पर्सावासीका लागि निकै चर्चित नाम ‘प्रभु हजरा’ अब यो जिल्लाको लागि मात्र सिमित नाम रहेन । नेकपा एमाले पार्टीको केन्द्रिय सदस्य तथा पर्सा जिल्लाको इन्चार्ज समेत रहेका उनी गएको प्रतिनिधिसभाको निर्वाचन पश्चात एमालेको तर्फबाट समानुपातिकमा प्रतिनिधि सभा सदस्य समेत बनिसकेका छन् । पञ्चायती व्यवस्था भएको समयमा विद्यार्थी हुँदादेखि नै कम्यूनिष्ट सोच भएका नेताहरुको विचारबाट प्रभावित उनी क्याम्पसमा पढ्दा अनेरास्ववियूको राजनीतिकमा जोडिएका थिए । त्यसपछि पार्टीकै तर्फबाट वडा कमिटिको सक्रिय सचिव हुँदै वडाको राजनीतिबाट पार्टी राजनीतिमा आबद्ध नेता हजारा ७ बर्ष एमालेको तत्कालिन वीरगन्ज उप–महानगरको नगर कमिटिका उपसचिव रहे । त्यसपछि पनि जिल्ला कमिटिमा काम गर्दै अञ्चल समन्वय कमिटि अनि पार्टीको पर्सा जिल्ला नेतृत्व र नेकपा एमालेको पछिल्लो केन्द्रिय महाधिवेशनकाट केन्द्रिय सदस्य समेत भएका हुन् । साथै पार्टीको तर्फबाट पर्सा जिल्ला इन्चार्ज भएर पार्टीको काममा सकृय नेता प्रभुु हजारासँग जिल्ला, प्रदेश तथा देशको विकास तथा पार्टीको पछिल्ला गतिविधिमा केन्द्रित रही गरिएको बिशेष कुराकानी :
१) पहिलो पटक प्रतिनिधि सभाको सांसद बन्नु भएको छ । कस्तो अनुभव गर्दै हुनुहुन्छ ?
प्र्रतिनिधी सभा भनेको देशको नीति निमार्ण बनाउने थलो भएकोले बाहिरबाट हेर्दा धेरै राम्रो लाग्थ्यो । त्यहाँ भित्र गएपछि मात्र बुझ्न पाएको छु । देशका धेरै कानूनहरु नबनेर कुनै पनि नीति निर्माणका कामहरु चुस्त रुपमा हुन सकेका रहेनछन् । कामको तिव्रतामा केही स्वार्थी पार्टीका सांसदहरुको सत्ताभोग र स्वार्थको कारण तत्काल बनाइनु पर्ने कानूनहरु बन्न नसक्दा निकै विलम्ब हुने गरेको थाहा भयो । त्यसमा मौजुदा सरकारको काम गराईले अत्याधिक धेरै ढिला सुस्ती हुने गरेको वास्तविकता थाहा भयो । धेरै ऐन कानून बनाउन टेवलसम्म पु¥याउने सरकार नै भएकोले त्यो तदारुकता यो सरकारमा देखिन । संसदीय समितिको सभापति नै छान्न अझै बाँकी रह्यो ।
२) नीति निर्माणको मूल थलोमा पुग्नु भएको छ । जिल्लाको विकासको लागि कस्ता नीतिगत पहल सुरु गर्नु भएको छ ?
