तो धेरै वा चर्को छैन । हाम्रो मन्टेश्वरीमा हरेक वर्गका मानिसहरुले बच्चालाई राखेर आफू काम गर्न सक्नु हुनेछ । बच्चाहरुको लागि चाहिने सम्पूर्ण खेल्ने सामानहरु पनि उपलब्ध छ । बच्चालाई हेरचाह गर्न र खानपिनमा लाग्ने खर्च मात्र अभिभावकसंग लिने गरिएको छ ।
७) महिला भएर विद्यालय संचालन गर्दा कस्तो अनुभव गरिरहनु भएको छ ?
महिला र पुरुषमा काम गर्ने समयमा कुनै भिन्नता पाएको छैन । एउटा बच्चा जन्माउँदा प्रसवको दुःख भोगेका हुन्छांै । त्यो नै पुरुषभन्दा बढी हो भने अन्य काम गर्दाको दुःख महिला र पुरुषको केही फरक छैन । मैले बाँकी कुरामा खासै भिन्नता महसुस गर्नु परेको छैन । अरुको हकमा केही भिन्नता भन्ने कुरा पनि सुन्ने गरेको छु । तर मेरो हकमा त्यस्तो खासै छैन ।
८) तपाईको काममा परिवारको सहयोग कस्तो पाउनु भएको छ ?
मलाई परिवारमा सबैभन्दा बढी सहयोग श्रीमान्बाट नै भएको छ । उहाँले एसएलसी मात्र पढ्नु भएको छ । तर मलाई मास्टर डिग्री गराएर अहिले पिएच डि पनि पढाइ रहनुभएको छ । उहाँको कारण नै आज मैले संस्था खोलेर बस्न पाएको छु । समाजमा आफूलाई चिनाउन सफल भएको छु । त्यसैले म श्रीमान्लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । बजारमा सुनेको हल्ला जस्तो महिलालाई पुरुषबाट उपेक्षा वा हिंसा जस्ता कुरा मेरो परिवारमा छैन ।
९) अन्त्यमा शिक्षाको विषयमा अभिभावकहरुलाई के भन्न चाहनुहुन्छ ?
सबै अभिभावकहरुलाई म के भन्न चाहन्छु भने तपाईहरु त्यहाँ जानुस्, जहाँ तपाईको बच्चाको मानसिक, शारीरिक, बौद्धिक हरेक क्षेत्रको विकास गर्ने विद्यालय रहोस् । केवल प्रचार मात्र राम्रो भएर हुँदैन । विजी वी मन्टेश्वरीमा आएर पनि एक पटक हेर्नुस् । तपाईको बच्चाले चाहे जस्तो वातावरण पक्कै पाउनु हुनेछ भन्ने हाम्रो ठम्याई हो । अरुभन्दा राम्रो भएपछि त हामीलाई पनि सेवा गर्ने अवसर दिनुस् । हामी तपाईहरुको बच्चाको सर्वाङ्गिण विकासको जग बलियो बनाउन मद्दत गर्नेछौं ।