नेपाली फिल्ममा मधेशका कथा खासै समेटेको दिखिदैनं । दर्शक हसाउने मानसिक्ताले मधेशी चरित्रलाई फिल्ममा देखाइने गरिन्छ । त्यसैले होला नेपाली फिल्म मधेशमा फस्टाउन सकेको छैन । मधेशका हलमा भोजपुरी फिल्मले पाउने मायाले पनि त्यसलाई दर्साउँछ । मधेशका कथा भनिनुपर्छ भन्ने उद्देश्य बोकेर कान्सु जितेका अविनाशविक्रम शाह र अनुप पौडेलले 'टेल योर स्टोरी –मधेश च्याप्टर" शीर्षकमा पटकथा लेखन कार्यशाला आयोजना गरेका थिए ।
ग्लोबल मिडिया मेकर्स (फिल्म इन्डिपेन्डेन्ट), नेपालस्थित अमेरिकी दूतावास र शिक्षा फाउन्डेसन नेपालको सहयोगमा आयोजना भएको लघु फिल्म पटकथा लेखन कार्याशाला दुई चरणमा सम्पन्न भयो । पहिलो चरणको कार्याशालामा १७ महिलाले भर्चुअल कक्षा लिए । काठमाडौंमा आयोजित अन्तिम चरणको आवासीय कार्यशालामा भने ९ जना छनोट भए ।
कार्यशालाको अन्तिम दिन मधेशले भोगेको कथा/व्यथालाई स्क्रिनमा देखाउन सक्ने किसिमको तालिम आफूहरुले प्राप्त गरेको जनकपुरकी पुष्पा यादवले बताइन् । 'हामीले धेरै ठूलो उपलब्धि पाएको अनुभव गरेका छौं । मधेश प्रदेशकै महिलाहरु लक्षित गरेर यो कार्याशाला आयोजना गरिएको हो । म पहिला कलाकार । हामीले नाटक गर्दा अभिनय त गरिन्थ्यो । तर, त्यसलाई दृश्यलाई कसरी लेखिन्छ भन्ने कुरा यहाँ सिकेँ,' पुष्पाले भनिन्, 'पहिला त कथा मात्र लेख्न आउँथ्यो तर अब फर्म्याटमा लेख्न आउँछ । हाम्रो मधेश प्रदेशको आफ्नै कथा र आफ्नै व्यथाहरु छन् । त्यसलाई कतिले हेरेको छ, कतिले भोगेको छ । कतिले भोगेकै छैन, कतिले देखेकै छैन । ती कथालाई स्क्रिनमा कसरी ल्याउने भन्ने कुरा यो कार्यशालाले सिकायो ।'
पत्रकारितामै सक्रिय कविता खड्काले अनलाइन कक्षामै ुपटकथा लेखन र समाचार फरकु हो भन्ने बुझिसकेकी थिइन् । सुरुआतका दिनमा पटकथा लेखनलाई समाचार शैलीमै ढाल्दा आफूले निकै अभ्यास गर्नुपरेको कविताको अनुभव छ । 'मेरो लेखाइमा खासै समस्या देख्दिन थिएँ म । तर, मेन्टरहरुले त्यो पटकथाको शैलीमा छैन भन्दा तनाव हुन्थ्यो । त्यसैले रातदिन लेख्न थालें । बीचमा त कार्यशाला नै छाडौं कि भन्ने भयो,कविताले कार्यक्रममा आफ्नो अनुभव सुनाइन्, 'महिला पत्रकारहरुले भोग्नुपरेको समस्यामाथि मैले कथा लेख्ने प्रयास गरेकी छु ।
महोत्तरीकी आरती मण्डल यसअघि रेडियो पत्रकारितामा सक्रिय थिइन् । त्यहाँ नाटकको स्क्रिप्ट पनि लेख्थिन् । तर, 'कसरी लेख्नुपर्छु भन्ने भेउ पाउँदैन थिइन् । तर, कार्यशालामा सहभागी भएसँगै प्राविधिक पक्षलाई ध्यानमा राखेर पटकथा लेख्न सिकेको उनी बताउँछिन् । 'प्राविधिक पक्षलाई ध्यानमा राखेर कसरी पूर्ण पटकथा तयार पारेर स्क्रिनमा देखाउने भन्ने कुरा यहाँ सिक्यौं,' आरतीले भनिन् ।
पत्रकारितामै सक्रिय शुष्मा शर्माले पनि कार्यशालामा आएर दृश्यभाषाको प्रभावकारितालाई बुझेकी छन् । 'म प्रिन्ट मिडियामा काम गर्ने भएकाले लेखेर कथा बताउने काम गर्थें । तर, हाम्रो मधेश प्रदेशमा साक्षरता प्रतिशत कम भएका हुनाले मेरो समाचारको प्रभाव खासै देखिँदैन थियो । तर, भिजुअलाइजेसनले भने चाँडै प्रभाव पार्छ भन्ने कुराले यहाँसम्म डोर्यायो,' उनले भनिन्, 'पटकथा लेखनमा एक्सनलाई पनि मज्जाले लेख्नुपर्छ र त्यसले भिजुअलाइजेसन पनि प्रस्ट हुँदो रहेछ भन्ने सिकें ।'
पूजा यावदलाई भने यो कार्यशाला सुरुआतमा मधेशलाई लक्षित गरी आयोजना गरिने विकासे परियोजनाजस्तै लागेको रहेछ । तर, कार्यशालामा सहभागी भइसकेपछि पटकथा लेखनको महत्त्व बुझेको उनी बताउँछिन् । 'छिल्लो समय म एउटा फेलोसिपमा आबद्ध थिए । त्यहाँ मलाई मेरो समुदायको विषयमा सोधियो । मैले जानेको कुरा भनिदिएँ । उनीहरुलाई गुगलबाट केही पठाउँदिउ कि भनेर सोच्दा गुगलमा केही भेटिन । त्यो दिन मलाई लाग्यो, मेरो समुदायका कुरा भन्नलाई मैले कथा भन्ने शैली सिक्नैपर्छ,उनले भनिन्,'सीमान्तीकृत समुदायका लागि थुप्रै यस्ता तालिम, कार्यशाला हुनेगर्छ । मैले सुरुमा यो कार्यशालालाई त्यस्तै सोचें । तर, यहाँ हामीलाई मेन्टरहरुले मज्जाले सिकाउनुभयो । मधेशका महिलाहरुका लागि यस्तो कार्यक्रम गर्नु नै ठूलो कुरा हो । अब पक्का मधेशको कथामा फिल्म बन्छ । हामी ८ जनाको कथामा हामी फिल्म बनाउँछौं ।'
नेपाली फिल्ममा मधेशको'स्टेरियोटाइपु माथि हस्तक्षेप गर्न लेखकहरूको आवश्यकता रहेको मेन्टरमध्येकी लेखक आन्विका गिरी बताउँछिन् ।'नेपाली फिल्ममा मधेशको प्रतिनिधित्व कम छ । उनीहरुको कथा पनि कम छ । जुन भाष्य देखाइन्छ, त्यसलाई बदल्नका लागि ठूलो हस्तक्षेपको आवश्यकता छ । त्यो स्टेरियोटाइपलाई ब्रेक मधेशकै मानिसहरुले गर्न सक्छन्, उनले भनिन्,'तपाईंहरुले यो कार्यशालामार्फत यो मौका पाउनुभएको छ । मधेशका धेरै कथाहरु आउन आवश्यक छ ।'
निर्देशक नवीन सुब्बा कार्यशालामा सहभागी महिलाको काँधमा मधेशको कथा भन्ने जिम्मा परेको बताउँछन् । 'हलिउडमा करिब ७ प्रतिशत चरित्र एसियन मुलुकको बारेमा लेखिँदोरहेछ । लेख्नेहरू नै ४ प्रतिशत भएर भएर कम लेखिँदो रहेछ । हाम्रो सन्दर्भमा पनि यस्तै भयो । फिल्म क्षेत्रमा काम गर्ने मधेशका मानिस कम छन् । त्यसैले मधेशलाई सही तरिकाले प्रस्तुत गर्न सकेको छैन,' सुब्बाले भने, 'तपाईंहरुको कथा धेरैभन्दा धेरै ल्याउने जिम्मा तपाईंहरुमा आएको छ ।'
निर्देशक दीपक रौनियार कार्यशाला लिएकै आधारमा फिल्म बनाउन कठिन रहेको बताउँछन् । यस्तो कार्यशालाले फन्डिङ(लगानी) सम्मको व्यवस्थापनसमेतमा ध्यान पुर्याइदिनुपर्ने उनको धारणा छ । 'नवीन दाइले भनेजस्तै हलिउडले भर्खरै मात्र हो क्यामेरा पछाडि को(को उभिन्छ भन्ने कुरामा ध्यान दिन थालेको । आजसम्म पनि मधेशी कलाकारले प्रमुख भूमिका पाएको फिल्म बनाउन सकेका छैनौं हामीले । यस्तो अवस्थामा फिल्ममेकर आउनु, लेख्न सक्नु, आफ्नो कथा बुन्न पाउनु गाह्रो कुरा हो, 'भावुक हुँदै रौनियारले भने, 'यस्तो कार्यशालामा सहभागी हुनु राम्रो । तर, यहाँबाट फर्केर गएपछि फिल्म बनाउन सहयोग पाउनु गाह्रो छ । त्यसैले आयोजकले वर्कसप गर्ने घर पठाउने अनि सपोर्ट नगर्ने हो भने फिल्म आउँदैन । फिल्म क्षेत्रमा फन्डिङ हुँदैन, व्यक्तिगत प्रयासमा फिल्म बन्ने हो ।' सहभागीहरूले लेखेका तीन कथा छनोट गरी लघु फिल्म निर्माण गर्ने"टेल योर स्टोरी–मधेश च्याप्टरु को योजना छ ।