अहिलेसम्म नेपालको विकासलाई हेर्ने हो भने पर्सा जिल्लामा खासै विकास नै भएको छैन । पर्साको वीरगंज बाहेक सबै क्षेत्र ग्रामिण छ । जहाँ बाटो, नाला पुलपुलेसाहरुको विकास हुन बाँकी छ । एमाले अध्यक्ष समेत रहेका केपि शर्मा ओली नेतृत्वको सरकारको पालामा बर्षौं अलपत्र परेको हुलाकी राजमार्ग नबनाउन भारत सरकारले अल्मल्याई रहेको समयमा उनले डटेर जवाफ दिदै हुलाकी राजमार्गको निर्माण अगाडी बढाउँदा उत्तराद्र्धमा पुगेको छ । यसको सम्पन्नताको लागि सकारात्मक दवाव दिदै मधेशको हितका लागि पार्टीले सारेका राम्रा योजनालाई अगाडी बढाउन पहल गर्छु । लगत्तै पर्साका १० वटा गाउँपालिका, ३ नगरपालिका र एउटा महानगरपालिकालाई सडक संञ्जालहरुमा जोड्न साथै महानगर भित्रको १६ ग्रामिण वडाहरुको कमजोर अवस्था सुधार्न केन्द्रबाट पहल गर्नुपने नीधिगत सुधारमा मेरो पहिलो पहल हुनेछ । यो जिल्लाका पुलपुलेसाहरु आधा अधुरो नै छन् ।
सुख्खा बन्दरगाह र आइसीपीको बीचको ६२ विगा जमिनमा बर्षौं अनिश्चयको जीवन विताइरहेका नागरिकको हितका लागि तुरुन्त मुअब्जा उपलब्ध गराउन दवाव दिने छु । त्यो जग्गाका जग्गाधनी मुअब्जा पाउने आशमा बर्षौं कुरिसकेका छन् । यो अवस्था सधैं राख्न हुन्न । यसमा मेरो पहल हुनेछ । पर्सा जिल्लामा सिचाईंको क्षेत्रमा पनि ठूलो अभाव छ । गण्डक नहरले नहरको उत्तरतर्फलाई समेटन सकेको छैन । पर्यटकीय स्थललाई विकास गरी पर्यटनलाई भित्र्याउन उत्तिकै आवश्यक छ । शिक्षा क्षेत्रमा ठाकुरराम क्याम्पस बाहेक अन्य कुनै टेक्निकल अध्ययन गर्ने सरकारी क्याम्पस छैन । मधेश विश्व विद्यालय बोर्ड मात्र झुन्ड्याइएको छ । पर्सा जिल्लामा केही मात्र उद्योगहरु छन् । बाँकी उद्योग सबै बारा जिल्लामा संचालन छन् । पर्सातर्फ औद्योगिक कोरिडोर विस्तारका लागि नीतिगत पहल गर्छु । भौतिक पूर्वाधारको विकास, कृषि क्षेत्रको विकास, शिक्षा क्षेत्रमा सुधार, पर्यटकीय स्थलको विकास, धार्मिक स्थलहरुको विकासमा जोड दिन्छु । जिल्लाको दोस्रो सदरमुकामका रुपमा हेरिएको पोखरिया नगरपालिकामा स्मार्ट सिटी बनाउन पनि जोड दिन्छु ।
३) जिल्लावासीका अपेक्षा चाही कस्ता छन् ? महसुस गर्नु भएको छ ?
अहिलेको वर्तमान अवस्थामा सबैभन्दा बढि रोजगारी सृजना होस् भन्ने जनअपेक्षा पाएको छु । जिल्लामा मात्र नभई प्रदेशको सबै जिल्लाका साथीहरुले चिनेको हुनाले रोजगारी सम्बन्धमा उनीहरुले पनि बढि कुरा उठाएका छन् । मेरो जिल्लाको अवस्था पनि यस्तै छ । बेरोजगार समस्याको समस्या सबैभन्दा जटिल छ । यो समस्या न्यूनिकरण गर्न घरेलु व्यवसायहरुलाई प्रोत्साहित गर्दै रोजगार बढ्ने खालका योजना जिल्लावासीको अपेक्षा छ । युवाहरुलाई खाडी मुलूकमा पठाएर मात्र बेरोजगार समस्याको समाधान हुदैन । यसको लागि म स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले पनि बेरोजगार समस्याको समाधान गर्ने खाल्का केन्द्रिय नीति निर्माणमा जोड दिन्छु । जुन नीति अनुसार स्थानीय सरकारमा बजेट बढोस् र बेरोजगार समस्याको समाधान होस् । त्यसै गरी शिक्षा, स्वास्थ्य र पर्यटनको उचित विकासमा पनि जनअपेक्षा अनुसारको थप नीति निर्माणमा पहल गर्छु ।
४) मधेश प्रदेशको विकास गर्न चाही तपाईको रणनीति के छ ?
