१. परिचय
साहित्यिक चौतारी नेपालद्वारा २०७९ फागुनमा प्रकाशित चौतारी नामक पत्रिकाको पाँचौँ अङ्कमा विभिन्न ५९ वटा लेखरचनाहरू समावेश गरिएका छन् । डिमाइ आकारका १८० पृष्ठमा फैलिएको यस कृतिको प्रा. डा. भीम खतिवडा, गीता भण्डारी र शङ्कर ढकालको सम्पादक मण्डलबाट भएको छ ।
२. औपचारिक पृष्ठभित्रका सामग्रीको समीक्षा
प्रारम्भका औपचारिक २६ पृष्ठमध्ये प्रधान सम्पादकका कुरामा ‘चौतारीको पाँचौँ अवतार’ शीर्षकभित्र लेखनमा विधागत र भाषागत स्तरीयताको अपेक्षा राखिएको छ । ‘साहित्य चौतारी नेपाल र हाम्रो दायित्य’ शीर्षकको अध्यक्ष गीता भण्डारीको कलममा चौतारीलाई एउटा खोज, अवसर र प्रयासरत यात्री ठान्दै २०७१ माघ २६ को म्यासेन्जर च्याटिङबाट जन्मिएको यस संस्थाका हालसम्म नेपालका सातै प्रदेश र विभिन्न सात देशमा सातवटा शाखा विस्तार भएका छन् भने बारा जिल्ला शाखासहित २१ विद्यालयमा समेत गरी हालसम्म ३५ शाखा विस्तार भएको जानकारी दिइएको छ ।
२०७४ जेठ २८ मा नेपाल सरकारबाट आधिकारिक मान्यता प्राप्त गरेको यस संस्थाले यात्रा गर्ने गोरेटोमा कतै भेटिने त कतै छुट्टिने चौतारीका रूपमा चिनाउँदै महासचिव रामप्रसाद सङ्गमको कलमले चौतारीका आठ वसन्तको स्मरण गरेको छ । त्यसैगरी चैतारी नेपाल केन्द्रीय समितिका वर्षभरिका गतिविधिको चर्चा गर्ने क्रममा अध्यक्ष गीता भण्डारीले २०९औँ भानु जयन्ती, स्मृतिसभा, आठौँ वार्षिकोत्सव कृति लोकार्पण र आजीवन सदस्यता प्रदान, तीज कार्यक्रम, अन्तरराष्ट्रिय बालदिवस कार्यक्रम, नववर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम, भाषाविमर्श तथा मातृभाषा रचनावाचन कार्यक्रम, विश्व(चौतारी सङ्गम नामक सहकार्यमूलक कार्यक्रम र अमेरिकामा शाखा विस्तारको सङ्क्षिप्त विवरण प्रस्तुत गरिएको छ ।
प्रस्तुत कृतिको अन्तमा प्रदेश नम्बर एक, जापान शाखा र भारत शाखाका वार्षिक गतिविधि तथा मधेशमा नवौँ वार्षिकोत्सव कार्यक्रम मनाउँदाका गतिविधिहरू प्रस्तुत गर्ने क्रममा केही तस्बिरहरू पनि समावेश गरिएको छ । केन्द्रीय गतिविधिलाई पनि अन्तमै राखेर समग्र गतिविधिलाई एकरूपता कायम गर्न सकेको भए र अन्तमा राखिएका तस्बिरहरूमा क्याप्सन पनि राखिदिन सकेको भए राम्रो हुन्थ्यो ।
३. मुख्य भागका सामग्रीको समीक्षा
चौतारीको पाँचौँ अङ्कमा ३५ वटा शास्त्रीय छन्द र गद्य लयका ३५ वटा कविता, १२ वटा गजल, ३ वटा मुक्तक, ४ वटा लघुकथा, दुईटा आलेख, एउटा संस्मरण, एउटा लेख र एउटा अन्तरवार्ता गरी जम्मा ५९ वटा लेखरचनाहरू समावेश गरिएका छन् तर यिनको समग्र विषयसूची भने राखिएको छैन ।
