१) कमै उमेरमा गाउँपालिका अध्यक्ष बन्न कसरी प्रेरित हुनु भयो ?
म पहिलादेखि नै सामाजिक क्षेत्रमा काम गर्ने गर्थे । काम गर्ने सिलसिलामा गाउँका हरेक व्यक्तिहरुसंग परिचित पनि थिए । गाउँमा बसोबास गर्ने हरेक धनी गरीब सबैको बारेमा मलाई राम्रो जानकारी थियो । गाउँका गरीब जनताहरुका समस्याहरु ओह्दामा बसेका व्यक्तिहरुसम्म पुग्न सकेको थिएन । त्यो देख्दा मलाई भूँई मानिसका समस्याहरुको समाधान गर्न र जनताको सेवा गर्ने ईच्छा जागेर आयो । हुन पनि हामी जस्ता पढेलेखेका युवाहरु राजनीतिकमा प्रवेश गर्दा गाउँका गरीब निमुखा जनताको जीवनस्तरमा माथि उठाउन पहल पनि गर्न सकिन्छ भनी जनताको अवस्था र व्यवस्था हेरेर नै म पालिकाको नेतृत्व गर्न प्रेरित भएको हो ।
२) पालिकालाई ५ वर्षमा कस्तो बनाउने परिकल्पना गर्नु भएको छ ?
पाँच वर्षमा नै सिंगो पालिकालाई सुन्दर बनाउन सकिन्छ भने चाहीं होइन । मेरो परिकल्पना के छ भने पालिकाका समग्र हितमा विशेष योजना बनाएर काम गर्दा केही समय बढि लागे पनि त्यसपछि सधैंका लागि सुन्दर पालिका बनाउन सकिन्छ भन्ने हो । हाम्रो गाउँपालिका अन्य गाउँपालिकासंग धेरै सिमाना जोडिएको क्षेत्रफल भएको पालिका पनि हो । यहाँ शिक्षा, स्वास्थ्य, बाटो, घाटो व्यवस्थापन, भौतिक संरचनाको निर्माण र कृषकको जीवनस्तर उकास्ने काममा बढी जोड दिनुछ । शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारहरुको निर्माणमा हामी धेरै पछाडी छौं । त्यसलाई सम्पन्न गर्नका लागि योजना बनाएर अगाडी बढेका छौं । म पालिकाको अध्यक्ष पदमा निर्वाचित भएर आएपछि विद्यालयहरुको निर्माण, बाटो, घाटोको निर्माणको काम गरिरहेको छु । स्वास्थ्य क्षेत्रमा पनि केही काम गरिसकेको छु । यस्तै तिव्रगतिमा काम गर्दै जान सक्यौं भने आगामी ५ वर्षमा पनि पालिकाको मुहार निकै हदसम्म फेर्न सकिन्छ ।
३) पालिकाको काम गर्दा अहिलेसम्मको अनुभव कस्तो रह्यो ?
विकास निर्माणको साथसाथै सामाजिक र राजनीतिक क्षेत्रलाई व्यवस्थापन गरेर हिड्दा राम्रो हुने रहेछ । विकास निर्माणको काममा मात्र ध्यान दिएर हिड्यो भने खुट्टा तान्ने काम हुन्छ । संविधान बनाउँदा नै स्थानीय तह भनेको सिंहदरबार र राजा भने जस्ता छाप जनतामा छोडेको छ । केन्द्रिय सरकार, प्रदेश सरकारले भाषणमा भने । तर व्यवहारमा देखाउन सकेनन् । स्थानीय तहको अध्यक्ष भनेको सबै जनताको काम गर्ने माध्यम हो । तर सबै काम पालिका र अध्यक्षले गर्न सक्छ भन्ने छैन । केही ठूला काम गर्न प्रदेश र केन्द्रको पनि साथ लिन पर्ने हुन्छ ।
४) तपाई पालिकाको युवाहरु कस्तो समस्याहरु संग भोगिरहेका छन् ?
हाम्रो पालिकामा सबैभन्दा ठूलो समस्या बेरोजगारीको छ । गाउँमा एक सिटको लागि आवेदन दिन १ सय जना युवाहरु अग्रसर हुन्छन् । भर्ना गर्न नै समस्या उत्पन्न हुने गरेको छ । स्थानीय सरकारले दर्ता प्रक्रिया र प्रमाण पत्र दिन सक्छ । केन्द्र सरकार र प्रदेश सरकारले बेरोजगार युवा प्रति स्थानीय सरकारसंग समन्वयन गरेर काम गर्ने रुचि छैन । तीनै तहका सरकार एकजुट भएर मात्रै बेरोजगार सम्बन्धि समस्या समाधान गर्न सकिन्छ । केन्द्र सरकारले चाहेको खण्डमा बेरोजगार युवा लक्षित काम गर्न सक्छ । तर स्थानीय सरकारले मात्र काम गर्न सक्दैन ।
५) तपाईसंग अपेक्षा राखेका बेरोजगार युवाका लागि के योजना गर्नु भएको छ ?
हामीले केन्द्र सरकारसंग समन्वयन गरेर औद्योगिक ग्रामको स्थापना गर्न लागेका छौं ? युवाहरुलाई विभिन्न प्राविधिक तालिम दिएर व्यवसायिक बनाउने, कृषकका लागि कृषि पेशामा लगानी गर्ने र खेतमा नीजि वन लगाउन चाहनेहरुको लागि ५÷१० वर्षमा उत्पादन हुने जातका रुख रोप्न बिरुवाहरु उपलब्ध गराउन आगामी वर्षको बजेट विनियोजन गर्दैछौं । आफ्नो क्षेत्रमा बसेर नै युवालाई व्यवसायिक बनाउने हाम्रो लक्ष्य छ ।
६) तपाईले युवाहरुलाई राजनीतिकमा ल्याउन कस्तो पहल गर्नु भएको छ ?
युवा भन्ने बित्तिकै सबैले अवसर पाउँछन् भन्ने होइन् । जो युवा स्वच्छ तबरले राजनीतिकमा आउन चाहन्छ । उ स्वयम्ु मेहनत गरेर जनताको मनमा बस्न सक्छ । युवाहरुमा धैर्यता पनि चाहिन्छ । कहिले यो कहिले त्यो गर्दै भौतारिने काम गर्नु भएन । आफ्नो उद्देश्यका साथ काम गरेर जनताको विश्वास जित्नु पर्छ । हाम्रो पार्टीमा युवाहरुलाई सक्रिय राजनीतिकमा अगाडी ल्याउने सोच छ । एउटा घर चलाउन अभिभावकको नेतृत्व अहम भए जस्तै एउटा पार्टी चलाउन पनि नेतृत्वको आवश्यक्ता पर्दछ । पर्सा क्षेत्र नं. ४ को पार्टी सभापति हाल उद्योग मन्त्री हुनु भएको छ । उहाँको उद्देश्य पार्टी भित्रका युवाहरुलाई व्यवस्थापन गर्नु हो । अहिले क्षेत्र नं.४ को क्षेत्रिय सभापति पनि छु । युवाहरुले राजनीतिक गरेर मात्र जीवनयापन गर्छु भन्ने सोच राख्नु हुँदैन । राजनीतिक त समाज सेवा गर्ने माध्यम हो । आफ्नो आम्दानीको पेशालाई पनि अगाडी बढाएर आय आर्जन गर्न म युवाहरुलाई सुझाव पनि दिन्छु ।
७) तपाईको पालिकामा जनताले भोगेका समस्या समाधान गर्ने कस्ता थप योजना छन् त ?
हाम्रो गाउँपालिकामा उच्च, मध्यम र विपन्न गरी तीन वर्गका जनताहरु छन् । गाउँमा बसोबास गर्ने गाउँका विद्यालयहरुमा बच्चा पढ्ने विपन्न वर्गका बालबालिका मात्र हुन् । उनीहरुको प्रमुख समस्या भनेको शिक्षा हो । किसानहरुको समस्या सरकारले कृषि क्षेत्रमा दक्ष प्राविधिक दिन नसक्नु, खेतीबाली लगाउन विद्युतिय सेवा दिन नसक्नु, कृषि लोन उपलब्ध गराउन नसक्नु जस्ता समस्या छन् । पालिकामा कम पावरको विद्युतीय ट्रान्सफर्मर जडान गरिएको छ । बत्ति बाहेक अन्य इलेक्ट्रिक समानहरुको प्रयोग गरी काम गर्न सकेको छैन । यस गाउँपालिकाको आयआर्जन गर्ने माध्यम भनेको खेती नै हो । खेत बाहेक अन्य कुनै विकल्प छैन । त्यसैले सिंचाइका लागि कृषकको खेतमा विद्युत जडान नभएसम्म खेती लगाउन सकिन्न । संघीय सरकारले स्थानीय तहसंग समन्वयन गरेर सिंचाइलाई व्यवस्थित गरेन भने किसानको जीवन उकास्न सकिदैन । संघीय शासन पद्दति बन्यो । तर स्थानीय तहसंग समन्वयन गरेर विकासको काम भने भएको छैन । कृषिको समस्या समाधान गर्न २ वटा सिचाई ड्याम बनिरहेको छ । लगभग ३ वटा वडाहरुमा सिचाईको व्यवस्था हुन्छ । अन्य सिचाई नभएको ठाउँमा विद्युतिय बोरिङ्गको व्यवस्था गर्दैछौं । केन्द्रिय तहमा योजना आयोगसंग समन्वयन गरेर डेढ करोड पोल बत्तिको लागि पहल गरेको छु । ४० फिटमा नै पानी निस्किएको छ । कम लागतमा नै काम सम्पन्न गर्ने योजना छ । विद्युत सहितको पानी हरेक खेतमा पु¥याउने लक्ष्य राखेको छौं । स्थानीय तहको संरचनालाई हामी सबै मिलेर बलियो बनाउनुको विकल्प छैन ।
८) पालिकाको विकासका लागि गरेका काम चाही के के छन् ?
