विगत तीन वर्षदेखि सौतेलो बुबाले किशोरी छोरीलाई पटक–पटक बलात्कार गरेको घटना सतहमा आएको छ । वीरगंज महानगरपालिका–३ छपकैया निवासी १५ वर्षीया छोरीलाई उनका सौतेलो बाबुले पटक–पटक जबरजस्ती करणी गरेको खुलेको हो ।
सोमवार जिल्ला प्रहरी कार्यालय, पर्सामा उजूरी दर्ता भएपछि यो कुरा सतहमा आएको छ । किशोरीकी आमाले दोस्रो पतिले आफ्नी छोरीलाई ११ वर्षको उमेरदेखि नै निरन्तर बलात्कार गर्दै आएको जाहेरी जिप्रकामा दिएकी छन् । आफू दोस्रो पतिसँग छुट्टिएर बाहिर बसेको मौका छोपी उसले २०७७ वैशाखदेखि नै छोरीको निरन्तर बलात्कार गरिरहेको भन्दै उजूरीमा उल्लेख गरेको जनाइएको छ ।
पीडित किशोरीका सौतेलो बाबु यही वैशाखमा वैदेशिक रोजगारमा गएपछि छोरीले घटनाबारे जानकारी गराएपछि पीडितकी आमाले जोहेरी दिएको पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । “पहिलो पतिसँग सम्बन्ध विच्छेद भएपछि पीडित किशोरीकी आमाले दुईजना सन्तान लिएर विवाहित पुरुषसँग विवाह गरेकी थिइन्,” प्रनाउ गिरीले भने, “केही समय दोस्रो पतिसँग बसेपछि मनमुटाव भयो र जेठी छोरी (पीडित)लाई दोस्रो पतिकै घरमा राखेर उनी उक्त घरबाट निस्किइन् ।” सो मौकामा उसले अप्रिय कार्य गरिरहेको खुलेको पर्सा प्रहरीले जनाएको छ ।
सौतासँग उनको मनमुटाव भएपछि उनी जेठी छोरीलाई छपकैया घरमैं छोडी बाहिर डेरा गरी गुजारा गर्न थालेको बताएकी छन् । सोही समयको मौका छोपी सौतेलो बाबुले ११ वर्षको उमेरदेखि किशोरी छोरीको पटक–पटक बलात्कार गरेको पीडित किशोरीकी आमाले बताइन् । उनले आफ्नी छोरीलाई लिएर जान चाहे पनि आरोपितले आउन दिएको थिएन, प्रनाउ गिरीले भने । अहिले अभियुक्त विदेश गएपछि आमा र छोरी सम्पर्कमा आएपछि घटना बाहिरिएको छ । पीडित र अभियुक्त दुवै मुस्लिम समुदायका हुन् । पीडित किशोरी अहिले आफ्नी आमाको साथमा रहेको प्रनाउ गिरीले बताए ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय, पर्साले घटनाको बारेमा अनुसन्धान शुरू गरिसकेको र अभियुक्त अहिले बाहिर रहेकाले आवश्यक कानूनी प्रक्रियामा लागेको प्रनाउ गिरीले बताए । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलको सहयोगमा अभियुक्तलाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाउने पर्सा प्रहरीले जनाएको छ । अहिले पीडित नाबालिकाको मेडिकल जाँच गराइएको खुलेको छ ।