वीरगंज महानगरपालिकाको वडा नं–८ मा २ सय घरघुरी दलित समुदायका मानिसहरु बसोबास गर्छन् । ति समुदायका महिलाहरु प्राय अशिक्षित नै छन् । एका दुई घरका महिलाहरु घरमा नै बस्ने गरेका छन् । तर अधिकांश महिलाहरु दिनभर माडवारी समुदायका घरमा गएर घरेलु कामकाज गर्ने गरेका छन् । एका दुई महिलाहरु गाई पालन गरी दुध बेचेर आफ्नो घरखर्च गर्ने गरेका छन् ।
त्यस्तै पशुपालन गरेर घरको खर्च जुटाउने गरेकी महिला मध्यकी बचिया देवी भन्छिन् : पहिला देखि नै गाई पालेर नै घरको खर्च जुटाउदै आएको हो । यो वर्ष महानगरले पशुलाई छाडा छोडेर चराउन नपाउने र ५ हजार सम्म जरिवाना गर्ने निर्णय गरेपछि गाईको संख्या पनि घटाउन परेको छ । पहिला ३ वटा गाई थियो ।
दुध बेच्दा आम्दानी पनि बढी नै हुन्थ्यो । अहिले १ वटा मात्र गाई छ । २/३ लिटर दुधबाट कति नै आम्दानी हुन्छ । एउटा छोरोले मात्र कमाउँछ मेलै ३ वटा गाईको दुध बेचेको पैसाले घरखर्चमा ठूलो सहयोग पुगेको थियो । पढेको पनि छैन, अरु काम गर्न पनि कुनै सीप छैन । गाईलाई बाधेर घरमा राख्ने ठाउँ नभएर दिनभर अर्काको जग्गामा बाध्नुपरेको छ । छोरी,बुहारी पनि कुनै काम नभएर घरमा नै बस्नु परेको छ ।
यसै वडाका बसोबास गर्ने दलित महिला संघ,पर्साका अध्यक्ष निला राम भन्छिन् ः हाम्रो दलित समुदायका महिलाहरुमा रोजगारीको ठूलो समस्या छ । पहिला हाम्रो वडाका दलित महिलाहरु पशुपालन गरी दुध बेचेर आफ्नो जीवनयापन गरेका थिए । वीरगंज महानगरले पशुलाई बजारमा छाडा छोडे ५ हजार जरीवाना गर्ने निर्णय गरेको छ । दलित समुदायका बस्तीमा पशु बाधेर पाल्न, पशुलाई गोठ बनाउने जग्गा छैन । महानगरको निर्णय संगै धेरैले आम्दानीको स्रोत गाई नै बेच्न बाँध्य भएका छन् । कतिपय महिला बेरोजगार भई न्यून तलबमा घरेलु काम गर्न पनि जान बाध्य भएका छन् ।
विभिन्न सीप भएका महिलाहरु भएर पनि अन्य काम गर्न जाने गरेका छन् । सिलाइ कटाइ,अगरबत्ती, अचार बनाउने सीप भएका महिलाहरु पनि संघ–संस्थाले तालिम मात्र दिने बजारीकरणको लागि कुनै व्यवस्था गर्न सकेका भने छैनन् । भने दलित समुदायका महिलाहरु पनि आफ्ना समस्या सम्बन्धित निकाय सम्म पु¥याउन पनि सकेका छैनन् ।
हरेक वर्ष दलित समुदायकोलागि बजेट छुट्याइन्छ तर ति रकम कनिका छरे जस्तै कहाँ छरिन्छ थाहा नै हुदैन । केन्द्र,प्रदेश र स्थानीय तिनै तहको सरकारले दलित महिलाहरुको उत्थानको लागि कुनै दिगो विकासका योजना ल्याएको छैन । सीप सिकाएर छाडिदिदाँमात्र महिलाको विकास हुन नसक्ने सम्बन्धित निकायले बजारीकरणको लगि पनि सहयोग गर्नुपर्ने दलित महिला संघ,पर्साको अध्यक्ष रामले बताइन ।
वीरगंज वडा नं–८ का वडाध्यक्ष रितेश कुमार गुप्ता भन्छन् ः पहिलाका वर्षहरुमा दलित महिलाहरुको लागि सिलाइ कटाइ, अगरबत्ती तालिम,अचार बनाउने तालिम, डल बनाउने तालिम दिएको जानकारी पाए । दलित समुदायको महिलाहरुको परिवर्तन र जीवनयापनकोलागि सीपले मात्र संभव भएको छैन् । म जनप्रतिनिधी भएर आएपछि मैले कुनै किसिमको तालिम दिएको छैन् । कस्तो तालिम दिदाँ उनीहरुको व्यवसायीकरण गर्न सकिन्छ । अहिले हामी अनुसन्धानमा नै लागिरहेका छौं ।अहिले हामीले दलित समुदायमा सरसफाई कार्यक्रम ल्याएका छौं । त्यसको जिम्मेवारी पनि दलित महिला संघलाई नै जिम्मा दिएको छु ।
दलित समुदायमा मानिस बस्ने ठाउँ नै छैन भने पशुपालन गर्ने त सम्भब नै छैन् । दलित समुदायका महिलाहरुले पशु पालन गर्ने हो भने समुह बनाएर वडामा आए हामी भाडामा जग्गा उपलब्ध गराई सहयोग गछौं ।