हाम्रो पालिकामा भारतीय दूतावासले बनाएको आर.सि.सि भवन १ वटा मात्र थियो । अहिले २८ कोठा भएको आ.सि.सि भवन बनाइएको छ । २५ वटा विद्यालयको कम्पाउन्ड खुल्ला थियो । ति सबै विद्यालयको पर्खाल बनाएर गेट समेत हालिसकिएको छ । अहिले ३ वटा विद्यालय बाहेकको विद्यालयहरुमा चर्पीको व्यवस्था मिलाएको छु । सरकारी कार्यालयमा कतै चर्पीको व्यवस्था थिएन । हरेक विद्यालयको व्यवस्थापन समिति गठन गरेको छु । शिक्षकको अभाव छ विद्यार्थीहरुको संख्या अपुग छ । त्यहि विद्यालयको प्रधानाध्यापकको अगुवाईमा ¥याली निकालेर जनचेतना फैलाउने काम पनि गरिरहेका छौं । नमुना विद्यालय पनि बनाएको थियौ । स्वस्थ्यमा भन्नुपर्दा यति धेरै जनसंख्या भएको पालिकामा एउटा पनि बर्थिङ्ग सेन्टर थिएन । उद्योग बाणिज्य मन्त्रीसंग उद्घाटन गराएर संचालन गरेका छौं । प्रदेश सरकारको समन्वयमा दिसापिसाब जाँच गर्ने प्रयोगशाला गाउँमा नै बनाइएको छ ।
९) संघीयताको विषयमा नकारात्मक आवाज पनि उठ्न थालेको छ नि ?
संघीयता आएपछि गाउँगाउँमा बाटो बनेको छ । ढलान बाटोहरु बनेका छन् । सरकारी भवनहरु बनेका छन् । पहिला नेपालको कतिपय गाउँहरुमा जान भारतको बाटो भएर जानु पथ्र्याे । अहिले आफ्नो देशबाट नै जान सकिएको छ । जनप्रतिनिधिहरुको पहिलाको पृष्ठभूमि हेर्ने हो भने संघीयता आउनु पूर्व गाउँका जमिन्दारहरु मात्र गा.वि.सको अध्यक्ष बन्थे । अहिले नेतृव्व गर्न सक्ने युवाहरु पनि जनप्रतिनिधि भएका छन् । अहिले संघीयता आएपछि जगरनाथपुर गाउँपालिकामा नै राष्ट्रिय परिचय पत्र बनाउन पाइएएको छ । जनताको हरेक कामहरु पालिकाबाट नै भएको छ । अहिले जगरनाथपुर गाउँपालिकामा ६ वटा वडा छन् । पालिकाको संरचना चलाउन ३४ जना जनप्रतिनिधिहरु छन् । संघीयता आउनु पहिला एउटा वडाको संरचना चलाउन ४७ जना जनप्रतिनिधिहरु हुन्थे । ४६ जनाको दरले वटा वडामा जम्मा संख्या २८२ जना एउटा गा.वि.मा हुन्थे । संघीयताले धेरै ठूलो परिवर्तन गरेको छ । त्यसैले संघीयताका संरचनालाई विरोध गर्नु, आवाज उठाउनु भनेको मूर्खता हो । संघीयता र प्रदेश भएर काम नभएको होइन । धेरै काम भएको छ । विभागले पनि काम गरेको छ । विभागको कर्मचारीहरु पनि पालिकामा आएर काम गर्नु पर्छ भन्ने अवधारणा बनिसकेको छ । त्यसैले पालिका तहको कुरा गर्दा त झन राम्रो नै भएको छ ।