ध्वनि निशेधित क्षेत्र भनी वीरगन्ज महानगरपालिकाले पुष १७ गतेबाट लागु हुने गरी निकै तामझामका साथ घोषणा गरेको दुई महिना वितिसक्यो । तर व्यावहारिक रुपमा भने अझै यो नियम लागु भएको छैन । दैनिक हजारौं सवारी साधन गुड्ने वीरगन्जका सडकमा दिनभरी हर्नको कर्कस आवाजले कोलाहल मच्चाइ रहेकै छ । नगरवासी आहत भउकै छन् ।
सरकारी अध्ययनले वीरगन्जलाई ध्वनि प्रदुषण सर्वाधिक हुने शहरको रुपमा पहिचान गरेको छ । खाली सडक भए पनि २२० सिसीको पल्सर तथा एफ.जेड. र भारतीय नम्बरका बढि सिसी मोटरसाइकलहरु चर्को स्वर निकाल्दै गुडिरहेका छन् । बाँकी सवारीको कुरा पनि कम छैन । यसको अलावा ठूलो आवाज निकाले बजाउने साउण्डबक्स, डिजेहरुको त झन आततायी नै छ । यसमा प्रहरी प्रशासन र महानगरपालिकाले चुँ सम्म बोलेको आभाष जिल्लावासीले समेत गर्न पाएका छैनन् । जसले गर्दा सडकयात्री र स्थानीय मात्रै नभई सडक छेउका वासिन्दा अझ ध्वनि प्रदुषणबाट आजित बनेको बताउँछन् ।
साँघुरा सडकमा मात्रै होइन, खुल्ला सडकमा पनि हर्न बजाउँदै हुइकिन्छन् सवारीहरु पनि । स्थानीयलाई आजित बनाउने ध्वनि प्रदुषणमा बाहिरबाट आउने मानिस त अझ आत्तिन्छन् । बिना कारण चर्को हर्न बजाउनेहरुलाई कारवाही कसैले गर्दैन ? उनीहरुको एउटै प्रश्न छ ।
चर्को हर्न बजाउने संस्कृति भारतको विहारबाट भित्रिएको स्थानीयहरुको दावी छ । भारतको रक्सौल बजारमा वीरगन्जमाभन्दा बढि हर्न बज्ने गरेको उनीहरुको भनाइ छ । यसलाई रोक्न ट्राफिक प्रहरीसँगको सहकार्यमा महानगरपालिकाले रोक्ने प्रयास नगरी प्रचारबाजी मात्र गरेको नगरवासीको कडा दावी छ । स्थानीयका अनुसार नागरिकको चेतनास्तर नपुगेको र नियमनकारी नियकायको लापर्वाहीले वीरगन्ज र समग्र जिल्लामा नै ‘नो हर्न’ टार्इंफूई मात्र भएको उनीहरुको भनाइ छ ।
ध्वनि प्रदुषणको नियन्त्रणभन्दा ट्राफिक प्रहरीको ध्यान पार्किङमा चिट काटेर पैसा उठाउने तिर बढि केन्द्रित भएको मायस्थानका सुवाष रामले बताए । सवारी चालक मात्रै हैन, ठूला स्पीकरमा चलचित्रका प्रचार गर्ने, आयुर्वेदिक औषधिको विज्ञापन गर्ने रवैया पनि बन्द गर्नुपर्ने उनको सुझाव छ । चाड पर्व बिशेषमा त खुलेयाम अस्लिल गीतहरु बजाउँदै नगर हल्लाउने गरेको रामले बताए । सरस्वती पुजा जस्तो पवित्र पर्वमा त अस्लिल भोजपुरी गीतहरुले समाज नै ढाकेको हुन्छ । बाँकी के कुरा गुर्नु निराश हुँदै उनले भने ।
अहिले भारत र नेपालका विभिन्न कलाकारहरुले निर्माण गरेका अस्लिल गीतहरु ठूलो स्वरमा वीरगन्ज नगरको अधिकाँश भागमा गुन्जिरहेका हुन्छन् । विभिन्न पुजापाठ, शिवचर्चा, अष्ठजाम र यज्ञका कार्यहरु अग्लो घर, पोलहरु र गाउँघर तिर अग्ला रुखहरुमा समेत राखेको देखिन्छ । गीत बजाउनेदेखि भगवानको नाममा बजाइने ध्वनि प्रदुषणले धर्म संस्कृतिलाई नै भोली चुनौति नदेला भन्न सकिन्न स्थानीयले भने ।
नेपालको संविधान २०७२ ले हरेकको मौलिक अधिकार समेत सुनिश्चित गरेको छ । यो कुरालाई कत्तिको विचार पु¥याइएको छ ? प्रश्न गम्भिर छ । राज्यका नियमनकारी निकायहरु थोरै पनि सचेत छैनन् वीरगन्जको आदर्शनगरका व्यापारी जय प्रकाश अग्रवालले बताए ।