३.१ आलेख, लेख, संस्मरण र अन्तरवार्ताको समीक्षा
मुख्य भागको प्रारम्भमा वरिष्ठ सल्लाहकारद्वयका प्रा।डा। भीम खतिवडा र डा। देवी नेपालका दुई आलेख, सल्लाहकार प्रभा आचार्य भट्टराईको संस्मरण, बीचमा दुर्गा भुसालको लेख र अन्तमा बूँद रानाको अन्तरवार्ता प्रस्तुत गरिएको छ । प्रा।डा। भीम खतिवडाको ‘साँस्कृतिक रूपान्तरण’ शीर्षकको १० पृष्ठको आलेखद्वारा समाज र सभ्यताको अनुहार नै संस्कृति रहेछ, नेपाली समाजको प्रतिकृति भन्नु नै मबाट हामी र हामीबाट हाम्रो बन्ने बहुसंस्कृति रहेछ, नेपाली संस्कृतिका मुख्य दोष भनेका अन्धविश्वास र विभेद रहेछन् अनि इन्द्रेणी संस्कृतिबाट नै वास्तवमा नेपाल समृद्ध हुनसक्छ भन्ने सन्देश दिइएको छ । ‘प्रगतिवादी नेपाली खण्डकाव्यमा द्वन्द्वविधान’ शीर्षकमा विद्यावारिधि गरेका डा। देवी नेपालको ‘साहित्यमा प्रगतिवाद स् परिचय र प्रवृत्ति’ शीर्षकको १८ पृष्ठको आलेख प्रगतिवादको परिचय र प्रवृत्तिगत विशेषता बुझ्न निकै उपयोगी देखिन्छ ।
यस लेखद्वारा २००९ सालमा प्रगतिशील लेखक संघको स्थापना भएपछि नेपालमा प्रगतिवादी साहित्यले संस्थागत विकास पाउन सकेको, प्रगतिवादले भाग्यवाद, रहस्यवाद र अलौकिक एवम् काल्पनिक कुराको विश्वास नगरी वस्तुता, सत्यता र वैज्ञानिक विषय र विचारलाई बढ्ता महत्त्व दिने गरेको भन्दै अन्तमा १६ वटा बुँदामा यसका मुख्य विशेषतालाई औँल्याइएको छ । लेख अनुसन्धानात्मक छ र यसलाई उपशीर्षकसमेत दिएर विश्लेषण गर्न सकेको भए राम्रो हुन्थ्यो ।
प्रभा आचार्य भट्टराईको ‘बालसाहित्य स् आफ्नै अनुभवमा’ शीर्षकको संस्मरणमा आफूले बाल्यकालमा पढेका र देखेभोगेका कुराको स्मरण गर्ने क्रममा त्यतिबेला महेन्द्रमाला नामक पाठ्यपुस्तकमा लक्ष्मीप्रसाद देवकोटा र माधवप्रसाद घिमिरेका एकाध रचना बालरचनाबाहेक भानुभक्तीय रामायणको देह र आत्मा, तरुणतपसीअन्तर्गतको चरीको विलाप, शाकुन्तलको छोरीलाई घर पठाउँदा, लेखनाथको पिँजडाको सुगाजस्ता ठूला मान्छेले पढ्ने कुरा नै पाठ्यक्रममा राखिँदा बालसाहित्य पढ्नबाट वञ्चित हुनुपरेको, रेडियो नेपालमा वासुदेव मुनालको आवाजमा साप्ताहिक बाल कार्यक्रम सुनेर, आफ्नै जन्मस्थल चुँदीरम्घामा भानुजयन्तीका कार्यक्रमहरूमा सहभागी भएर, दाहाल यज्ञनिधिको साहित्य संसार नामक रेडियो कार्यक्रम सुनेर बालसाहित्यको थोरै भए पनि स्वाद चाख्न पाएको स्मरण गरिएको छ । त्यसैगरी दुर्गा भुसालको प्रेमपत्र शीर्षकको छोटो लेखले विदेश गएर आफ्नी आमालाई बिर्सने सन्तानलाई सचेत गराउने प्रयास गरिएको छ ।
