सरकारले चुरे क्षेत्रको उत्खनन् गरी भारतलाई माटो,बालुवा,ढुङ्गा दिने कुरामा चर्चा परिचर्चा चलिरहेको छ । अहिलेको विषम परिस्थितिमा तराईका भू–भागहरुमा पानीको धेरै हाहाकार मच्चिएको छ । तराईको मुख्य पानीको स्रोत मानिने चुरे भावर क्षेत्रमा नै दोहन कार्य भएमा आगामी दिनहरुमा तराई क्षेत्रमा कस्ता समस्या आउने छन् ? भन्ने विषयमा लिएको प्रतिकृया :
नेपालको भूगोलको बनोट माथि हिमाल,पहाड,महाभारत ,चुरे र तल्लो सतहमा समथर भू–भाग छ । महाभारत पर्वत श्रृखला र चुरे पर्वत श्रृखलामा भूस्खलनहरु ज्यादा भए भने तराईका कुनै पनि भू–भागहरु उब्जाउ योग्य रहन सक्दैन मरुभूमिमा परिणत हुन सक्छ । बालुवा,गिट्टी,ढुङ्गा निरन्तर खोलाबाट निकाल्न थालियो भने खोला चुरे साइड तिर गहिरो हुन्छ । वन फडाँनी भैरहेका छन् । वनमा पुराना रुखहरु काटिएको छ । नयाँ वनमा वर्षातमा पानीले बगाएर ल्याएको बालुवा,गिट्टी,ढुङ्गालाई रोक्न सक्ने बिरुवाहरुको जरा मोटामोटा भैसकेका छैनन् । जसले बालुवा,गिट्टी,ढुङ्गालाई रोक्न सकोस् । एकातिर वृक्षारोपणको कमजोर अवस्था, अर्कोतिर निरन्तर रुख कटानको अवस्था र बालुवा,गिट्टी,ढुङ्गाहरुको निरन्तर दोहन हुने हो भने सदै भरी सुख्खा याममा पनि भूस्खलनहरु हुन सक्छ । खोलाहरुमा अनियन्त्रित बाढीहरु आउन सक्छ । चुरेका बालुवा र गिट्टीहरु तराईका खाँचहरुमा गएर बसिदिन्छन् । मुलूकमा एकत त्यसैपनि उत्पादन ह्रास भैरहेको छ । निरन्तर रुपमा बालुवा,गिट्टी र ढुङ्गाहरु बेचबिखन गर्ने हो भने दीर्घकालिन रुपमा मुलूकलाई वनझर भूमि बनाउन सक्छ । हरेक २÷४ किलोमिटर र १० किलोमिटर भित्रमा ठूला र साना गरेर तराईतिर बग्ने थुर्पै खोलानालाहरु छन् । महाभारत र चुरे तराईको पानीको मूल स्रोत हो । तराईका हिजोका दिनहरुमा २० फिटमा पानी आउथ्यो । अब त्यो २० फिटको ठाउँमा क्रमशः एक सय पच्चिस,एक सय चालिस र एक सय पचास फिटमा पानी आउथ्यो । भने अहिले दुई सय पचास फिट भन्दा कममा वीरगंका जनतले पानीको अपेक्षा नै नगरे हुन्छ । अहिले वीरगंज महानगरपालिको साढे चार सय फिट गहिरो बोरिङ्ग गरेर पानी खुवाउदै छ । अहिले हाम्रो पानीको सतह २ सय ५० फिट भन्दा तल गएको छ । यसरी पानीको स्रोत दबिएर जानुमा रुख बिरुवाको कटान र चुरे पर्वतबाट बग्ने खोला, नदीहरुको बालुवा,गिट्टी र ढुङ्गाहरु निरन्तर दोहन नै हो । त्यसैले यो मुलूकलाई वनझर हुनबाट जोगाउने हो भने वृक्षरोपणलाई ध्यान दिनुपर्छ । महेन्द्र राजमार्गदेखि उत्तर कुनै पनि खोलाहरुमा बलुवा,गिट्टी र ढुङ्गाहरु निकाल्न दिनु हुदैन । क्रसरहरु संचालन गर्न दिनु हुदैन । यदी यि क्रियाकलाप हुन दिने हो भने तराईका जमिन वनझर हुनबाट कसैले रोक्न सक्दैन । तराई सुनको टुक्रा भन्थे । तराईको भु–भाग भोलीका दिनमा काम नलाग्ने हुन सक्छ ।
तराई पनि चुरेको नै भू–भाग हो । तराईमा अहिले सम्म जति पनि पानीको सतह छ । चुरे भावरको वन,मैदानको संरक्षणले गर्दा आईरहेको हो । अहिले चुरे भावरको नदीबाट बलुवा,गिट्टी र ढुङ्गाहरु बेच्ने कुरा चलिरहेको छ । तर उत्खनन् गर्दा संरक्षित गरेर बिक्री गर्न पाए राम्रो हुने थियो । यहाँ हामी ठेकेदारलाई जिम्मा दिन्छौ । दिएको भन्दा १० औं गुणा बेचिरहेका हुन्छ । पुलको वरिपरि कति मिटर वरपरबाट बालुवा, गिट्टी र ढुङ्गाहरु झिक्न नपाउने,खोला बगिरहेको ठाँउबाट मात्र बालुवा बेच्ने भनिएको तर यहाँ खोलामा नै पानी नै नभएको बेलामा बेचिरहेका छन् । यो सबै कारणले गर्दा भू–क्षय हुने, पानीको तहहरु सुक्ने,वन्यजन्तुहरु मर्ने,रुख बिरुवाहरु सुकेर जाने प्राकृतिक अप्राकृतिकमा बदलिदा खेरी हाम्रो जीवन स्तरमा नकारात्मक प्रभाव पर्न जान्छ । अहिले पानीको सतह सुक्दै जानु, वनजंगलहरु विनास हुदै जानु, खेतीको जमिनहरु ह्रास हुर्दै गएको छ । प्राकृतिको देन हो ढुङ्गा,माटो आफू भन्दा बाहिरलाई बेच्नु ठिकै हो । त्यसको पनि वैज्ञानिक पद्धति हुन्छ । त्यो पद्धति मापदण्डलाई अवलम्बन गरेर जादाँ राम्रो नै हुन्छ । मापदण्ड गरेर ठेकेदारलाई दिन्छौं । ठेकेदारले त्यो मापदण्डलाई बिर्सन्छ । यसको पनि प्राकृतिक प्रभावहरु नकारात्मक परिरहेको हामी महसुश गरिरहेका छौ । यसलाई सरकारले वृहत गरेर प्रक्रियागत गर्न सक्यो भने राम्रो हुन्छ । खोलानालाको प्राकृतिक ढुङ्गा,माटो, बालुवाहरु,पानीहरु बेच्नु भनेको भोली गएर ठूलो प्राकृतिक संकट पर्नु जस्तो लाग्छ ।
सरकारले चुरे क्षेत्रबाट ढुङ्गा,बालुवा र गिट्टी खेर गैरहेको अवस्था पनि छ । त्यसलाई सदुपयोग गरेर बिक्री गर्ने वा भारततिर पठाउने सरकारको नीति नियम छ । त्यसको दुई वटा पहलो छ । जुन खेर गैररहेको छ । सरकारी नियम, कानुनको स्तरबाट राम्ररी व्यवस्थापन गर्न सक्ने हो भने खेर गैरहेको जमिनलाई व्यवस्थित गरेर वर्षातको बेलामा नदीले आफ्नो छेउछेउमा बालुवाहरु थुपारेको व्यवस्थित गरी नेपालको उपभोक्ताको निर्माणकोलागि,भारतिय क्षेत्रको निर्माणकालागि एक हिसाबले सकारात्मक पनि हो । हाम्रो नेपालको नियम कानुन जसरी फितलो छ । त्यसको बाहानामा बिक्री गरेर, भष्टचार गरेर नियम पालनको धजिया उडाउदै चुरे क्षेत्रलाई दोहन गर्ने प्रवृति छ । यदी हावी हुने हो भने चुरे क्षेत्रमा बसोवास गर्नेहरुको लागि,चुरे क्षेत्रको दक्षिणतिर रहेको हाम्रो समथर भू–भाग तराई क्षेत्रमा बसोबास गर्नेहरुको लागि नराम्रो प्रभावको रुपमा अहिले पनि हामीले भोगिरहेका छौं । डेढ महिना देखि पानी परेको छैन । रुख बिरुवाहरु विनास भैरहेका छन् । ढुङ्गा,बालुवा र गिट्टीका नाममा दुई नम्बरका कारोबार गर्ने, लाइसेन्स भए नभएका अनुगमन फितलो भएका कारणले दिनै दोहन भैरहेको थियो । यो क्रममै दोहन कार्य हुने हो भने आउने बिस वर्ष पछि मरुभूमिमा जाने कुनै शंका नै छैन । त्यसैले वातावरण,मौसम परिवर्तन, पानी नपर्ने र तापक्रम बढ्ने घट्ने हिसाबले मानिसको जिवनमा नकारात्मक प्रभाव पर्दै गइरहेको छ । त्यस कारण स्रोतहरुको प्रयोग नै गर्नु हुदैन भने होइन् । अनुगमन गरेर नियम पालना गराउन सकेमा सरकार, उपभोक्ता,पर्यावरणमा पनि फाईदा पुग्छ । यस प्रति सरकार सचेत हुनुपर्दछ ।
सरकारले चुरे क्षेत्रको बालुवा,गिट्टी,ढुङ्गा भारत सरकारलाई दिने चर्चा चलेको छ । यो सरकारको लागि आम्दानीको स्रोत मानेको छ । तर हामी तराईका जनताहरुको लागि फाईदाजनक छैन् । नदीबाट ढुङ्गा,बालुवा र गिट्टी झिक्नु भनेको नदी उत्खनन हुनु हो । नदी उत्खनन हुदाँ खाल्डो धेरै बन्छ । त्यहाँको माटो पनि खुकुलो हुन्छ । वर्षातमा परेको पानीले खुकुलो माटो बगाएर लैजाने गर्छ । ति माटो,बालुवा तराई समथल उर्बराभूमिमा गएर थुप्रिन्छ । जसको कारण खेतमा लगाएका बालीनाली पनि नोक्सान हुन्छ । बिस्तारै खेतियोग्य जमिनमा उत्पादनमा ह्रास आउँछ । चुरे क्षेत्रमा पनि बाढी,पहिरो आउने र त्यो भागको भू–क्षय हुन्छ । ढुङ्गा,बालुवा र गिट्टी बिक्री गरेर सरकारको ध्यान आम्दानी बढाउने तर्फमात्र गएको छ । तर त्यसबाट तराईमा बसोबास गर्ने जनताको लागि पर्ने असरको बारेमा कुनै चिन्ता नभएको देखिन्छ । सरकारले क्षणिक फाईदा सोचेर काम नगरोस् । दिगो रुपमा आम्दानी हुने स्रोतको पहिचान गरेर त्यसको दीर्घकालिन रुपमा पार्ने असरको बारेमा पनि जानकारी लिओस् ।
नेपाल सरकारले चुरे क्षेत्रको ढुङ्गा, माटो, गिट्टी र बालुवा भारतलाई बिक्री गर्ने योजना बनाईरहेको छ । तर यो हामी तराईका जनतालाई राम्रो काम भने होइन् । वर्षातको समयमा परेको पानी चुरे क्षेत्रमा उत्खनन गरेको भागको माटो,बालुवा,ढुङ्गा,गिट्टी बगाएर लैजान्छ । तराईका कृषि योग्य खेतहरुमा लगेर थुपार्छ । उब्जाउ योग्य जमिन पनि मरुभूमि बन्छ । तराईको पानीको स्रोत चुरे भावर नै हो । चुरे क्षेत्रमा भएको विनास र असरले तराईको पानी लगायत हरेक क्षेत्रमा प्रभावित हुने भएकाले सरकारले यस्ता कामहरु गर्न ध्यान दिनुपर्छ ।
अहिलेको स्थितिमा खानेपानीको धेरै ठूलो समस्या देखिएको छ । लामो समय देखि पानी परिरहेको छैन । हामी धेरै दुःखले पानी खाइरहेका छौं । सरकारले चुरे क्षेत्रमा रहेको नदी नालाबाट ढुङ्गा, माटो, गिट्टी र बालुवा दिने जुन चर्चा चलिरहेको छ । यो सरकारको लागि राम्रो होला तर हामी जनताको लागि भने राम्रो होइन । सरकारले यो विषयमा गम्भिर भएर सोच्नु पर्छ । देशको आय स्रोत बढाउने भनेर जनतालाई दुःख दिने काम गर्नु भएन । सरकारको यो कामले तराईको जनताहरुमा धेरै समस्याहरु उत्पन्न हुन्छ । चुरे क्षेत्रमा हुने उत्खननले चुरे क्षेत्र लगायत तराई क्षेत्रमा धेरै ठूलो समस्या उत्पन्न हुन्छ । त्यसैले यस्ता कार्यहरुमा सरकारले ध्यान दिनुपर्छ ।