हाम्रो प्रदेश जुन ढाँचामा छुटिएको छ । त्यो संरचनामा नै त्रुटी रह्यो । हिजोको नारायणी अञ्चललाई नारायणी प्रदेश बनाएको भए उपयुक्त हुने थियो । काठमाण्डौंसंग भएको मकवानपुर जिल्ला पनि यो प्रदेशमा जोडिनु पथ्र्यो । तराईको २० जिल्ला भनी खुब हल्ला भयो । अन्तिममा ८ जिल्लामा खुम्चियो । यति जिल्लाको समुन्नतिको लागि २ पटक फोरमले मौका पाएको छ । तर मधेशी दलहरु मिलेर सरकार बने पनि ठोस् भिजन र योजना नभनेकोले यो प्रदेशको समृद्धि हुन सकेन । यो प्रदेशमा एमालेको सरकार बन्ने हो भने ठोस भिजनमा यो प्रदेश अरु प्रदेशको तुलनामा समुन्नत बन्ने थियो । जसपाले विगतमा ५ वर्ष यो प्रदेशको नेतृत्व ग¥यो । अहिले पनि उसैको पार्टीको नेतृत्वमा सरकार छ । तर पनि मधेश प्रदेशमा नमूना विकासको काम भन्दै ल्याएको साईकल वितरण, बेटी पढाउ बेटी बचाउ, अभियान, पोखरीको सौन्दर्यकरण जस्ता योजना भ्रष्टाचारका अखडा मात्र रहे । सुन्नमा योजना राम्रा भए पनि प्रदेशको समुन्नतिमा खासै फड्को मार्ने भएनन् । पारदर्शी कार्यसम्पादन विना यो प्रदेशको समुन्नतिमा प्रश्न चिन्ह खडा भयो । मधेश प्रदेशको विकास गर्न ओली सरकारले ल्याएको सुनकोशी र मरिन डाइभर्सनपछि कमला नदीबाट बाह्रै महिना मधेशका पाँच जिल्लामा सिचाँइ सुविधा पु¥याई दिगो लाभ लिने कुरामा मेरो पहल हुनेछ । मधेशमा सानोतिनो ढलान, ग्रेभल गर्ने बजेट ल्याई बाडचुड गरेर खाने प्रवृतिभन्दा यो प्रदेशको समतल भू–भाग सदुपयोग गरी कृषि उद्योगलाई यो प्रदेशको समुन्नतिका आधार बनाउने ठूलो योजनालाई आफूले सकृयतासाथ अगाडी बढाउने सोचमा छु । कृषि र धार्मिक पर्यटकीय सर्किटका योजनाहरु ल्याएर यो प्रदेशमा ठूलो संख्यामा पर्यटक समेत भित्र्याई नमूना प्रदेश बनाउने गरी मेरो रणनीति रहने छ ।
५) तपाईं पार्टीको केन्द्रिय सदस्य र पर्सा जिल्ला इन्चार्ज हुनुहुन्छ । जिल्लामा पार्टी भित्र आन्तरिक तालमेल चुलिएको गुनासो छ ?
जिल्लाको राजनीतिक भन्नुपर्दा हामी सबै मिलेर गरेका छौं । मलाई पार्टीले पर्सा जिल्लाको इन्चार्ज बनाएको छ । सबै मानिस एकमत भएको कही कतै पनि पाउन गाह्रो हुन्छ । काम गर्दै जाँदा कोही–कोही बटारीने पनि हुन्छन् । मेरो प्रयत्न जहिले पनि सबैलाई समेटेर जाने नै हुन्छ । विगतमा जिल्ला अधिवेशन गर्दा म जिल्ला अध्यक्ष थिए । अर्को साथीलाई पदभारको जिम्मा दिनु पर्ने थियो । ५ जना अध्यक्ष मण्डल थियो । ४ जनाको एक मत थियो । १ जनाको बेग्लै मतले गर्दा खेरी जिल्ला अधिवेशन नै भाडिन पुग्यो । लामो अवधि पार्टीलाई नेतृत्व विहिन बनायांै । अधिवेशनबाट, कार्यकर्ता र अध्यक्ष मण्डलबाट चाहेको जस्तो माग गरे जस्तो हुन सकेन । पछि संयोजक चयन भयो । उनले पनि सबैको सल्लाह, सुझाव बमोजिम चलाउन सक्नु भएन । पार्टीले निणर्य गरेर उनलाई विदा गरेको छ । अहिले डा.विश्वम्भर शर्मालाई जिल्ला संयोजकको जिम्मा दिएको छ । अधिवेशन जेठको १९ र २० गते हँुदै छ । यो अधिवेशनमा कार्यकर्ताले छान्न पाउनु पर्छ । अधिवेशनमा सौहार्दपूर्ण वातावरणमा कार्यकर्ताले नेता छान्न पाउनु पर्छ । अहिले हामीले पर्सामा २ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरेर ५ वटामा जित हात पारेका छौं । यदी हामी सबैको समन्वयन भएको भए ९ वटा स्थानमा जित्न सफल हुने थियौ । हामी एक भएको भए ९ वटा पालिका र जिल्ला विकास समितिमा पनि सभापति र उपसभापति सहित हाम्रो टिम आउने थियो ।
६) अन्त्यमा पर्सेली जनतालाई के भन्न चाहनु हुन्छ ?
अब विगत जस्तो होइन । अलिकति तपाईहरु चनाखो हुनुस् । नेतालाई घच्घच्याउनुस् । गाउँपालिकाहरुमा जनताले चाहेको जस्तो विकास हुनुपर्छ । त्यहाँ तपाईहरुले घच्घच्याउनुस् । जितेका विधायक, माननीयहरु र प्रशासनलाई पनि ताकेता गर्नुस । पर्सेली जनता अब चनाखो नभई हुँदैन । आधुनिक समयमा पर्साको विकासका लागि यहाँका जिल्लावासीले पनि आफ्ना नेताहरुलाई समेय सापेक्ष काम गर्न दवाव दिनुस् भन्ने सुझाव दिन्छु ।