मुलुकको हित, बाह्य हस्तक्षेपको कडा विरोध र नागरिकको सेवा तथा प्रतिष्ठाको लागि राजनीति गरिनु पर्छ, न कि आफ्नो सात पुस्ते स्वार्थको लागि क्रुर भ्रष्टाचारको चरम दल–दलमा फस्ने मात्र । यत्ति कुराको हेक्का राखेर राजनीति गर्ने हो भने जनताको साथ र मुलुकको भरोषा पाउन अन्य दशथरि स्टण्ट आवश्यक नै पर्दैन । न त मसलवाला बाहुबलीको घेरा भित्रमात्र रहिरहनु नै पर्छ । उक्त कुराको हेक्का नराखी नेपालका राजनीतिकर्मीले आफ्नो राजनीतिको नाममा रोटी सेक्ने गर्दा उनीहरुको प्रतिष्ठा र मुलुकको अवस्था समेत खस्किएको घामझैं छर्लङ्ग छ । यसमा कसैले फूर्ति नलगाए हुन्छ । आफ्नो गरिमा, दायरा, कार्यसम्पादनको ठोस अठोट उक्त कुराबाट प्रष्ट हुन नसक्नेले राजनीतिको नाममा लुटको लागि झोली भिरिरहनुको खास अर्थ छैन ।
काठमाण्डौका मेयर बालेन्द्र साह (बालेन) ले गरेका हरेक नयाँ कामले उनको मात्र होइन, मुलुकको हित, बाह्य हस्तक्षेपको विरोध र नागरिकको सेवा तथा प्रतिष्ठाको दरिलो आड पाएको छ । उनले भारतको हेपाहा प्रवृत्तिको सुरुदेखि साँकेतिक रुपमा विरोध मात्र गरेका छैनन् । भारतले छिमेकीहरु प्रति होच्याउने र खुम्च्याउने रणनीति लिए झैं त्यहाँको फिल्मी क्षेत्रको एउटा फिल्ममा नेपालीको प्रतिष्ठामा ठेस पुग्ने गरी नेपाली चेलीलाई भारतीय भनी होच्याएको कुरा प्रति कडा प्रतिकार गर्दै अन्ततः घुँडा टेकाएरै छोडेका छन् ।
नेपालली भूमि जनकपुरका राजा जनककी छोरी सीतामाता यहाँ जन्मिएको तथ्यलाई तोडफोड गरेर भारतकी छोरी भनी भारतीय चलचित्र आदिपुरूषमा संवाद राखेपछि मेयर बालेनले त्यो संवाद हटाउन चेतावनी नै दिएका थिए । यसमा नेपालका भारत परस्त नेताहरु ट्वाँ परिरहेको समयमा उनले त्यो फिल्मको तोडमोड सम्बाद नहटाए काठमाण्डौमा हिन्दी फिल्मलाई नै बन्द गरिदिने चेतावनी दिए । अन्ततः भारतीय सरकारको हेपाहा प्रवित्ति झै फिल्मी क्षेत्रबाट पनि हेपाहा शैली प्रस्तुत भएकोमा मेयर बालेनको कडा कदमपछि त्यो शैली लामो समय टिक्न सकेन । अन्ततः सो फिल्मले सो संवाद हटाएको भारतीय अखबारहरुमा नै आएको छ । यो कदममा बालेनलाई नेपालीले स्वालेट गर्नै पर्छ । मुलुकभर ७ सय ५३ पालिकाहरु रहे पनि अरु पालिकाका मेयर, अध्यक्षहरुले यस बिषयमा चुईंक बोल्न सकेका थिएनन् । बालेन जस्तो महानगरको प्रमुख पदमा आधादर्जन मेयर साहवहरु विराजमान छन् । सीतामाता जन्मिएको प्रदेशको एक मात्र महानगरका मेयरले समेत नेपालीको प्रतिष्ठामा आँच पुग्ने गरी सीता माताका बारे तोडमोड गरिएको संवादमा केही बोलेका थिएनन् । अरु महानगरका मेयर साहवहरुको त कुरै छोडौं । तर काठमाण्डौका मेयर बालेनको कार्यशैलीले उनीहरुलाई पनि पाठ सिकाएको छ ।
नेपाली भूमि कैद गरिएको भारतीय नक्सा भारतीय संसदमा भएको थाहा पाएर पनि नेपालका प्रधानमन्त्री त्यही पुगी चूँ बोल्न नसकी लुरुक्क फर्केर आएको समयमा बालेनले ग्रेटर नेपालको नक्का आफ्नो कार्यकक्षमा राखेर नेपाल सरकारलाई समेत नेपालको हैसियत के हो ? भन्ने सन्देश दिए । भारतलाई समेत एकै साथ त्यो सन्देश प्रवाह भयो । छिमेकीसँग कहिले लड्ने जुध्ने होइन । लड्नु जुध्नु पनि हुन्न । तर अति नभई अत्याचार नै गर्दा भने चुप बस्नुहुन्न भन्ने काठमाण्डौमा मेयरले प्रष्ट सन्देश दिएका छन् ।
यो कुरा नेपाली राजनीतिक वृत्तमा रहेर उच्च पद धारण गरेका मनुवाहरुको लागि गतिलो पाठ हो । पद, पावर र प्रतिष्ठाका लागि आफ्नो हित प्रतिकुल घुँडा टेक्नु हुन्न भन्ने नेपाल सरकार र ८ सय ८४ सांसदहरुलाई समेत चेतना भया ।