चौतारी अध्यक्ष गीता भण्डारीद्वारा लिइएको साहित्यकार बूँद रानासँगको अन्तरवार्तामा मानव सभ्यताद्वारा अर्जित बहुमूल्य नै साहित्य रहेछ, गजल भन्नु नै सबैको साझा घाम रहेछ, सिकारु लेखकले स्थापित लेखक हुनका लागि लगनशील हुने, होहल्लाका पछि नलाग्ने र निरन्तर अभ्यास गर्ने तीन मन्त्र सिक्नुपर्दो रहेछ, पाठक कमाउनु भनेको साहित्यमा सबैभन्दा कठिन कार्य रहेछ र जसका पाठक नै छैनन् त्यसलाई साहित्यकार भन्न नसिकँदो रहेछ भन्ने गहनतम र व्यावहारिक पक्षहरू उद्घाटित भएका छन् ।
३. २ लघुकथाको समीक्षा
यस कृतिमा गोम विक्रम, कविता केशरी, समीर पाख्रिन र सुरेन्द्र लिम्बूका चार लघुकथाहरू समावेश गरिएका छन् । ढुक्ढुकी रेस्मा शीर्षकको गोम विक्रमको लघुकथामा पिएर सदैव दुःख दिइरहने लोग्नेको मृत्युपछि श्रीमतीले सुखपूर्वक जीवन व्यतीत गर्न पाएको सन्दर्भ प्रस्तुत गरिएको छ । जातका कुरा शीर्षकको कविता केशरीको लघुकथाले ब्राह्मण बा र म पात्रका माध्यमद्वारा जातका कुरा भन्नु नै मानिसले बनाएका समाजका बेथिति र कुसंस्कार रहेछन् भन्ने सन्देश दिएको छ । अचुक उपाय शीर्षकको समीर पाख्रिनको लघुकथामा वैदेशिक रोजगारमा गएका बाबुका सन्तानहरू कसरी कुलतमा फस्दा रहेछन् र तिनलाई आफ्नै आमाबाबुले केकस्तो अभिनय गरेर सुधार्न सक्ता रहेछन् भन्ने प्रेरणादायी सन्दर्भ प्रस्तुत गरिएको छ । कुन्छाङ काकाको भाटे कार्यवाही शीर्षकको सुरेन्द्र लिम्बूको कथामा हर्क साम्पाङ र बालेन शाहजस्ताको उदय हुनुलाई जनताले गरेको चुनावी भाटे कार्यवाही ठानिएको छ ।
३.३ मुक्तक र गजलको समीक्षा
यस कृतिमा समावेश गरिएका तीनवटै मुक्तकहरूको संरचना १२-१२ पङ्क्तिमा गरिएको छ । श्यामकुमार श्रेष्ठको मुक्तकले कानुनका रक्षकहरू नै कानुनको उल्लङ्घनकर्ता बनेकामा दुःखेको पोखेको छ । भोला चौलागाईंको मुक्तकमा सुन्दर कोट हुनका लागि जसरी कपडा टुक्रा टुक्रा पर्नुपर्छ त्यसरी नै बोट बन्न चाहने हरेक बिउले माटामा पुरिनुपर्ने सत्यतालाई अङ्गीकार गरिएको छ । सन्देश श्रेष्ठको मुक्तकले सर्वप्रथम आमाबाबालाई सम्मान गर्ने व्यक्ति नै यथार्थमा पुरस्कृत हुने सन्देश दिएको छ ।
यस कृतिमा समावेश गरिएका १२ वटा गजलहरूमध्ये चारखाले शिशिर लिङ्दमको गजलले साउदीमा काम र घामसँग लडाइँ हुने यथार्थता प्रस्तुत गरेको छ भने घनश्याम खत्रीको गजलमा मन्दिर पेटीका भोका पेटलाई बेवास्ता गरेर मन्दिरका मूर्तिलाई वास्ता गर्नुको कुनै औचित्य नरहने सन्दर्भ प्रस्तुत भएको छ । रामप्रसाद सुवेदीको गजलले आफ्ना मान्छेका मनमा कहिल्यै अटाउन नसकिँदो रहेछ भन्ने तथ्य प्रस्तुत गरेको छ भने श्यामकुमार क्षेत्रीको गजलमा देशको मौलिकता हराउँदै गएकामा गम्भीर चिन्ता व्यक्त भएको छ । प्रकाश शर्माको गजलले दुई पैसा कमाउँदैमा चिन्दिनँ भन्ने आत्मीजनहरूप्रति व्यङ्ग्य गरेको छ भने मेनुका शर्माको गजलमा दुःखीमाथि दया गर्ने मन र मृत्यु छेक्न सक्ने धनको सदैव रिक्तता हुँदो रहेछ भन्ने अनुभूति प्रस्तुत भएको छ ।
