थोक बजारमा प्रतिकिलो ३५ रुपैयाँ रहेको प्याजको भाउ नयाँ बजेटले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरेसँगै दोब्बरले बढेको छ । सँगै आशङ्का उब्जिएको छ– उत्पादन हुने मुख्य मौसममै यसरी मूल्य चर्कंदा बेमौसममा प्याज किन्नै नसकिने गरी महँगिने त होइन ? आर्थिक वर्ष २०८०÷८१ को बजेटले आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न भन्दै आलु–प्याज जस्ता तरकारीमा भ्याट लगाएको हो । यसो गर्दा भारतीयका तुलनामा नेपाली उत्पादनको मूल्य प्रतिस्पर्धी हुने र किसानलाई यी वस्तुको उत्पादनमा प्रोत्साहन मिल्ने सरकारको दाबी छ । अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधि सभामा आलु–प्याजमा लगाइने भ्याट साना किसान र पसललाई नभएर ठूला व्यवसायमा मात्रै लागू हुने बताएका छन् । तर, व्यवसाय छुट्याउन नै चुनौतीपूर्ण रहेकाले कार्यान्वयन कसरी हुन्छ, प्रस्ट छैन । यसअघि अन्य खालका उपभोग्य वस्तुु र सेवामा सीमित भ्याट कृषि उपजमा पनि आएपछि मोल १३ प्रतिशतले बढ्ने निश्चित छ । भान्सामा दिनहुँ प्रयोग हुने प्याजमा नेपाल परनिर्भर छ, भारतबाट हरेक दिन ४७५ टन भित्रिन्छ । राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार प्याजको वार्षिक खपत हेर्दा आधाभन्दा केही बढी हिस्सा मात्र स्वदेशमा उत्पादन हुन्छ । वार्षिक माग चार लाख दुई हजार टन छ । अर्थात् हरेक घरपरिवारलाई भाग लगाउँदा वार्षिक ६० किलोका दरले चाहिन्छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालले रु.६ अर्ब ४४ करोडको (एक लाख ७३ हजार टन) प्याज आयात गरेको थियो । त्यसभन्दा अघिल्लो वर्ष २०७७÷७८ मा चार अर्ब ९६ करोडको एक लाख २८ हजार टन आएको थियो । थोरै परिमाणमा चीनबाट पनि आउँछ । केन्द्रका बाली संरक्षण अधिकृत तोयानाथ जोशीका अनुसार उष्ण हावापानी हुने तराईदेखि मध्यपहाडसम्मै खेती गर्न सकिने प्याज देशलाई पुग्दो उत्पादन आफैं गर्न नसकिने होइन । यसका लागि बीउ उत्पादनदेखि खेती र भण्डारणसम्मको तरीका सुधारिनुपर्छ । “उत्पादन आजको भोलि नै दोब्बर पार्न भने सकिंदैन,” उनी भन्छन् ।
असफल मिशन
प्याजमा परनिर्भरता नेपालमा विगतदेखि नै छलफलको विषय बन्दै आएको छ । आयात प्रतिस्थापन गर्न सरकारले २०६४ सालमै ‘मिशन प्याज कार्यक्रम’ घोषणा गरी उत्पादन बढाउने अभियान थालेको थियो । मधेश प्रदेशका सप्तरी, सिरहा, रौतहट, रुपन्देही, बारा, बाँके, बर्दिया, झापा सहितका जिल्लामा लागू गरिएको यो कार्यक्रमले बेमौसमी प्याज उत्पादन गर्ने सहितका लक्ष्य राखेको थियो ।
कुन जिल्लामा प्याजको उत्पादन कति ?
नेपालीको भान्छालाई स्वादिलो बनाउन हरेक दिन चार सय ७५ टन प्याज विदेशबाट भित्रिन्छ । किसानलाई उन्नत बीउबीजन, मल र सिंचाइमा अनुदानसम्मका प्रोत्साहन घोषणा गरियो । १८ हजार हेक्टर जमीनमा खेती बढाएर थप पौने तीन लाख टन प्याज फलाउने योजना थियो । तर, खेती थप दुई हजार हेक्टरभन्दा बढ्न सकेन । अन्ततः कृषि मन्त्रालय आफैंले यसलाई असफल कार्यक्रमका रूपमा स्वीकार ग¥यो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा नेपालमा दुई लाख ८९ हजार टन प्याज उत्पादन भयो । यो प्रतिहेक्टर १४ टनको उत्पादकत्व हो । तरकारी बाली विकास केन्द्रका प्रवक्ता डोलराज पाण्डे नेपालमा भने जति मात्रामा प्याज उत्पादन नहुनुमा झन्झटिलो खेती र फसल लिन लामो समय लाग्नुलाई मुख्य कारण बताउँछन् ।