वीरगन्ज महानगरपालिका १० रानीघाट मन्दिर प्राड्डणमै अस्थायी प्रहरी चौकी छ । त्यही मन्दिरमै सधैं अष्ठजाम, पुजा, शिवचर्चा लगायतका कार्यहरु हुने गरेका छन् । त्यो पनि ठूलो स्पीकर छतको माथि राखेर । तर त्यहाँका प्रहरी भने टुलु टुलु हेरिरहेका हुन्छन् ।
ध्वनि प्रदुषणले आम मानिसलाई मानसिक रोगी बनाउने त छँदै छ यसको अलावा गर्भवती महिला, मुटु रोगी र आम विद्यार्थी, विरामी, बालबालिका, वृद्धवृद्धालाई साह्रै हानी गर्ने गरेको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्ड डा. एनामुल हकले भने । अत्यधिक ध्वनि प्रदुषणले रिंगटा लाग्ने, चिड्चिडाहट् हुने, कान कराउने, श्रवण क्षमता गुम्दै जाने, एकाग्रता नहुने जस्ता समस्या हुनेमा दुईमत नभएको उनको भनाय छ ।
मानिसको कानले २५ देखि ८० डेसिवलसम्म सजिलोसँग सुन्न सक्छ, तर प्रेसर हर्नले १२० देखि १५० डेसिवलसम्म आवाज दिन्छ । मुटुका रोगीहरुलाई प्रेसर हर्नले झनै असर गर्छ । यसबाट मुटुको धड्कन बढ्ने र रक्तकोषहरुमा असर गर्ने, चिड्चिडापन उत्पन्न हुने जस्ता समस्या हुने गरेको चिकित्सकहरु बताउँछन् ।
हर्न आतंकलाई रोक्न महानगरपालिका, ट्राफिक प्रहरी, प्रहरी प्रशासन र आम नागरिकले एकसाथ चासो देखाउनु पर्ने चिकित्सकहरुको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख राजकुमार सिंहले छिमेकी मुलुक भारत विहारका व्यक्तिहरु सधैं वीरगन्जमा बस्ने यताको नियम कानून थाहा नहुने र यताका पनि मानिसको चेतनास्तर सकारात्मक नुहुँदा ट्राफिक प्रहरी एक्लैले केही गर्न नसक्ने बताउँछन् । भारतको रक्सौलमा ठूलो स्वरमा हर्न बजाउने परम्परा नै छ । ति व्यक्तिहरु काम विशेषले वीरगन्ज आउँदा हर्न बजाई रहन्छन् । एक जनालाई सम्झाऔं । भोलि पुनः अर्को व्यक्ति आउँछ । समस्या जटिल छ, तर पनि ट्राफिकले आफ्नो काम छोडेको छैन उनले भने ।
ट्राफिक प्रहरीसँग जनशक्तिको कमि हुँदा ४६ जना ट्राफिक प्रहरीहरु मात्रै छ, जसमा १ जना पोखरीया नगरपालिका र १ जना पटेर्वासुगौली गाउँपालिकामा पठाइएको छ । ४४ जना वीरगन्ज महानगरमा छन् यो संख्या यो भिडका लागि पर्याप्त होइन ।
वीरगन्ज महानगरपालिकाले ध्वनि प्रदूषण मुक्त तथा नो हर्न भनी घोषणा त गरेको छ । तर, त्यो कार्यान्वयन हुन सक्ने अवश्थामा महानगरपालिका आफै विश्वस्त छैन । केवल प्रचारको लागि मात्र महानगरपालिका पनि कस्सिएको छ ड्यूटीमा खेटेका प्रहरीले भने । महानगरपालिकाका मेयर विजय सरावगी आम मानिसमा जनचेतनाको कमि छ भन्न पछि पर्दैनन् । तर, आम मानिसको चेतनास्तर उठाउनेभन्दा महानगरपालिकालाई घोषणा प्यारो छ ।
महानगरपालिकाका मेयर सरावगीले चुनाव जिते महायज्ञ गर्ने भित्री अठोट र भाकललाई साकार त पारे । तर करिब २ करोडको लगानीमा भएको गायत्री अश्वमेध महायज्ञका क्रममा पनि ठूलो स्पीकरको प्रयोग रोकिएन ।
बिहान पाँच बज्दा नबज्दै सवारी साधनको ‘ट्याँ ट्याँ टुँ टुँ’ आवाज घडीको सुई घुम्दै जाँदा झनै कर्कस बन्दै जान्छ । राति ८÷९ बजेसम्म शहरवासी थकित हुन्छन् । यो मुलुककै आर्थिक नगरीको रुपमा परिचित वीरगन्ज महानगरको नियति नै हो ।