मनोज परियारको गजलले आकाशमा उडेका चराको होइन आफ्नै पखेटाको विश्वास गरेर पाइला चाल्न प्रेरित गरेको छ भने बद्री श्रेष्ठको गजलले आफ्नै शरीरमा आगो लगाउँदा पनि भगवान् मूकदर्शक बनेकामा आक्रोश व्यक्त भएको छ । अमरदेव बास्तोलाको गजलमा कतै फुल्ने अनि कतै झर्ने क्षणिक जीवनमा आमाको चरणलाई सर्वोत्तम आसन ठानिएको छ भने एम मगरको गजलले देशमा परिवर्तन नहुँदासम्म रगत र पसिनाले श्रमदान गरिरहनुपर्ने सन्देश दिएको छ ।
३.४ कविताको समीक्षा
यस कृतिमा शास्त्रीय छन्दका ११ वटा र गद्य लयका २४ वटा गरी जम्मा ३५ वटा कविताहरू समावेश गरिएका छन् । गद्य कविताभित्र धनकुटाको बालपञ्च माविस्थित साहित्य चौतारी क्लबका नौ र दश कक्षामा पढ्ने बालबालिकाका दुई वटा कविता पनि यहाँ पढ्न पाइन्छ । कोमल अधिकारीको कति बसूँ सडकमा बालकविताले कति बसूँ सडकमा कति थापूँ हात, जीवनभरि पाइएन कसैको नि साथ भन्दै सडक बालबालिकाको चित्कार प्रस्तुत गरेको छ भने बाल अधिकार शीर्षकको रिना बरुवालको कविताले संविधानमा लेख्यौ सरकार बाल अधिकार, किन व्यवहार परिवर्तन गर्दैनौ सरकार भन्दै सरकारलाई बाल अधिकारबारे गम्भीर प्रश्नचिह्न खडा गरेको छ ।
सन्दीप सङ्गौलाको चौतारी कविताले साहित्यिक चौतारीकै महिमाबारे चर्चा गरेको छ भने गीता भण्डारीको प्रेम कविताले पहिलो र अन्तिम चाहनाका रूपमा प्रेमलाई परिभाषित गरेको छ । सरु बस्नेतको विदेशमा जानु किन रु कविताले पसिना र विवेक सदैव छर्ने हो र श्रम गर्ने हो भने स्वदेशमै सुन फलाउन सकिने सम्भावना व्यक्त गरेको छ भने रोशन तिमल्सिनाको औँलाको संसार कविताले देशकै सिमानामा हात काटिएकाले विशाल संसार बनाउने औँलाको सपना चकनाचुर भएको सन्दर्भ प्रस्तुत गरेको छ ।
कमला भण्डारी ढकालको युद्धको धुवाँ कवितामा स्वदेशको इतिहास रच्छु भन्नेहरू वैदेशिक युद्धको धुवाँभित्रै हराएर फर्किन नसकेको तीतो यथार्थ व्यक्त भएको छ । लोकविक्रम मल्लको हाम्रो गौरव कविताले हामी सक्षम छौँ परन्तु अहिले व्यर्थै निदायौँ किन, देख्नैपर्छ कि लाग्छ भोलि दिनमा यो देश बेच्ने दिन भन्दै चेतनाको बिगुल फुकेको छ भने सीता शर्माको यात्रु म कविताले जीवनयात्रामा सत्यको होइन असत्यको विजय भइरहेकामा असन्तुष्टि व्यक्त गरेको छ ।
