व्यवसायीले भ्याट स्पष्ट नभएसम्म आलु र प्याजको आयात रोकेका छन् । सरकारले आलु र प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर
(भ्याट) लगाएको भन्दै अहिले भारतबाट प्याज र आलु आयात नगरेको व्यवसायीले जानकारी दिएका हुन् ।
आलु र प्याजमा लगाइएको भ्याटबारे सरकारले स्पष्ट नगराएसम्म आयत गर्न सहज नहुने नेपाल कृषिउपज आलुप्याज आयात निर्यात तथा थोक विक्रेता संघका अध्यक्ष मोहन बानियाँले बताएका छन् ।
दैनिक उपभोग गरिने आलु तथा प्याजमा लगाइएको भ्याटले भान्सा महँगिने भन्दै यसलाई खारेज गर्नुपर्ने उनको माग छ ।
संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा यी वस्तुमा लगाइएको भ्याट हटाउनुपर्ने व्यवसायीले माग गरे ।
५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा सरकारलाई भ्याट तिर्नुपर्ने भएकाले यसले व्यवसायीलाई असहज बनाएको उनीहरूको टिप्पण्ी छ ।
आयातकर्ताले डिलरलाई यस्ता वस्तु दिँदा भ्याटमा दर्ता भएको हुनुपर्ने भएकाले आलु र प्याज आयात गर्न नसकेको संघका महासचिव प्रकाश गजुरेलले जनाए।
अध्यक्ष बानियाँले सरकारले हचुवामा यो निर्णय गर्दा व्यवसायी मर्कामा परेको गुनासो गरेका छन् ।
हाल वार्षिक २० अर्ब रुपैयाँको प्याज र आलुको कारोबार हुने गरेको उनले बताए ।
व्यवसायी उज्ज्वल कार्कीले यो नीतिले नेपाली कृषकको उत्पादनमा पनि भ्याट लाग्ने बताएका हुन्।
व्यवसायी भ्याटमा दर्ता भएकाले भ्याट बिल नकाटे सरकारले कारबाही गर्ने भन्दै यसलाई खारेज गर्नुपर्नेमा उनले दबाब दिए ।
हाल ९९ प्रतिशत प्याज भारतबाट आयात हुने गरेको उनले जानकारी दिए । बजारमा खपत हुने ६० प्रतिशत आलु भारतबाट आयात हुने पनि उनले बताए ।