१) ई–रिक्सा चालक कहिले देखि बन्नुभयो । महिला चालक हुदाँ के –कस्ता समस्याहरु आएका छन् ?
वि. स. २०७२ साल बाट म ई–रिक्सा चलाउन थालेकी हो । सुरुवातमा मैले रिक्सा चलाउँदा वीरगंजमा १० वटा मात्र ई –रिक्सा थिए । म एक जना महिला ई–रिक्सा चालक थिए । खासै पुरुष चालकहरु सँग प्रतिस्पर्धा थिएन । हाल सयौँ ई –रिक्सा र अटो वीरगंजमा चलेका छन् । म एक महिला सयौँ पुरुष चालकहरु सँग प्रतिस्पर्धा गररे ई–रिक्सा चलाउनु पर्छ । आफ्नो रुट बाहेक अन्य रुटमा ई–रिक्सा चलाउदाँ ट्राफिकले फाइन काट्ने गर्छन् ।
२) ई–रिक्सा चालक बन्ने प्रेरणा कसरी पाउनुभयो ?
ई–रिक्सा चालाउनु अघि म नेशनल मेडिकल कलेज र माइस्थानको सहकारीमा काम गर्थे । २०७२ सालको ७ महिने लामो बन्दी भन्दा दुई महिना अघि ई–रिक्सा किनेको थिए । घरमा बसेका बेरोजगार भतिजालाई ई–रिक्सा चलाउन दिए । भतिजाले केही महिना ई–रिक्सा चलाए अनि मलाई नै फिर्ता गरे । घरमा ई–रिक्सा राखेर आफु अर्काको संस्थामा काम गर्न जाँदा मनमा चस्का पस्यो । तब आफै सिकेर ई–रिक्सा चलाउने आँट गरेकी हो । आफ्नो लगानीमा ई–रिक्सा किनेर दिदाँ पनि भतिजाले नचलाएर दिएको धोका नै मेरो ई–रिक्सा चालक बन्ने प्रेरणाको स्रोत बन्यो ।
३) ई–रिक्सा चालक बन्न परिवार बाट के कस्तो साथ सहयोग पाउनु भयो ?
सुरुवातमा श्रीमान र परिवारले ई–रिक्सा चलाउनु पर्दैन भन्नु भएको थियो । अरुको काम गर्न जानु भन्दा आफनो ई–रिक्सा सिकेर आफै चलाउछु भनेर श्रीमान सँग धेरै जिद्धि गरे । ई–रिक्सा बस पार्क लगेर दुई दिन श्रीमान आफैले चलाउन सिकाइ दिनु भयो । श्रीमानको सहयोग बाट नै म सफल चालक बने ।
४) ई–रिक्सा बाट मासिक कति आम्दानी हुन्छ ?
ई–रिक्साको ब्याट्री नयाँ हुदाँ दैनिक १२ देखि १५ सय सम्म आम्दानी हुन्छ । ब्याट्री पुरानो हुदाँ ८ देखि १२ सय सम्म दैनिक आम्दानी हुन्छ । लगभग ब्याट्री नयाँमा मासिक ४० हजार र पुरानो ब्याट्री बाट मासिक ३० हजार आम्दानी हुन्छ । नयाँ ब्याट्रीमा ई–रिक्सा छिटो चल्छ ब्याट्री पुरानो हुदाँ ढिलो चल्छ । ब्याट्रीमा एक वर्षको वारेन्टी हुन्छ । एक वर्ष भित्र समस्या आएमा साटन् पाइन्छ । ई–रिक्सा ब्याट्री बाट चल्ने र ब्याट्रीको क्षमताले नै आम्दानी घटबढ हुने गर्छ । मासिक ३० हजार आम्दानी हुन्छ । त्यस बाट घर खर्च पुगेको छ ।
५) महानगरपालिकाको माताहतमा ई–रिक्साहरु सञ्चालन भएका छन् । महिला चालकको हौसियतले पालिका बाट के सहयोगको अपेक्षा राख्नु भएको छ ?
तीन वर्ष देखि महानगरपालिकामा ई–रिक्सा दर्ता गरी रुट परमिट लिएका छौ । अहिले नविकरण गरेर रुट परमिट लिनुपर्छ । जुन रुट घण्टाघर देखि मितेरी पुल सम्मको हो । ई–रिक्सा चालक सबै असल छन् भन्ने छैन् कोही खराब पनि छन् । प्राय म भन्दा जुनियर चालकहरु छन् तर पनि महिला भनेर हेपेर बोल्ने गर्छन् । अहिले त झनै ट्राफिकले नियम कडा गरेका छन् । रुट विपरित सवारी साधन चलाउँदा फाइन तिर्नु परेको छ । पुरुष ई–रिक्सा चालकको भिडमा बसेर आफ्नो पालो पर्खनु पर्दा झनै कठिन महशुस भएको छ । महानगपालिकाले महिलाको चालकको हितमा सहयोग गर्न चाहन्छ भने वीरगंज नगर भित्र सबै रुटमा ई–रिक्सा चलाउन सक्ने वातावरण मिलाइ दिओस् भन्ने अपेक्षा गरेकी छु ।
६) तपाइले चालक पेशा रोज्नु भयो । कतिकोे सन्तुष्ट हुनुहुन्छ ?
धेरै दिदी बहिनीहरु रोजगारको लागि विदेश जानु भएको छ । धनको लोभमा परेर विदेशिदा खाडी मूलुकहरुमा धेरै दिदी बहिनीहरुको ज्यान समेत गएको छ । कतिपय महिला दिदी बहिनीहरु लाई गर्भवती बनाएर आफ्नो देशमा पठाइ दिएका पनि छन् । सयौँ पुरुषको चालकको भिडमा एक महिला ई–रिक्सा चालक भएर काम गर्नु ठूलो चुनौती नै छ । विदेशमा भोग्ने यातना भन्दा स्वदेशमा भोगेका दुःख पनि सहज नै महशुस हुने रहेछ । महिला दिदी बहिनीहरु ३० देखि ४० हजार कमाउन खाडी मूलुक जानु भएको छ । म आफ्नो देशमा परिवार संग घरमा बसेर मासिक ३० देखि ४० हजार कमाएको छु । म आफ्नो पेशामा खुशी र सन्तुष्ट छु ।
७) तपाइ मधेशमा सात वर्ष संघर्ष गरी सफल चालक बन्नु भयो । संघ–संस्थाको सहयोग पाउनु भएको छ ?
नगरपालिका बाट कारोना सुरुवात हुनु भन्दा अघि नारी दिवसको अवसरमा घण्टाघरमा सम्मान कार्यक्रम छ भनेर फोन गरेर बोलाउनु भएको थियो । कोरोनाको कारण पछि कार्यक्रम स्थगित भएको जानकारी नगरपालिका बाट पाए । र्र्आिर्थक सहयोग कुनै पनि संघ–संस्था बाट पाएको छैन । २०७८ सालमा मुर्ली सामुदायिक सेवा केन्दले कार्यक्रम राखी सम्मान गरेको हो ।
८) अन्त्यमा महिला दिदी बहिनीहरु लाई के भन्न चाहनु हुन्छ ?
कुनै पनि काम गर्न सजिलो छैन । आ–आफ्नो क्षेत्रमा कठिन छ । पहिला मैले पनि अर्काको संस्थामा काम गरेको हो । सीप सिकेर ई–रिक्सा चलाउन थाले पछि प्रशस्त आम्दानी भएको छ । महिला दिदी बहिनीहरु ई–रिक्सा सिक्ने इच्छा छ भने म संग सम्पर्क गर्नु होस । बिहान १,२घण्टा समय मिलाएर ई–रिक्सा चलाउन सिकाउछु । ब्याट्री चार्ज गर्न रु. १००मात्र लाग्छ त्यो बाहेक अन्य कुनै शुल्क लाग्दैन । छोटो समयमा धेरै धन कमाउने मनसायले खाडी मुलूकमा गएर दुःख, यातना भोग्नु भन्दा सीप सिकेर आफ्नो देशमा नै बसी आयआर्जन गर्नु राम्रो हो । परिवारको साथमा आनन्द ,खुशी भएर कमाउन सकिन्छ ।