अमृत भट्टराईको मृत्युपर्यन्त भूदृष्टि कवितामा स्वर्ग पुगे पनि पृथ्वीको दुर्दशा देखेर स्वर्गतुल्य पृथ्वीलाई सजाउन पुनः पृथ्वीमै आउने इच्छा व्यक्त गरिएको छ भने प्रेम खड्काको नेपाल आफ्नै प्रिय देश सुन्दर कविताले मेट्ता पनि नमेटिने नेपाली धरोहरको महिमा गाएको छ । तारा घिमिरेको नेपाल मेरो घर कवितामा आफ्नै देशसमान अर्को देश प्रिय नहुने कुराको चर्चा गरिएको छ भने कविराज शंखरको मेरो देश कविताले सबै नेपाली एक भएर नेपालको सेवा गर्नुपर्ने सन्देश दिएको छ । शिरीष बन्जाडेको नेता बनूँझैँ भयो कविताले ए साथी १ भन लोकतन्त्र छ कहाँ के यो प्रजातन्त्र हो रु तिम्रा भिन्न विधान छन् हुकुमका के यो नयाँ तन्त्र हो रु भन्दै देशको मुहार फेर्न युवापुस्ता नै आफै नेता बन्न अग्रसर हुनुपर्ने उद्घोष गरेको छ भने शंकर ढकालको जल्नु नै छ कवितामा मरेर जल्नुभन्दा देशको दुर्दशाको अन्त्य गर्न जलेर मर्ने प्रण गरिएको छ ।
सूर्य शुभचिन्तकको गर्भको गर्व कविताले छोरीको जुनी हारेको होइन छोरी हुनुमा गर्वबोध गर्न प्रेरित गरेको छ भने समाश्रीको मलाई क्षमा गर ओ समय १ कविताले हेर्नैपर्ने, सुन्नैपर्ने र बोल्नैपर्ने कुरामा पछि पर्दा इतिहासमा हुतिहारा हुनुपर्ने सन्देश दिएको छ ।
सरु भट्टराईको मलाई म भएर जिउनु छ कविताले मान्छेहरू जे जे बनेर अभिनय गरे पनि आफ्नो पहिचान बनाएर जिउनुमा नै जीवनको सार्थकता रहेको सन्दर्भ प्रस्तुत गरेको छ भने शोभा खनाल कोइरालाको वर्तमान परिवेश कवितामा चराहरूको स्वतन्त्रताको प्रशंसा गर्दै मान्छेको पराधीनताप्रति व्यङ्ग्य गरिएको छ । सङ्कल्प ढकालको युद्ध कविताले नेपाली समाजमा अझै कहीँकतै प्रेमविवाहलाई युद्धविवाहकै रूपमा लिनुपर्ने बाध्यता रहेको तस्बिर खिचेको छ भने सुशील बस्यालको सामाजिक सञ्जाल हटाएको छु कविताले अल्छी बनाउने र पारिवारिक कुराकानी नै बन्द गर्ने सामाजिक सञ्जाललाई नहटाएसम्म लेखकले वास्तवमा लेखनी समाउन नसक्तो रहेछ भन्ने तीतो सत्यलाई प्रस्तुत गरेको छ ।
दलबहादुर शाहीको सुरक्षा कवितामा मान्छे सधैँ फाइदाको खोजीमा अग्रसर भइरहँदा आफै असुरक्षित बन्दै गएको यथार्थता व्यक्त भएको छ भने प्रचण्ड भाष्करको सिस्नु कविताले सिस्नुको शरीरलाई छुँदा दुखाइ हुने तर सिस्नुको आत्मालाई छुँदा दबाइ हुने सन्दर्भहरू दिएर नारीलाई सिस्नुसँग तुलना गरिएको छ । महेश्वर अधिकारीको यतीको नियति कविताले बूढो जहाज बसाइ सरेर आएका कारणले नै पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको सन्दर्भ प्रस्तुत गरेको छ भने निरा ढुङ्गानाको कोसिस कविताले जति हार खाइरहे पनि जिन्दगीभर कोसिस गर्न छाड्न नहुने सन्देश दिएको छ ।