प्याजको बेर्ना सार्दादेखि फसल लिनसम्म झन्डै ६ महीना लाग्छ, पानी र स्याहार पनि उत्तिकै चाहिन्छ । “अरू बालीबाट दुई पटक फसल आउने वेलामा प्याजबाट एक पटक मात्रै आउँछ । त्यसैले किसान यो बाली लगाउन उत्साही हुँदैनन्,” पाण्डे भन्छन् । अर्कातिर प्याजको मूल बीउ पनि भने जति पाइँदैन । प्याजको व्यावसायिक खेती बढाउन अहिले पनि उन्नत बीउको अभाव रहेको पाण्डेको भनाइ छ । प्याजको बीउ वर्षा याममा उत्पादन हुन्छ, तर यसका लागि पानी कम पर्ने क्षेत्र चाहिन्छ । देशको पूर्वी र मध्य क्षेत्रका तुलनामा मध्यपश्चिममा कम पानी पर्ने र हावापानी सुहाउँदो भएकाले रुकुमको तरकारी बीउ उत्पादन केन्द्र अन्तर्गत प्याजको बीउ उत्पादन गरिंदै आएको छ । केन्द्रसँग वार्षिक ३०० किलोसम्म मूल बीउ उत्पादनको क्षमता भए पनि त्यस अनुसार उत्पादन गर्न सकेको छैन । केन्द्रका प्रमुख रवीन्द्रप्रसाद यादवले गत आर्थिक वर्षमा ८० किलो बीउ उत्पादन गरिएकोमा यस वर्ष २०० किलो हाराहारी उत्पादन हुने अनुमान गरिएको बताए । तर, यति बीउ देशैभरि प्याज फलाउन पर्याप्त हुँदैन । नेपालमा निजी क्षेत्रले व्यावसायिक रूपमा प्याजको बीउ उत्पादन गर्दैन । प्रवक्ता पाण्डे ‘मिशन प्याज कार्यक्रम’ विफल हुनुुमा आफूलाई पुग्दो बीउ देशभित्रै उत्पादन गर्न नसक्नु र भारतले पनि नदिनु मुख्य कारण रहेको बताउँछन् । भारतले नासिक ५३ नामक बीउ तथा प्याज खेतीमा लाग्ने ढुसी नियन्त्रक निर्यातमा व्यवधान खडा गर्ने गर्छ । नेपालमा सामान्यतया मंसीर–पुसमा बेर्ना सारेर वैशाख–जेठतिर प्याजको गाना निकालिन्छ । त्यसैले यो वर्षमा एक बाली मात्रै हुन्छ । पाण्डे बेमौसमी खेतीका लागि उपयुक्त बीउ विकास गर्नै कठिन परेको बताउँछन् । धेरै उत्पादन दिने, रोगकीरा सहने उन्नत जातको बीउ विकास गर्न ‘प्योर लाइन’ (वंश) आवश्यक पर्छ जुन भारतले हत्तपत्त दिंदैन । “हाम्रोमा बीउ र प्याज उत्पादन सफल भए उनीहरूको बजार घट्ने हुँदा नेपालभित्रको अनुसन्धान र उत्पादनमा सजिलोसँग सघाउँदैनन्,” पाण्डे भन्छन् । प्याज बाली विज्ञ ईश्वरी गौतम पनि बेमौसममा फलाउन बीउ उत्पादन नै मुख्य समस्या रहेको बताउँछन् । प्याजको बजारीकरण र भण्डारणमा पनि समस्या छ । चैत–वैशाखमा उत्पादन हुने प्याजका गाना लामो समय भण्डारण गर्न कठिन छ । चिस्यान केन्द्रमा पनि लामो समय भण्डारण गर्न मिल्दैन । त्यसैले उत्पादनका वेला निकै सस्तो हुने प्याजको मूल्य भदौ–असोजपछि उकालिंदै जान्छ । यसकारण पनि बेमौसमी खेतीको प्रविधि फैलाउन बल गर्नुपर्ने बताउँछन्, प्याज बाली विज्ञ गौतम । उनका अनुसार चैत–वैशाखमा पनि भारतीय सस्तो लागतको उत्पादनसँग प्रतिस्पर्धा गर्नुपरेकाले किसानहरू प्याज खेतीमा उति आकृष्ट छैनन् । “जेठमा रोपेर मंसीरमा उत्पादन गर्ने प्रविधिले प्याजमा भारतीय निर्भरतालाई अन्त्य गर्न सक्छ । तर, भारतीय उत्पादनको लागत सस्तो रहेकाले नेपाली किसानले प्रतिस्पर्धा गर्नै सक्दैनन् । त्यसैले लागत सस्तो बनाउने उपाय खोज्नुपर्छ,” उनी भन्छन् ।
पुरानो बाली
प्याज शुरूमा इसापूर्व ५००० तिर मध्यएशियाका इरान, अफगानिस्तान, पाकिस्तान क्षेत्र वरपर उत्पत्ति भएको मानिन्छ । खेती चाहिं करीब दुई हजार वर्षअघि मिश्र (अहिलेको इजिप्ट)बाट शुरू भएको ठानिन्छ । मिश्रको पिरामिड बनाउने मिस्त्रीहरूलाई प्याज खुवाइएको अड्कल गरिंदै आएको छ । नेपालमा प्याजखेती कहिलेदेखि हुन थाल्यो, प्रस्ट छैन । तर, बाहुनका भान्सामा ‘लसुन–प्याज निषेध’ हुनुले शुरूमा यसको उत्पादन र प्रयोग अन्य जातिले गरेको बुझिन्छ । एकदलीय, परसेचित यो बाली अहिले देशको तराईदेखि पहाडसम्म करीब २० हजार हेक्टरमा खेती हुन्छ । हिमाली जिल्ला मनाङमा पनि फलेको पाइन्छ । तराई, भित्री मधेश, उपत्यका र पहाडी क्षेत्रमा प्याजको खेती राम्रो हुन सक्छ । हिउँदमा खेती गरिने प्याजका गाना सप्रिन तापक्रम, प्रकाश तथा दिनको लम्बाइको विशेष भूमिका हुन्छ । बिहानैदेखि घाम लाग्ने ठाउँमा सप्रिने प्याजका लागि १२ देखि २५ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ । पानी लाग्ने हलुका र मलिलो दोमट माटोमा हुने प्याजको बोट बढ्नभन्दा गाना लाग्न बढी तापक्रम चाहिन्छ ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो