१) बालबालिकाको आँखामा कस्ता किसिमका समस्या देखिन्छ ?
साना–साना बालबालिकाहरुको आँखा समय समयमा जाँच गराउनु पर्छ । ठूलो मानिस जस्तै बालबालिकाको आँखामा पनि समस्या हुन्छ । आँखा चिलाउने, आँखा रातो हुने, आँखाबाट पानी बग्ने, एलर्जी जस्ता समस्याहरु हुन्छन । कतिपय बालबालिकालाई जटिल समस्या पनि हुन सक्छ । जस्तै आँखा टेडो हुने, आँखाको नसाहरु सुक्ने, आँखाको पर्दामा पनि समस्या हुने गर्दछ । कतिपय बालबालिकाको आँखा जन्मजात नै नदेख्ने पनि हुन सक्छ ।
२) बालबालिकाको आँखाको समस्या कसरी पत्ता लगाउन सकिन्छ ?
बालबालिकाहरु आफ्नो सबै समस्याहरु बताउन सकेका हुदैनन् । सर्वप्रथम हामीले आफ्ना बालबालिकाहरुलाई आँखा जाँच नियमित गराउनु पर्छ । बालबालिकाको आँखा रातो भएको देखेमा, बच्चाले बारम्बार आँखा मिचेमा, आँखा टेडो देखिएमा आफ्नो बच्चाको आँखामा समस्या छ भनेर बुझ्नु पर्छ । कतिपय समस्याहरु आँखाको जाँचबाट नै पत्ता लगाउन सकिन्छ । हामीले तुरुन्त अस्पताल लैजानु पर्छ ।
३) अस्पतालमा उपचार गर्न कस्ता समस्या भएका बालबालिकाहरु आउने गरेका छन् ?
अस्पतालमा दैनिक १ सय जना बिरामी मध्ये ३० जना बालबालिकाहरु आँखामा समस्या भएको आउने गरेका छन् । दैनिक आउने बालबालिकाहरु मध्ये सबैभन्दा बढी चश्मा दोष भएका, दृष्टिदोष भएका र गर्मीको मौषममा आँखामा एलर्जीको समस्या भएकाहरु, आँखा सुख्खापन हुने, बढी मात्रामा मोबाइलको प्रयोग गर्ने टाउकाको समस्या हुने बालबालिकाहरु बढी आउने गरेका छन् । कमै मात्रामा आँखा टेडो हुने, मोतियाविन्दु भएको बालबालिकाहरु आउने गरेका छन् ।
४) आँखालाई बचाउन के गर्नुपर्छ ?
सबैले आँखा जाँच गर्नु भएको छैन भने एकपटक जाँच गराउनु पर्दछ । पहिलो जाँचको रिपोर्ट साधरण छ भने फेरि जाँच गर्नु पदैन । यदी आँखामा समस्या छ भने ६ महिना, ८ महिनामा जाँच गराउनु पर्छ । हामीले आँखालाई सफा र चिसो पानीले धुनु पर्दछ । आँखा शित्तल गराउने आईड्रप हाल्नुपर्छ । धुलोबाट बच्न सनग्लास भएको चश्माको प्रयोग गर्नुपर्छ । समय समयमा आँखाको चेकजाँच पनि गर्न आवश्यक छ ।
५) साना बालबालिकाहरुले चश्मा लगाउनु कत्तिको उपयुक्त हो ?
सबै बालबालिकाहरुको एक पटक आँखा जाँच गराउनु पर्छ । चश्मा लगाउने खासै ठूलो समस्या होइन । चश्माको पावर कसैको (–)हुन्छ त कसैको (+) हुन्छ । (+) र (–) को पावर बन्द ग¥यौं भने समस्या हुन्छ । चश्माको पावर उमेर अनुसार बढ्ने वा घट्ने गर्दछ । चश्माले बालबालिकाको आँखाको किरणलाई सुरक्षित राख्दछ । कतिपय बालबालिकाहरुलाई अनलाईन कक्षा गर्नुपर्ने हुन्छ भने उनीहरुले ब्लुकट चश्माको प्रयोग गर्नु पर्दछ । मोबाइल, टिभि, कम्प्युटर जस्ता समानहरुको बढी प्रयोग गर्दा चश्माको प्रयोग गर्न अत्यन्तै जरुरी छ ।
६) बालबालिकाको आँखा अप्रेसन गर्दा ध्यान दिनुपर्ने कुराहरु के हो ?
मानिसहरु अप्रेसन गर्ने भन्ने बित्तिकै अलि डराउने गर्दछन् । आँखाको टेडोपन छ भने अप्रेशन गर्नुपर्ने हुन्छ । बच्चामा आँखा टेडोपन छ भने पछि उपचार गराउँछु भनेर कहिल्यै सोच्नु हुदैन । बच्चा सानो भएको बेलामा नै उपचार गर्नुपदर्छ । अप्रेसन गर्दा गर्मी वा जाडो महिना जुन समयमा पनि गर्न सकिन्छ । यो अप्रेसन गर्दा बच्चालाई बेहोस बनाएर गर्नुपर्छ । कतिपय बालबालिकाहरुको जन्मजात नै आँखा नदेख्ने पनि हुन सक्छ । समयमा नै जाँच गराएर अप्रेसन गरेमा आँखा सजिलै देख्न पनि सक्छन् ।
७) अन्त्यमा आम सर्वसाधारणलाई थप के सन्देश दिन चाहनुहुन्छ ?
बालबालिकाको संरक्षक भनेको आमाबुबा हो । बच्चाको हेरचाह गर्ने जिम्मेवारी पनि प्रमुख उनीहरुको नै भएकोले हरेक बच्चाको एक पटक आँखा जाँच गराउनु पर्छ । यदी समस्या छ भने ६ महिना वा वर्ष दिनमा आँखा जाँच गर्नुपर्छ । कतिपय बच्चाको आँखामा जटिल समस्या पनि हुन सक्छ । त्यसैले जाँच गरेर तुरुन्त उपचार गरे आँखाको ज्योतिलाई बचाउन सकिन्छ । कतिपय बच्चाहरुलाई मोतिया विन्दु पनि भएको पाइन्छ । यो प्राय गरेर पौष्टिक आहारको कमी र सरसफाईको कमीले गर्दा रोगहरु हुने गर्दछ । गर्भवती आमालाई बढी मात्रामा पौष्टिक आहार खुवाउनु पर्छ । आमाको गर्भमा नै पौष्टिक आहारको कमीले बच्चा जन्मदै विभिन्न रोगहरु लाग्ने गर्दछ ।