सिन्धु पौडेलको बालुवाको पहाड कविताले वैदेशिक बालुवाको पहाडमा उभिएर आफ्नै सगरमाथाको गहिराइ नाप्न विवश नेपालीको चित्रण गरेको छ भने विमला प्रधानको शुभकामना नयाँ वर्षलाई कवितामा घटाउ र भागको भावना हटी मेलमिलापको भावना बढोस् भन्ने कामना गरिएको छ । गायत्री गौतमको तिमी हराएको दिन कविताले प्रेमी हराउने दिन कहिल्यै नआइदियोस् भन्ने कामना गरेको छ भने राजविन थापाको सहिद कवितामा देशको दुर्दशाको चित्रणसँगै सहिदको सपना चकनाचुर भएको सन्दर्भ प्रस्तुत भएको छ । देवेन्द्र विश्वकर्माको हामी राता मान्छे कविताले वर्गीय विभेदबाट मुक्तिका लागि लडिरहने राता मान्छेको वीरताको गाथा गाएको छ भने गनी गुरुङको तिमी भइदिएको भए कविताले बिरामी हुँदा जीवनसाथी साथमै भएमा आधा बिमार त्यसै निको हुने सन्दर्भ प्रस्तुत गरेको छ । रितादेवी प्रधानको उद्गार कवितामा नारीमाथि नारीद्वारा नै अत्याचार हुने गरेको तीतो यथार्थ प्रस्तुत भएको छ भने प्रकाश पाण्डेको माटाको सम्झनामा कविताले हाम्रो राम्रो हिमाली मुलुक महल त्यो छैन मैले भुलेको भन्दै देशको सम्झना गरेको छ ।
४. भाषिक कसरहरू
वर्तमानमा प्रकाशन भइरहेका अधिकांश कृतिहरूमा भाषिक कसरहरू देखिँदै जान थालेका सन्दर्भमा यस कृतिमा पनि केही कसरहरू रहनु अस्वाभाविक होइन । यस कृतिमा सबैजसो ठाउँमा त्यही, यही र उही शब्दमा अनावश्यक चन्द्रविन्दु लाग्नाले अर्थको अनर्थ हुन पुगेको छ । त्यसैगरी तिमी सोचौँला (पृ) ७६०, बा बसेँ (पृ) ९८० जस्ता वाक्यलाई पनि चन्द्रविन्दुले नै पदसङ्गति कायम गर्नबाट वञ्चित गरेको छ । उत्तरवर्ती नासिक्य ध्वनिले पूर्ववर्ती स्वरमा चन्द्रविन्दुको अपेक्षा नगर्ने भएकाले आउँन, भिजाउँनेछु जस्ता शब्दमा चन्द्रविन्दुको औचित्य देखिँदैन । नदेखिएको ती जीवन गाथाहरू नलेखिएको ती हजारौँ योगदानहरू (पृ) ६९०, कस्तो होलान् (पृ) १३७०, कार्यक्रमको फोटोहरू (पृ)१७५० जस्ता वाक्यमा तिर्यक् कारकको संरचनालाई पालना गरिएको देखिँदैन । काठमाण्डौ कि काठमाडौँ, राजनैतिक कि राजनीतिक, मोरङ्ग कि मोरङ, मदेश कि मधेश, पाचौँ कि पाँचौँ, रेश्मा कि रेस्मा भन्ने कुरामा दोहोरो प्रयोग गरिएकाले पाठकहरू यस्ता शब्दबाट कुन शब्द शुद्ध हो र कुन अशुद्ध हो भन्ने अन्योलमा पर्न सक्छन् । जव र तवका ठाउँमा जब र तब हुनुपर्ने, पद्दतिका ठाउँमा पद्धति हुनुपर्ने, अनुदितका ठाउँमा अ
