वीरगंजको माईस्थानमा अवस्थित गहवामाई माताको स्थापना शदिऔं वर्ष पूरानो हो । लामो इतिहास बोकेको यो मन्दिरको नयाँ संरचना बनेको भने ११ बर्ष पूरा भएको छ । सोही अवसरमा यो पटक गहवामाई माताको ११ औं वार्षिकोत्सव भव्य रुपमा मनाइएको छ । नगरवासीलाई अचम्मित नै लाग्ने गरी गहवामाई माताको ११ औं वार्षिकोत्सवमा ध्वजापताका सहित रथयात्रा निकालिएको हो । अब यसले निरन्तरता पाइरहने गहवामाई रथयात्रा आयोजक समितिले जनाएको छ । गहवामाईको ११ औं वार्षिक उत्सवमा निकालिएको रथयात्रा कस्तो रह्यो भन्ने सन्दर्भमा स्थानीयसँग लिएको प्रतिकृया :
वीरगंजमा गहवामाईमाताको पहिलो पटक रथयात्रा निकालिएको छ । हामी वीरगंजवासी धेरै नै खुशी छौं । गहवामाईको मन्दिर हजारौं वर्ष पुरानो भए पनि आजसम्म यसरी यसको बार्षिकोत्सव भव्य रुपमा मनाइएको थिएन । इतिहास धेरै लामो भएको यो गहवामाईको नवनिर्मित मन्दिरको स्थापनाको ११ औं बर्ष भूरा भएको अवसरमा रथयात्रा निकालिएको हो । असंख्य भक्तजनहरु वीरगंज नगर र गहवामाईको प्राङ्गणमा उपस्थिति भए । केवल पर्साका मात्र नभई नेपालका विभिन्न जिल्ला र भारतबाट पनि रथयात्रामा दर्शनार्थी र भक्तजन तथा शुभचिन्तकहरुको सहभागी भएको पाइयो । यो रथयात्रा पहिलो पटक भए पनि स्वयम सेवक र समितिले कुनै कमी हुन दिएनन् । असार महिनामा हिन्दु सनातन धर्मावलम्वीहरुको गुप्ता नवरात्रको समय पनि हो । यसै समयमा भगवतीको पुजा आराधना पनि गरिन्छ । मठ–मन्दिरको नयाँ निर्माणको प्राण–प्रतिष्ठा पनि गुप्ता नवरात्रमा नै गरिन्छ । यसै अनुरुप गहवामाईको रथयात्रा पनि यहि महिनामा निकाली पूण्यको काम भयो ।
गहवामाई माताको पहिलो पटक भएको रथयात्रा भव्य रह्यो । माताको आस्था प्रति भक्तजनमा धेरै ठूलो लहर रहेको पाइयो । पहिलो पटक भए पनि रथको सजावट र तयारी धेरै नै राम्रो मान्नु पर्छ । भक्तजनहरुमा पुरुषकोभन्दा महिलाको संख्या बढी थियो । तथापि रथ निकाल्ने क्रममा पुरुष भक्तजनहरुले महिला भक्तजनहरुलाई थिचोमिचो गरेको भने देखियो । धेरै भिडभाडको कारण म त बीचमा बसेर रथयात्रामा सहभागी हुन सकिन । सडकको छेउबाट नै हेर्दै हिड्ने काम गरे । २ घण्टा म पनि रथयात्रामा सहभागी भएर हेर्ने मौका पाए । पुरुषहरुले महिलालाई धकेलेर लड्न लागेको थिए । तर बल्लबल्ल तानेर उठाउन सफल भए । रथयात्रा गर्न महिला र पुरुषको अलग अलग नै लाइन राखेको भए अझ राम्रो हुने थियो । अब आउने १२ आंै वार्षिक उत्सवमा लाइनबद्ध रुपमा महिला पनि सहभागी बन्न सक्ने वातावरण मिलाउनु पर्ने सानो कमजोरी देखियो । कतिपय मानिस रथ कहिले नदेखेको भएर रथयात्रा हेर्न पनि आएका थिए । कतिपय उत्साहले पनि आए । समग्रमा राम्रो रह्यो ।
गहवामाई माताको रथयात्रामा म पनि बिहान ८ बजेदेखि १० बजेसम्म सहभागी भएको थिए । गहवामाईको नवनिर्मित मन्दिरको ११ औं वार्षिकोत्सव धेरै भव्य रुपमा मनाइएको छ । श्रद्धालु भक्तजनको रथयात्रामा अत्याधिक सहभागी रह्यो । दुर्गामाईको मन्दिरको सजावट धेरै नै राम्रो थियो । अत्याधिक गर्मी मौसममा पनि गर्मीघामको कुनै प्रवाह नराखी सबै जना एकनाशको पहिरनमा निस्किएका थिए । रथयात्रामा जादाँ मनैदेखि हर्सोल्लास भएको थियो । सबैसंग एकनासको झण्डा थियो । पहिलो पटक वीरगंजमा यस्तो माताको रथयात्रा देख्न पाउँदा धेरै नै खुशी लागेको छ । अहिले पहिलो पटक छोटो समय भएर बाहिरका मानिसहरु त्यति जानकारी नभएर सहभागी हुन नपाएको भए पनि मानिसको उपस्थिति भने भव्य थियो । अर्को वार्षिक उत्सवकोलागि अझ मन्दिर व्यवस्थापन समितिले व्यापक रुपमा प्रचार प्रसार गर्नुपर्छ । भगवान प्रति आस्थावान श्रद्धालु भक्तजनहरु अवश्य रथयात्रामा सहभागी हुने विश्वास छ ।
पहिलो पटक वीरगंजमा रथयात्रा भएको हो । गहवामाई मन्दिरको ११ औं वार्षिक उत्सवमा हामी स– परिवार नै सहभागी भएका थियौं । बिहानदेखि नै हामी सबै परिवार रथयात्राको लागि सहभागी हुन गयौं । रथयात्रामा भक्तालुहरुको धेरै भिड थियो । मैले पुरै रथयात्रा गर्न सकिन । पसल पनि खोल्नु पर्ने थियो । तर मेरो श्रीमती र छोराले पुरै रथयात्रा समयभर नगर परिक्रमा गरे । रथयात्रा गर्ने क्रममा मनमा अत्यधिक खुशी र हर्सोल्लित भएको थिए । सबै भक्तजनहरु कुनै घाम, गर्मी नभनी गहवामाई माताको भक्तिमा तल्लिन देखिएका थिए । हरेक वर्ष गहवामाईको वार्षिक उत्सवमा यस्तो कार्यक्रमहरु हुन्छ भन्ने सुनेको छु । धेरै जनालाई गहवामाईको रथयात्राको विषयमा जानकारी पनि थिएन । तर पनि यतिको मानिसको सहभागीता हुनु राम्रो कुरा हो ।
गहवामाई माताको शोभारथ यात्रामा मलाई मात्र होइन वीरगंजवासीलाई नै राम्रो लागेको छ । यसपालीको शोभा रथयात्रा नवनिर्मित गहवामाई मन्दिरको ११ औं वार्षिक उत्सवको उपलक्ष्यमा निकालिएको हो । सबै वीरगंजका श्रद्धालु भक्तजनहरु रथयात्रामा सहभागी थिए । पुरुषकोभन्दा महिलाहरुको बढी सहभागीता थियो । यसपालीको शुभ रथयात्रा दिव्य र भव्यका साथ निकालिएको छ । वीरगंजवासीले धेरै सहयोग, उत्साह र उमंगका साथ रथयात्रालाई सफल पारेका छन् । गहवामाईको शुभ रथयात्रा निकाल्नमा मौसम राम्रो भएको थियो । पछि पानी पनि परेर अझ मौसमलाई चिसो बनाइदियो । समयमा नै रथयात्रालाई सहजसंग निकाल्न सकियो । सुरुमा मौसमले साथ नदिदाँ शुभ रथयात्रा निकाल्न केही ढिलाई भए पनि त्यसपछि भने राम्रो भयो । भक्तजनहरुमा कुनै पनि नैराश्यता रहेन । गहवामाईको रथ शुभयात्रा पहिलो पटक निकालिदा केही कमीकमजोरी हुनु स्वभाविक छ । तर आउने वार्षिक उत्सवमा ति कमीकमजोरीहरुलाई सुधार गर्दै संघ–संस्था र समितिले भव्य र सभ्य रुपमा मनाउन पर्छ ।
म फर्निचर बनाउने काम गर्छु । गहवामाईको मन्दिरको प्रतिमुर्ति बनाउन जिम्मेवारी पाएकोमा धेरै खुशी लागेको छ । मलाई माताको आदेश र आर्शिवादले काम गर्ने अवसर मिलेको महसुस गरेको छु । गहवामाई उत्सवकोलागि मैले निःशुल्क काम गरेको छु । अब हरेक वर्ष गहवामाईको वार्षिक उत्सवमा रथयात्रा निकाल्ने भनिएको छ । मैले गहवामाईको रथको स्वरुप बनाएर शुभ रथयात्रा गराएको छु । मेरो शरीर रहुन्जेल यो रथलाई जोगाएर राख्ने काम गर्छु । तर यसलाई जोगाएर राख्न एउटा सेट बनाउनु पर्छ । जसरी हामी पैसालाई जोगाएर बाकसमा राख्छौं । त्यस्तै यसलाई पनि जोगाएर राख्नुपर्छ । २ सय वर्षसम्म पनि टिक्न सक्छ । गहवामाईको ११ औं वार्षिक उत्सवमा माताको आदेश अनुसार भव्यताको साथ शुभ रथयात्रा सम्पन्न भएकोमा वीरगंजवासीहरु अत्याधिक खुशी छौं ।
नेपालको इतिहासमा वीरगंजमा पहिलो पटक रथयात्रा निकालिएको छ । यो तराई क्षेत्रको लागि अत्यन्तै गौरवको कुरा हो । हामीले सोचेका थियौं रथयात्रा कस्तो होला भनेर ? तर हामीले सोचेकोभन्दा पनि गहवाईमाई माताको रथयात्रा धेरै राम्रो भएको छ । गहवामाई मन्दिर र मेरो घर लगभग २ सय मिटर दुरीमा छ । म दैनिक गहवामाई माताको दर्शन गर्न आउँछु । गहवामाईको सजावट पनि अत्यधिक नै राम्रो थियो । म रथयात्रामा गएको थिए । ५ मिनट जति रथ तान्ने पनि अवसर पाए । बिहान साढे ६ बजेदेखि रथयात्रा निस्किएको थियो । गहवामाई माताको रथयात्रामा पर्साका सबै वडाका मानिसहरु आएका थिए । बारा जिल्लाको र रक्सौलबाट पनि भक्तजनहरु आएका थिए । लाखौंको संख्यामा भक्तजनको उपस्थिति थियो । हामीहरुले बाहिरबाट मात्र हेर्ने हो बाहिरबाट त कुनै कमजोरी देखेका छैनौं । काम गर्ने समितिले हो, सबै काम सम्पन्न भैसकेपछि यो पटकको रथयात्रामा के कमी कमजोरी भयो त्यसको समिक्षा गरेर अर्को आउने वार्षिक उत्सवमा सुधार गर्नु हुनेछ ।
वीरगंजमा पहिलो पटक रथयात्रा हेर्न पाइयो । रथयात्रामा म पछिबाट आएको थिए । गहवामाई माताको ११ औं वार्षिक उत्सवमा रथयात्रा गर्न पाउँदा धेरै खुशी लागेको छ । गहवामाईको रथयात्रामा धेरै भक्तजनको भिडभाड थियो । गहवामाइ मन्दिरको सजावट पनि राम्रो नै थियो । सबैले एकसाथ गहवामाईको रथयात्रा भव्यताको साथ मनाईएको छ । बाजागाजा सहित निस्केको रथयात्रा अत्यन्तै उत्साहजनक दुर्गामाताको हर्सोल्लासको जय–जयकारको अझै झल्को आइरहेको छ ।