अनुदितका ठाउँमा अनूदित हुनुपर्ने, सुखद्का ठाउँमा सुखद हुनुपर्ने र अत्याधिकका ठाउँमा अत्यधिक हुनुपर्ने कुरामा भाषासम्पादकको ध्यान सकेको भए राम्रो हुन्थ्यो ।
५. सुझाव र निष्कर्ष
यस कृतिमा नम्बर राखिएकाले यसलाई पुस्तक नै भन्नुपर्ने हुन्छ तर नेपाल प्रज्ञा(प्रतिष्ठानका कुलपतिको मन्तव्यमा र प्रधान सम्पादकका कुरामा समेत यसलाई पाँचौँ अङ्क भनेर उल्लेख गरिएकाले यो पत्रिका हो कि भन्ने आभास पनि धेरै पाठकलाई हुन्छ । पुस्तकको पाँचौँ भाग भनेर यसलाई चिनाउने काम पनि नभएकाले यसलाई पत्रिका नै भनेर चिन्नुपर्ने हुन्छ । त्यसैले चौतारीका आगामी अङ्कहरूमा क्ष्क्क्ल् नम्बर उल्लेख गरी यसलाई पत्रिकाको फलानो अङ्क भनेर चिनाउनु उचित देखिन्छ । पुस्तक ठाने पनि र पत्रिका नै माने पनि चौतारीका हरेक अङ्कमा विषयसूची राख्न छुटाउनु हुँदैन । साहित्यिक चौतारीको धनकुटास्थित बालमञ्च मावि क्लबका दुई बाल कविताहरूमात्र यसमा समावेश हुन सकेकाले अन्य बाल क्लबका लेखरचनाहरू पनि समावेश गर्दै जाने कुरामा सम्पादक मण्डलको ध्यान जानु आवश्यक छ ।
चौतारीको पाँचौँ अङ्कमा वरिष्ठदेखि कनिष्ठ वर्गसम्म स्रष्टाका लेखरचनाहरू समावेश हुन सकेका छन् । यस अङ्कका लेखरचनामा विधागत एवम् विषयवस्तुगत विविधता भेट्न सकिन्छ । विधागत विविधताभित्र पनि कविता विधा धेरैजसो स्रष्टाले बढ्ता रुचाइएको विधा रहेछ भन्ने कुरालाई प्रमाणित गर्न यस कृतिमा बढ्ता कविताहरू सङ्कलित हुनुले पुष्टि गर्दछ । यस कृतिमा बारा, खोटाङ, दाङ, रुपन्देही, कास्की, पाल्पा, चितवन, नवलपुर, मोरङ, संखुवासभा, कपिलवस्तु, पर्सा, ओखलढुङ्गा, काठमाडौँ, प्युठान, हुम्ला, कञ्चनपुर, बैतडी, बारा, धनकुटा र तेह्रथुम गरी २१ जिल्ला तथा अमेरिका, मलेसिया, जापान, इजरायल, भारत र साउदी अरब गरी ६ देशमा रहेका स्रष्टाका रचनाहरू सङ्कलन गरिएका छन् ।
यिनमा भाषासम्पादनका क्रममा भाषागत केही कमीकमजोरीहरू रहे पनि समग्रमा यसमा सङ्गृहीत रचनाले स्वदेशको विद्यमान दुर्दशाको अन्त्य गर्न र विदेशमा रहेर पनि नेपाली माटालाई प्रेम गरिरहन सिकाएका छन् । एउटै परिवारका सदस्यलाई त एकै ठाउँमा ल्याउन कठिन बन्दै गएको वर्तमान परिवेशमा स्वदेश र विदेशमा छरिएर रहेका बालकदेखि प्रौढ पुस्तासम्मका समस्त नेपाली स्रष्टाहरूलाई एउटै चौतारीमा उभ्याउने प्रयत्न गरी ‘वसुधैव कुटुम्बकम्’ को सच्चा पाठ सिकाउन अग्रसर भइरहेको साहित्यिक चौतारी नेपालका आगामी अङ्कहरू अझै स्तरीय र सङ्ग्रहणीय बन्दै जान सकून् भन्ने हार्दिक शुभेच्छा प्रकट गर्दछु ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो